एशियन लाईफ ईन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल नियुक्त
काठमाडौं । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद साधारण सेयर निष्कासन गर्न आफ्नो बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र एनआईबिएल क्यापिटल मार्केट्सका महाप्रबन्धक मेखबहादुर थापाबीच बुधबार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कम्पनीको मिति २०७३/१२/१७ गते सम्पन्न आठौँ तथा नवौं बार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय भए बमोजिम कम्पनीले प्रतिसेयर एक सय रुपैयाँका दरले ४०,२७,९६६ कित्ता हकप्रद सेयर छिट्टै निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासन पश्चात यस कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । यस हाल ७२ वटा उपशाखा तथा २३ वटा शाखा कार्यालयहरु रहेका छन् । २०७३ चैत्र मसान्तसम्म यस कम्पनीको जीवन बीमा कोष ९४२ करोड रुपैयाँ, लगानी ९०६ करोड रुपैयाँ तथा चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
एनसेल प्रविधि तटस्थता मार्फत डिजिटल नेपालको निर्माणका लागि प्रतिबद्ध
काठमाडौं । एनसेलले ९०० मेगाहर्ज र १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अवलम्बन गर्दै थ्रिजी प्रविधिमा आधारित मोबाइल सेवाको विस्तार दोब्बर गरी देशको कुल जनसंख्याको ६० प्रतिशतमा दुर्तगतिको मोबाइल इन्टरनेट सेवा पुर्याउन आफु तयार भएको जनाएको छ । प्रविधि तटस्थता मार्फत एनसेलले १ करोड ७० लाख भन्दा बढि नेपाली नागरिकमा थ्रिजी सेवा पुर्याई उनीहरुलाई दुर्तगतिको मोबाइल इन्टरनेटको लाभ प्रदान गर्नेछ । इन्टरनेट अहिले विजुली-बत्ति र पानी जस्तै मानिसको आधारभुत आवश्यकता भईसकेको छ । यसरी नेपाली नागरिकलाई सेवा गर्ने मौका दिई उनीहरुका लागि बहुप्रतिक्षित सेवा प्रदान गर्ने अवसर दिईएकोमा कम्पनीले आभार व्यक्त गरेको छ । एनसेलको विस्तारित नेटवर्क कभरेजले बझाङ्गको देउरालीकोट, मुगुको श्रीनगर, मुस्ताङ्गको झोङ्ग, ललितपुरको माल्टा र सोलुखुम्बुको तिङ्गला जस्ता १,००० भन्दा बढि ग्रामिण तथा दुर्गम ठाउँमा सेवाको पहुँच पुर्याउने छ । यी स्थानका बासिन्दाहरुले पहिलो पटक दु्रतगतिको मोबाइल इन्टरनेटमा पहुँच पाउनेछन् । यसले देशमा विद्यमान डिजिटल डिभाइडलाई घटाउन योगदान दिई स्थानियवासीको जनजीवन, समुदायको अर्थतन्त्र र सामाजिक क्षेत्रमा स्पष्ट सकारात्मक प्रभाव पुर्याउने छ । “हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं । यसले विषेशतः इन्टरनेट सेवाको पहुँच, नयाँ अवसरहरुको सिर्जना र कुल गार्हस्थ उत्पादनको वृद्धिमा ठूलो भुमिका खेल्नेछ,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने । “यी लक्ष्य प्राप्तिका लागि हामीले आवश्यक स्रोतहरु, प्रविधि हस्तान्तरण तथा पुर्वाधार निर्माणका लागि रु ३० अर्ब सम्मको लगानी प्रतिबद्ध गरेका छौ । संयुक्तरुपमा डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि हामी पूर्णरुपमा समर्पित छौ ।” विश्व बैंकको अध्ययन अनुसार, मोबाइल ब्रोडब्याण्डमा पहुँचले तत्काल आर्थिक वृद्धिदर बढाउन मद्दत गर्दछ । ब्रोडब्याण्ड जनघनत्वमा प्रत्येक १० प्रतिशत विन्दुको वृद्धिले आर्थिक वृद्धिदरलाई १.