नर्भिक अस्पतालमा ‘सेवा शुल्क’का नाममा बिरामीमाथि ठगी, सरकारले माग्यो स्पष्टिकरण
काठमाडौं । नर्भिक अन्तराष्ट्रिय अस्पतालले सेवा शुल्कका नाममा ठगी गरेको पाइएको छ । अस्पतालमा स्वास्थ्य सेवा कर बापत ५ प्रतिशत शुल्क उठाउने व्यवस्था छ । तर, अस्पतालले थप १३ प्रतिशत शुल्क जोडेर सेवा शुल्कका नाममा ठगी गरेको पाइएको हो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत मंगलबार गरेको अनुगमनमा सेवा शुल्क शिर्षकमा बिरामीबाट बढी रकम असुलेको पाएपछि स्पष्टिकरण मागेको छ । विभागका महानिर्देशक कुमार दाहालले १३ प्रतिशत अतिरक्त रकम ‘अस्पताल सेवा शुल्क’का नाममा उपभोक्ता ठगी गरेको पाइएको जानकारी दिए । विकासन्यूजसँग कुरा गर्दै उनले भने, ‘कानुनी प्रावधान अनुसार ५ प्रतिशत स्वास्थ्य सेवा कर लिन पाउने व्यवस्था छ । अन्य शुल्क लिने व्यवस्था त कतै उल्लेख छैन ।’ अनुगमन टोलीले तीन दिनभित्र स्पष्टिकरण पेश गर्न अस्पताललाई निर्देशन दिएको थियो । अस्पतालले उक्त शुल्क पनि सरकारलाई नतिरी आफैंले लिइरहेको उनले बताए । जिल्ला जन स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन भोलनाथ पौडेलका अनुसार अस्पतालले मनपरी ढंगले सेवा शुल्क लिन पाउने व्यवस्था छैन । उनले भने, ‘होटल, रेष्टुरेन्टहरुमा सर्भिस चार्ज (सेवा शुल्क) लिइएको थाहा छ । तर अस्पतालमा लिन पाउने व्यवस्था छैन ।’ स्वास्थ्य सेवा विभागका प्रमुख मेडिकल अधिकृत डा. हेमन्तचन्द्र ओझाले अस्पतालले स्वास्थ्य सेवाका नाममा ५ प्रतिशत भन्दा फरक अन्य शुल्क पाउने व्यवस्था नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘अन्य सेवा शूल्कको विषय हो भने त्यो अर्थ मन्त्रालयसँग सम्बन्धीत छ । तर जहाँसम्म स्वास्थ्य सेवाको कुरा छ- ५ प्रतिशत भन्दा बढी लिन पाइन्न ।’ स्वीकृती भन्दा बढी बेड सञ्चालनमा उक्त अनुगमनका क्रममा अस्पतालले स्वीकृती लिएको भन्दा बढी बेड सञ्चालन गरेको पाइएको छ । अनुमति बिना नै अस्पतालले थप ३० वटा बेड सञ्चालन गरेको पाइएको अनुगमन टोलीका संयोजक निरोज घिमिरेले जानकारी दिए । ‘१ सय वटा बेड स्विकृती लिएको नर्भिक अस्पतालले १३० वटा बेड चलाइरहेको छ, ‘उनले भने, ‘उनीहरुले २ सय वटा बेडका लागि स्वीकृती माग गरेको पत्र देखाएका छन् । तर निवदेन स्वीकृत नभई बेड सञ्चालन गर्न पाइन्न ।’ स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती निर्देशिका अनुसार अस्पतालले बेड सञ्चालन गर्नका लागि स्वास्थ्य सेवा विभागसँग स्वीकृती लिनूपर्ने व्यवस्था रहेको स्वास्थ्य सेवा विभागका प्रमुख मेडिकल अधिकृत डा. ओझाले जानकारी दिए । उनले भने, ‘त्यस्तो पाइएका हामी अस्पताललाई सुरुमा सुध्रने मौका दिन्छौं । त्यसपछि पनि अटेर गरेको पाइएका उक्त अस्पताललाई आंशिक वा पूर्णरुपमा बन्द गर्छौं ।’ ‘सेवा शुल्क सर्वमान्य छ‘ अस्पताल सेवा शुल्क लिनु गलत नभएको नर्भीक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले दाबी गरेका छन् । उनले भने, ‘हामीले अस्पताल सेवा शुल्क लिन पाउदैनौं भन्ने कुन कानुनमा उल्लेख छ ? हामीले लिने सेवा शुल्क बिल्कुल जायज छ ।’ उनले स्विकृती नलिई बेड सञ्चालनमा ल्याएको भन्ने कुरा गलत भएको उनले बताए । उनले आक्रोशपूर्वक कुरा गर्दै भने, ‘कसले भन्यो स्वीकृती नलिई बेड सञ्चालन गर्यौं ?’
