अखाद्य वस्तु भेटिएपछि ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द
काठमाडौं । ओम अस्पतालको क्यान्टिन ७ दिनको लागि बन्द गरिएको छ । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरवाही देखिएपछि ७ दिनका लागि बन्द गरिएको हो । संयुक्त टोलीले काठमाडौंका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गरेको छ । हेल्दी बाइट्स सर्भिसेज् प्रालिद्वारा सञ्चालन भइरहेको उक्त क्यान्टिनमा खाद्य रंगको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, पेष्ट कन्ट्रोल (किटनाशक नियन्त्रण) व्यवस्था असन्तोषजनक रहेको, लेबल विवरण नदेखिएका खाद्य वस्तु प्रयोग गरिएको लगायत अनियमितता भेटिएका थिए । अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार, क्यान्टिन सञ्चालकले व्यवसाय दर्ता समेत नगरेको हुँदा सात दिनका लागि बन्द गरी स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको हो । अनुगमनका क्रममा म्याद गुज्रिएका पाँच थान (५०० मिलिलिटर) दूध सञ्चालककै उपस्थितिमा नष्ट गरिएको थियो। ओम अस्पताल तथा रिसर्च सेन्टर प्रालि प्रशासनका प्रशासनिक प्रबन्धक विपिन जङ्गमले संरचना मर्मत, रंगरोगन र आवश्यक सरसफाइ पूरा गरी खाद्य स्वच्छता सुनिश्चित भएपछि मात्र पुनः सञ्चालनमा ल्याउने बताए । तुलनात्मक रूपमा मेडिकेयर अस्पतालको द केयर क्यान्टिन र हेल्पिङ ह्याण्ड्स अस्पतालको क्यान्टिनमा सरसफाइ अवस्था अपेक्षाकृत राम्रो देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षण अधिकृत खगेन्द्रप्रसाद खतिवडा र सञ्जय चौधरीले जानकारी दिए । तर, दुवै क्यान्टिनमा पनि पेष्ट कन्ट्रोलको व्यवस्था सन्तोषजनक नभएको बताइएको छ। मेडिकेयर अस्पतालको क्यान्टिनमा लेबलविहीन खाद्य वस्तु प्रयोग, खुला डस्टबिन र पिउने पानी परीक्षणमा अमोनिया मापदण्डभित्र भए पनि सुधार आवश्यक रहेको पाइएको थियो । अनुगमन टोलीले क्यान्टिन सञ्चालकलाई पेष्ट कन्ट्रोल प्रभावकारी बनाउने, पूर्ण लेबलसहितका प्रशोधित खाद्य वस्तु मात्र प्रयोग गर्ने, अनुमति प्राप्त उद्योगबाट उत्पादन भएका वस्तु मात्र प्रयोग गर्ने, आगो जोखिम न्यूनीकरणका उपकरण राख्ने र खाना पकाउने तथा भाँडा माझ्ने ठाउँ अलग गर्न निर्देशन दिएको थियो । त्यस्तै, हेल्पिङ ह्याण्ड्स अस्पतालको क्यान्टिनमा व्यक्तिगत सरसफाइ सन्तोषजनक देखिए पनि खाद्य रंगको उचित प्रयोग, अनुज्ञापत्र प्राप्त खाद्य पदार्थको मात्र बिक्री र आगो जोखिम न्यूनीकरणका उपकरणहरू थप बलियो बनाउन सुझाव दिइएको छ । महानगर र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कानुनअनुसार स्वच्छ, जिम्मेवार र सुरक्षित खाद्य व्यवसाय सुनिश्चित गर्न नियमित रूपमा अस्पताल, होटल, रेष्टुरेन्ट तथा क्यान्टिनहरूको अनुगमन गर्दै आएको आएको छ ।