३८ प्रतिशत विन्दुले बढाउने विश्व बैंकको तथा अन्य अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन् । आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले काठमाडौंमा जेठ १८ बाट फोरजी सेवाको शुभारम्भ गरेको छ, जस अन्तर्गत काठमाडौं उपत्यका, बनेपा तथा धुलिखेलका ग्राहकले फोरजी प्रविधिको लाभ लिन सक्छन् । साथै, सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्याउने लक्ष्य लिई कम्पनीले हाल देशका विभिन्न ४० शहरहरुमा फोरजी सेवाको योजना तथा परीक्षण गरीरहेको छ ।
आइइएलटिएसको शुल्क संकलनको लागि नबिल बैंक र ब्रिटिस काउन्सिलबीच सम्झौता
काठमाडौं । नबिल बैंक र ब्रिटिस काउन्सिलले आइइएलटिएस लगायत विभिन्न टेस्ट परिक्षाको शुल्क संकलन सहजिकरण गर्न एक सम्झौता गरेका छन् । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सशिन जोसी र ब्रिटिस काउन्सिलका निर्देशक डा. जोभन लिकले बुधबार बैंकमा आयोजित एक कार्यक्रममा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। यस साझेदारीको माध्यमबाट ब्रिटिस काउन्सिलले सञ्चालन गर्ने परिक्षामा सहभागि हुने बिध्यार्थिहरुले तिर्नुपर्ने शुल्क नबिल बैंक लिमिटेडका तोकिएका निस्चित शाखाहरुवाट बुझाउन सक्नेछन् । बैंकले यो सेवा यसका काठमाडौं उपत्यका बाहिरका शाखाहरु बुटवल, बिराटनगर, चितवन, भैरहवा, नेपालगञ्ज, विर्तामोड, पोखराबाट आगामी असार ३ गतेदेखि र काठमाडौं उपत्यकामा रहेका ९ वटा शाखाहरु तिनधारा, ललितपुर, कौशलटार, महाराजगञ्ज, नयाँसडक, नयाँ बानेश्वर, कान्तिपथ, बालाजु, चाबहिलबाटआगामी असार ४ गतेदेखिबाट यो सेवा सञ्चालन हुने जनाइएको छ । यस सेवाले अब काठमाडौं बाहिर रहेका बिध्यार्थिहरुलाई समेत सम्बन्धित नजिकका शाखाहरुबाट नै अब शुल्क बुझाउन सहज हुनेछ । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले “हाम्रा शाखाहरु मार्फत आइइएलटिएस लगायत अन्य टेष्टको शुल्क संकलन गर्नको लागि ब्रिटिस काउन्सिलसँग साझेदारी गर्नपाउँदा हामीले खुशी महशुस गरेका छौं, यसले विभिन्न स्थानमा रहेका विद्यार्थीहरुलाई बैंकका नजिकका विभिन्न शाखाहरुबाट रकम भुक्तानी गर्न सहज हुनेछ । निकट भविस्यमै हामीले अनलाईन भुक्तानी प्रणालीबाट समेत शुल्क संकलन गर्न गइरहेकोले यसबाट विद्यार्थीहरुलाई अझ सहजता पुग्नेछ । साथै उच्च शिक्षा हाँसिल गर्न चाहाने विद्यार्थीहरुलाई सहायता प्रदान गर्नको लागि ब्रिटिस काउन्सिल जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउनु हाम्रोलागि गौरबको कुरा हो” बताए । ब्रिटिस काउन्सिलका निर्देशक डा. जोभन लिकले “हामीले हाम्रो आइईएलटिएस भुक्तानीको लागि हाम्रो साझेदारको रुपमा यस बैंकलाई रोजेका हौं । हामीले यस बैंकबाट सुने अनुसारकै गुणस्तरीय ब्यवसायिक सेवा प्राप्त गर्नेछौं भन्ने अपेक्षा गरेका छौं ।
