ममदानीले सुरुदेखि गलत बाटो रोजेको ट्रम्पको दावी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नवनिर्वाचित न्यूयोर्क सिटीका मेयर जोहरान ममदानीको विजयोत्तर भाषणलाई ‘धेरै रिसाएको’ बताएका छन् । ट्रम्पको भनाइअनुसार ममदानी सुरुदेखि नै गलत दिशातर्फ अघि बढिरहेका छन् र यदि उनले वाशिंगटनप्रति सम्मान देखाएनन् भने सफल हुने सम्भावना न्यून छ । फक्सन्युजसँग कुरा गर्दै ट्रम्पले भने, ‘मलाई लाग्छ उनको भाषण निकै आक्रोशपूर्ण थियो, विशेषगरी मेरो विरुद्ध।’ ‘उनीहरूले मेरो साथ राम्रो व्यवहार गर्नुपर्छ किनभने धेरै कुरा स्वीकृत गर्ने अधिकार मेरो हातमा छ । उनी एक खराब सुरुवाततर्फ जाँदैछन्,’ उनले थपे । न्यूयोर्कको मेयर चुनाव जितेपछि जोहरान ममदानीले ट्रम्पतर्फ इङ्गित गर्दै भनेका थिए, ‘जसले उनलाई सफल बनाउन सक्छ, त्यहीले उनलाई हराउन पनि सक्छ ।’ जोहरान ममदानी पहिलो पटक मुस्लिम मूलको उम्मेदवारका रूपमा न्यूयोर्क सिटीको मेयरमा निर्वाचित भएका हुन् । जुन अमेरिकी राजनीतिक परिदृश्यमा एक नवीन घटना हो किनभने इतिहासमा सधैं प्रबुद्ध श्वेतहरूले प्रमुख सहरी पदमा विजय पाउँथे। ममदानीले आफ्नो अभियानमा सामाजिक समानता, सार्वजनिक सुरक्षा सुधार, र स्थानीय समुदायसँग संवाद बढाउने विषयलाई प्राथमिकता दिएका छन् । ट्रम्पले बारम्बार ममदानीको सम्भावित मेयर पदलाई चुनौतीपूर्ण ठहराएका थिए र कोषीय समर्थनमा कठिनाइ आउन सक्ने चेतावनी दिएका थिए । ममदानीको जीतले न्यूयोर्कको बहुसांस्कृतिक राजनीति र अमेरिकी राजनीतिक परिदृश्यमा नयाँ बहसको सुरुवात गरेको छ ।
वीरगञ्ज भन्सार नाका : विद्युतीय सवारीसाधन आयातमा वृद्धि
वीरगञ्ज । चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख रुपैयाँ मूल्य पर्ने दुई सय २९ विद्युतीय जीप, कार र भ्यानहरु आयात भएका छन् । गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आवको सोही अवधिमा भने विद्युतीय सवारीसाधनको आयात ह्वातै वृद्धि भएको छ । गत आवको तीन महिनामा भने ९७ मात्रै विद्युतीय जीप,कार र भ्यानहरु आयात भएको थियो । सर्वसाधारणको विद्युतीय सवारीसाधनप्रतिको आकर्षण र चीनको सीमा नाका हुँदै आउने सडकको अवस्था दयनीय भएपछि यो नाका हुँदै हुने आयातमा बढोत्तरी भएको हो । चालु आवको तीन महिनामा विद्युतीय जीप,कार र भ्यान आयातबाट ४५ करोड ७२ लाख राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली पनि पछिल्लो समय विद्युतीय सवारीसाधनको आयातमा उल्लेखनीय वृद्धि भएको बताए । गत आवको तीन महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै १४ करोड ४९ लाख रुपैयाँ मूल्य पर्ने ९७ वटा विद्युतीय जीप, कार र भ्यानहरु आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारीसाधन