सारडा र राठी ग्रुपको प्रिमियर स्टीलले गर्याे साढे ४ अर्ब रुपैयाँको व्यापार
काठमाडौं । सारडा ग्रुप र राठी ग्रुपको प्रिमियर स्टीलले एक वर्षमा साढे ४ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ । सन् २०२५ मा ४ अर्ब ४१ करोड २० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले जनाएको छ । जुन गत वर्षको तुलनामा कम हो । सन् २०२४ मा कम्पनीले ४ अर्ब ५६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । यस्तै, कम्पनीले सन् २०२३ मा ४ अर्ब ७ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ५ अर्ब ८४ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । प्रिमियर स्टील प्रालि अगस्ट १, २०१६ मा स्थापना भएको कम्पनी हो, जुन सन् २०२३ मा प्रिमियर स्टील लिमिटेडमा परिणत भएको थियो । कम्पनीमा सारडा ग्रुपका शिवरतन शारडा र राठी ग्रुपको मुख्य लगानी रहेको छ । कम्पनीको सुनसरी दुहबीमा १ लाख ८० हजार टन बार र १ लाख २० हजार टन बिलेट उत्पादन प्लान्ट रहेको छ । जुलाई २०२५ को मध्यसम्म वीरेन्द्र राठी र प्रदीप कुमार शारडाको कम्पनीमा ११ प्रतिशत सेयर स्वामित्व छ भने बाँकी अन्य सेयरधनीहरूको स्वामित्व कायम छ । इन्फोमेरिक्स रेटिङले कम्पनीलाई दीर्घकालिन ऋणका लागि डबल बी माइनस र अल्पकालिन ऋणका लागि एफोर रेटिङ प्रदान गरेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालिन १ अर्ब ५६ करोड १३ लाख रुपैयाँ दीर्घकालिन र ३ अर्ब १७ करोड रुपैयाँ अल्पकालीन गरी कुल ४ अर्ब ७३ करोड १३ लाख रुपैयाँ ऋण लिएको छ । नेपालको सबैभन्दा पुरानो वायर तथा केबल उत्पादक कम्पनीमा प्रिमियर स्टीलले जीआई वायर, ग्याबियन बक्सेस, एसीएसआर कन्डक्टर, पीभीसी केबल र अन्य स्टीलजन्य वायर, कपर वायर, कन्डक्टर र केबल उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
भिभो वाई ४०० नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?
काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी भिभोले वाई सिरिजअन्तर्गतको नयाँ मोडल ‘भिभो वाई ४००’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । शैली, मनोरञ्जन, टिकाउपन र शक्तिशाली प्रदर्शन चाहने प्रयोगकर्तालाई लक्षित यो मोडल सुलभ मूल्यमै फ्ल्यागशिप स्तरको अनुभव दिने दाबी कम्पनीले गरेको छ । भिभो वाई ४०० आकर्षक दुई रङ पर्ल व्हाइट र डायनामिक ग्रीनमा उपलब्ध छ । ७.९ मिमि मेटालिक फ्रेम, पातलो बेजल र कुशन–कट डायमन्ड क्यामेरा डिजाइनसहित यसले प्रिमियम लुक प्रदान गरेको छ । यसमा ६.६७–इन्च १२० हर्ज एएमोलेड डिस्प्ले रहेको छ, जसले रंगीन र स्पष्ट दृश्य दिन्छ भने डुअल स्टेरियो स्पिकरमार्फत ४०० प्रतिशतसम्म ध्वनि वृद्धि गर्न सकिने सुविधा छ । उक्त डिस्प्ले एसजीएस आई प्रोटेक्सन प्रमाणित रहेको छ । ५० मेगापिक्सेलको सोनी आईएमएक्स ८५२ मुख्य क्यामेरा, ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा र २ मेगापिक्सेल बोके लेन्ससहित, यो फोनले उच्च गुणस्तरको फोटोग्राफी सुनिश्चित गर्छ । अण्डरवाटर फोटोग्राफी मोड, वन–ट्याप वाटर इजेक्सन र एआई इरेज २.