‘उम्मेदवारबाट जनजीवनसँग जोडिएका समस्या उठोस्’
काठमाडौं । “पहिले पहिले हामी सुतिसक्दा बत्ती हुन्थेन, हामी उठ्दा बत्ती गइसक्थ्यो । अहिले त बत्ती बाल्न पनि पाइएको छ । छोराछोरीलाई पढ्न समस्या भएको छैन । हामी त असाध्यै खुसी छौँ । विद्युत्भार कटौतीको अन्त्यपछि त नयाँ जीवन पाए जस्तो भएको छ”, यो भनाइ हो तारकेश्वर नगरपालिका- ११ नेपालटारका राम मानन्धरको । गत वर्षदेखि मुलुकभर नै विद्युत्भार कटौतीको अन्त्यसँगै नागरिकमा खुसियाली छाएको छ । जीवनमा आधारभूत परिवर्तन विद्युत्भार कटौतीको अन्त्यपछि आएकामा यहाँका बासिन्दाले राहतको अनुभव गरेका छन् । “आमा दमको रोगी हुनुहुन्छ, पहिले बिजुली नभएर पानी तताउन समस्या हुन्थ्यो, अहिले त्यस्तो छैन, जनताको यस्तै काम गर्नेलाई मेरो परिवारको मत पक्का”, टोखा नगरपालिका– ९ की शान्ति आचार्यले भने । प्रतिनिधि सभातर्फ काठमाडौँ क्षेत्र नं ६ का वाम गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुवेदीले आफू र आफ्नो गठबन्धनलाई मत माग्दै घरदैलो अभियानमा पुगेका बेला स्थानीयवासीले विद्युत्भार कटौतीको अन्त्य जस्तै जनताको जीवनसँग जोडिएको विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विद्युत्भार कटौतीको अन्त्य गरेको थियो । काठमाडौँ महानगरभित्रका सडककोभन्दा महानगरसँग जोडिएका नगरपालिकाभित्रका सडकको अवस्था झनै खराब छ । तारकेश्वर नगरपालिका प्रवेश गर्ने अधिकांश सडक कच्ची छन् । नाम मात्रको कालोपत्र भए पनि नागरिकले दैनिकजसो धुवाँ र धुलोको समस्या भोग्नु परेको छ । वाम गठबन्धनका उम्मेदवार सुवेदीसँग नागरिकको आग्रह छ, “भत्किएका सडक कालोपत्र गरियोस् ।” “धुलोले व्यापार व्यवसाय गर्न समस्या भएको छ । रुघा खोकी कहिल्यै निको हुँदैन । बिहान लगाएको लुगा साँझसम्म मैलो भइसक्छ, म त धुले सडक कालोपत्र गर्नेलाई मत दिन्छु,” पहिलोपटक मतदानमा सहभागी हुन लाग्नुभएकी फुटुङकी नवीना पाण्डेले भने । मत माग्न पुगेका उम्मेदवारसँग अधिकांश नागरिकले जनजीवनसँग जोडिएको विषयमा जिज्ञासा राखेका छन् । उनीहरुले जिज्ञासासँगै व्यावहारिक कार्यान्वयन हुने उत्तरसमेत खोजेका छन् । केहीले विगतमा विजयी भएकाले जनतालाई फर्केर नहेरेको भन्दै गुनासो पनि गरेका छन् । चुनावको बेला मात्रै सम्झने कि अरु समयमा पनि जनताले आफ्नो प्रतिनिधि भेट्न पाउने हो रु मतदाताले अधिकांश उम्मेदवारसँग राख्ने जिज्ञासा यही यो । संविधान सभाको दोस्रो निर्वाचनमा काठमाडौं क्षेत्र नं ६ बाट नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधान विजयी भएका थिए । अहिले पनि सो क्षेत्रमा रक्षा मन्त्रीसमेत रहेका प्रधान नै उम्मेदवार छन् । उनले पनि निर्वाचन अभियान शुरु गरेका छन् । प्रधान माओवादीका नेता झक्कु सुवेदीसँग प्रतिस्पर्धा गर्दै छन् । गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ मा काँग्रेसले ११ हजार ३१५, नेकपा ९एमाले०ले १२ हजार ७९८, माओवादी केन्द्रले तीन हजार ६९३ र राप्रपाले ९५६ मत पाएको