आयातबाट नौ करोड ११ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको थियो । चालु आवको तीन महिनामा २८ करोड ७९ लाख रुपैयाँ मूल्य पर्ने दुई हजार एक सय ९४ विद्युतीय मोटरसाइकल आयात भएको छ । जबकी गत आवको तीन महिनाको अवधिमा भने २१ करोड १७ लाख रुपैयाँ मूल्य पर्ने एक हजार चार सय ८१ विद्युतीय मोटरसाइकल आयात भएको थियो । रासस
एनआईसी एशिया बैंकका सीईओ सुजित शाक्यले सम्हाले कार्यभार
काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित शाक्यले कार्यभार सम्हालेका छन् । गत सोमबार बैंकको सीईओमा नियुक्त भएका शाक्यले बिहीबार (आज) कार्यभार सम्हालेका हुन् । उनले नियुक्त भएकाे ३ दिनमा कार्यभार सम्हालेका हुन् । बैंक सञ्चालक समितिको कात्तिक १७ गते बसेको बैठकले सीईओमा शाक्यलाई नियुक्त गरेको थियो । यसअघि शाक्य नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) रहेका थिए । उनी ४ वर्षका लागि एनआईसी एशिया बैंकको सीईओमा नियुक्त भएका हुन् । भारतको लखनउस्थित इन्स्टिच्युट अफ प्रोडक्टिभिटी म्यानेजमेन्टबाट पोस्ट ग्य्राजुएट डिप्लोमा इन बिजनेश म्यानेजमेण्ट गरेका शाक्यले सन् १९९६ मा नेपाल श्रीलङ्का मर्चेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए । उनले जुलाई १९९७ देखि १२ अप्रिल २००५ सम्म हिमालयन बैंक, १३ अप्रिल २००५ देखि १७ जुलाई २००७ सम्म लक्ष्मी सनराइज बैंक, १० अक्टोबर २००७ देखि २९ जुन २०१३ सम्म साबिक बैंक अफ एशिया नेपाल, ३० जुन २०१३ देखि १२ फेब्रुवरी २०१७ सम्म एनआईसि एसिया बैंकमा काम गरेका थिए । यस्तै, उनले १ मार्च २०१७ देखि १६ अप्रिल २०१९ सम्म साबि सिभिल बैंक, २२ अप्रिल २०१९ देखि ५ डिसेम्बर २०१९ सम्म साबिक जनता बैंक र डिसेम्बर २०१९ देखि अगस्ट २०२० सम्म ग्लोबल आइएमई बैंकमा काम गरेको अनुभव छ । नेपाली बैंकिङ क्षेत्रमा ३ दशकको कार्यानुभव भएका शाक्यले आधा दर्जन बढी संस्थामा काम गरेर आफ्नो दख्खलता देखाइसकेका छन् । १६ अगस्ट २०२० देखि हालसम्म भने उनी नबिल बैंकको डीसीईओको रूपमा कार्यरत थिए ।
राजस्व उठाउन सरकार चुक्यो, लक्ष्यभन्दा ७२ अर्ब कम संकलन
काठमाडौं । लक्ष्यअनुसार राजस्व उठाउन सरकार असफल बन्दै गएको छ । सरकारी निकायहरुले प्रभावकारी रुपमा राजस्व उठाउन ध्यान नदिदाँ लक्ष्यअनुसार राजस्व संकलन हुन छाडेको हो । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले २ खर्ब ४९ अर्ब मात्रै राजस्व उठाएको छ । यो अवधि अर्थात असोज मशान्तसम्ममा सरकारले ३ खर्ब २१ अर्ब रुपैँया राजस्व उठाउने लक्ष्य राखेको थियो । यद्यपी अघिल्लो आर्थिक वर्षको यो अवधिको तुलनामा संकलित राजस्व झिनो मात्रमा बढेको छ । गत आर्थिक वर्षको असोजसम्ममा सरकारले २ खर्ब ४८ अर्ब राजस्व उठाएको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा राजस्व वृद्धिदर ०.