कामना सेवा विकास बैंकको असोज २४ गते बुक क्लोज, विशेष साधारणसभामा जाँदै
काठमाडौं । कामना सेवा विकास बैंकको अगामी असोज २४ गते बुक क्लोज हुने भएको छ । कम्पनीले विशेष साधारणसभा जाने प्रयोजनको लागि सो दिन बैंकको बुक क्लोज गर्न लागेको हो । कम्पनी अगामी कात्तिक १ गते विशेष साधारणसभामा जाँदै छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले चुक्तापुँजी बढाउन १० बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । उक्त हकप्रद सेयर पारित गर्ने प्रयोजनको लागि बैंकले कात्तिक १ गते विशेष साधारणसभा बोलाएको हाे। हाल बैंकको चुक्तापुँजी २ अर्ब ६ करोड २७ लाख रुपैयाँ छ । राष्ट्रिय स्तरको विकास बैंक हुन बैंकले चुक्तापुँजी बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्छ । कामना र सेवा हालसालै मर्जरमा गएका हुन् ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक पारित
काठमाडौं । व्यवस्थापिका-संसद्को सोमबारको बैठकले ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७४ ’ लाई सर्वसम्मतिले पारित गरेको छ । गृहमन्त्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदन समक्ष राखेका थिए । यसअधि सो विधेयकको दफावार छलफलमा भाग दिँदै नेकपा (एमाले)का डा गंगालाल तुलाधरले विधेयकलाई कार्यान्वयन पक्ष बलियो बनाउन विपद् जोखिम न्यूनीकरण व्यवस्थापन केन्द्र होइन, प्राधिकरण बनाउन सुझाव दिँदै व्यवस्थापन प्राधिकरणमा निजामती कर्मचारी होइन, विषय विज्ञ राख्नुपर्ने बताए । नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डे र सीता नेपालीले संघीयताको मर्मअनुरुप विपद् जोखिम न्यूनीकरण व्यवस्थापन केन्द्र बनाउनुपर्छ भने । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विपद्को परिभाषाको दायरालाई फाराकिलो बनाउन सुझाव दिएका छन् । गृहमन्त्री शर्माले छलफलमा उठेका प्रश्नको जवाफमा प्राकृतिक जोखिममा नेपाल रहेको हुँदा यस्तो जोखिम न्यूनीकरण गर्न विधेयक आएको बताएका छन् । उनले विपद्पूर्व र विवपद्का समयका क्षति न्यूनीकरण गर्न विधेयक आएको चर्चा गर्दै प्राकृतिक तथा गैरप्राकृतिक विपद् व्यवस्थापन गर्न परिभाषा स्पष्ट पारिएको र संघीयताको मर्मअनुरुप नै विधेयक आएको बताएका छन्। सदनको बैठक सोमबारै १५ मिनेटका लागि स्थगित भएको छ । रासस
२ बर्ष भित्र सबै नेपालीका घरमा इन्टरनेट, एक बर्षभित्रै १०० औं नम्बरमा
काठमाडौं । आगामी २ बर्षभित्रै सबै नेपालीका घरमा हाइस्पिडको इन्टरनेट सेवा पुग्ने भएको छ । नेपाल दुर सञ्चार प्राधिकरणले ग्रामिण दुर सञ्चार कोषको रकम प्रयोग गरेर २ बर्षभित्रै सबै नेपालीका घरमा इन्टरनेट सुबिधा पुर्याउने भएको हो । ‘आगामी २ बर्ष भित्रै सबै नेपालीका घरमा हाइस्पिडको इन्टरनेट सुबिधा पुग्छ, हामीले त्यसका लागि ठोस योजना बनाएरै काम गरिरहेका छौं’, दुर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले भने । व्यवस्थापिका संसदको विकास समिति बैठकमा अध्यक्ष झाले ५० बर्षसम्म नभएका काम २ बर्षमै सम्पन्न गरेको दावी पनि गरे । उनले हाल नेपाल विश्वको आइसीटी इन्डेक्समा १४१ औं स्थानमा रहेको पनि बताए । करिब ८ बर्ष अघिसम्म ८१ औं स्थानमा रहेको नेपाललाई अन्य मुलुकले उछिनेको उनको भनाई थियो । हाल दक्षिण कोरिया आइसटी इन्डेक्समा एक नम्बरमा रहेको छ । झाले आगामी एक बर्षभित्रै नेपालले विश्वको आइसीटी इन्डेक्समा १०० औं स्थान प्राप्त गर्ने दावी पनि गरे । त्यसका लागि ग्रामिण दुर सञ्चार कोषको रकम उपयोग गरिरहेको पनि उनले बताएका थिए । मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काममा नेपाल टेलिकमले खासै प्रगति नगर्न नसकेको भन्दै उनले दुःख व्यक्त गरेका थिए । त्यस्तै, युटिएल र स्मार्ट टेलिकमले पनि अप्टिकल फाइबरको काम तीव्र गतिमा नगरेको झाको भनाई थियो ।
कुमारी बैंकको दशैं काउन्टर सञ्चालनमा, कहिले कहिले हुँदैछ ?