थियो । यस आधारमा सो क्षेत्रमा वाम गठबन्धनको १६ हजार ४९१ र लोकतान्त्रिक गठबन्धनको १२ हजार २७१ मत छ । वाम गठबन्धन चार हजार २२० मतले अगाडि देखिएको छ । सो क्षेत्रको उम्मेदवार रहेका मन्त्री प्रधान काठमाडौँका स्थानीय बासिन्दा हुन् भने माओवादी केन्द्रका स्थायी समिति सदस्य रहेका सुवेदी रोल्पाका हुन् । मन्त्री प्रधान र नेता सुवेदीबीच नै सो क्षेत्रमा प्रतिस्पर्धा हुने देखिएको छ । मतदातासँग भेटघाटमा रहेका सुवेदी जनताको चाहना जस्तै कालोपत्र सडक, विकास निर्माणको एजेण्डालाई साकार पार्न स्थिर सरकार निर्माण गर्ने लक्ष्यका साथ आफू उम्मेदवार भएको बताउँछन् । उनी आफू रोल्पाको भए पनि संविधान सभाको पहिलो निर्वाचनमा काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित भएको, पछिल्लो दिनमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतासम्मको तयारीका कारण आफू र आफ्नो गठबन्धन विजयी हुने विश्वास व्यक्त गर्छन्। “केही मान्छेले म रोल्पाको भएको भन्दै गलत प्रचार गरेका छन्, तर मुलुकको जुनसुकै स्थान पनि मेरो लागि आफ्नै ठाउँ जत्तिकै महत्वपूर्ण छ,” सुवेदीले भने । काँग्रेस उम्मेदवार प्रधान आफूलाई विगतमा पनि काठमाडौँ क्षेत्र नं ६ का जनताले विजयी गराएको र यसपटक पनि आफू नै विजयी हुने बताउँछन् । निर्वाचन प्रचार अभियान शुरु भइसकेको जानकारी दिँदै उनी भन्छन्, “काठमाडौँ क्षेत्र नं ६ लाई नमूना क्षेत्र बनाउने योजना, नीति र कार्यक्रम मसँग मात्रै छ ।” सो क्षेत्रमा काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७ र २८, तारकेश्वर नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११, टोखा नगरपालिकाको वडा नं ८, ९, १० र ११ रहेको छ । तीमध्ये गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरका तीन वडामध्ये दुईवटामा काँग्रेस र एउटा वडामा एमाले विजयी भएको थियो । तारकेश्वर नगरपालिकाको आठवटा वडामध्ये सातमा एमाले र एउटामा काँग्रेस विजयी भएको थियो । सोही क्षेत्रमा काठमाडौं महानगरका पूर्व प्रमुख केशव स्थापित पनि प्रदेश सभाको उम्मेदवार छन् । स्थापित भन्छन्, “हामीले निर्वाचन अभियान शुरु गरिसकेका छौँ, हाम्रो गठबन्धन विजयी हुन्छ ।” रासस
राष्ट्रपतिद्धारा चिकित्सा शिक्षा अध्यादेशमा लालमोहर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुचर्चित चिकित्सा शिक्षा विधेयकलाई अनुमोदन गरेकी छिन् । राष्ट्रपति भण्डारीले कार्तिक ६ गते मन्त्रिपरिषदले अध्यादेशका रुपमा पारित गरी पठाएको चिकित्सा शिक्षा विधेयकलाई शुक्रबार अनुमोदन गरेकी हुन् । विधेयकमा मेडिकल कलेज खोल्न निजी क्षेत्रलाई प्रतिवन्ध नै लगाउने गरी अध्यादेश आएको छ । उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न पाइने छैन् । मेडिकल कलेज खोल्ने मापदण्डमा समेत कडाइ गरिएको छ । यसले गर्दा मेडिकल क्षेत्रमा निजी लगानी आउने संभावना बढेको छ । एउटा विश्वविद्यालयले पाँचवटाभन्दा बढी कलेजलाई सम्बन्धन दिन पनि पाउने छैन । अब त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले मेडिकल कलेजलाई सम्बन्धन दिन पनि पाउने छैनन् । अध्यादेश नयाँ संसदको बैठक बसेको ६० दिनभित्र पास हुनुपर्ने छ । संसदबाट पास हुन सकेन भने अध्यादेश स्वत खारेज हुने संवैधानिक व्यवस्था छ ।