३२ प्रतिशतले मात्रै बढ्नुले सरकारी संयन्त्र राजस्व संकलन गर्न तदारुकताकासाथ नलागेको प्रष्ट देखिएको छ । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब ८० अर्बको राजस्व संकलनको लक्ष्य लिएको छ । असोज मशान्त सम्ममा राजस्वका कुनै पनि शिर्षकमा उत्साहजक रुपमा राजस्व संकलन नभएको स्वयं अर्थमन्त्रालयको तथ्यांकले प्रष्ट देखाउँछ । अर्थमन्त्रालयकाअनुसार असोज मशान्तसम्ममा भन्सार महसुल ७० अर्ब भन्दा बढी उठाउने सरकारले लक्ष्य राखेकोमा ५६ अर्ब ८५ करोड मात्रै संकलन गरेको छ । यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) ९४ अर्ब ११ करोडको लक्ष्य असोज मसान्तसम्मको थियो । जसमा ८१ अर्ब २३ करोड मात्रै उक्त शिर्षकमा राजस्व उठेको छ । समिक्षा अवधिमा अन्तशुल्कतर्फ ४८ अर्ब ६५ करोडको लक्ष्य रहेकोमा ४७ अर्ब ८३ करोड राजस्व संकलन भएको छ । यो शिर्षकमा पनि लक्ष्यअनुसार राजस्व उठाउन सरकारी संयन्त्रहरु चुकेका छन् । आयकरतर्फ ७१ अर्ब २२ करोड राजस्व संकलनको लक्ष्य राखिएकोमा ४६ अर्ब ९० करोड मात्रै राजस्व संकलन भएको छ । गैरकर तर्फपनि लक्ष्यअनुसार राजस्व उठेको छैन । अर्थमन्त्रालयका अनुसार ३५ अर्ब ५२ करोडको लक्ष्य असोज मशान्त सम्म गैरकरतर्फ उठाउने रहेकोमा १४ अर्ब ७२ करोड मात्रै संकलन भएको छ । पहिलो त्रैमासमा राजस्वका लक्ष्य नभेट्नुले आगामी दिनमा सरकारलाई चालु खर्च धान्न समेत राजस्वले नपुग्ने स्थीति आउनसक्ने खतरा देखिएको छ । अहिले दैनिक सरकारको चालु खर्च झन्डै ३ खर्ब बराबरको छ तर आम्दानी भने दैनिक २ खर्ब ८० अर्बको मात्रै रहेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाउँछ ।
बैंकको ३७ अर्ब रुपैयाँ लगानी रहेका संरचनामा क्षति
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाको ३७ अर्ब रुपैयाँ लगानी रहेको निजी क्षेत्रको संरचनामा क्षति पुगेको बताएका छन् । गत भदौ २३ र २४ गतेको प्रदर्शनमा जेनजी आन्दोलनकारीहरूले सरकारी तथा निजी क्षेत्रका धेरै संरचनामा तोडफोड र आगजनी गरेका थिए । आन्दोलन लगत्तै राष्ट्र बैंकले गरेको अध्ययनमा ३७ अर्ब रुपैयाँ बैंकको लगानी रहेको निजी क्षेत्रका संरचनामा क्षति पुगेको गभर्नर डा. पौडेलले बताए । ‘जेनजी आन्दोलनपछि हामीले क्वीक क्यालक्कुलेसन गरेको थियौं । निजी क्षेत्रमा बैंकको प्वाइन्ट अफ भिउबाट हेर्दा ३७ अर्ब रुपैयाँको ड्यामेज भएको देखिन्छ । तर, मुख्य ड्यामेज सरकारको भएको छ । निजी क्षेत्रको बैंकबाट क्विक्ली लिएको लिएको त्यहि हो । त्यसमा कतिपय बीमा पनि भएको छ,’ उनका अनसार जेनजी आन्दोलनपछि लगानीकर्ताको मनबोल अत्यन्तै गिरेको छ । विगतदेखि पैसा भएपनि लगानी नभइरहेको अवस्थामा आन्दोलनपछि थप वातावरण बिग्रिएको उनको भनाइ छ । ‘विगत एक/दुई वर्षदेखि नै हाम्रोमा लगानी भइरहेको थिएन । हाम्रो देशमा पैसा थियो तर, इन्भेष्टमेन्ट भएको थिएन । व्यापारीहरुको मनोबल गिर्दै गएको थियो । त्यसको लागि बिग पुस चाहिने थियो तर, त्यसको लागि काम भइरहेको थिएन । हामी आफैं पनि मुख्य ठूलो लगानी आकर्षित गर्न खोजिरहेका थिएनौं । सरकारले सुरु गरेका काम पनि भएका थिएनन्,’ उनले भने । उनका अनुसार मुग्लिन–काठमाडौं सडक काठमाडौंका लागि मुख्य राजमार्ग हो । तर, विगत ३० वर्षको अवधिमा उक्त सडकमा गुड्ने गाडीको कुनै परिवर्तन नआएको उनले बताए । ‘अर्थतन्त्रलाई गति दिन चाहिने नीतिगत सुधार र लगानीलाई बढाउन आपश्यक पर्ने काम सुस्त छ । लगानीका लागि आवश्यक पर्ने विषय पहिचान गरेर अगाडि बढ्न सकिरहेको थिएन,’ उनले भने, ‘अहिले ब्याजदर घटेको थियो, ब्याजदर घट्दा पनि माग बढिरहेको थिएन । यस्तो अवस्थामा जेनजी आन्दोलन भएको हो । यसले मनोबल झन् गिराउने काम भएको छ ।’ गभर्नर डा. पौडेलका अनुसार ब्याजदर न्यून विन्दुमा हुँदा पनि मान्छेहरुले व्यवसाय गर्न चाहेका छैनन् । किनभने काम गर्ने वातावारण नरहेको उनले बताए । बैंकहरुले लगानी गर्न नसकेपछि राष्ट्र बैंकले निक्षेप खिचिरहेको उनको भनाइ छ । काठमाडौंलगायत मुख्य सहर केन्दीत मात्रै लगानी भइरहेको उनले बताए । ‘मध्य पहाडी राजमार्ग बनेको छ । बागलुङबाट डडेल्धुरासम्म यात्रा गरे । रुकुम भ्याली, दैलेख, जाजरकोट सुन्दर छन् । हामीले गरिबी रहेको भनेका ठाउँमा पनि रोडहरु पुगेका छन् । तर, होटलहरु छैनन्, क्याफेहरु छैनन्, पर्यटन पुवर्धाहरु छैनन् । फिल्महलहरु छैनन्,’ उनले भने, ‘मान्छेहरु रमाउने वातावरण पनि बनाइरहेका छैनौं । कर आइरहेको छैन । रोडहरु बन्दा पनि कर आउने ठाउँ भएन । त्यसैले सबैलाई लगानी गर्न आग्रह गरिरहेको हुन्छु । धेरै जसो लगानी काठमाडौं केन्द्रीत छ अथवा तराईको सहरहरुमा केन्द्रीत भइरहेको छ ।’ उनका अनुसार वैकल्पिक विकास वित्त कोषलाई एकवर्ष अगाडिदेखि आक्रामक रुपमा बढाउन खोजिएको थियो । जसबाट केही ठूला आयोजना निर्माण गर्ने भनिएको थियो । अब व्यवसायीहरुलाई सहज वातावरण बनाउन आवश्यक रहेको उनको भनाइ छ । व्यवसायीहरुलाई सहज वातावरण बनाउनु आवश्यक रहेको उनले बताए । ‘व्यवसायीलाई चोर हो, फटाहा हो भन्न सजिलो छ । सानो मान्छेले मेहेनत गरेर यहाँसम्म आइपुग्दा एक÷दुई वटा गल्ति भए होलान् । तर, त्यही विषयलाई लिएर कनाएको कनाई गर्छन् । त्यसलाई इग्नोर गरेर यसले रोजगारी श्रृजना गरेको छ, कर तिरेको छ, अझै कर तिर्ला भन्ने दृष्टिकोणबाट पनि हेर्न सकिन्छ,’ उनले भने ।
