विकासन्युज

कार्ल्सबर्ग गल्फको दोस्रो सिरिज शुरु, उदयमान गल्फरहरूबीच प्रतिस्पर्धा

काठमाडौं । कार्ल्सबर्ग गल्फको दोस्रो सिरिज शुरु भएको छ । देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको दोस्रो सिरिजको शुरुवात शनिबार भएको हो । ३ वटा सिरिजको यस प्रतियोगितामा उदयमान गल्फरहरूबीच प्रतिस्पर्धा हुनेछ । यसअघिका ३ वटा सिरिजमध्येको पहिलो सिरिज २३ वैशाखमा भएको थियो । बाँकी रहेको अन्तिम सिरिज केही महिनापछि हुनेछ । आफ्नो होम क्लबहरूको भ्यालिड ह्यान्डी क्याप भएका देशभरिका उदीयमान गल्फरहरूलाई पनि यस इभेन्टमा मौका दिएको छ । प्रत्येक इभेन्टबाट उत्कृष्ट १० नेट स्कोर गर्ने खेलाडीहरू र उत्कृष्ट ५ ग्रस स्कोर गर्ने खेलाडीहरूले अंक प्राप्त गर्नेछन् र तीन वटा इभेन्टपछि ग्रस र नेट विधामा जुन खेलाडीले सबैभन्दा धेरै अंक प्राप्त गर्छन्, त्यसलाई काल्र्सबर्ग गल्फ सिरिज ग्रस र नेट च्याम्पियन घोषित गरिनेछ । त्यसैगरी प्रत्येक अडिसनका नेट विजेता, नेट उपविजेता, ग्रस विजेता, ग्रस उपविजेता, महिलातर्फका विजेता, सिनियर विजेता, सिनियर उपविजेता, लंगेस्ट ड्राइभ, क्लोजेस्ट टु द पिन र मोस्ट बर्डिजहरूलाई पुरस्कार वितरण गरिनेछ ।

भाइटीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा

काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको राससलाई जानकारी दिए । उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ । यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलबारदेखि शुरु हुँदैछ । ३१ गते (कार्तिक कृष्ण त्रयोदशीका दिन) काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रबार गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा एवं कात्तिक ४ गते शनिबार भाइटीका परेको अध्यक्ष गौतमले जानकारी दिए। कुल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । शास्त्रीयरूपमा गाईको पूजा भने कार्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने समितिले जनाएको छ । रासस

सूर्योदय लघुवित्तले १९ प्रतिशत बोनस सेयर दिने, पुँजी चार करोड ७६ लाख पुग्ने

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि एक प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव राखेको छ । उक्त प्रस्ताव असोज २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी चार करोड रुपैयाँ रहेको छ । १९ प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी चार करोड ७६ लाख रुपैयाँ पुग्ने छ ।

स्वदेशी लघुवित्तले १५ प्रतिशत बोनस पछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर पश्चात सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १५ प्रतिशत बोनस पश्चात कायम हुन आउने चुक्ता पुँजीमा एक बराबर एक(१ः१)को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी १० करोड ४९ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी १२ करोड ७ लाख रुपैयाँ हुने छ । बोनस पछि कायम भएको पुँजीमा शतप्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी २४ करोड १४ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

छिमेक लघुवित्तको वार्षिक साधारण सभा कात्तिक २४ गते , ४५ प्रतिशत लाभांश दिने

काठमाडौं । छिमेक लघुवित्त विकास बैंकको १६औं वार्षिक साधारण सभा आगामी कात्तिक २४ गते हुने भएको छ । उक्त सभामा कम्पनीले सेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने भएको छ । सञ्चालक समितिको ४५ प्रतिशत लाभांश दिने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट भने पारित भइसकेको छ । राष्ट्र बैंकबाट पारित भएको उक्त प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । यस लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २५.११ प्रतिशत (बोनस सेयरको कर सहित) नगद लभांश र १९.८९ प्रतिशत बोनस सहित सो मात्राको लाभांश दिने भएको छ ।