नक्कली गुरु रेम्पोछेको नाममा ब्रम्हलूट
काठमाडौं । विश्वकै बौद्ध धर्मालम्वीहरुको आस्थाको केन्द्र बौद्धनाथ मन्दिर परिसरमा नक्कली गुरु रिम्पोछेको नाममा अनियमितता तथा असुली गर्ने कार्यहरु हुँदा समेत नेपाल सरकारले केही गर्न सकेको छैन । चिनियाँ लामाको उत्तराधिकारी भन्दै राजु लामा अर्थात भूपति नामका एक व्यक्तिले आफूले आफैलाई गुरु रिम्पोछे घोषणा गरेपछि बौद्धनाथ परिसरमा कुनै पनि बेला अप्रिय घटना घट्न सक्ने देखिएको छ । नेपाल सरकारले नियुक्त गर्ने बौद्ध क्षेत्र विकास समितिसँग क्षेत्राधिकार विवाद गर्दै हस्तक्षेप गर्दै आएका यिनै नक्कली रिम्पोछेले पछिल्लो समय बौद्धनाथ मन्दिरमा हुने नियमित पूजाआजा समेत भाँड्दै आएका छन् । सार्वजनिक रुपमा सामना गर्न नसक्ने र केही मानिसहरु भेला पारी आफू अनूकूलको काम गर्दै आएका नक्कली रिम्पोछेको हर्कतबारे महानगरीय प्रहरी बृत्त बौद्धमा समेत छलफल भएको बुझिएको छ । यसअघि शाह बंशीय राजाको पालामा राजपरिषद स्थायी समितिको सदस्य समेत रहेका गणेश बज्रको उत्तराधिकारी हुन आएका नक्कली रिम्पोक्षेका कारण बौद्धनाथ क्षेत्रमा अशान्ती बढ्दै गएको स्थानीयबासीले गुनासो गरेका छन् । बौद्धनाथ क्षेत्र मन्दिरमा शान्ति कायम राख्ने सम्बन्धमा बौद्ध प्रहरी कार्यालयमा सहमति गरेपनि नक्कली रिम्पोछे अर्थात राजु लामाले विभिन्न च्यानलबाट शुक्रबार आयोजना गरिएको विशेष पूजा भाँड्ने प्रयास गरेको पूजा आयोजक समितिका एक सदस्यले बताए । घ्याङ गुठीको आवरणमा नक्कली रिम्पोछेले बौद्धनाथ मन्दिर परिसरमा हस्तक्षेप बढाउँदै लगेपनि सरकारको आधिकारिक निकाय बौद्धनाथ क्षेत्र विकास समितिले हस्तक्षे गर्न नसकेको र पवित्र मन्दिरमा दुई थरीको राजनीतिले स्थानीयबासी तथा भक्तजनहरुलाई समस्या परेको गुनासो एक भक्तजनले गरेका छन् । बौद्धनाथ क्षेत्र विकास समितिलाई घ्याङ गुठीले विभिन्न काममा अबरोध गर्दै आएपनि स्थानीय प्रशासनले समेत आवश्यक सहयोग नगर्ने गरेको समेत गुनासो सुनिन थालेको छ ।
एनआईसी एशिया बैंकको थप २ नयाँ शाखा दार्चुला र ओखलढुङ्गामा
काठमाडौं । एनआईसी एशिया बैंकको थप २ नयाँ शाखाहरु दार्चुला र ओखलढुङ्गामा विस्तार भएको छ । बैंकले शुक्रबार एक समारोहका बिच उक्त दुई शाखाको उद्घाटन गरेको हो । दार्चुलाको शाखाको उद्घाटन महाकाली नगरपालिकाका मेयर हंसराज भट्टले र ओखलढुङ्गा शाखाको उद्घाटन ओखलढुङ्गा जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले गरेका हुन् । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
१६ अर्बको संयुक्त लगानीमा १०० मेगावाटको सुपर त्रिशुली आयोजना बन्ने, ५ वर्षमा सक्ने लक्ष्य
