विकासन्युज

स्वास्थ्यकर्मी कुटपिट मुद्दामा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्री बन्ने चर्चा

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अभियान्ता खगेन्द्र सुनार मन्त्री बन्ने चर्चा भएको छ । प्रहरीको खोजी सुचीमा रहेका उनी मन्त्री बन्ने चर्चा भएको हो ।  दैलेख घर भएका उनी आइतबार मन्त्रिपरिषदमा मन्त्रीका रूपमा सपथ ग्रहण गर्न तयार भएर बसेका छन् । तर, उनको नाम कर्णाली प्रदेश उच्च अदालतबाट जारी भएको पक्राउ पुर्जीमा उल्लेख छ । अदालतले २०८१ साल असार २१ गते जारी गरेको पुर्जीमा जिल्ला दैलेख, नारायण नगरपालिका–२ का खेमबहादुर सुनार अर्थात् खगेन्द्र नाम गरेका व्यक्ति माथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोग लगाइएको उल्लेख छ ।  अदालतले जारी गरेको पुर्जिमा नेपाल सरकारविरुद्ध सार्वजनिक सम्पत्ति नोक्सानी तथा स्वास्थ्यकर्मीमाथि हातपात सम्बन्धी मुद्दामा सुनारलाई पक्राउ गरी ७ दिनभित्र अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दैलेखलाई आदेश दिइएको हो । अदालतको आदेशमा सुनारको बुबाको नाम दिलबहादुर सुनार र ठेगाना दैलेख, नारायण नगरपालिका–२ उल्लेख छ । त्यही नाम र ठेगानाका व्यक्ति आज मन्त्रीका रूपमा सपथ ग्रहण गर्न लागेको भन्दै राजनीतिक वृत्तमा नैतिक प्रश्न र विवाद सुरु भएको छ । सो मुद्दा २०८१ साल असार १८ गते सुर्खेतस्थित एक अस्पतालमा स्वास्थ्यकर्मी माथि गरिएको आक्रमणसँग सम्बन्धित थियो । त्यसक्रममा अस्पतालको सम्पत्ति तोडफोड र कुटपिटसम्बन्धी जाहेरी दर्ता भएको थियो । अदालतले अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरे पनि उनी लामो समयसम्म फरार रहेको आरोप छ ।  

सानिमा बैंकको अध्यक्षमा पुनः पौडेल चयन, सञ्चालकमा पराजुली र कुम्पाख

काठमाडौं । सानिमा बैंकको सञ्चालक समितिको अध्यक्षमा तुक प्रसाद पौडेल चयन भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो । कात्तिक २ गते सम्पन्न २१ औँ वार्षिक साधारण सभाबाट पौडेल सहित बलराम पराजुली र निशा कुम्पाख निर्विरोध निर्वाचित भएका थिए । साथै सोही दिन बसेको सञ्चालक समितिको बैठकले पौडेललाई पुनः अध्यक्षमा चयन गरिएकाे कम्पनी सचिव रूद्र प्रसाद बन्जराले जानकारी दिए ।  बन्जराका अनुसार साधारण सभाले एसएआर एसोसिएट्स चार्टर्ट एकाउन्टेन्टस्लाई चालु आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्न वाह्य लेखापरीक्षकमा नियुक्त गरिएको छ । 

