दुध उत्पादक कृषकलाई खुशीको खबर, १ लिटर दुधमा १ रुपैयाँ सरकारी अनुदान
काठमाडौं । सरकारले देशभरका कृषकलाई दूधको उत्पादनमा एक रुपैयाँ अनुदान कार्यक्रम सुरु गरेको छ । पशु सेवा विभागले १ लिटर दूध उत्पादन बापत कृषकलाई एक रुपैयाँ अनुदान दिनेछ । पशु सेवा विभागले दुध उत्पादन तथा बजारीकरणलाई प्रोत्साहन गर्ने उद्येश्यले पाइलट कार्यक्रमको रुपमा कृषकलाई अनुदान कार्यक्रम सुरु गरेको हो । कृषकले सो अनुदान प्राप्त गर्नका लागि निश्चित मापदण्ड पालना गरेको दूग्ध उत्पादक सहकारी संस्थामा दुध संकलन गर्नुपर्नेछ । उक्त सहकारीले दैनिक कम्तिमा ३ सय लिटर दुध संकलन र वर्षमा न्युनतम दुई सय दिनसम्म दुधको कारोबार गरेको हुनुपर्नेछ । त्यस्तै सहाकारीले नियमित रुपमा वार्षिक साधारण सभा र लेखा परिक्षण गरेको, स्थायी लेखा नम्बर लिएको र करचुक्ता गरेको हुनुपर्ने मापदण्डमा उल्लेख छ । विभागका अनुसार गत आर्थिक वर्षमा विभागले ७ करोड लिटर बराबरको दूध संकलन भएको थियो । सोही आधारमा सहकारी मार्फत कृषकलाई ७ करोड रुपैयाँ अनुदान वितरण गरेको केन्द्रीय गाईभैंसी प्रबर्द्धन कार्यालयका कर्मचारी सुरेश ज्ञवालीले जानकारी दिए । गत वर्ष अनुदान प्राप्त गर्ने सहकारीले अहिले न्युनतम १० प्रतिशतले दुध संकलन बढाएको हुनुपर्ने उनले बताए । उनले भने, ‘यसले दुध उत्पादक कृषकलाई प्रोत्साहित गर्छ नै । साथै यसले दुध संकलन गर्ने सहकारीलाई पनि कानुनी दायरमा ल्याउन मद्दत पुर्याउछ ।’ गत आर्थिक वर्षदेखि लागू गरिएको सो कार्यक्रमले दूध उत्पादन तथा संकलनमा वृद्धि भइरहेको उनले जानकारी दिए । उनले भने, ‘यस अघि जिल्ला प्राशासन कार्यालयमा मात्र दर्ता गराउने प्रावधानलाई फराकिलो बनाएका छौं । यसलाई अझ सहज बनाउन हामीले यस्ता सहकारी संस्थालाई विभिन्न जिल्लाका पशु सेवा कार्यालयमार्फत पनि दर्ता गराउने व्यवस्था जारी गरेका छौं ।’ दुग्ध उत्पादक सदस्यलाई अनुदान कार्यक्रममा सहभागि हुन १५ दिनको सुचना प्रकाशन गरेको छ ।
स्थानीय तहमा औद्योगिक ग्राम स्थापनाको तयारी
उद्योग मन्त्रालयले मुलुकका ७५३ स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने गृहकार्य गरिरहेको छ । सरकारले देशमा रोजगारी वृद्धि गरी युवा जनशक्तिलाई विदेशिनबाट रोक्न यस्तो ग्रामको विकास गर्न लागिएको हो । हरेक तहमा ससाना घरेलु उद्योग स्थापनाका लागि उचित वातावरणको व्यवस्थापन गर्न ती ग्रामको विकास गर्ने अवधारणा ल्याइएको उद्योग राज्यमन्त्री रेशम लामाले जानकारी दिए। उक्त ग्राम स्थापनाका लागि १०० देखि २०० रोपनी क्षेत्रफलको जमिनको व्यवस्था तथा बिजुली, बाटो, पानीलगायतका पूर्वाधार मन्त्रालयले तयार गर्नेछ । उद्योगी र व्यवसायीले सञ्चालन गर्न खोजेका उद्योगका बारे स्थानीय तहमा पेश गरेको प्रतिवेदनका आधारमा मन्त्रालयले ती ग्राममा स्थान उपलब्ध गराउने छ । के कस्तो उद्योग तथा व्यवसाय कुन स्थानीय तहमा उपयुक्त हुन्छ, त्यसको आधारमा ग्रामको विकास गरिन्छ । त्यसैगरी, मन्त्रालयले मझौला तथा ठूला उद्योग सञ्चालनका लागि १४ औद्योगिक क्षेत्र निर्माण गर्ने प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो । यसका लागि एक हजार रोपनीभन्दा धेरै क्षेत्रफल आवश्यक हुन्छ । शहर बजार तथा त्यस वरपर क्षेत्रमा भएका उद्योगलाई समेत उक्त स्थानमा प्रतिस्थापन गर्न सकिने योजना छ । रासस