डेटा किन्दा अब जीवन बीमा पनि, एनसेल र मेटलाइफको नयाँ साझेदारी
काठमाडौं । एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बीमा’ नामक एक नवीन योजना सुरु भएको छ । यो सेवा लिने ग्राहकहरूले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउँछन् । नेपालमै पहिलोपटक सुरु भएको यो सेवाअन्तर्गत एनसेलका ग्राहकहरूले दुई विशेष प्याकेजहरूमध्ये कुनै एक रोजेर बीमाको फाइदा लिन सक्छन्, जसमा डेटा प्रयोगसँगै बीमा सुविधा पनि प्राप्त हुन्छ । दुई प्याकेजहरूमा पहिलोमा कर सहित ९९ रुपैयाँको प्याक रहेको छ । ३ दिन समयसीमा रहेको यो प्याकमा १०० एमबी डेटा, २ लाख बराबरको म्यादी जीवन बीमा र २ लाख बराबरको घातक रोग बीमा पाइन्छ । यो बीमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य रहन्छ । दोस्रोमा ३९ को प्याक रहेको छ । यो प्याकमा ग्राहकले ३ दिनका लागि १०० एमबी डेटा, ५० हजार बराबरको म्यादी जीवन बीमा र ५० हजार बराबरको घातक रोग बीमा पाउँछन् । यो बीमा सुविधा प्याक खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहन्छ । ग्राहकहरूले एनसेल एपमार्फत आफूलाई मनपर्ने प्याक छानी बीमाका लागि एउटा फाराम भरेर सजिलै यी दुई मध्ये एक प्याक लिन सक्छन् । यी प्याकहरू *१२३*४*६# डायल गरेर पनि लिन सकिन्छ । प्याक लिएका ग्राहकहरुको टर्म लाइफ इन्स्योरेन्स फारम बुझाउने बितिकै तुरुन्तै सुरु हुन्छ भने क्रिटिकल इलनेस (गम्भीर रोग) कभरेज ३० दिनको प्रतीक्षा अवधिपछि सक्रिय हुन्छ । यो साझेदारीले एनसेल प्रयोगकर्ताहरूका लागि बीमा पहुँच सहज बनाउने लक्ष्य राखेको छ । विशेषतः लामो समयदेखि यस्तो सेवाबाट बन्चित विकट दुरदराजका समुदायहरूलाई यसले ठूलो महत्त्व राख्दछ । सुलभ शुल्क, पूर्ण डिजिटल प्रक्रिया र प्रभावकारी बीमा सुविधासहितको ‘डाटासँगै जीवन बीमा’ योजनाले नेपालको वित्तीय समावेशिता र सामाजिक सुरक्षातर्फको यात्रामा महत्त्वपूर्ण यात्रा सुरु गरेको छ ।
एक्सेल डेभलपमेन्ट बैंकद्वारा कृष्णद्वैपायन गुरुकुललाई फोटोकपी मेसिन प्रदान
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडद्वारा भद्रपुर–६, तेलीभिट्टा, झापास्थित श्री कृष्णद्वैपायन गुरुकुल वेद विद्याश्रमका विद्यार्थीहरुको शैक्षिक विकासको लागि एक थान रंगीन फोटोकपी मेसिन हस्तान्तरण गरेको छ । बैंकका बजार व्यवस्थापन अधिकृत गजेन्द्र ढकालले संस्थाका व्यवस्थापन समितिका अध्यक्ष शान्ता बराललाई एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा बैंकका चन्द्रगढी शाखाका कर्मचारी सोनाम वाङ्ग्चुक शेर्पालगायत बैंकका कर्मचारी तथा विद्यालय समितिका अन्य उच्च