विकासन्युज

उदयपुर सिमेन्ट उद्योग फेरि घाटामा

गाईघाट । पन्ध्र दिन यतादेखि निरन्तर विद्युत् भार कटौतीका कारण नियमित उद्योग सञ्चालन नहुँदा नाफामा रहेको उदयपुर सिमेन्ट उद्योग फेरि घाटामा जान थालेको छ । शुरुका दिनमा नियमित विद्युत् आपूर्तिका कारण नाफामा रहेका सिमेन्ट उद्योग असोजको पहिलो हप्ता विद्युत् आपूर्ति नियमित नभएपछि १५ दिनमा मात्र झण्डै दुई करोड रुपैयाँभन्दा बढी घाटा ब्यहोर्नुपरेको उद्योगको सिमेन्ट उत्पादन प्लान्ट विभाग प्रमुख नवलकिशोर साहले बताए । गत वर्षमात्र उद्योगले २५ करोड रुपैयाँ मुनाफा गरेको र यस वर्ष पनि झण्डै १० करोड रुपैयाँभन्दा माथि नाफा गरिरहेका बेला अहिले निरन्तर विद्युत् भार कटौतीका कारण रु दुई करोडभन्दा माथि घाटा भइसकेको उद्योग प्रशासनको भनाइ छ । नियमित विद्युत् आपूर्तिका लागि आफूहरुले सम्बन्धित निकायमा पटकपटक अनुरोध गरे पनि अझै दैनिक विद्युत् भार कटौती हुन नछाडेपछि अब उद्योग ओरालो लाग्ने अवस्थामा आएको समेत उद्योगका कर्मचारी बताउँछन् । रासस

भद्रपुर नगरपालिकाको बजेट ६० करोड

भद्रपुर । भद्रपुर नगरपालिकाले आव २०७४/७५ का लागि ६० करोड ७० लाख ६० हजार ८४० रुपैयाँ बराबरको आयव्यय विवरण पारित गरेको छ । नगर प्रमुख जीवनकुमार श्रेष्ठले नगरपालिकाको एक वर्षमा गरिने कार्यक्रमसहित नीति तथा कार्यक्रममा भौतिक पूर्वाधारको विकास, पर्यटन प्रवद्र्धन तथा कृषिको व्यवसायीकरण, वातावरण संरक्षण, रोजगारीको अवसरमा वृद्धि लगायत योजना प्रस्तुत गरेका हुन् । राजस्व बाँडफाँडमा कुल बजेटको नौ प्रतिशत, प्रशासनिक खर्च, ६.२९ प्रतिशत कार्यक्रम खर्च १६ प्रतिशत सामाजिक सुरक्षा खर्च, २१.६८ प्रतिशत, सशर्त अनुदान, १७.१३ प्रतिशत, बजेट विनियोजन गरिएको नगरपालिकाका इञ्जिनियर योगेन्द्र रञ्जितकारले जानकारी दिए । रासस

रिलायबल माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता २१०० रुपैयाँ मात्र

काठमाडौं । मंगलबार रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १३ दशमलब ३३ प्रतिशत बानस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २१०० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता १५६३ रुपैयाँ रहने छ ।