काठमाडौं । दशैंको अवसरमा कुमारी बैंकले दशैं काउन्टर सञ्चालन गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा सुविधाको लागि दशैं बिदामा पनि नगद काउन्टर खुल्ला गर्न लागेको हो । दशैंको समयमा यस बैंकले आफ्नो पुतलीसडक शाखाकाे काउन्टर ७ दिन सञ्चालनमा ल्याउन लागेको छ ।
बिजुलीको बिल भुक्तानी अब एनएमबि बैंकको मोबाइल बैंकिङबाट
काठमाडौं । एनएमबि बैंकले मोबाइल बैंकिङबाट नेपाल विद्युुत प्राधिकरणको बिल भुक्तानीे सेवा शुरु गरेको छ । अब एनएमबि बैंकका ग्राहकहरुले बिना झन्झट मोबाइल बैंकिङमा लग इन गरी काउन्टरको नाम, एस् सि नम्बर र उपभोक्ता संख्या राखेर बिल रकम हेर्न सक्ने र आफ्नो खातामा रहेको मौज्दातबाट सो को भुक्तानी गर्न सक्नेछन् । साथै, यस बिल भुक्तानी सेवाले ग्राहकलाई थप झन्झट रहित बैंकिङको अनुभव गराउने बैंकका सिइओ सुनिल केसीले बताएका छन् । यस बैंकले लगातार आफ्नो सेवा सुबिधालाई डिजिटल प्रबिधी प्रयोग गरी सरल सुलभ र उत्कृष्ट बनाउँदै लगेको छ ।
स्वास्थ्य सेवा बन्द गर्ने निर्णय छिट्टै फिर्ता लिन सरकारको आग्रह
काठमाडौं । सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत चिकित्सक संघलाई आग्रह गरेको छ । सोमबारको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संघले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतका मागबारे आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्ने हुँदा स्वास्थ्य संस्था बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए । सूचना तथा सञ्चार मन्त्री बस्नेतका अनुसार चिकित्सक संघले आकस्मिकबाहेकका देशभरका स्वास्थ्य संस्था बन्द गरेको सम्बन्धमा सोमबारको मन्त्रिपरिषद्मा गम्भीर छलफल भएको र प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेकाले आगामी मन्त्रिपरिषद्को बैठकबाट संघको माग टुङ्ग्याइने छ । सरकारले यही असोज २ गते चिकित्सकको चरम लापबाहीका कारणले बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेसागत वा व्यावसायिक बीमा र क्षतिपूर्तिलगायतका आवश्यक विषयलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो । उक्त निर्णय फिर्ता लिनुपर्नेलगायत तीन बुँदे माग राखी यही ६ गते शुक्रबारदेखि संघले देशभर आकस्मिक बाहेकका स्वास्थ्य संस्था बन्द गरेको थियो ।
बुढीगण्डकीको निर्णय तत्काल खारेज गर्न संसदीय समितिको निर्देशन
