विकासन्युज

बजारमा तरलता बढी भएपछि राष्ट्र बैंकले बुधबार ५ अर्ब उठाउदै

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले फेरी बजारबाट ५ अर्ब रुपैयाँ उठाउने भएको छ । राष्ट्र बैंकले आउदो बुधबार बोलकबोलबाट बैंकिङ प्रणालीमा बढी भएको रकम रिभर्स रिपोमार्फत उठाउन लागेको हो । बैकिङ प्रणालीमा लगानीयोग्य पुँजी बढी भएपछि केन्द्रीय बैंकले तरलता प्रशोचन गर्दे आएको छ । राष्ट्र बैंककाअनुसार बैकिङ प्रणालीमा अझै ४२ अर्ब रुपैयाँ बढी तरलता रहेको छ । एक साताका लागि प्रशोचन गरिएको तरलता कात्तिक ८ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । यसअघि ३० दिने निक्षेप संकलन उपकरणमार्फत ४ पटक बजारबाट १६ अर्ब रुपैयाँ उठाइ सकेको छ । रिभर्स रिपोको ब्याज दर बोलकबोलबाट निर्धारण गर्ने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने विभिन्न वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । बजारमा पर्याप्त तरलता भएपछि बैंकले कर्जा र निक्षेपको ब्याज दर घटाएका छन् । कर्जाको ब्याज दर न्युनतम् १० देखि बढीमा १२ प्रतिशतसम्म छ । यस्तै मुद्धती निक्षेपको ब्याज दर पनि घटेर ६ प्रतिशत भन्दा तल झरेको बैकर्सले बताएका छन् ।  

८८ सुन काण्डमा काँग्रेसका नेता मानबहादुर तामाङ पक्राउ

काठमाडौं । ८८ किलो सुन काण्डको नाइकेमा नेपाल काँग्रसका नेता परेका छन् । अवैध रुपमा सुनको कारोबारीमा मुख्य भूमिका रहेको खुलेपछि रसुवाको क्षेत्र नम्बर १ ख बाट कांग्रेसको तर्फबाट प्रदेश सभाको निर्वाचनमा समानुपातिक सिफारिसमा परेका मानबहादुर तामाङ पक्राउ परेका हुन् । नेपाल प्रहरीको महानगरीय प्रहरी महाशाखाको टोलीले तामाङलाई सोमबार राजधानीको स्वयम्भूबाट पक्राउ गरेको हो । तामाङ नेपाल–चीन केरुङ्ग व्यापार संघका अध्यक्ष समेत हुन् । ८८ किलो सुनको नेपालतर्फ पास गराउने जिम्मा पनि उनकै भएको अनुसन्धानबाट खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई हिरासतमा राखी महाशाखाले थप अनुसन्धान अघि बढाएको छ ।

सम्झौताअनुसार काम नगर्ने ५ वटा कम्पनी कालो सुचिमा

काठमाडौं । सार्वजनीक खरिद अनुगमन कार्यालयले ५ वटा कम्पनीलाई कालो सुचिमा राखेको छ । सम्बन्धित संस्थाको शिफारिसमा खरिद अनुगमन कार्यलयले कालो सुचीमा राखेको हो । कालो सुचिमा परेका कम्पनीले सार्वजनीक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ । कालो सुचिमा पर्ने स्वर्गद्धारी सेक्युरिटी सर्भिसेज, एनईएस इन्टरप्राइजेज र अजम्बर÷शिवराज कन्ट्रक्सन रहेका छन् । स्वर्गद्धारीलाई नेपाल टेलिकमले कार्वाहीका लागि शिफारिश गरेपछि अनुगमन कार्यलयले ३ वर्षका लागि कालो सुचिमा राखेको हो । यस्तै एनईएस इन्टरप्राइजेजलाई नेपाली सेनाको २६ नम्बर, ६ नम्बर र ९ नम्बर बाहिनी अडडाले शिफारिश गरेपछि अनुगमन कार्यलयले कालो सुचिमा राखेको हो । यस्तै अजम्बरलाई जिल्ला प्रहरी कार्यलय वीरगञ्जको शिफारिशमा कालो सुचिमा परेका हुन् । कालो सुचिमा परेका कुनै पनि संस्थाले सरकारी बोलपत्रमा भाग लिन पाउदैनन् ।