नेपाल एसबिआई बैंकद्वारा पशुपति क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पशुपति मन्दिर परिसरस्थित कैलाश डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको शुभारम्भ बैंकका अध्यक्ष वेंकट वंसीधर कुंचाले रोपाइँ गरेर गरेका थिए । सो कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, संचालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा सहित बैंकका अन्य पदाधिकारीहरूको उपस्थित रहेको थियो । बैंकले यसअघि पनि पशुपति क्षेत्र संरक्षण तथा हरियाली प्रवर्द्धनका उद्देश्यले यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको जनाएको छ । नेपाल एसबिआई बैंकले ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रवाह गर्दै आएको छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ सेवा केन्द्र, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा सञ्चालनमा रहेको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिलिपि नागरिकता प्रदान गरिँदै
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिलिपि नागरिकता उपलब्ध गराउने निर्णय गरेको छ । भण्डारीको नागरिकता भदौको जेनजी आन्दोलनको क्रममा निजी निवासमा भएको आगजनीमा जलेको थियो । त्यसपछि उनले नयाँ प्रतिलिपि नागरिकता पाउनका लागि जिल्ला प्रशासन कार्यालयमा औपचारिक निवेदन दिएकी थिइन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार प्रतिलिपि नागरिकता दिने निर्णयका लागि विभिन्न सरकारी निकायमा रहेका फोटोकपी र डिजिटल डाटासँग मिलान गरिएको हो । उनले भने, ‘फाइलहरू र अभिलेखहरू अध्ययन गर्दा सबै विवरण मिलेकाले प्रतिलिपि नागरिकता उपलब्ध गराउने प्रक्रिया पूरा भएको छ ।’ मंगलबार २ बजे भण्डारीलाई नागरिकताको प्रतिलिपि दिइने तय भएको रिजालले जानकारी दिए । पूर्वराष्ट्रपति भण्डारीको नागरिकता जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता रहेको थियो । तोडफोड र आगजनीमा नष्ट भएका कागजातहरूमध्ये उनको नागरिकता पनि परेको प्रशासनले जनाएको छ । हाल प्रतिलिपि नागरिकता वितरण प्रक्रिया पूरा भइसकेको र सोसम्बन्धी प्रशासनिक कार्य अन्तिम चरणमा रहेको रिजालले जानकारी गराए ।
बाक्लो सङ्ख्यामा देखिन थाले चितवन राष्ट्रिय निकुञ्जमा बाघ
चितवन । सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए । गत साता हल्याण्डका पर्यटकले पनि बाघ देखेपछि उत्साहित हुँदै खुशी व्यक्त गरेका थिए । पर्यटक र निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीले पनि हिजोआज विगतका तुलनामा बढी बाघ देख्न थालेका छन् । लामो समय निकुञ्ज बन्द रहेर जीप सफारी खुलेसँगै वन्यजन्तुको गतिविधि बढेकाले पर्यटकले देख्न पाएका हुन् । सौराहस्थित वनबास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेका अनुसार दिनभर निकुञ्जको जीप सफारीमा निस्किएका पर्यटकले बाघ देखेर फर्किएपछि खुशी हुँदै प्रतिक्रिया दिने गरेका छन् । दुर्लभ एकसिङ्गे गैंडासहित बाघ देखेपछि पर्यटक निकै रमाउने गर्दछन् । सोमबार भिम्ले पोष्ट नजिकै बेलायती जोडीले बाघ देखेपछि खुशी भएर ‘टिप्स’ दिएको पथ प्रदर्शक सरोज चौधरीले बताए । उनले भने, 'बाघ देखेपछि स्वदेशी र विदेशी दुवै पर्यटक निकै खुशी हुन्छन् ।' ठाउँठाउँमा बाघ देखिन थालेपछि घुम्न आउने पर्यटक उत्साहित हुने गरेको चौधरी बताउँछन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले पर्यटक र कर्मचारीहरुले हिजोआज बाघसहितका वन्यजन्तु धेरै देख्ने गरेको बताए । उनले ढड्डीहरु सुकेर सुख्खापन बढ्दै गएपछि निकुञ्ज खुल्ला हुने र थप वन्यजन्तु देख्न सकिने बताए । यस वर्ष यहाँ बाघ गणना गरिँदै छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघ १२८ वटा छन् । आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा बाघको सङ्ख्या पनि बढ्दै गएको छ । रासस