० जस्ता सुविधा थप आकर्षण बनेका छन् । आईपी ६८/६९ डस्ट तथा वाटर रेसिस्ट्यान्ट प्रमाणन प्राप्त यस फोनले २ मिटर गहिराइमा ३० मिनेटसम्म सुरक्षित रहन सक्छ । वेट–ह्याण्ड टच प्रविधिले भिजेको हातले पनि सहज प्रयोग गर्न सकिने सुविधा दिन्छ । साथै, एयर–स्प्रीङ प्रविधियुक्त ड्रप रेजिस्टेन्ट केससमेत फोनसँगै उपलब्ध गराइएको छ । यी सुविधासहित भिभो वाई ४००मा ६००० एमएएच क्षमताको ब्याट्री छ, जसले ६१ घण्टा संगीत, ४ घण्टा बढी भिडियो स्ट्रिमिङ तथा २ घण्टाभन्दा बढी गेमिङको समर्थन गर्छ । ४४ वाट फ्ल्यासचार्ज प्रविधिबाट फोनलाई १ प्रतिशतबाट ५० प्रतिशत चार्ज गर्न ३० मिनेट मात्र लाग्ने बताइएको छ । स्मार्ट चार्जिङ इन्जिन २.०, ओभरनाइट चार्जिङ प्रोटेक्सन तथा २४–डाइमेन्सन सेफ्टी मोनिटरिङले चार्जिङलाई थप सुरक्षित बनाएको छ । स्न्यापड्रैगन ६८५ (६एनएम) चिपसेटले सञ्चालित वाई ४००मा २५६ जीबी स्टोरेज र ८ जीबी एक्सटेन्डेड र्याम दिइएको छ । भिभोको ’५० मन्थ स्मूथ एक्सपेरियन्स’ फिचरले दीर्घकालीन प्रदर्शन स्थिर रहने कम्पनीको दाबी छ । साथै, एआई नोट्स, एआई रेकर्डर, स्क्रिन ट्रान्सलेसन र सर्कल टु सर्च लगायतका स्मार्ट फिचरहरू पनि समावेश छन् । भिभो वाई ४०० हाल भिभोका अधिकृत रिटेल स्टोर तथा दराज अनलाइन प्लेटफर्ममार्फत ३६ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिने छ ।
पोखरा–बागलुङ सडकमा खाल्डाखुल्डी, यातायात जोखिममा
गण्डकी । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको पोखरा–बागलुङ चल्ने विद्युतीय माइक्रोका चालक डम्मर केसीले बताए । 'सहज र निर्वाध रूपले गाडी चलाउन सक्ने अवस्था अहिले छैन, ठाउँठाउँमा सडक भत्केको छ, कतै सडक नै भासिएको छ, कहीँ ठुल्ठूला खाल्डा परेका छन्', उनले भने, 'सवारीसधानको बढी चाप हुने मुख्य सडक नै बिग्रँदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।' शीघ्र सडक मर्मत नगरे हिउँदमा धुलोको समस्या निम्तने केसीले बताए । वर्षायाम सकिएलगत्तै सडक मर्मत गर्नुपर्नेमा अझै कामको सुरसार नदेखिएको उनको भनाइ छ । गत वर्षायाममा धेरै ठाउँमा सडक भत्केको र खाल्डाखुल्डी परेको सडक डिभिजन कार्यालय, पोखराका सबइन्जिनियर लोकेश पौडेलले बताए । 'यसपालि धेरै ठाउँमा सडक बिग्रेको छ, नियमित मर्मतसम्भारका लागि ठेक्का प्रक्रिया पनि टुङ्गिसकेको छ', उनले भने, 'कास्कीको फेदीदेखि नयाँपुल र नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म गरी दुई खण्डमा मर्मतसम्भारको काम हुन्छ ।' शिवालय निर्माण सेवाले मर्मतको ठेक्का पाएको उनले बताए । निर्माण कम्पनीले दसैँ, तिहारअघि नै मर्मतसम्भारको काम सुरु गर्ने तयारी गरे पनि बीचमा भएको वर्षात्, चाडबाडको बिदा आदि कारणले केही ढिलाइ भएको सबइन्जिनियर पौडेलले बताए । तत्काल मर्मतसम्भारको कामलाई गति दिनेगरी कार्यालययले आवश्यक पहल लिने उनको भनाइ छ । 'मर्मतसम्भारका लागि बजेट कम हुने हुँदा सबै ठाउँको सडक बनाउन असम्भव देखिएको छ', उनले भने, 'बजेटले भ्याएसम्मको काम सयममै हुन्छ ।' रासस
स्थानीयवासीको जिज्ञासा : लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?
भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब रु चार करोड खर्चिएपछि अलपत्र बनेको छ । विसं २०६७ मा निर्माण थालिएको यो पुल १५ वर्षदेखि अधुरो बनेको हो । पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् । भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार यहाँ संघीय सरकारको करिब रु चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको छ । छवटा पिलरको आधार राखेपछि यहाँको पुल निर्माण अलपत्र रहेको हो । 'लम्सुवाघाट पुल निर्माणको काम लामो समयबाट अलपत्र छ', वडाध्यक्ष उनले भन्, 'राज्यको रु चार करोड खर्च भएपछि काम अलपत्र पारिएको अवस्था छ । हामी स्थानीय १५ वर्षदेखि पुल बन्ने आशामा बसेका छौँ ।' यहाँ एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणका क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्य गम्भीर नबनेको स्थानीयवासी भक्तराज विश्वकर्माले बताए । पक्की पुल नहँुदा आवतजावतमा समस्या रहेको उनको भनाइ छ । 'राज्यले यहाँ पुल निर्माणमा बेवास्ता गरेको छ', उनले भने, 'पुल निर्माणको काम १५ वर्षदेखि अलपत्र छ । हामी यही अलपत्र पुल हेरेर बस्न बाध्य छौँ । यस्ता विषयमा राज्यले ध्यान दिन आवश्यक छ । सरकार यो पुल निर्माणमा गम्भीर बनेन ।' २०६७ सालमा पुल निर्माण सुरु गरेको निर्माण कम्पनीले सम्झौताअनुसार सो पुल २०७० सालमा सक्नुपर्ने थियो । पुल निर्माणको काम किन ढिलाइ भएको भन्ने विषयमा स्थानीय अन्योलमा परेका छन् । रासस
१६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या १८ जोडी
म्याग्दी । कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुुञ्जो, टिटीताल, खन्ती, झिप्रा देउरालीमा चिरकालिजको अध्ययन गरेको थियो । मुस्ताङमा गरेको अध्ययनको प्रतिवेदन तयार पारेको टोली चिरकालिजको अवस्था अध्ययनका लागि म्याग्दीको धवलागिरि गाउँपालिका र ढोरपाटन सिकार आरक्षमा आएको छ । अध्ययन टोलीमा सहभागी अनुुसन्धानकर्ता विराट रजकले सन् २००९ मा छ जोडी चिरकालिज रहेको उक्त सात ठाउँमा यसपालि १८ जोडी भेटिएका जानकारी दिए । 'सन् २००४ मा १७ र २००६ मा ११ जोडी कालिज भेटिएका थिए', उनले भने, 'सन् २००९ पछि अध्ययन भएको थिएन । सोह्र वर्षपछि यसपालि भएको अध्ययनका क्रममा कालीगण्डकीको माथिल्लो क्षेत्रमा चिरकालिजको सङ्ख्या बढेको पाइएको छ ।' समुदायमा संरक्षण शिक्षा, चेतनाको विकास, चोरी सिकारी नियन्त्रण, बासस्थान वरपर मानवीय र घरपालुुवा जनावरको गतिविधि बढ्दा चिरकालिजको सङ्ख्या वृद्धिमा सहयोग पुुगेको अनुुसन्धानकर्ता रजकले बताए । खरबारी, पाखोबारीमा मानिसले घाँस काट्ने, पशुुचौपायाको चरन क्षेत्र हुँदा झाडी हटेर आहारा खोज्न सजिलो हुने भएकाले चिरकालिजको बसोबासका लागि अनुुकूल वातावरण बनेको उनको भनाइ छ । चिरकालिजले फुल कोरल्नेबाहेकका समयमा डढेलो लाग्दा झाडी नष्ट हुुने र प्रशस्त आहारा पाउँदा उसका लागि अनुुकूल मानिन्छ । चैत, वैशाख र जेठ चिरकालिजले फुल पार्ने, कोरल्ने र चल्ला निकाल्ने समय हो । समुद्री सतहबाट एक हजार चार सय मिटरदेखि तीन हजार छ सय मिटरसम्मको उचाइमा चिरकालिज पाइने गर्छ । सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि धेरै भिन्नता रहने अनुुसन्धानकर्ता केशव चोखालले जानकारी दिए । 'चिरकालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ', उनले भने, 'बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो ।' ‘क्याट्रस वालिची’ वैज्ञानिक नाम रहेको यस पन्छीलाई अङ्ग्रेजीमा चिरफेजेन अर्थात् नेपालीमा चिरकालिज र सुदूरपश्चिममा चेडु चराको नामले चिनिने गरिएको छ । भिरमा नै बासस्थान बनाउने यो पन्छीले एकपटकमा सातदेखि १५ वटासम्म फुल पार्ने जनाइएको छ । चिरकालिज नेपालमा मुख्यगरी अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा पाइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मै यसलाई लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत गरेको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुु अधिकारीले बताए । कालीगण्डकीका साथै म्याग्दी र रघुगङ्गाको तटीय क्षेत्रमा देखिएकाले अनुुसन्धान थालिएको हो । चिरकालिजको अध्ययनका लागि दातृ निकाय टोलेडोजुले सहयोग गरेको नेपाल पन्छीविद् सङ्घले जनाएको छ । धवलागिरि गाउँपालिकाको म्याग्दी नदी आसपास र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा अध्ययनपछि प्राप्त हुुने प्रतिवेदनका आधारमा चिरकालिज संरक्षण कार्यक्रम गरिने जैविक बिविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले बताए । दुर्लभ पन्छी हेर्नका लागि विदेशी पर्यटक आउँदा स्थानीयस्तरमा रोजगारी सृजना र आयआर्जन वृद्धिमा सघाउ पुग्ने उनले बताए । रासस
निफ्रा बैंकको नयाँ ब्याजदर सार्वजनिक, घट्यो आधार दर
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज कात्तिक १८ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार शुभ पूर्वाधार खातामा ५ वर्षदेखि १० वर्ष अवधिका लागि संस्थागत निक्षेपकर्ताका लागि ४ प्रतिशत र व्यक्तिगतका लागि ४.५० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले शुभ पूर्वाधार बचत खातामा ५ वर्षदेखि १० वर्ष अवधिका लागि संस्थागत निक्षेपकर्ताका लागि ४.५० प्रतिशत र व्यक्तिगतका लागि ५.५० प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, १० वर्षभन्दा बढी अवधिका लागि संस्थागततर्फ ४.५० प्रतिशत र व्यक्तिगततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले १० वर्षभन्दा बढी अवधिका लागि संस्थागततर्फ ५ प्रतिशत र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै कर्जातर्फ भने बैंकले आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकको आधार दर ६.८८ प्रतिशत रहेको छ । बैंकका अनुसार प्रोजेक्ट लोनमा आधार दरमा ३ प्रतिशत प्रिमियम, ब्रिज ग्याप लोनमा आधार दरमा ०.५ प्रतिशत बढी ब्याज तोक्नेछ । यसअघि बैंकको आधार दर ६.९७ प्रतिशत रहेको थियो ।
सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै, कात्तिक २० गते निष्काशन
काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको छ । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ४ वर्षका लागि १० अर्ब रुपैयाँको ‘विकास ऋणपत्र-२०८६’ बिक्री गर्न लागेको हो । कार्यालयले कात्तिक १९ गते बोलकबोल मार्फत बिक्री गरी कात्तिक २० गते निष्काशन गर्ने जनाएको छ । इच्छुक खरिदकर्ताले बोलकबोल पेस गर्न सक्ने छन् । उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन सक्नेछन् ।
गरिमा विकास बैंकको सेयर मूल्य समायोजन, कतिमा हुनेछ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो । बैंकको ६ प्रतिशत बोनस सेयर समायोजन गरिएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य ३९३.४० रुपैयाँ कायम भएको छ । समायोजित मूल्यमा आज मंगलबार सेयर कारोबार खुल्नेछ । नेप्सेले सोमबारको अन्तिम मूल्यका आधारमा बैंकको सेयर मूल्य समायोजन गरेको हो । सोमबार बैंकको सेयर प्रतिकित्ता ४१७ मा अन्तिम कारोबार भएको थियो । बैंकले कात्तिक २७ गते पोखरा, कास्कीमा १९औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशतका दरले ३४ करोड ८ लाख ३१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ४.५३ प्रतिशतका दरले २५ करोड ७३ लाख २७ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव सभाले पारित गर्नेछ ।