काठमाडौं । व्यवस्थापिका संसदका दुई वटा समितिले बुढीगण्डकी जलासययुक्त आयोजना चाइना गेजुवा ग्रुप लिमिटेडलाई दिने अघिल्लो सरकारको निर्णय तत्काल खारेज गर्न सरकारलाई निर्देशन दिएका छन् । कृषि तथा जलस्रोत समिति र अर्थ समितिको सोमबारको बैठकले १ हजार २ सय मेगावाट क्षमताको सो आयोजना चिनिया कम्पनी गेजुवालाई दिने निर्णय खारेज गर्न निर्देशन दिएका हुन । अघिल्लो सरकारका उर्जामन्त्री जनार्दन शर्माले आयोजना गेजुवालाई निर्माण गर्न दिने निर्णय गरेका थिए । मन्त्रिपरिषद, उर्जा मन्त्रालयबाट भएको निर्णय नेपालको प्रचलित नियम कानुन सम्बत नदेखिएको, सार्वजनिक खरिद ऐन उल्लंघन गरिएको, खुला प्रतिस्पर्धा नगराइएको र हचुवाको भरमा समझदारी गरिएको भन्दै तत्काल खारेज गर्न निर्देशन दिएको हो ।
विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या, १० करोड बजेट आवश्यक पर्ने
मोरङ । मुलुकको सबैभन्दा पुरानो र राजनीतिक इतिहास बोकेको विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या भएको छ । मिल सञ्चालन गर्न १० करोड रुपैयाँ बजेट आवश्यकपर्ने भएपनि अहिलेसम्म सरकारले बजेट पठाएको छैन । मिल सञ्चालनका लागि कच्चा पदार्थ खरिद गर्नुपर्ने भएकाले उक्त रकम आवश्यकपर्ने भएको हो । सरकारले बजेट पठाउने आश्वासन दिएको तर अहिलेसम्म बजेट पठाउने कुनै चाँजोपाँजो नगरेको मिलका निर्देशक राजेन्द्र कार्कीको भनाइ छ । उनका अनुसार मिल सञ्चालनका लागि मेसिन मर्मतको काम अन्तिम चरणमा छ । भारतका उद्योगी राधाकृष्ण चमडियाले विसं १९९३ मा स्थापना गरेको विराटनगर जुटमिलको पूर्णरुपमा सञ्चालन हुने हो भने चार हजार मजदुरले रोजगारी पाउँछन् भने दैनिक ४५ टन जुटजन्य सामान उत्पादन हुनेछ । उक्त मिलमा काम गरेकै अवस्थामा ००७ सालको प्रजातन्त्र स्थापनाका लागि पूर्वप्रधानमन्त्री स्व मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाले आन्दोलनको विगुल फुक्न शुरु गर्नुभएको थियो । त्यतिमात्रै होइन अहिले जुटमिल ऋणैऋणमा डुबेको छ । जुटमिललाई अहिले सावाब्याजगरेर तीन अर्ब २० करोड रुपैयाँ ऋण पुगेको छ । यी तमाम समस्याका बीच सञ्चालक समितिले जुटमिललाई सञ्चालन गर्नका लागि अहिले जुटमिलका मेसिन मर्मतको कामलाई तीव्रता दिएको छ । मिलका मेसिन तथा पार्टपुर्जाको इञ्जिनियर सौरभ विष्ट नेतृत्वको प्राविधिक टोलीले मर्मत शुरु गरेको हो । मिलको मर्मतसम्भारपछि आगामी मंसिरदेखि जुटका सामग्री उत्पादन गर्ने लक्ष्य रहेको छ । व्यवस्थापन समितिका अनुसार मिलमा ७० प्रतिशतभन्दा बढी मेसिन तथा पार्टपुर्जा मर्मत गर्नुपर्ने अवस्थामा छन् । प्राविधिक टोलीले करिब दुई महिनामा मर्मतको कामसक्ने जनाइएको छ । एक महिनाभन्दा बढी उनीहरुले काम गरिसकेका छन् । यसबाहेक करिब १० करोड रुपैयाँ लागतमा आधुनिक पार्टपुर्जा जडान गरिने व्यवस्थापन समितिले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले मिल सञ्चालन गर्न आवश्यकपर्ने ३३ केभिए विद्युत् प्रसारण लाइन जडान गर्न स्वीकृति दिएको छ । लामो समयको विवादसँगै आर्थिक अपचलनका कारण समस्यामा परेको विराटनगर जुटमिल फेरि सञ्चालनको तयारीमा छ । रासस