उपत्यकामा बन्दैछन १ लाख ३० हजार रोपनीमा चार वटा नयाँ शहर, आधुनिक नेपालको जग बसाल्ने संकल्प
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्र एक लाख ३० हजार रोपनी क्षेत्रफलमा चार वटा नयाँ शहर निर्माण गर्ने भएको छ । प्राधिकरणले उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रलाई समेटेर चार वटा नयाँ शहर निर्माणको योजना अघि सारेको हो । प्राधिकरणले नयाँ निर्माण गरिने चार वटै शहरको क्षेत्र एकिन गरेर जग्गा कित्ताकाट तथा नयाँ भवन निर्माणमा रोक लगाईसकेको छ । पहिलो नयाँ शहर: काठमाडौं ईशान प्राधिकरले उपत्यकामा निर्माण हुने पहिलो नयाँ शहरको नाम ईशान काठमाडौं राखेको छ । शहर काठमाडौंको पुर्व उत्तर क्षेत्रमा पर्छ । यो शहर पुर्वमा भक्तपुरको नगरकोट जाने बाटो, तेलकोट सडक, पश्चिममा जोरपाटी क्रिकेट मैदान, मुलपानी गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ । त्यस्तै, उत्तर तर्फ साँखु बजार र साँखु जाने मुल सडकसम्म फैलिनेछ । दक्षिणमा भने भक्तपुर पुरानो बाटो सैनिक प्रतिष्ठान, इतापाके जग्गा एकिकरण आयोजना लगायतको क्षेत्रमा फैलिएको हुनेछ । यो नयाँ शहर एक लाख रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । दोश्रो नयाँ शहर: काठमाडौं आग्नेय उपत्यमा निर्माण हुने दोश्रो शहर १० हजार रोपनी क्षेत्रफलमा फैलिएको हुनेछ । यसको नाम काठमाडौं आग्नेय अर्थात पुर्व दक्षिण राखिएको छ । यो शहर भक्तपुर क्षेत्रमा मात्रै पर्छ । पुर्वमा अरनिको राजमार्गको सुर्य विनायक चोकबाट सुर्य विनायक मन्दिर अगाडीको वनलाई बाहिर पार्दै अघि बढ्नेछ । पश्चिम तर्फ खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्यांकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्गसम्म आइपुग्नेछ । उत्तरमा भने अरनिको राजमार्गलाई छुनेछ । दक्षिणमा भने यो शहरले सिलामखाल, रानीकोट जंगल छेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार विरुवा हुँदै खहरेसम्म पुग्नेछ । तेश्रो शहर: काठमाडौं नैऋत्य काठमाडौं उपत्यकाको दक्षिण पश्चि क्षेत्रमा फैलिने यो शहर पनि १० हजार रोपनी क्षेत्रफलको हुनेछ । यसले ललितपुरको बिभिन्न भुभागलाई समेट्नेछ । नैऋत्य काठमाडौंको पुर्वी भाग साबिकको खोकना १ देखि ८ नम्बर वडासम्म पुगेर बुङमति वडा नम्बर १ भएर छम्पी जाने बाटो बाटोबाट वडा नम्बर २ देखि ६ नम्बरसम्म पुग्नेछ । पश्चिममा बागमति नदि छेउम्म यो शहर निर्माण हुनेछ । उत्तरमा भने साविकको सैँबु गाबिसको सिमानासम्म शहरले छुनेछ । दक्षिणमा भने काठमाडौं नैऋत्यले बागमति नदि किनारनै छुनेछ । यो शहर पनि १० हजार रोपनी क्षेत्रमा फैलिएको हुनेछ । चौथो शहर: काठमाडौं उत्तर यो शहरले काठमाडौं जिल्लाको १० हजार रोपनी जमिन ओगट्नेछ । यसमा पुर्वतिर सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म आउनेछ । त्यस्तै, पश्चिममा काभ्रेस्थली देखि बाइपास आउने मुल सडक पर्नेछ । उत्तरतर्फ भने सपनतिर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म पुग्नेछ । दक्षिणमा भने यो शहरले ग्रीनल्याण् चौक देखि महादेवखोला काभ्रेस्थली मुल सडक छुनेछ । काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीका अनुसार यी चार वटै प्रस्तावित नयाँ शहरको भौतिक विकास योजना तथा डिपिआर निर्माणका लागि कित्ता काट र नयाँ भौतिक संरचना निर्माणमा रोक लगाइएको हो । यी नयाँ शहरमा भवन निर्माण आचार संहिता अनुसारका भूकम्प प्रतिरोधी भवन, सडक, ढल निकास, खुल्ला मैदान, मनोरञ्जन पार्क, स्वास्थ्य केन्द्र, खेल मैदान, एकिकृत सरकारी सेवा केन्द्र, शिक्षाको उपयुक्त प्रबन्ध लगायतका संरचना निर्माण गरिनेछ । यी शहरहरुलाई आइटीसँग जोडेर स्मार्ट सिटी बनाउन पनि सकिने विकास आयुक्त तिवारीले जानकारी दिए । उनले यी चार वटा नयाँ शहरले आधुनिक नेपालको जग बसाल्ने दावी पनि गरेका छन् ।
गोदरेजका माइक्रोवेभ ओभेन नेपाली बजारमा, ९ हजारदेखि २० हजार रुपैयाँमा पाइने
काठमाडौं । विस्वस्तरीय डिजाईन र सुविधा सम्पन्न उत्पादनको लागि प्रख्यात गोदरेज ब्राण्डले लामो समय देखि नेपाली ग्राहकहरुको आवश्यता अनुसारको उत्पादन गरिरहेको छ । कम्पनीले नेपाली बजारमा २० लिटरको(सोलो) ओभन ९ हजार १ सय रुपैयाँ, २० लि.(ग्रील) १० हजार ९ सय ९० रुपैयाँ, २३ लि. को (कनभेक्सन) १८ हजार ९ सय ७० रुपैयाँ र ३० लि. कै ( कनभेक्सन) २० हजार ६ सय ९९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ । ३०३ इन्स्टा कुक मेन्यु, एक्प्रेस कुकिङ, स्टिेन्लेस स्टिल क्याभिटि, जेट डिफ्रोस्ट जस्ता विशेषता रहेको गोदरेजका माइक्रो वेभ ओभन चौधरी समुह अन्तर्गतको इ.ओ.एल. प्रा.लि. ले नेपाली बजारमा ल्याएको हो ।
महिन्द्रा केयूभी१०० को एक्स्चेन्ज मेला भोलिदेखि शुरु, पाँच आउटलेटहरुमा उपलब्ध
काठमाडौं । महिन्द्रा गाडीहरुको नेपालकालागि एकमात्र आधिकारिक विक्रेता तथा अग्नि ग्रुप अन्तर्गतको नेपालकै अग्रणी कम्पनीहरु मध्ये एक अग्नि इन्कर्पाेरेटेडले केयूभी१०० गाडीको लागि महिन्द्रा केयूभी १०० एक्सचेन्ज अफर शुरु गरेको छ । उक्त अफर काठमाडौं उपत्यका, चितवन, पोखरा, भैरहवा तथा बुटवल अवस्थित कम्पनीका आधिकारिक आउटलेटहरुमा उपलब्ध हुनेछ । यहि जेठ २५गते देखि २७ गतेसम्म चल्ने यस अफरमा सहभागी भई कम्पनीले आफ्ना ग्राहकहरुलाई “दयंग एस यु भी” केयूभी१०० सँग अपग्रेड गर्न आह्वान गरेको छ । यस अवसरमा कुनै पनि पुरानो गाडि ल्याई सबैभन्दा उत्कृष्ट मूल्याङ्कनका साथ ग्राहकहरुले नयाँ महिन्द्रा केयूभी१०० गाडी