विकासन्युज

५ अर्ब ८ करोडको विदेशी आलु खान्छन् नेपाली, सम्भव होला २ बर्षमै आलुमा आत्मनिर्भर ?

काठमाडौं । आलुलाई तरकारीको राजा मानिन्छ । गरिबका झुपडीदेखि धनीका महल र ठुला पाँच तारे होटलमा पाक्ने अधिकांश परिकारमा आलु राखिएकै हुन्छ । तपाईले आफ्नै भान्छामा उपयोग गर्दै आउनु भएको आलु कहाँबाट आउँछ ? कहिल्यै सोच्नु भएको छ ? तपाई हाम्रो भान्छामा पाक्ने आलु विदेशबाट आयात गरिएको हुने सम्भावना देखिन्छ । किनकी एक बर्षमै ५ अर्ब ८ करोड रुपैंयाँ बराबरको आलु नेपाल भित्रिएको छ । जुन तपाई हाम्रै भान्छामा प्रयोग भैरहेको हुन सक्छ । गत आर्थिक बर्ष २०७२/७३ मा मात्रै ५ अर्ब ८ करोड मुल्य बराबरको विदेशी आलु नेपालीका भान्छामा पुगेका छन् । यसरी नेपालीका भान्छामा विदेशी आलु भित्रिने क्रम पनि बर्षेनी वृद्धि भैरहेको छ । पाँच बर्ष अघि नेपालीले २ अर्ब १५ करोडको आलु खाएका थिए । तर पाँच बर्षपछि त्यो १३६ दशमलब २७ प्रतिशतले बढेर ५ अर्ब ८ करोड पुगेको छ । आर्थिक बर्ष २०६९/७० मा ३ अर्ब १५ करोडको आलु नेपाल भित्रिए भने २०७०/७१ मा ४ अर्ब २१ करोड मूल्यका आलु नेपालीका भान्छामा पाके । आव २०७१/७२ मा आइपुग्दा त्यो मात्रा बढेर ५ अर्ब १२ करोड पुग्यो । कृषि विकास मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाका अनुसार आलुको उत्पादकत्व प्रति हेक्टर १३ मेट्रिक टन रहेको छ । सरकारले काभ्रे जिल्लालाई आलुको सुपरजोन घोषणा गरेर बिशेष योजनासहित उत्पादन तथा उत्पादकत्व अभिवृद्धिको काम गरिरहेको जानकारी पनि उनले दिए । कति हुन्छ आलुको उत्पादन ? तरकारी विकास निर्देशनालयका निर्देशक हरि कुमार केसीका अनुसार नेपालमा एक लाख ९७ हजार हेक्टर जमिन आलु खेति हुने गरेको छ । हाल बर्षेनी २५ लाख ८६ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ । उनले मागको ९० प्रतिशत आलु नेपालमै उत्पादन भैरहेको र आगामी २ बर्षभित्रै आलुमा आत्मनिर्भर बन्ने योजनासहित काम अघि बढेको पनि जानकारी दिए । के भन्छन विज्ञ ? नेपाली उत्पादनहरुले बजार मूल्य प्राप्त गर्न नसक्दा आलु किसान पलायन भएको र त्यसले आलुको आयात बढाएको कृषि विज्ञ कृष्ण पौडेल बताउँछन् । ‘हाम्रा उत्पादनको लागत बढि छ, बजार मुल्य कम छ, उत्पादन भण्डार गर्ने व्यवस्था पनि छैन, यसले किसानलाई पलायन गरिरहेको छ’, पौडेलले विकासन्युजसँग भने । उनले आलुको भण्डारणमा ध्यान नदिए आयात झनै वृद्धि हुँदै जाने दावी पनि गरे ।