पदाधिकारी, शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । यस कार्यक्रममा संस्थाकी अध्यक्ष शान्ता बरालले बैंकले गरेको कार्यले विद्यार्थीको सिकाइ क्रियाकलापमा अझ बढी योगदान पुर्याउने भएकोले उक्त सहयोगको लागि बैकंलाई धन्यवाद ज्ञापन गरे । बैंकका तर्फबाट गजेन्द्र ढकालले बैंकको यस्तो सहकार्यले शिक्षकहरूलाई शिक्षण प्रक्रिया सुदृढ बनाउन मद्दत गर्ने र स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएको साथै बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरू निरन्तर गर्दै, समाजको शैक्षिक, आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउने दृढ प्रतिबद्धता व्यक्त गर्ने कुरा बताए । कोशी प्रदेश कार्यक्षेत्र रहेको एक्सेल डेभलपमेन्ट बैंकले आफ्ना ४७ वटा शाखा र ३ वटा एटिएमबाट २ लाख ५० हजार भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ८ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको एक्सेल डेभलपमेन्ट बैंकले थप शाखाहरु विस्तार गरेर आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत सेवा प्रदान गर्ने जनाएको छ ।
अमेरिका र चीनबीचको एआई प्रतिस्पर्धा अब क्रिप्टोमा पनि फैलिँदै
काठमाडौं । कम्तीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटपछि दिएको बयानले यही संकेत गर्छ । उक्त भेट व्यापारसम्बन्धी वार्ता थियो, जसलाई विश्वभर नजिकबाट हेरिएको थियो । ‘म अमेरिकाका लागि क्रिप्टोलाई महान बनाउन चाहन्छु,’ ट्रम्पले सीबीएस न्युजसँग भने, ‘जसरी हामी कृत्रिम बौद्धिकता (एआई) मा नम्बर एक छौं, त्यसैगरी क्रिप्टोमा पनि नम्बर एक छौं । र म यो स्थिति यथावत राख्न चाहन्छु ।’ ‘म चीन वा अरू कसैलाई यो खोस्न दिन चाहन्न,’ उनले थपे । ट्रम्पले साँच्चै नै बेइजिङलाई गम्भीर प्रतिस्पर्धीको रूपमा हेर्छन् वा होइनन् भन्ने स्पष्ट छैन । तर उनका यी भनाइ चीनले क्रिप्टोसम्बन्धी आफ्नो महत्त्वाकांक्षाको नयाँ संकेत दिइरहेको समयमा आएका हुन् । चीनले सन् २०२१ देखि घरेलु क्रिप्टो कारोबारमा प्रतिबन्ध लगाएको छ, तर चीनकै विशेष प्रशासनिक क्षेत्र हङकङले डिजिटल सम्पत्तिको विकासलाई प्रोत्साहन दिने व्यवस्थापन प्रणाली कायम राखेको छ । सोमबार हङकङले आफ्ना नियमहरू झन् खुकुलो बनायो—जसअनुसार इजाजतप्राप्त भर्चुअल सम्पत्ति ट्रेडिङ प्लेटफर्महरूले अब विश्वव्यापी क्रिप्टो एक्सचेन्जहरूसँग सिधा जोडिन सक्नेछन् । तिनले नयाँ डिजिटल सम्पत्ति र हङकङ नियमनअन्तर्गतका स्थिर मुद्राहरू (स्टेबलकोइन्स) सूचीबद्ध गर्न पनि पाउनेछन्, जसका लागि १२ महिनाको कारोबारी इतिहास देखाउनुपर्ने छैन । यो घोषणा हङकङमा आयोजित १०औँ फिनटेक हप्ताको सुरुवातसँगै भयो, जसले दक्षिण कोरियामा भइरहेको राजनीतिक