देवले युनियन र साझालाई प्राप्ति गर्यो, आउदो बिहीबारदेखि एकिकृत कारोबार हुने
काठमाडौं । चुक्तापुजी बढाउन देव विकास बैंकले दुई संस्थालाई प्राप्ति गरेको छ । देवले साझा विकास बैंक र युनियन फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको हो । आउदो बिहीबारदेखि एकिकृत बैंकिङ कारोबार गर्ने भएका छन् । दुई संस्थालाई प्राप्ति गरेपछि बैंकको चुक्तापुँजी साढे २ अर्ब रुपैयाँ पुग्ने छ ।
स्याङ्जामा १५० टन क्षमताको तरकारी तथा आलुको बिऊको स्टोरेज बन्ने
काठमाडौं । सरकारले स्याङ्जामा तरकारी तथा आलुको बिऊ भण्डारण गर्ने कोल्ड स्टोर पुन निर्माण गर्ने भएको छ । स्टोरमा १५० मेट्रिक टनसम्मको बिऊ भण्डारण गर्न मिल्छ । कृषि मन्त्रालय अन्तर्गतको सिचाईं तथा जल स्रोत व्यवस्थापन परियोजनाले स्याङ्जाको गाल्याङ १५० मेट्रिक टन बिऊ अट्ने स्टोरेज बनाउन सार्वजनिक सूचना जारी गरेको छ । अन्तराष्ट्रिय विकास संघबाट ऋण प्राप्त गरी सरकारले स्टोरेज बनाउने तयारी गरेको हो ।
१० कम्पनीको १ अर्ब २२ करोडको बोनस सेयर धितोपत्र बोर्डमा दर्ता
काठमाडौं । आर्थिक वर्ष ०७४/०७५ सुरु भएयता धितोपत्र बोर्डमा १० कम्पनीको बोनस सेयर दर्ता भएको छ ।हालसम्म १ अर्ब २२ करोड ३३ लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ३३ हजार ४३० कित्ता बोनस सेयर दर्ता भएकोे बोर्डले जानकारी दिएको छ । बोर्डमा दर्ता भएका कम्पनीमा सांग्रीला विकास बैंकको ४५ करोड ७३ लाख ९४ हजार, भागर्व विकास बैंकको २ करोड ४० लाख, सेती फाइनान्स लिमिटेडको ५७ लाख १० हजार, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको ४० लाख रुपैयाँ दर्ता भएको छ । यस्तै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको ३ करोड २५ लाख र लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको २६ करोड ५२ लाख २४ हजार रुपैयाँको बोनस सेयर दर्ता भएको छ । गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ करोड ४० लाख रुपैयाँ बराबरको ४४ लाख र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको १ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको १ लाख ६४ हजार कित्ता बोनस सेयर बोर्डमा दर्ता भएको छ । यस्तै नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३ करोड १२ लाख ९ हजार ९ सय र मिसन डेभलपमेन्ट बैंकको ४ करोड २८ लाख ८३ हजार ५ सय रुपैयाँको बोनस सेयर दर्ता भएका छन् । यी मध्ये अधिकाँशको बोनस सेयर नेपाल स्टक एक्चेन्ज लिमिटेडमा कारोबारका लागि सुचिकृत भएका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन गत आवको नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन् । अन्य कम्पनीको बोनस सेयर दर्ता हुने क्रममा रहेको छ । गत वर्ष बैंक तथा वित्तीय संस्था, जलविद्युत, बीमा र उत्पादनमुलक क्षेत्रका गरी १६४ कम्पनीको ३४ अर्ब ७९ करोड ५९ लाख रुपैयाँ बराबरको ३५ करोड २६ लाख ९८ हजार रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको बोर्डले जानकारी दिएको छ ।
च्याम्पियन्स लिगमा रियल मड्रिडको लज्जास्पद पराजय