काठमाडौं । स्वदेशी तथा विदेशी संयुक्त लगानीमा १ सय मेगावाट क्षमताको सुपर त्रिशुली जलविद्युत आयोजनाको निर्माण हुने भएको छ । सरार्फ ग्रुप, हङकङको डोमिन्स होल्डिङस र नेपालीको संयुक्त लगानीमा आयोजना निर्माण हुन लागेको हो । आयोजना निर्माण गर्न १६ अर्ब रुपैयाँ लाग्ने प्रवद्र्धक ब्लु इनर्जी प्रालिले गरेको संभाव्यता अध्ययनले देखाएको हो । आयोजनाबाट २०७९ असाेज १४ गतेदेखि बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको ब्लु इनर्जीका निर्देशक निरञ्जन रेग्मीले बताए । आयोजनामा स्वपुँजी (इक्विटी) लगानी गर्न हङकको डोमिन्स होल्डिङसंग समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरेको छ । यसका अतिरित्त नेपालमा होटल व्यवसाय गर्दै आएको सरार्फ र नेपालीको लगानी हुने भएको छ । सराफ ग्रुपले २३.५ मेगावाटको सोलु आयोजनामा पनि लगानी गरेको छ । हाल सो आयोजना निर्माण भइरहेको छ । विद्युत उत्पादन गर्न विद्युत विकास विभागले ब्लु इनर्जीलाई अनुमतिपत्र (लाइसेन्स) दिन लागेको छ । ३५ दिनभित्र उसले विद्युत उत्पादन लाइसेन्स पाउदै छ । यो वर्ष लाइसेन्स लिने, लगानी जुटाउने, आयोजनास्थलमा अस्थाइ क्याम्प बनाउने जस्ता पुर्वनिर्माणको काम सकेर आउदो वर्षदेखि आयोजना निर्माण थाल्ने निर्देशक रेग्मीले जानकारी दिए । उनका अनुसार आयोजनामा विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) ऋण लगानी गर्न तयार भइसकेको छ । यस्तै कर्मचारी संचय कोष र नागरिक लगानी कोषसंग पनि सुपर त्रिशुलीमा लगानीका लागि छलफल सुरु भएको उनले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गर्न लागेको रेग्मीले बताए । सुपर त्रिशुलीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) एसएनभी ल्याभिन क्यानाडाले गरेको हो । डीपीआरले आयोजना निर्माणा लागत सस्तो पर्ने देखाएको रेग्मीको भनाई छ । डीपीआर अनुसार आयोजनाको प्रतिमेगावाट लागत १६ करोड रुपैयाँ छ । ब्लु इनर्जीलाई पब्लिक कम्पनी बनाई सर्वसाधारणमा सेयर निष्कासन गर्ने उनले जानकारी दिए । आयोजनामा ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको छ । आयोजनामा इक्विटीको समस्या नभएको उनले स्पष्टपारे । काम सुरु गरेको ३ वर्ष ९ महिनामा आयोजना सम्पन्न हुनेछ । आयोजनाको बाँधसंगै विद्युतगृह हुने (ड्याम टोई) प्रकृतिको छ । यस्तो संरचना हुने सुपर त्रिशुली नेपालको पहिलो जलविद्युत आयोजना हुनेछ । नदीको वहावमा आधारित आयोजनाबाट वार्षिक ४० करोड ६७ लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजनाको हेड १४.५ मिटर मात्र हुने छ । होरिजेन्ट एक्सिस भएको बल्ब टर्वाइनमा पानी खसाले आयोजनाबाट बिजुली उत्पादन हुने छ । आयोजनाको मुल संसचना राजधानीबाट १ सय किलोमिटर टाढाको दुरीमा हुने छ । चितवनको दारेचोक र गोरखाको मकैसिंहमा पर्छ । आयोजनाबाट १९ किलोमिटर टाढा आवुखैरनीमा रहेको २२० केभी क्षमताको सवस्टेशनमा बिजुली जोडिने छ ।
भार्गव विकास बैंकको ८० प्रतिशत हकप्रदको बिक्री आजदेखि खुला, कहाँबाट दिने आवेदन ?