६ जिल्लाका भूकम्प पीडितले काठमाडौंमा घर बनाउन पाउने, सात जिल्लाले नपाउने

काठमाडौं । भूकम्पबाट अति प्रभावित ६ जिल्लाका पीडितहरुले सरकारी अनुदानबाटै काठमाडौंमा घर बनाउन पाउने भएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणको असोज २४ गतेको बैठकले सरकारी अनुदानबाट छिमेकी जिल्लामा घर बनाउन पाउने सुबिधा दिएको हो । यो सुबिधा अनुसार भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये ७ जिल्लाका पीडितहरुले काठमाडौंमा घर बनाउन पाउनेछन् । सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, भक्तपुर र ललितपुरका भूकम्प पीडितले काठमाडौंमा घर बनाउन पाउनेछन् । गोरखा, रसुवा,  सिन्धुली, दोलखा, काभ्रे, रामेछाप र ओखलढुंगाका भूकम्प पीडितले भने काठमाडौंमा घर बनाउन पाउने छैनन् । ‘सिमाना जोडिएको छिमेकी जिल्लामा सरकारी अनुदान लिएर घर बनाउन पाउने व्यवस्था गरेका हौं, बसाईसराईको संख्या धेरै बढ्ने देखिएपछि छिमेकी जिल्लामा मात्रै घर बनाउन पाउने निर्णय गराएका हौं’, पुननिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुषालले विकासन्युजसँग भने । पुरानो घर भएको जिल्ला र नयाँ घर बनाउने जिल्ला बिचको समन्वयका आधारमा सरकारी अनुदान प्रयोग गरेर घर निर्माण प्रक्रिया अघि बढाउन सकिनेछ । ‘कुन बैंकबाट रकम लिने हो र कुन प्राबिधिकले घरको प्राबिधिक जाँच गर्ने हो भन्ने एकिन गर्नुपर्छ, यो दुई जिल्लाबिचको समन्वयले निर्धारण गर्छ’, प्राधिकरणका प्रवक्ता भुषालले भने । उनले बसाई सराईको अत्याधिक चाप हुने देखिएपछि छिमेकी जिल्लामा मात्रै घर सार्न पाउने व्यवस्था गरिएको स्पष्ट पारे । हालसम्म ६ लाख ४० हजार ८ सय ९ परिवारसँग अनुदान सम्झौता सम्पन्न भएको छ भने ६ लाख १ १५ हजार ४ सय ४७ परिवारले पहिलो किस्ता वापतको रकम लिएका छन् । दोश्रो किस्ता लिने भुकम्प पीडितको संख्या ८० हजार ४ सय ४१ पुगेको छ भने ८ हजार ५ सय ६२ परिवारले तेश्रो किस्ताको रकम पनि लिईसकका छन् । हाल १ लाख ४० हजार २ सय ४२ घर निर्माण भैरहेका छन भने ५७ हजार ७८ घर निर्माण सम्पन्न भैसकेका छन् ।  

नेपाल बायु सेवा निगममा १०६ जनालाई जागिर खुल्यो

काठमाडौं । नेपाल बायुसेवा निगमले १०६ जनाका लागि जागिर खुलाएको छ । निगमले आइतबार सार्वजनिक सूचना निकालेर बिभिन्न पदमा १०६ जनाका लागि दरखास्त आव्हान गरेको हो । निगमले असोज २९ गतेदेखि २१ दिनभित्र कार्यालय समयमै निगम केन्द्रिय कार्यालमा आवेदन दिन सकिने जनाएको छ । महिला, खुल्ला, दलित, जनजाति, पिछडिएको क्षेत्र, अपांग लगायतको समावेशी कोटामा जहाज मर्मतदेखि प्रशासन अधिकृतसम्मका लागि दरखास्त आव्हान गरेको हो । प्लस टु र सिटिइभीटीबाट प्राबिधिक बिषय अध्ययन गरेकाहरुले आवेदन दिन सक्नेछन् । लोक सेवा आयोगको सहभागीतामा लिखित परिक्षा लिइनेछ । चौथो र पाँचौं तहमा आवेदन दिनेले ५ सय रुपैंयाँ दस्तुर तिर्नुपर्नेछ भने छैठौं र सातौँ तहमा आवेदन दिने ७ सय रुपैंयाँ दस्तुर तिर्नुपर्नेछ । एक भन्दा बढि समुहमा आवेदन दिँदा चौथो र पाँचौं समुहकाले थप २५० र छैँठौं र सातौँ समुहकाले ३५० रुपैंयाँ दस्तुर तिर्नुपर्नेछ ।  

वेष्टर्न डेभलपमेन्ट र नमस्ते वित्तीय संस्था गाभिए, आइतबारदेखि एकिकृत कारोबार

काठमाडौं । वेष्टर्न डेभलपमेन्ट बैंक र नमस्ते वित्तीय संस्था एकआपमा गाभिएर आइतबारदेखि एकिकृत बैंकिङ कारोबार सुरु गरेका छन् । दुबै संस्था गाभिएर वेष्टर्न डेभलपमेन्टको नाममा बैंकिङ आइतबारदेखि एकिकृत कारोबार सुरु गरेका छन् । गाभिएपछि बैंकको केन्द्रीय कार्यलय दाङको घोराहीमा रहने छ । चुक्तापुँजी बढाउन दुबै संस्था एकआपसमा गाभिएका हुन् ।