चढेर जान सक्नेछन् । यस अफर अवधि भरी ग्राहकहरुले विभिन्न सुविधाहरु पनि पाउने कम्पनीले जनाएको छ । जस्तै :इजीफानान्सिङ्ग, आकर्षक क्यास् डिस्काउन्ट, उत्साहजनक एक्स्चेन्ज् बोनस तथा तुरुन्त सबैभन्दा उत्कृष्ट मूल्याकंनका साथै, ग्राहकहरुले हरेक टेस्ट ड्राइभमा विभिन्न उपहार समेत प्राप्त गर्नसक्नेछन् । अफरले सम्पूर्ण सेवाग्राहीहरुलाई महिन्द्रा परिवारमा जुड्न थप उत्साह प्रदान गर्ने भएकोले समयमै यस अवसरको लाभ लिन आग्रह गरेको छ ।
मैलुङ जलविद्युत् आयोजनाको सेयर खरिदका लागि स्थानीय बासिन्दा उत्साहित
रसुवा। चिलिमे जलविद्युत् कम्पनीबाट विगतमा वितरित सेयरबाट फाइदा पुगेपछि मैलुङ जलविद्युत् आयोजनाको सेयर खरिदका लागि स्थानीय बासिन्दा उत्साहित भएका छन् । सेयरको महत्व र फाइदाको विषयमा जानकारी लिएपछि स्थानीयवासी मैलुङखोला जलविद्युत् आयोजनाको सेयर खरिदका लागि खाता खोल्ने तथा सेयर फारम भर्ने कार्यमा लागेका छन् । मैलुङखोला जलविद्युत् कम्पनीले अतिप्रभावित पार्वतीकुण्ड र उत्तरगयाका बासिन्दालाई एक लाख ८४ हजार ७२ कित्ता र जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि सोही बराबरको कित्ता छुट्टयाएको छ । गत जेठ १७ गतेदेखि सेयर बिक्रीको आह्वान गरेपछि सयेर भर्नेको सङ्ख्या बढ्दै गएको जनता बैंक धुन्चे शाखाका प्रमुख सुभाष पराजुलीले जानकारी दिए । धुन्चेस्थित जनता बैंक, स्याफ्रुबेँसीमा रहेको प्रभु बैंक, कालिकास्थानस्थित आइसिएफसी सहकारी र बेत्रावतीस्थित हिमालय बैंकबाट सर्वसाधारणले सेयर फारम भरिरहेका छन् । रासस
११ प्रकारका सामान भित्र्याउँदा गुणस्तर प्रमाण चिह्न अनिवार्य लिनुपर्ने
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशमा उत्पादित ११ प्रकारका सामग्री भित्र्याउँदा नेपाल गुणस्तर प्रमाण चिह्न अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । विभागले साधारण पोर्टल्यान्ड सिमेन्ट, साधारण स्लाग, पोर्टल्यान्ड पोजोलोना सिमेन्ट, एलपीजी सिलिन्डर, ड्राइसेल एन्ड ब्याट्री, फलामे छड, जिआइ वायर, कम्पोजिट ग्यास सिलिन्डर तथा ट्युब्स, पिभीसी केवल, एलपीजी रेगुलेटर र भल्व फिटिङ्ससम्बन्धी सामग्री भित्र्याउँदा अनिवार्य नेपाल गुणस्तर प्रमाण चिह्न लिनुपर्ने व्यवस्था गरेको हो । विभागका प्रवक्ता रोमी मानन्धरले विदेशमा उत्पादित वस्तु विदेशबाटै नेपाल गुणस्तर प्रमाण चिह्न लगाएर नेपाल ल्याउने व्यवस्था गरिएको जानकारी दिए । उनले भने, “अहिलेसम्म विदेशी सामान नेपालमा ल्याएर गुणस्तर प्रमाणपत्र दिने व्यवस्था थियोे अब विदेशबाटै लगाएर ल्याउनुपर्ने व्यवस्था गरेका छौँ ।” उनले गुणस्तर चिह्न प्रयोग नगरी सामान नेपाल भित्र्याएमा भन्सार कार्यालयको सहयोगमा कारबाही गरिने स्पष्ट पारेका छन् । अहिलेसम्म नेपालमा ६१ वस्तु र २०३ उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न पाएका छन् । रासस