यती एअरलाइन्स भित्र्यायो दोश्रो एटीआर विमान, भैरहवा र भद्रपुरमा सेवा विस्तार

काठमाडौं । यती एअरलाइन्सले ट्विन ईञ्जिन सहितको आधुनिक प्रविधियुक्त एटीआर७२-५०० विमानको सेवा थप विस्तारित गर्ने क्रममा दोश्रो एटीआर विमान नेपालमा भित्र्याएको छ । एअरलाइन्सद्धारा उक्त विमान सोमबार त्रिभुवन अन्तरास्ट्रिय विमान स्थलमा अवतरण गरिएको हो । एटीआर ७२-५०० फ्रेञ्च-ईटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित टर्बोप्रप एयरक्राफ्ट हो । उत्कृष्ट निर्माण र कार्यक्षमता प्रदर्शनीका कारण एटीआर ७२–५०० विश्व बजारमै सर्वाधिक सफल क्षेत्रीय विमानका रुपमा स्थापित हुँदै गइरहेको छ । त्यसैगरी, वैदेशिक बजारमा निरन्तर विस्तारित हुँदै विश्वका नयाँ बजारमा समेत प्रवेश पाइरहेको छ । एटीआर ७२–५०० लाई ह्यामिल्टन सन्डस्ट्रान्ड कम्पोजिट ब्लेड प्रोपेलर सुसज्जित दूई ओटा प्राट एण्ड ह्विट्ने पीडब्ल्यू १२७ ईञ्जिनले शक्ति प्रदान गर्दछ । यी अत्याधुनिक प्रविधि सुसज्जित ईञ्जिन र प्रोपेलरले अद्वितिय कार्यक्षमता प्रदर्शन गर्नुका साथै, ईन्धन मितब्ययी, न्यून ध्वनी र न्यून ग्रिनहाउस ग्यास उत्सर्जन गर्दछ । एयर न्यूजिल्याण्ड, एयर लिंगस, एसएएस, एचओपी, फ्लाइबी, अजुल, बैंकक् एयरवेज, जेट एयरवेज, मालिन्डो लगायत एटीआर ७२–५०० विमानका वैश्विक रुपमा परिचित हवाई सेवा प्रदायकहरु हुन् । यस एटीआर ७२–५०० विमान नोर्डिक एभिएसन क्यापिटलबाट वित्तिय पट्टा अन्तर्गते खरिद गरिएको हो। ४७ देशका ७० एयरलाइन्सले उपभोक्तालाई सेवा प्रदान गरिरहेको एनएसी उद्योगकै अग्रणी क्षेत्रिय पट्टादाता हो । एयरोमेक्सिको, एयर क्यानाडा, ब्रिटिस एयरवेज, एलवोटी, एयर बर्लिन, आजुल, गरुडा, फ्लाइबी, एचओपी लगायत अग्रणी एयरलाइन्स तथा प्रमुख क्षेत्रीय वाहक एयर नोस्ट्रम, जेट टाइम, ईटिहाद रिजनल, बिन्टर, एयर केबीजी लगायत यसका सेवा ग्राहीका रुपमा रहेको छन् । एनएसीको हालका ३ सय ५० भन्दा बढी ओटा स्वामित्व प्राप्त र ३९ ब्यवस्थापन सम्हालिएका विमानमा एटीआर ४२, एटीआर ७२, बम्बारडियर ड्याश ८, सीआरजे९००, सीआरजे१०००, सीएस३००, ई१७०, ई१७५, ई१९० र ई१९५ पर्छन् । एटीआर र बमर्बािर्डयर विमानका लागि एनएसी विश्वकै अधिक स्वामित्व प्राप्त तथा पट्टादाताका रुपमा परिचित छ । यती एयरलाइन्सले आफ्नो यो दोश्रो विमान थप भएपश्चात भैरहवा र भद्रपुर स्टेशनमा समेत आफ्नो सेवा विस्तार गर्ने छ ।

अमेरिकी डलर फेरी महंगिएर १०४.४७ रुपैयाँ पुग्यो, बजार भाउ बढ्ने

काठमाडौं ।  नेपाली रुपैयाँसंग निरन्तर कमजोर हुदै गएको अमेरिकी डलर पुनः मजवुत भएको छ ।  डलर मजवुत भएर मंगलबार १०४ रुपैयाँ ४७ पैसा पुगेको छ । गत भदौमा बिक्रीदर १ डलर बराबर १०२ रुपैयाँ ७४ पैसा थियो । दुई साताका बीचमा डलर १ रुपैयाँ ७३ पैसा महंगिएको छ । डलर मजवुत भएपछि आयातित वस्तुको भाउ बढेर उपभोक्ता मूल्यवृद्धि गराउने छ । भारतीय अर्थतन्त्र कमजोर हुदै गएका कारण भएपछि यसको प्रभाव नेपाली रुपैयाँमा परेको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु कमजोर हुन साथ यसको प्रभाव नेपाली रुपैयाँमा पर्ने गर्छ । भारतले वस्तु तथा सेवा कर (जीएसटी) लागु गरेपछि अर्थतन्त्र मजवुत हुदै गएको बताए पनि भारु कमजोर भएको छ । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले मंगलबार १ डलर बराबर ६४ रुपैयाँ ८३ पैसा भारु तोकेको छ । डलर मजवुत हुदै गएपछि गत मंसिरमा १ डलर बराबर ७० भारुसम्म पुगेको थियो । गत मंसिरमा डलर मजवुत भएपछि ११० रुपैयाँ २६ पैसासम्म पुगेको थियो । ०७४ असार मसान्तको तुलनामा २०७४ साउन मसान्तमा नेपाली रूपैयाँ डलरसँग ०.६ प्रतिशतले अधिमूल्यन भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर करिब स्थिर थियो । ०७४ साउन मसान्तमा १ डलर बराबर १०२ रुपैयाँ २९ पैसा पुगेको थियो । गत आर्थिक वर्षमा १ डलर बराबर औसत १०६ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । गत जुनमा पनि १ डलर बराबर १०३ रुपैयाँ २१ पैसा थियो । सन् २०११÷०१२ मा डलर औसत ८१ रुपैयाँ थियो । त्यसपछि डलर मजवुत हुदै १११ रुपैयाँसम्म पुगेको थियो । डलर मजवुत भएपछि आयातित बस्तुको महंगो पर्ने र यसले मूल्यवृद्धिमा चाप पार्छ । यस्तै राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार पनि बढ्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकट महंगो हुनुका विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि बढ्छ । वैदेशिक रोजगारीमा जानेले पठाउने रेमिट्यान्स आप्रवाह बढ्ने छ । यस्तै विदेशबाट प्राप्त हुने पेन्सनवापतको रकम आप्रवाहमा बढी हुन्छ । डलर मजवुत हुदा विदेशी पर्यटकलाई फाइदा हुन्छ ।  