मन्त्रीपरिषद्को तेस्रो पटक विस्तार, नयाँ मन्त्रीहरूको शपथ आज

काठमाडौं । मन्त्रीपरिषद्को तेस्रो विस्तारबाट थपिने चार नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आइतबार शीतल निवासमा साँढे २ बजे हुने तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ समारोहको तयारी भइरहेको सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् । नयाँ मन्त्रिपरिषद् विस्तारमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता समावेश भएको प्रधानमन्त्री सुशिला कार्कीकी प्रेस संयोजक राम रावलले जानकारी दिए । यसअघि प्रधानमन्त्री कार्कीले भदौ २७ गते शपथ लिएकी थिइन् । कार्की प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक असोज ३० मा रामेश्वर खनाल, ओम अर्याल र कुलमान घिसिङले मन्त्रीको शपथ लिएका थिए । यसैगरी, असोज ९ गते कार्की नेतृत्वको सरकार दोस्रो पटक विस्तार भएको थियो । त्यसपछि अन्तरिम सरकार ९ सदस्यीय बनेको थियो । आइतबार ३ सदस्य थपिएसँगै कार्की नेतृत्वको मन्त्रीपरिषद् १२ सदस्यीय हुनेछ ।

ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाली सामानहरूमा थप १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गरेका छन् ।      यो निर्णय क्यानाडाले प्रसारण गरेको एउटा एन्टी–ट्यारिफ विज्ञापन अभियानको प्रतिक्रियामा आएको हो । उक्त विज्ञापनमा दिवङ्गत अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको पुरानो सम्बोधन प्रयोग गरिएको थियो ।      राष्ट्रपति ट्रम्पले उक्त विज्ञापनलाई ‘नक्कली र भ्रामक’ भन्दै क्यानाडासँगका सबै व्यापार वार्ता दुई दिनअघि नै समाप्त गरेका थिए ।      'उनीहरूले त्यो विज्ञापन तुरुन्तै हटाउनुपर्ने थियो, तर उनीहरूले गत रात विश्व शृङ्खलाको समयमा समेत प्रसारण गरे, यो ठगी नै हो', उनले आफ्नै ट्रुथ सोसल प्लेटफर्ममार्फत एसियाली क्षेत्रका प्रमुख नेताहरूसँगको बैठकका लागि उडान भर्दै लेखे, 'तथ्यहरूको गम्भीर गलत प्रस्तुतीकरण र शत्रुतापूर्ण व्यवहारका कारण म क्यानाडामाथि हाल तिर्दै आएको करमा थप १० प्रतिशत वृद्धि गर्ने आदेश दिन्छु ।'      ओन्टारियो प्रान्तको विज्ञापनमा सन् १९८७ मा राष्ट्रपति रेगनले दिनुभएको व्यापारसम्बन्धी रेडियो सम्बोधनका अंशहरू प्रयोग गरिएको थियो । उक्त सम्बोधनमा रेगनले विदेशी आयातमा उच्च भन्सार शुल्क लगाउँदा अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर पर्ने चेतावनी दिएका थिए ।      रोनाल्ड रेगन प्रेसिडेन्सियल लाइब्रेरीको आधिकारिक वेबसाइटमा उपलब्ध भाषणसँग मेल खाने उद्धरणमा भनिएको छ, “उच्च भन्सार शुल्कले विदेशी देशहरूको प्रतिशोध निम्त्याउँछ र गम्भीर व्यापार युद्धको रूप लिन्छ ।”      यसैबीच, रोनाल्ड रेगन फाउन्डेसनले ओन्टारियो सरकारले ‘चयनात्मक अडियो र भिडियो’ प्रयोग गरेको आरोप लगाउँदै कानूनी विकल्पहरूको समीक्षा भइरहेको जनाएको छ ।      विज्ञापन विवादबीच बेसबलको विश्व शृङ्खलामा क्यानाडाको टोली टोरन्टो ब्लू जेसले अमेरिकी टोली लस एन्जलस डोजर्ससँग प्रतिस्पर्धा गरिरहेको छ । शुक्रबार भएको पहिलो खेलमा ब्लू जेसले डोजर्सलाई ११–४ ले पराजित गरेको थियो ।      ओन्टारियो सरकारले सोमबार आपत्तिजनक विज्ञापन फिर्ता लिने र वार्ता पुनः सुरु गर्न तयार रहेको जनाएको थियो, तर शनिबार राति दोस्रो खेलको प्रसारणका बेला उक्त विज्ञापन फेरि देखाइएको थियो ।      राष्ट्रपति ट्रम्पका विश्वव्यापी कर नीतिहरू—विशेषगरी स्टिल, एल्युमिनियम र अटो उद्योगमा—क्यानाडाको अर्थतन्त्रका लागि निकै गम्भीर साबित भएका छन् । यी नीतिका कारण क्यानाडामा रोजगारी गुम्ने र व्यवसायहरूमा दबाब बढ्ने अवस्था आएको छ ।      हाल संयुक्त राज्य अमेरिका र क्यानाडा युएसएमसिए भनिने उत्तर अमेरिकी व्यापार सम्झौताअनुसार चलिरहेका छन्, जसले दुवै देशबीचको करिब ८५ प्रतिशत सीमापार व्यापार करमुक्त बनाएको छ ।      तर बुधबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी भन्सार शुल्क ‘ग्रेट डिप्रेसन’ को समयपछिकै उच्चतम स्तरमा पुगेको टिप्पणी गरेका थिए । उनले भने, 'हाम्रो आर्थिक रणनीति अब नाटकीय रूपमा परिवर्तन गर्नु अपरिहार्य छ, यो प्रक्रियामा केही त्याग र समय लाग्नेछ ।'      आगामी बुधबार दक्षिण कोरियामा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) सम्मेलनका अवसरमा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री कार्नी दुवै सहभागी हुने कार्यक्रम छ, तर ट्रम्पले उनलाई भेट्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन् । रासस  