र व्यापारिक चमक धमकलाई केही ओझेलमा पार्यो । परम्परागत वित्त र विकेन्द्रित वित्तको संगम हङकङमा हङकङले वाशिङ्टनको कदमलाई चाँडै पछ्याएको छ । गत वर्ष यसले स्पट बिटकोइन ट्र्याक गर्ने एक्सचेन्ज–ट्रेडेड फन्ड (ईटीएफ) अनुमति दियो र त्यसपछि तीन महिना अगाडि नै स्पट इथर ईटीएफ कारोबार गर्न पनि स्वीकृति दियो । बिटकोइनलाई प्रायः ‘डिजिटल सुन’ भनेर तुलना गरिन्छ । यो सबैभन्दा परिचित क्रिप्टोकरन्सी हो । इथर भने इथेरियम नेटवर्कमा चल्ने अर्को प्रमुख डिजिटल मुद्रा हो, जसको प्रयोग भुक्तानीका साथै कम्प्युटिङ कार्य र ‘स्मार्ट कन्क्ट्रयाक्ट’ चलाउन ग्यास शुल्कका रूपमा गरिन्छ । इथेरियम फाउन्डेशनका सह–कार्यकारी निर्देशक तोमास्क के. स्तान्चाकले हङकङ फिनटेक हप्ताको अवसरमा आयोजित डिजिटल सम्पत्ति फोरममा भने, ‘६० प्रतिशतभन्दा बढी स्थिर मुद्राहरू जुन सरकारी मुद्रासँग आबद्ध हुन्छन्, इथेरियम नेटवर्कमै प्रयोगमा छन् ।’ डिजिटल सम्पत्ति लगानी कम्पनी एसएनजी होल्डिङ्सका प्रमुख लगानी अधिकारी ग्याभिन वाङका अनुसार करीब ३०० दर्शकहरूबीच आयोजित उक्त कार्यक्रममा करिब ७० प्रतिशत सहभागी परम्परागत वित्तीय क्षेत्रका प्रतिनिधि थिए । वाङका अनुसार यसअघि यस्ता कार्यक्रममा प्रायः सफ्टवेयर विकासकर्ताहरूको सहभागिता बढी हुन्थ्यो । तर यो पटक परम्परागत वित्तीय जगतका प्रतिनिधिहरूको उपस्थिति देखियो । कार्यक्रममा ‘इथेरियम हङकङ हब’ नामक को–वर्किङ स्पेसको घोषणा पनि गरियो, जसले क्रिप्टोसम्बन्धी स्टार्टअपहरूलाई इन्क्युबेट गर्नेछ । यसले हङकङलाई एशियाको क्रिप्टो प्रवेशद्वारका रूपमा बलियो बनाइरहेको संकेत गर्छ । ठूला उद्योगहरू पनि हङकङतर्फ आकर्षित हुँदैछन् । उत्तर अमेरिकाको सबैभन्दा ठूलो क्रिप्टो सम्मेलनमध्ये एक ‘कन्सेन्सस’ ले यस वर्ष पहिलोपटक हङकङमा विस्तार गरेको छ र सन् २०२६ मा पुनः फर्कने योजना बनाएको छ । क्रिप्टोका चुनौतीहरू तर पनि डिजिटल सम्पत्तिहरू अझै परम्परागत बजारको तुलनामा प्रारम्भिक चरणमै छन् । सबै क्रिप्टोकरन्सीको कुल मूल्य हालसम्म ४.५ ट्रिलियन डलर नाघेको छैन, जबकि विश्वका सेयर बजारहरूको कुल मूल्य १०१.५२ ट्रिलियन डलर पुगेको छ । अन्तिम केही हप्तामा बिटकोइनको मूल्य तीव्र रूपमा घट्यो । यसको कारण अमेरिक–चीन व्यापार तनाव र एआई कम्पनीहरूको उच्च मूल्याङ्कनका कारण लगानीकर्ताहरूमा उत्पन्न चिन्ता थियो । बिटकोइन जुन महिनापछि पहिलोपटक १ लाख डलरभन्दा तल र्झयो । ‘मलाई लाग्छ एआई र क्रिप्टोमा लगानी गर्ने समूह प्रायः उस्तै छन्,’ एशिया–आधारित क्रिप्टो फन्ड ‘नेक्सजेन डिजिटल भेन्चर’ का संस्थापक साझेदार जेसन ह्वाङले भने, ‘जब एआई बजार केही शान्त हुन्छ, क्रिप्टो फेरि माथि आउँछ ।’ ह्वाङको १० करोड डलरको कोषले मार्च २०२५ सम्म दुई वर्षमा ३७५.५ प्रतिशत नाफा कमायो । यो बिटकोइनभन्दा ६० प्रतिशत बढी प्रदर्शन थियो । अहिले उनी दोस्रो फन्ड सुरु गर्दैछन् । उनका अनुसार उनका धेरै लगानीकर्ता धनी चिनियाँहरू हुन् । हालैको बजार घटबढका बाबजुद लगानीमा वृद्धिसमेत भइरहेको उनले बताए । ह्वाङका अनुसार गत महिनाको ठूला बजार–धक्का (लिक्विडेशन) को समयमा समेत उनको कोष एकल अंकमा मात्र घट्यो । उनले भने, ‘त्यो दिन एफटीएक्स एक्सचेन्जको पतनभन्दा पनि ठूलो क्रिप्टो क्लिनअप थियो।’ अबको प्रतिस्पर्धा सम्भवतः टोकनमा होइन, नियन्त्रणमा केन्द्रित हुनेछ । सरकारहरू आफ्नै मुद्राले ब्याक गरिएका स्थिर मुद्राहरूमार्फत बजार नियन्त्रण गर्न इच्छुक छन् । हङकङमा डिजिटल सम्पत्तिप्रति देखिएको नयाँ उत्साह यस वर्षको स्थिर मुद्रा पहलसँग सम्बन्धित छ । यसले अमेरिकी ‘जिनियस आर्ट’ लाई पछ्याएको हो, जसले अमेरिकी डलरसँग आबद्ध स्थिर मुद्रालाई समर्थन गर्छ । यसरी अमेरिकी डलर र चिनियाँ युआनबीचको प्रतिस्पर्धा अब डिजिटल युगमा प्रवेश गर्दैछ । ‘दुवै देशले आफ्नो मुद्रा प्रयोग बढाउँदै विश्वव्यापी प्रयोगकर्ता इकोसिस्टम निर्माण गर्न खोजिरहेका छन्,’ न्युयोर्क विश्वविद्यालयका कानुनका सहयोगी प्राध्यापक विन्सटन मा भन्छन् । ‘तर यो सजिलो छैन । चीनले आफ्नै केन्द्रीय बैंकद्वारा जारी गरिएको डिजिटल युआनलाई जनस्तरमा अपनाउन अझै सफल भएको छैन,’ उनले थपे । चीनले पछिल्ला वर्षहरूमा डिजिटल युआन प्रवर्द्धनका प्रयास गरेको छ, तर यो अझै मुख्यधारमा प्रवेश गर्न सकेको छैन । ‘अमेरिकी डलर–आधारित स्थिर मुद्राहरू पनि उस्तै चुनौतीमा पर्न सक्छन्,’ माले भने । अन्तर्राष्ट्रिय वित्तीय सन्देश प्रणाली स्वीफ्टका अनुसार सेप्टेम्बर महिनामा विश्वव्यापी भुक्तानीको करिब आधा हिस्सा अमेरिकी डलरमा भएको थियो जबकि चिनियाँ युआन ३.१७ प्रतिशत हिस्सा हासिल गर्दै पाँचौँ स्थानमा पुगेको थियो । गत हप्तामा चीनका केन्द्रीय बैंकका गभर्नर पान गोंगशेङले डिजिटल युआनको प्रवर्द्धन गरे । तर उनले स्थिर मुद्राप्रति अपेक्षाकृत सतर्क दृष्टिकोण देखाउँदै क्रिप्टोकरेन्सीमा सट्टेबाजी निषेध गर्ने चीनको पुरानो नीतिलाई दोर्होयाए । त्यो हुँदाहुँदै पनि बिटकोइन ब्लकचेनका तथ्यांकहरूले देखाउँछ—चीन अझै विश्वकै तेस्रो ठूलो बिटकोइन माइनिङ केन्द्र हो । अमेरिका र रसिया मात्रै यसभन्दा अघि छन् । यो तथ्य ट्रम्पले बेवास्ता गर्ने सम्भावना कम छ । फोर्ब्सका अनुसार अमेरिकी राष्ट्रपति स्वयंले करिब ८७ करोड डलर बराबरको बिटकोवाइन राखेका छन् — यो विश्वका सबैभन्दा ठूलो निजी बिटकोइन होल्डिङमध्ये एक हो । एआईमा दौड, पैसा भने अनलाइन विज्ञापनमा बर्सिँदै !