कर्मचारीको लगानीमा जलविद्युत् आयोजना अगाडि बढाइने

काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माले राष्ट्रसेवक कर्मचारीलाई समेत जलविद्युत् आयोजनामा लगानीका लागि प्रोत्साहित गरिने बताएका छन् । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको आज ललितपुरमा उद्घाटन गर्दै मन्त्री शर्माले मुलुकको कर्मचारी प्रशासनमा रहेको सीप, ज्ञान, योग्यता तथा क्षमता र पूँजीलाई जलविद्युत् आयोजना निर्माणमा लगाउने योजनामा सरकार रहेको बताए । पश्चिम कर्णाली परियोजना अगाडि बढाउने योजना अगाडि सारिएको उनको भनाइ छ । ऊर्जामन्त्री शर्माले राष्ट्रलाई समृद्ध बनाउने उज्यालो नेपाल अभियानलाई सफल पार्नुपर्ने र ‘नेपालको पानी जनताको लगानी’ नारालाई मूर्त रुप दिन लगानी प्रतिबद्धता मागिएको स्पष्ट पारेका छन्। विद्युत्भार कटौती अन्त्य भयो मन्त्री शर्माले माध्यमिक शिक्षा परीक्षाको समय पारेर अहिले देशभर विद्युत्भार कटौतीमुक्त गरिएको र त्यसलाई निरन्तर रुपमा अगाडि बढाउने योजनामा सरकार लागेको बताए । उपलब्ध साधन र स्रोतको समुचित प्रयोग गरेर मुलुकमा नयाँ आशा र चेतना छर्न सरकार सफल भएको भन्दै विद्युत् उत्पादन, वितरण तथा प्रयोगमा समेत सबैको साथ र सहयोग जरुरी रहेको उनको भनाइ थियो । जलविद्युत् उपयोग गर्ने नीतिको अभाव देखिएको, पानीको क्षेत्रमा गर्ने कुरा धेरै भए पनि कामकाजी संस्थालाई निष्क्रिय बनाइएकाले पनि प्रभावकारी काम हुन नसकेको भन्दै उनले अब त्यसरी नचल्ने स्पष्ट पारेका छन् । मन्त्री शर्माले पश्चिम कर्णालीमा आम राष्ट्रसेवकको लगानी गरेर अगाडि बढाउने योजना अगाडि सारिएको जानकारी दिँदै उनले माथिल्लो अरुणमा नागरिक लगानी कोषको पैसा लगानी गरेर नेपाल विद्युत् प्राधिकरणले योजना अगाडि बढाउने बताए। सरकारको दायित्व रहने गरी बूढीगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाइएको र स्वदेश तथा विदेशबाट पनि लगानी जुटाउन मन्त्रालय लागिपरेको उनको कथन थियो । विद्युत्भार कटौती अन्त्यको प्रसङ्ग पुनः जोड्दै उनले त्यसले देशमा ठूलो आशा पलाएको र आगामी पाँच वर्षमा समृद्धिको एउटा खुट्किलो पार गर्न सक्ने विश्वास पैदा भएको बताए । जल तथा ऊर्जा आयोगका सचिव मधुसूदन अधिकारीले पानीको उपयोग धेरै क्षेत्रमा भए पनि एकीकृत नीति र योजनाको अभावका कारण प्रभावकारी काम हुन नसकेको बताए । पानी जीवन भएकाले सोही आधारमा व्यवहार गर्न र पानी जोगाउनका लागि सबै क्षेत्रले उत्तिकै सहयोग गर्नुपर्ने उनको धाराणा थियो । हरेक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस र मार्च २३ को दिन मनाइने मौसम दिवसको सन्दर्भ पारेर नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रिय जल तथा मौसम सप्ताह आयोजक समितिले कार्यक्रमको आयोजना गरेको हो । राष्ट्रव्यापी रुपमा मनाउन लागिएको यस कार्यक्रमको मुख्य उद्देश्य स्वच्छ पानीको महत्वबारे जनचेतना फैलाउने र पानीको स्रोत तथा दिगो व्यवस्थापनबारे सर्वसाधारणदेखि नीति निर्माणको तहसम्म ध्यानाकर्षण गराउनुका साथै पानीको दिगो व्यवस्थापनका लागि जनचेतना जगाउने प्रमुख उद्देश्य रहेको जल तथा ऊर्जा आयोगका सहसचिव केशवध्वज अधिकारी बताउछन् । संयुक्त राष्ट्रसङ्घले यस वर्षको विश्व पानी दिवसको नारा ‘फोहर पानीको पुनःप्रयोग’ राखेको छ । रासस

निर्माणाधीन साञ्जेन जलविद्युत् आयोजना सम्पन्न गर्न रसुवाका बासिन्दाको माग

रसुवा । निर्माणाधीन साञ्जेन जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न रसुवाका बासिन्दाले माग गरेका छन् । निर्माण कार्यलाई तीव्रता दिन समुदायस्तरको समिति समेत गठन भएको छ । सो आयोजना प्रभावित क्षेत्रका बासिन्दा रामबहादुर तामाङका अनुसार निर्माण कार्यमा आइपर्ने बाधा अड्चन हटाई छिटो आयोजना सम्पन्न गराउन सहयोग गर्न तथा स्थानीय बासिन्दाले पाउने सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाउन दबाब दिन सङ्घर्ष तथा अनुगमन समिति गठन गरिएको हो । उत्तरी रसुवाको चिलिमे र सिम्बुमा निर्माण भइरहेको १४ दशमलव आठ मेगावाट क्षमताको माथिल्लो साञ्जेनमा सुरुङ मार्ग निर्माण सम्पन्न भएको छ । अन्य संरचना निर्माण कार्य जारी छ । रासस