कठमाडौं । च्याम्पियन्स लिगमा गत सिजनको बिजेता रियल मड्रिडको लज्जास्पद पराजय व्यहोरेको छ । इङिलस क्लाब टोटेनह्यामले रियल मड्रिडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । रियलले पहिलो हाफमा एक गोल खाएको थियो भने दोश्रो हालमा थप २ गोल गोल खायो । टोटेनह्यामका लागि डेल अलीले २ गोल गरेका हुन् । तेश्रो गोल भने एरिक्सनले हानेका थिए । रियल मड्रिडका लागि सान्त्वना एक गोल भने रोनाल्डोले गरेका थिए । जितसँगै ४ खेलबाट १० अंक जोडेको टोटेनह्याम नकआउट चरणमा पुगेको छ भने रियलको ७ अंक रहेको छ ।
मेगा बैंकसंग टुरिजम डेभलपमेन्ट बैंक गाभिने, दुबैले मंसिर ४ गते बोलाए साधारणसभा
काठमाडौं । मेगा बैंकसंग टुरिजम डेभलपमेन्ट बैंक गाभिने (मर्जर) भएको छ । मर्जरमा जान दुबै बैंकले मंसिर ४ गते साधारणसभा बोलाएका छन् । मेगाले विशेष र टुरिजमले सातौ वार्षिकसभा बोलाएका हुन् । दुबै संस्थाले साधारणसभा बोलाएकाले मर्जरमा जाने लगभग निश्चित भएको छ । मर्जरका लागि दुबै बैंककको चलअचल सम्पत्ति दाइत्व तथा कारोबार मूल्याँकन प्रतिवेदन (डीडीए) अनुसार टुरिजमका १ सय रुपैयाँको सेयर बराबर मेगामा ९५ रुपैयाँ हुने गरी सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) कायम गर्न सभामा प्रस्ताव पेश हुने छ । टुरिजमले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १७ करोड १० लाख ७७ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश हुने छ । दुबै संस्था एकआपसमा गाभिने सम्बन्धमा गत माघ ६ गते सैद्धान्तिक सहमति भएको थियो । मेगाले ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गरी चुक्तापुँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरणपछि मर्जरविनै बैंककको चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्नेछ । टुरिजम्को चुक्ता पुँजी ९१ करोड ९७ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको ३ महिनामा मेगा बैंकको खुदनाफा ६ करोड रुपैयाँ भन्दा बढीले घटेको छ । चालु आवको पहिलो त्रैमाशमा बैंकले ८ करोड ११ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १४ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो ।
प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णय फिर्ता गरेको छ । बिहिबार बिहान बसेको निगम सञ्चालक समिति बैठकले मूल्य वृद्धिको निर्णय फिर्ता गरेको निगमका प्रवक्ता बिरेन्द्र गोइतले विकासन्युजलाई जानकारी दिए ।’ बिहान १० बजेबाटै मूल्य वृद्धिको निर्णय फिर्ता भएर पुरानै मूल्य काम गर्ने निर्णय निगम सञ्चालक समितिले गरेको छ’, निगमका प्रवक्ता गोइतले भने । बुधबार साँझ मात्रै निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि मूल्य बढाउने निर्णयबाट निगम पछि हटेको हो । निगमले बुधबार पेट्रोलमा प्रतिलिटर २ रुपैया मूल्य बढाएको थियो । डिजेलमा एक रुपैयाँ ५० पैसा बढाएर प्रतिलिटर ७५ रुपैयाँ ५० पैसा पुर्याएको थियो । त्यस्तै, खाना पकाउने ग्यासको भाउ २५ रुपैंयाँ बढाएर प्रतिसिलिन्डर १ हजार ३५० रुपैयाँ पुर्याएको थियो । निर्वाचनका मुखमा मूल्य वृद्धि जस्तो अलोकप्रिय निर्णय गर्न नहुने भन्दै प्रधानमन्त्री देउवाले निगम सञ्चालक समितिलाई तत्काल मूल्य घटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि नै बिहिबार बिहान बसेको निगम सञ्चालक समितिले मूल्य वृद्धिको निर्णय फिर्ता गरेको हो ।