दिगो विकास योजनाद्धारा यती एयरलान्स नयाँ उचाईंमा, एसडीजी ब्राण्डेड रोलआउट सार्वजनिक

काठमाडौं । यती एअरलाइन्स डोमेस्टिक प्रालि (निजी क्षेत्रको आन्तरिक एअरलाइनर)ले भरखरै भित्र्याएको आफ्ना एटीआरहरुमा दिगो विकास योजना (एसडीजी) ब्राण्डिङ गरे संगै ग्लोबल गोल्सले नेपालमा नयाँ उचाइ पाउन थालेको छ । नेपालमा रहेको संयुक्त राष्ट्रसंघ र यती एअरलाइन्सको सहकार्यमा एसडीजी ब्राण्डेड रोलआउट सोमबार काठमाडौंको त्रिभूवन अन्तरराष्ट्रिय विमान स्थलमार्फत सार्वजनिक गरिएको हो । एसडीजी ब्राण्डेड रोलआउट सार्वजनिक गर्न आयोजित कार्यक्रममा यती एअरलाइन्स प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राई र यूएनकातर्फबाट यूएनडीपी कन्ट्रि डिरेक्टर रेनोउड मेयरको उपस्थिती रहेको थियो । ‘निजी क्षेत्रसंगको सहकार्यमा दिगो विकास योजनाले वास्तवमै राम्रो उचाइलिन सक्छ भन्ने कुराको यो ज्वलन्तउदाहरण हो । नेपाली आकासमा कसरी विश्वकै ठूला चुनौतीको सामना गर्न सकिन्छ भन्ने सन्देश फैलाउँदै उडेका विमान देख्दा वास्तवमै खुशीको आभाष हुन्छ ।’ एसडीजी ब्राण्डेड रोलआउट सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै मेयरले भने, ‘हामीले नेपालमा यूनाइडेट नेशन्सले घरेलु ब्यवसायलाई कसरी अझ जिम्मेवार र एसडीजी मैत्री बनाउन सक्छौँ भनी विभिन्न कोणबाट अध्ययन गरिरहेका छौँ । यतीको साथमाहामी चाँडै नै सन् २०३० सम्ममा नेपाललाई ग्लोबल गोल्स प्राप्त गर्न सहयोग पुग्ने थप नयाँ संयुक्त प्रयासहरु लागू हुनेमा आशावादी छौँ ।’ एसडीजी ब्राण्डेड विमान, सटल बस, एसडीजी लिफलेट्स, एअरलाइन्सको आधिकारिक वेभसाइटमा समाहित डोनेट नाउलिङ्क, बोर्डिङ पासको ब्राण्डिङ तथा सामाजिक सञ्जालमा सञ्चालित क्याम्पेन्स मार्फत एअरलाइन्सले हजारौँ मानिस माझग्लोबल गोल्स सम्बन्धित सटिक तथा प्रयोगात्मक सन्देश पुर्याउने आशा गरिएको छ । ‘एटीआर ७२–५०० विमानमा गरिएको यूएन एसडीजीको ब्राण्डिङले यती एअरलाइन्स नेपालको विकासका लागि हरदम प्रयासरत रहेको र आफ्नो प्रयास हरसम्भव तरिकाले जारी राख्ने प्रतिबद्धता प्रतिबिम्बित गर्छ ।’, कार्यक्रममै बोल्दै प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले भने , ‘यस्तो कार्यमा सहकार्य गर्ने अवसर प्रदान गरेकामा हामी यूनाइटेड नेशन्स प्रति आभारी छौँ ।’  