महुली सामुदायिक लघुवित्तलाई एक करोड रुपैयाँको आइपीओ निष्कासन गर्न अनुमति

काठमाडौं । महुली सामुदायिक लघुवित्त वित्तिय संस्थाले एक करोड २० हजार रुपैयाँ बराबरको शेयर अर्थात आइपीओ निष्कासनको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले चैत ४ गते कम्पनीलाई १०० रुपैयाँ अंकित मूल्यका १ लाख २० हजार कित्ता सेयर जारी गर्ने अनुमति दिएको हो । कम्पनीले आइपीओ निष्कासन गर्नको लागि एनसीएम मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक तोकेको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ करोड रुपैयाँ रहेको छ ।

अनलाईन ट्रेडिङ गराउन कसियो बोर्ड, चाँडो तयारी सक्न निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयरको अनलाईन  ट्रेडिङ सुरु गराउने अभियानलाई तिब्रता दिएको छ । यस अघि नै अनलाईन ट्रेडिङको गृहकार्य आरम्भ गर्न निर्देशन दिएको बोर्डले ब्रोकर व्याक अफिस सफ्टवेयरमा इन्टरनेट मार्फत खरिद/विक्री आदेश दिन सक्ने व्यवस्थाका बारेमा सरोकारवाला निकायहरुसँगको छलफललाई तिब्रता दिएको हो । बोर्डले ब्रोकर, लगानी कर्ता र नेप्सेसँग छलफल गरेको छ । ब्रोकरहरुले हाल प्रयोग गर्दै आइरहेको नेपाल स्टक एक्सचेन्जबाट स्वीकृत ब्रोकर व्याक अफिस सफ्टवेयर मार्फत लगानीकर्ताहरुले सरल र सहज रुपमा इन्टरनेट मार्फत खरिद विक्री आदेश दिन सक्ने व्यवस्था कार्यान्वयन गर्न सकिन्छ वा सकिन्न भनेर सोधेको थियो । हाल नेप्सेले अटोमेटिड ट्रेडिङ प्रणालीमा कारोबार गराउँदै आएको छ । बोर्डले चाँडै अनलाईन ट्रेडिङ प्रणाली कार्यान्वयन गराउन जडान गरिने नयाँ प्रणालीको प्रयोगलाई थप सहजिकरण गर्न तथा पूर्व अभ्यास गराउने उद्देश्यले विद्यमान व्याक अफिस सिस्टम मार्फत खरिद विक्री आदेश दिने र तथ्यांकको अभिलेख व्यवस्थापन गर्न गर्न सफ्टवेयर निर्माताहरुले पुर्व अभ्यास गरेका थिए । छलफलमा लगानीकर्ताहरुले आफूले दिएको खरिद बिक्री आदेश ब्रोकरहरुले तुरुन्तै हेर्न मिल्ने, आदेश अनुसार कार्यान्वयन गर्नपर्ने तथा आदेश रद्द गर्न मिल्नेरनमिल्ने जस्ता सुविधा माग गरेका गरे । त्यसै गरी धितोपत्र दलाल व्यवसायीहरुले सो प्रणालीमा सुधाररथप गर्दा केही कम्प्युटर र जनशक्तिको आवश्यक्ता पर्ने जस्ता समस्याहरु उठाएका थिए । उक्त छलफल कार्यक्रममा सफ्टवेयर निर्माता कम्पनीहरुले लगानीकर्ता तथा दलाल व्यवसायीहरुबाट उठेका समस्याहरुलाई निराकरण गर्न प्रणालीमा सामान्य सुधार गरी इन्टरनेट मार्फत खरिद विक्री आदेश दिन सक्ने सम्बन्धमा थप प्रष्ट पारेका थिए । छलफलमा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले चाँडै अनलाईन ट्रेडिङ आरम्भ हुने भएकाले त्यसको तयारीमा जुट्न निर्देशन दिएका थिए ।

नेप्सेमा थपिए २ करोड ३४ लाख कित्ता सेयर, कसको कति?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा थप २ करोड ३४ लाख २९ हजार ९ सय १३ कित्ता सेयर सूचिकृत भएका छन् । यस साता मात्रै ४ वटा कम्पनीको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएका हुन् । सूचिकृत भएका मध्ये ३ कम्पनीको बोनस सेयर र एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । चिलिमे जलविद्युत कम्पनीको ३१ लाख ३४ हजार ४७६ कित्ता, हाम्रो विकास बैंकको ३ लाख ५ हजार ८३३ कित्ता र कन्ट्री डेभलपमेन्ट बैंकको ३ लाख १६ सय कित्ता बोनस सेयर सूचिकृत भएका छन् । त्यस्तै, कृषि विकास बैंकको एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । बजारमा सूचिकृत भएपछि अब लगानीकर्ताले सेयर कारोबार गर्न पाउँछन् ।