तरलता बढेपछि ९० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं । तिहार पछि पनि अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आइतबार ९० अर्ब निक्षेप तान्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप तान्न लागेको हो ।  अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८२  मंसिर २१ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ ।  यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।

नेपालको अमेरिकाविरुद्ध फिल्डिङ गर्ने निर्णय, कप्तान रोहित पौडेलले जिते टस

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत युएई सिरिजमा नेपालले अमेरिकाविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङको विकल्प चयन गरेका छन् । यस निर्णयसँगै नेपाल आफ्नो बलियो खेल प्रदर्शन गर्न चाहन्छ । आइतबार नेपालले देखाउने खेल कौशलले आगामी विश्वकप क्वालिफाइङ चरणका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ । नेपाल लिग २ मा १६ खेलमा १२ अंक सहित सातौँ स्थानमा रहेको छ । नेपाल यो सिरिजमा राम्रो प्रदर्शन गर्दै अंक तालिकामा माथि उक्लिन चाहन्छ । अमेरिकासँगको खेल नेपालका लागि महत्वपूर्ण हुनेछ । यस सिरिजमा नेपालको आगामी रणनीति बलिङ र फिल्डिङको उत्कृष्टतामा आधारित हुने भएकाले कप्तान पौडेलले टोलीलाई आत्मविश्वासका साथ मैदानमा उतार्ने विश्वास गरेका छन् । नेपालका केही प्रमुख क्रिकेटरहरू पनि उत्कृष्ट फर्ममा रहेका छन् । युएईको उष्ण वातावरणमा राम्रो खेल देखाउनका लागि खेलाडीहरूले कडा मेहनत गरेकाले यो खेल नेपालको पक्षमा पार्न सकिने विश्वासमा कप्तान रोहित रहेका छन् ।

मन्त्रिपरिषद् विस्तार हुँदै, ४ जना नयाँ मन्त्री थपिने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । मौजुदा मन्त्रिपरिषद्मा  चार जना नयाँ मन्त्री थपिने भएका छन् । राष्ट्रपतिसमक्ष उनले नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गरेकी हुन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पूर्वसचिव डा. सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन् । उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।   

एकैदिन तोलामा ११ हजार ६ सयले घट्यो सुनको मूल्य

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आइतबार सुनको मूल्य तोलामा दुई लाख ४१ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार १५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ र चाँदी तोलामा दुई सय ६५ रुपैयाँले घटेको हो ।  कात्तिक ३ गते सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँ र त्यति नै तौलको चाँदी तीन हजार २८० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।