१५४ कम्पनीको सेयर मूल्यमा वृद्धि, यी हुन् सोमबार कमाउने १० उत्कृष्ट कम्पनी

काठमाडौं । लामो समय पछि नेप्से परिसूचक उच्च अंकले बढेको छ । ४६ अंकले बढेको सोमबारको बजारमा १६३ कम्पनीको सेयर कारोबार भएको थियो । सो मध्ये १५४ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने बाँकी ९ कम्पनीको सेयर मूल्यमा सामान्य गिरावट आएको छ । कमाउने १० उत्कृष्ट कम्पनी सोमबार तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । बजारमा सबैभन्दा बढी कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९६ प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७६ रुपैयाँ रहेको छ । त्यसैगरी, बेष्ट फाइनान्स कम्पनीको सेयर मूल्य ९.३५ प्रतिशत र एनबी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.१८ प्रतिशतले बढेको छ । सोमबार एनबी इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १२०१ रुपैयाँ रहेको छ । त्यस्तै, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ८ प्रतिशतले बढेको छ । वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, मिसन डेभलपमेन्ट बैंक र अरुण फाइनान्सका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन् । सोमबार गुमाउने ९ कम्पनी बजारमा सबैभन्दा बढी बिशाल बजार कम्पनीको सेयर मूल्य २ प्रतिशतले घटेको छ ।

एक महिनामै राजश्व छल्ने ६१५ व्यवसायीलाई कारवाही

काठमाडौं । एक महिनाकै अन्तरमा ६१५ जना व्यवसायी कारवाहीमा परेका छन् । आन्तरिक राजस्व विभागले आफू अन्तर्गतका कार्यालयहरुमार्फत गरेको बजार अनुगमनका क्रममा कर छल्ने ६१५ व्यवसायीमाथी कारवाही गरिएको हो । विभागले ३६ वटा कार्यालयबाट भदौ २७ गतेदेखि बजार अनुगमन शुरु गरेको थियो । ती सबै कार्यालयले ३/३ वटा टोली परिचालन गरेको थियो । भदौ २७ देखि हालसम्म कारोवार स्थलमै गरिएको आकस्मिक अनुगमनमा ४४२ टोलीबाट ३९०५ वटा करदाताको अनुगमन गरी कर कानून पालना नगर्ने ६१५ करदातालाई प्रचलित कानुन बमोजिम जरिवाना तथा अन्य कानुनी कारवाही गरिएको हो । ६ सय १५ करदाताबाट ३८ लाख ४८ हजार जरिवाना समेत गरिएको थियो । २१ वटा करदाताबाट थप कागजपत्र माग गरी अनुसन्धान भइरहेको छ । अनुगमनका क्रममा अन्तःशुल्क स्टिकर नलगाइएका गुट्खा तथा इजाजत नलिई कारोवार गरेको मदिरा र अन्तःशुल्क स्टिकरको प्रयोग नभएको मदिरा बरामद गरेको छ । अनुगमन टोलीले नक्कली स्टिकरको प्रयोग, अवैध मदिराको प्रयोग, करपाटी नराख्ने, विवरणहरु पेश नगर्ने, खाता अद्यावधिक नगरिएको, दर्ता नगरी कारोवार गरेको, घरबहाल कर दाखिला नगरेको, विल विजकको प्रयोग नगरिएको जस्ता क्रियाकलाप गरेको फेला पारेकोले कानूनी कारवाही गरेको हो । अनुगमनका क्रममा कर अधिकृत नेतृत्वको टोलीले व्यवसायीहरुलाई कार्यस्थलमा नै करदाता शिक्षा प्रदान गर्नुका साथै कर कानुनको पालना गर्न सुझाव समेत दिएको छ । कर अधिकृतको नेतृत्वमा खटिएको टोलीले कारवाहीमा परेका र थप शंकास्पद देखिएका करदाताहरुलाई थप अनुसन्धानका लागि खरीद विक्री खाता नियन्त्रणमा लिएर कार्यालयमा उपस्थित हुन पत्राचार समेत गरेको विभागले जनाएको छ ।

नेप्से ४६ अंकले उकालो, बीमा समूहले उचाल्यो बजार

काठमाडौं । सोमबारको नेप्से परिसूचक ४६ दशमलब ६२ अंकले उकालो लागेर १५६४ अंकमा पुगेको छ । बजारमा ६० करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १६३ कम्पनीको १४ लाख ५६ हजार कित्ता सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी बैंक अफ काठमाण्डूको सेयर कारोबार भएको छ । सो दिन यस बैंकको १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ रहेको छ । सोमबारको बजारलाई बीमा समूहले उचालेको छ । सो दिन बीमा समूहको परिसूचक २६४.७५ अंकले उकालो लागेको छ । त्यस्तै, होटल ७८, विकास बैंक ५७, हाइड्रोपावर ५२ र बैंकिङ समूह ४८ अंकले उकालो लागेका छन् । त्यसैगरी, फाइनान्स र अन्य समूह सामान्य अंकले उकालो लागेका छन् भने ट्रेडिङ् समूहको परिसूचक ४ अंकले ओरालो लागेको छ ।