अमेरिकामा नेपाली चाउचाउको माग बढ्दो, प्रतिमहिना पाँच लाख प्याकेट चाउचाउ निर्यात

मोरङ । एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउ अमेरिका निर्यात गर्न थालेको छ । नेपालमा उत्पादित चाउचाउको अमेरिकामा माग हुन थालेको सो उद्योगका प्रबन्ध निर्देशक महेश जाजूले बताए । “सुरुमा नेपालीको रोजाइ भए पनि अहिले अमेरिकी उपभोक्ताले समेत रुचाउन थालेका छन्,” उनले भने । अमेरिकाजस्तो विकसित मुलुकमा नेपाली ब्रान्डको चाउचाउको माग हुनु गौरवको विषय भएको जाजूको भनाइ छ । अस्ट्रेलिया, दुबई र कतारमा समेत रमपम चाउचाउ निर्यात गर्न थालेको उनले बताए । सुनसरीको सोनापुरमा उद्योगले रमपम चाउचाउ उत्पादन गरिरहेको छ । अहिले हरेक महिना पाँच लाख प्याकेट चाउचाउ अमेरिका निर्यात भइरहेको र आगामी छ महिनाभित्रमा १० लाख प्याकेट पुर्याउने तयारी भइरहेको सो उद्योगले जनाएको छ । रासस

ड्रोन क्यामेराबाट लिइएको तस्बिरले वाग्मतीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने

काठमाडौं । ड्रोन क्यामेराबाट लिइएको तस्बिर प्राप्त भएपछि नदी किनारलाई व्यवस्थित बनाउन सहज हुने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । दक्षिण कोरियाको सियोल विश्व विद्यालयबाट आएको ड्रोन क्यामेरा सहितको समूहले गोकर्णेश्वर नगरपालिकाको उत्तरगयादेखि ललितपुर उप महानगरपालिकाको सुन्दरी घाटसम्म तस्बिर खिची फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख उतारेको वाग्मती सफाइ अभियन्ता उमेश बोहराले बताए । “गोकर्णेश्वर नगरपालिकाको उत्तरबाहिनीदेखि गोकर्णेश्वर मन्दिरसम्म, काठमाडौं महानगरपालिकाको सिनामङ्गलदेखि मीनभवनसम्म र काठमाडौं महानगरपालिकाकै टेकुपुलदेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म गरी तीन समूहमा विभाजन गरी नदीमा फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख तस्बिर मार्फत उतारिएको छ”–उनले भने । सफाइ महाअभियानका तर्फबाट अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई दिइएको प्रतिवेदनलाई जग्गा नापजाँच सम्बन्धी विज्ञले कार्यालयमै बसी कहाँ कति नदीको जग्गा मिचिएको छ भनी हेर्न सकिने आयोजना उपप्रमुख योगेन्द्र चित्रकारले जानकारी दिए । “तस्बिर खिचिएका तीन स्थानमा जमिनमुनिबाट ल्याइएको ढल कहाँ खसालिएको छ भनी हेर्न सकिन्छ, अब वाग्मतीको पूरै क्षेत्र र उपत्यकाका अन्य सहायक नदीको पनि ड्रोन क्यामेराबाट तस्बिर उतारिनुपर्छ”–उनले भने । ड्रोन क्यामेराले खिचेको तस्बिरसहितको प्रतिवेदन आवश्यक कारबाहीका लागि सहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय र सम्बन्धित महानगरपालिका एव्म नगरपालिकामा बुझाइएको छ । वागमती सफाइ महाअभियान सुरु हुँदा समेत सोचे अनुरुप नदी सफाइ हुन नसकेपछि माघ २९ गते ड्रोन क्यामेराले नदी किनारमा फोहर फाल्ने, ढल मिसाउने र नदीको जग्गा मिच्नेको तस्बिर खिच्न थालिएको थियो । ड्रोन क्यामेराबाट तस्बिरसहितको प्रतिवेदन लिन दक्षिण कोरियाबाटै पाइलट पिटर पार्क र जिजुन फङ नेतृत्वको समूह काठमाडौं आएको थियो । विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको थियो । वाग्मती सफाइ महाअभियान शुरु भएपछि अन्य सहायक नदी र उपत्यका बाहिरका नदी सफाइ गर्नसमेत स्थानीयवासी जुटे पनि अपेक्षाकृत सफा हुन नसकेको हो । रासस