थ्राइभ ब्रोकेरेजकोे सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मंगलबारदेखि तीन दिन थ्राइभ ब्रोकेरेज हाउस प्रा.लिको सेयर कारोबार रोक्का गरेको छ । धितोपत्र बोर्डलाई नियमन शुल्क नबुझाएको कारणले नेप्सेले उक्त हाउसकोे कारोबार रोक्का गरेको हो । बोर्डलाई गत वर्षको शुल्क तिरेपछि मात्र यस ब्रोकेरेज हाउस कारोबार खुला हुने छ ।

पिओएस मेसीनमा प्रभु ग्रुपको लगानी, बिना नगद डिजिटल कारोबार गर्न सकिने

काठमाडौं । २८ वर्षअघि नेपाल भित्रिएको अल्पाइन कार्ड सर्भिस पिओएस (पोइन्ट अफ सेल) कार्ड मेसीन मार्फत क्यासलेस कारोबारमा प्रभु ग्रुपले लगानी गर्ने भएको छ । जसको माध्यमबाट बिना नगद कारोबार गर्न सकिन्छ । व्यापारिक केन्द्रहरुमा राखिएका यी मेसीनहरु ग्रामिण तहसम्म फैलाउने गृहकार्य भइरहेको छ । अल्पाइन विजनेस कार्डसँग सम्बन्धित विभिन्न सेवाहरु दिने उद्देश्यले स्थापित कम्पनी हो । हाल यो कम्पनीको बहुमत सेयर प्रभु ग्रुपले लिएको छ भने कम्पनीको महाप्रबन्धकमा प्रभु ग्रुपको तर्फबाट राजगोपाल राजभण्डारी नियुक्त भएका छन् । हालसम्म नेपालमा तीनहजार पाँचसय वटा पिओएस मेसिन संचालनमा रहेको र दुईहजार वटा मेसिन २०७४ साल भित्र थपिने क्रममा रहेको प्रभु ग्रुपले जनाएको छ । वित्तीय पहुँच विस्तार गर्नका लागि पिओएस मेसिनको प्रयोगलाई प्रभुले विभिन्न ग्रामिण तहसम्म पु¥याउन होमवर्क गरेको छ । नेपालमा रहेका पीओएस मेसिनहरुको प्रयोग प्रायः विदेशीहरुले नै गर्ने गरेका छन् । अब भने स्वदेशमै यसको प्रयोग बढाउन प्रभु ग्रुपले भूमिका खेल्ने भएको छ । यो मेसिन भित्रिएको लामो समय भइसक्दा पनि नेपालमा क्यासलेस ट्रान्जेक्सनको विकास तिब्र गतिमा हुन सकेको छैन । किनमेल गर्दा नगद नै बोकेर जाने नेपालीहरुलाई हातमा नगद नहुँदा बैंकमा भएको रकम सिधै क्रेडिट तथा डेबिट कार्डहरुबाट खर्च गर्ने बानीको विकास हुनेछ । पिओएस कार्ड मेसीन के हो ? पिओएस मेसीन क्यासलेस कारोबामर गर्ने माध्यम हो । जसबाट ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोगबाट रकम भुक्तानी गरी सामान तथा सेवा खरिद गर्न सक्छन् । दैनिक उपभोग्य सामान किन्ने पसल, डिपार्टमेन्टल स्टोरहरु, ठूलाठूला सपिङ मलहरु, होटल, हवाई टिकट सिनेमा हल लगायत पैसाको कारोबार गरिने जुनसुकै स्थानहरुमा पनि यो मेसिनको प्रयोग गर्न सकिन्छ । एटीएम वा बैंकमै गएर नगद निकाल्नुपर्ने झन्झटलाई यो सिस्टमले निर्मूल पार्नेछ । साथमा पैसा हराउने अथवा लुटिने लगायतका समस्याबाट पनि बच्न सकिन्छ । जसको प्रयोग समुन्नत मुलुकहरुमा अत्याधिक हुने गर्दछ । यस किसिमको कारोबार बढ्दै गयो भने नेपाल राष्ट्र बैंकलाई नोट छापीरहनु पर्दैन । नोट छाप्दा विदेशीने मोटो रकमको बचत हुनुका साथै डिजिटल फाइनान्स पूर्ण रुपमा कार्यान्वयनमा आउने बताइएको छ ।