कांग्रेसमा महाधिवेशनको घण्टी : थापापक्ष पुसभित्र, देउवापक्ष वैशाखपछिकै अडानमा
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन कहिले गर्ने भन्ने विवाद चर्किँदै गएको छ । महाधिवेशनको मितिकै विवादले केन्द्रीय समिति बैठक स्थगन हुँदै बस्दै गरेको छ । आज बस्ने केन्द्रीय समिति बैठकमा दुई फरक कार्यतालिका पेस हुने एक नेताले जानकारी दिए । ती नेताका अनुसार महामन्त्री गगन थापाले मंसिरमा नसके पनि पुसभित्र महाधिवेशन गर्ने प्रस्ताव ल्याउन लागेका छन् । उनका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनअघि नै नयाँ नेतृत्व चयन गरी पार्टीलाई नयाँ ऊर्जा दिन जरुरी छ । थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको समेत साथ रहेको ती नेताले बताए । तर संस्थापन पक्ष भने चुनावअघि महाधिवेशन सम्भव नभएको अडानमा अडिग छ । हिजो बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले वैशाख २५ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पारित गरी आजकै बैठकमा लैजाने निर्णय गरेको छ। यसअघि कार्यतालिका पेस गर्ने सहमति नजुटेपछि महामन्त्री थापाले बैठक बहिष्कार गरेका थिए । त्यसयता स्थगित बैठक आज पुनः बस्न लागेको हो । पार्टीभित्र अब नेतृत्व परिवर्तनको माग र संस्थागत निरन्तरताको अडानबीच शक्ति परीक्षण हुने देखिएको ती नेताले जानकारी दिए । आजको बैठकले महाधिवेशनको मिति मात्र होइन, पार्टीको आगामी राजनीतिक बाटो पनि निर्धारण गर्ने अनुमान गरिएको छ ।
बागदरबार रेट्रोफिटिङ लागत ३६ करोड, काम सम्पन्न हुन २ वर्ष लाग्ने
काठमाडौं । बागदरबारको रेट्रोफिटिङको लागि गौरी पार्वती निर्माण सेवा, गणेश बिल्डर्स र भिसन कन्स्ट्रक्सनले ठेक्का पाएको छ । ठेक्का ३६ करोड ९० लाख रुपैयाँमा सम्झौता भएको छ । काठमाडौं महानगर खरिद एकाई प्रमुख राम रतन शाहका अुनसार ठेक्का पाएका यी कम्पनीहरूले १५ दिनभित्र सम्झौता गर्न आउनुपर्नेछ । सम्झौता भएको ७ दिनभित्र काम सुरु गरिक्नुपर्ने प्रावधान छ । प्रमुख शाहका अनुसार ठेक्का सम्झौता २ वर्षको रहेको छ । सम्झौताअनुसार निर्माण कम्पनीले काम सुरु गरेको २ वर्षभित्र काम सम्पन्न हुनुपर्ने छ । बागदरबारमा हाल महानगर प्रहरी बस्दै आएको छ । महानगरले बागदरबारलाई रेट्रोफिटिङ गरेर बैठक हल र म्युजियम बनाउने कुरा उठाएको छ ।
‘महामन्त्रीद्वय महिनामा ३ दिनमात्रै कार्यालय आइ काम गरेको भए महाधिवेशनको मिति तय भइसक्थ्यो’
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीभित्रको महाधिवेशन ढिलाइ र संगठनात्मक असन्तुलनप्रति तीव्र असन्तोष व्यक्त गर्दै पदाधिकारीहरूले आफ्नो जिम्मेवारीप्रति बेवास्ता गरेको आरोप लगाएका छन् । उनले पार्टीको प्रजातान्त्रिक चरित्र जोगाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् । महरका अनुसार कांग्रेसको आगामी महाधिवेशन समयमै हुन नसक्नुको मुख्य कारण पदाधिकारीहरूको निष्क्रियता हो । ‘महामन्त्रीहरूले क्रियाशील सदस्यता टुंग्याउने जिम्मेवारी लिएका भए पनि अहिलेसम्म केवल तीन जिल्लाको मात्र सदस्यता अन्तिम रूपमा प्रमाणित भएको छ,’ उनले भने। महरका अनुसार पार्टीका महामन्त्रीहरू नियमित रूपमा कार्यालयमा उपस्थित नभएकाले संगठनात्मक काम अघि बढ्न नसकेको हो । उनले पार्टीभित्र अहिले व्यक्तिगत शक्ति प्रदर्शन बढेको र संस्थागत संस्कृतिमा विचलन आएको बताए । महाधिवेशनको सबैभन्दा ठुलो काम सदस्यता नवीकरण र वितरण भएको तर त्यसको जिम्मा लिनुपर्ने महामन्त्रीहरूले वैज्ञानिकरूपमा काम नगरेको महरको आरोप छ । ‘जब पदाधिकारीहरू जिम्मेवारीभन्दा प्रचारमा बढी ध्यान दिन्छन्, त्यो संस्थागत असन्तुलन हो,’ उनले भने । तर महर बहस र विवादलाई सकारात्मक रूपमा हेर्नपर्नेमा जोड दिन्छन् । ‘कांग्रेसमा विचारका आधारमा विवाद हुनु प्रजातान्त्रिक संस्कृतिको हिस्सा हो, व्यक्ति–केन्द्रित विवाद होइन,’ उनले भने । पार्टीभित्र असन्तोष फैलाएको आरोपसम्बन्धी प्रश्नमा महरले भने, ‘म आलोचना गर्छु भने त्यो पार्टीविरुद्ध होइन, पार्टीकै सुधारका लागि हो । गल्ती औंल्याउनेलाई असन्तोषी भन्ने परम्परा गलत हो ।’ ‘कांग्रेसको आत्मा नै प्रजातन्त्र हो । यदि हामी आफ्नै पार्टीभित्र पारदर्शिता र जवाफदेहिता कायम गर्न सक्दैनौं भने जनतामा त्यो सन्देश कसरी पुर्याउन सक्छौं त,’ उनले प्रश्न गरे । जनताले दलप्रतिको विश्वास गुमाउँदै गएको प्रसङ्गमा उनी भन्छन्, विश्वास पुनःस्थापना गर्ने एक मात्र उपाय व्यवहारिक सुधार हो । कांग्रेसले जनताको मुद्दामा केन्द्रित ठोस कार्यक्रम ल्याउनुपर्छ ।’ तपाईंहरू गुटको बैठक गर्दै हिँड्ने अनि अरूलाई दोष दिन मिल्छ भन्ने विकासन्युजको जिज्ञासामा महरले भने, ‘पदाधिकारीहरूले अहिलेसम्म महाधिवेशनको कार्यतालिका ल्याउन नसकेपछि समयमै महाधिवेशन गर्नका लागि हामीले घचघचाएका मात्रै हौं ।’
विद्युतीय चार्जिङ स्टेशनको नीति चाँडै परिमार्जन हुन्छ : ऊर्जामन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशनको पोलिसी चाँडै परिमार्जन हुने बताएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । मन्त्री घिसिङले विद्युतीकरणको दायरालाई फराकिलो बनाउने गरी सरकारले यातायाता, खाना पकाउने लगायतको काममा विद्युत खपतमा जोड दिने नीति लिएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउने काममा सो केन्द्रलाई विशेष ध्यान दिन पनि निर्देशन दिए । विन्ड इनर्जीको क्षेत्रमा काम गर्न चाहने निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने आश्वासन समेत दिए । विन्ड इनर्जीको क्षेत्र पनि नेपालको सम्भावनाको क्षेत्र भएकाले यस क्षेत्रमा काम गर्न चाहने निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने मन्त्री घिसिङको योजना थियो । उनले भने, ‘यो इनर्जी ईफिसेन्सीलाई इफेक्टिभ रुपमा कसरी अगाडि बढाउनुपर्छ भनेर एकदमै यसको कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । त्यस्तै गरेर इनर्जी ट्रान्जिक्सन विषय अहिले चार्जिङ स्टेशन ट्रान्सपोर्टेशनलाई इलेक्ट्रिफिकेशन गर्ने, कुकिङलाई इलेक्ट्रिीफिकेशेन गर्ने भनेर अहिले गाउँगाउँमा जुन ग्रिड पुगेको छ । यसलाई प्रयोग गरेर इन्डक्शन कुकिङहरुमा जाने भनेर हामी लागि राखेका छौ ।’ त्यस अवसरमा मन्त्री घिसिङले नेपालको ऊर्जा क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै जर्मन सरकारप्रति पनि आभार व्यक्त गरेका थिए ।