खानेपानी र धापासी फिडरका क्षेत्रमा विद्युत आपुर्ति बन्द

काठमाडौं । प्रणालीको क्षमता बढाउन नेपाल विद्युत प्राधिकरणले खानेपानी फिडर र धापासी फिडरबाट वितरित लाईनका विद्युत सेवा बन्द भएको छ । सोमबार र मंगदबार दिउँसो ११ः०० बजेदेखि ५ः०० बजेसम्म उक्त फिडरबाट विद्युत सेवा बन्द हुने भएको छ । महाराजगन्ज वितरण केन्द्र अन्तर्गत ११ केभी स्विचिङ्ग स्टेशनबाट खानेपानी , धापासीफिडरबाट वितरित ११ केभी लाइन नारायण गोपाल चोकसम्म धापासी फिडर अपग्रेडिङ कार्य गर्नुपर्ने भएकोले विद्युत सेवा बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ । खानेपानी फिडर अन्तर्गत टोखा रोडका सबै खानेपानी पम्पहरु, ग्राण्डी, गंगालाल, न्युरो हस्पिटल र बाँसवरी खानेपनीलगायतका यस फिडरबाट सप्लाई तथा धापासी फिडरका सामाखुशी चोक, टोखा रोड, टोखा बजारलगायत यस फिडरबाट सप्लाईमा विद्युत सेवा अवरुद्ध भएको छ ।  

राष्ट्र बैंकमा ३० वर्षे लफडाः लोक सेवाको परामर्श कुर्दै व्यवस्थापन, तीन हप्तादेखि कर्मचारी धर्नामा

काठमाडौं । मुलुकको वित्तीय क्षेत्रको नियमन गर्ने अख्तियारी पाएको नेपाल राष्ट्र बैंकमा विगत तीन हप्तादेखि कर्मचारीको धर्ना जारी छ । कर्मचारी विनियमावली संसोधनको बिरोध गर्दै काँग्रेस र एमाले निकटका कर्मचारी युनियनहरुले गभर्नर र डेप्युटी गभर्नरको कार्य कक्षमा असोज १० गतेदेखि धर्ना जारी राखेका हुन । सुरुमा १० देखि ११ बजेसम्म धर्ना दिएका कर्मचारीहरुले आइतबारदेखि २ घण्टा धर्ना दिईरहेका छन् । राष्ट्र बैंक सञ्चालक समितिले असोज ८ गते कर्मचारी विनियमावलीलाई संसोधन गरेर ३० बर्षे सेवा अवधी हटाउने निर्णय गरेको थियो । सञ्चालक समितिबाट सर्व सहमतिले पास भएको ३० बर्षे सेवा अवधी सम्बन्धी निर्णयमाथी लोकसेवा आयोगसँग परामर्श मागिएको छ । ‘असोज ८ गते सञ्चालक समितिले निर्णय गरेर लोक सेवामा फाइल पठाएका थियौं, अझै प्रतिक्रिया आएको छैन’, राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवकोटीले भने । उता, लोक सेवा आयोगका प्रवक्ता लक्ष्मी बिलास कोइरालाले भने कर्मचारी विनियमावली संसोधन सम्बन्धी राष्ट्र बैंकको फाइल अध्ययनकै चरणमा रहेको बताए । ‘हामी अध्ययन गरिरहेका छौं, सहमति दिने वा नदिने भन्ने निचोडमा पुगिसकेका छैनौं’, आयोगका प्रवक्ता कोइरालाले भने । कर्मचारी युनियनहरुले भने आन्दोलनलाई झनै कर्डा बनाईरहेका छन् । ‘हामीले १० देखि ११ बजेसम्म धर्ना दिँदै आएका थियौं, आइतबारबाट १० देखि १२ बजेसम्म धर्ना दिईरहेका छौं, हाम्रा माग सुनुवाई नभएसम्म आन्दोलन जारी रहन्छ’, नेपाली काँग्रेस निकट कर्मचारी युनियनका महासचिव राजिव रेग्मीले विकासन्युजसँग भने । एमाले निकट कर्मचारी युनियनका अध्यक्ष डुण्डिराज मिश्रले पनि आन्दोलनलाई थप कडा बनाउँदै लगिएको बताए । गभर्नर डा. चिरञ्जीवी नेपाल विदेश गएकाले कामु गभनएर चिन्तामणि शिवाकोटीको कार्यकक्ष अगाडी कर्मचारीले धर्ना दिँदै आएका छन् । गभर्नर डा. नेपालले सञ्चालक रामजी रेग्मीको संयोजकत्वमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ तथा कार्यकारी निर्देशक एंव प्रवक्ता नारायण पौडेल सम्मिलित वार्ता समिति बनाएका थिए । कर्मचारीहरुले सञ्चालक समितिबाट अधिकार सम्पन्न वार्ता टोली बनाउनुपर्ने भन्दै सो समितिसँग औपचारिक वार्ता नगर्ने अडान लिएका छन् ।