काठमाडौं । भार्गव विकास बैंकको ८० प्रतिशत(१० बराबर ८ को अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले कात्तिक २४ गते(आज)देखि एक सय रुपैयाँ अंकित दरका २१ लाख १२ हजार कित्ता हकप्रदको बिक्री खुला गरेको हो । सो मात्राको हकप्रदको लागि कात्तिक १४ गतेसम्म नेप्सेमा कारोबार गरेका सेयरधनीले आवेदन दिन पाउनेछन् । इच्छुक लगानीकर्ताले आजदेखि मंसिर २८ गतेसम्म बैंकिङ समयभित्र सो मात्राको हकप्रदमा आवेदन दिन पाउनेछन् । हाल कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ४७ करोड ५२ लाख रुपैयाँ नाघ्ने छ । कहाँबाट दिने आवेदन ?
काठमाडौं २ मा माधव नेपाल ९३०१ मतले अगाडी
माधव कुमार नेपालसँग प्रदेश सभाका उम्मेदवारद्धय सानुकुमार श्रेष्ठ र मणिराम फुँयाल काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा बामपन्थी गठबन्धनका साझा उम्मेदवार नेकपा(एमाले)का बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल ९३०१ मतले अगाडी देखिएका छन् । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्रका वडा अध्यक्षहरुले पाएको मतका आधारमा नेपाल ठुलो मत अन्तरमा अघि देखिएका हुन् । काठमाडौं क्षेत्र नम्बर २ मा काठमाडौं महानगरपालिकाको ९ र ३२ नम्बर वडा, कागेश्वरी मनहरा नगरपालिकाको ४ देखि ९ नम्बरसम्मका वडा र शंखरापुर नगरपालिकाका ९ वटै वडाहरु समेटिएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा एमाले एक्लैको मत १९१९६ रहेको छ । यहाँ काँग्रेसको मत १५६२७ रहेको छ । यो निर्वाचन क्षेत्रमा काँग्रेस भन्दा एमाले एक्लैको मत ३५६९ बढि छ । यसमा माओवादीको कुल मत ५७३२ जोड्दा २४९२८ पुग्छ । यो मत काँग्रेसको भन्दा ९३०१ मतले बढि हो । महानगरपालिकाका २ वडामध्ये ९ नम्बरमा एमाले उम्मेदवारले २५१७ मत पाएर विजयी भएका छन भने ३२ नम्बरमा ५८७९ मत पाएर एमाले उम्मेदवार नै विजयी बनेका छन् । महानगरका २ वडामा एमालेको मत ८३९६ रहेको छ । ९ नम्बर वडामा काँग्रेसको मत २१२५ र ३२ मा ४०१९ गरि ६१७५ मत रहेको छ । महानगरमा माओवादीको मत ९ नम्बरमा ५८५ र ३२ मा ७६३ गरि १३४८ मत रहेको छ । महानगरपालिका २ वटा वडामा एमाले र माओवादीको मत जोड्दा ९७४४ पुग्छ । कागेश्वर मनहरा नगरपालिकाको वडा नम्बर ४ देखि ९ सम्म यहि निर्वाचन क्षेत्रमा पर्छन् र यहाँ एमालेले मेयर र उपमेय दुबै जितेको छ । यी ६ वडामध्ये ४ वटा वडा जितेको एमालेको मत ६१४१ छ भने २ वडा जितेको काँग्रेसको मत ५८५९ छ । यहाँ माओवादीले १६४४ मत पाएको देखिन्छ । एमाले र माओवादीको मत जोड्दा ७७८५ मत पुग्छ । उता शंखरापुर नगरपालिकामा पनि मेयर र उपमेयर दुबै पद एमालेले नै जितेको छ । शंखरापुरका ९ मध्ये पाँच वडा जितेर एमालेले ४६५९ मत ल्याएको छ । यहाँ काँग्रेसको मत ३५९३ छ भने माओवादीको मत २७४० रहेको छ । शंखरापुरमा एमाले र माओवादी मिल्दा ७३९९ मत पुग्छ । यो मत काँग्रेसको भन्दा ३८०६ ले बढि हुनआउँछ ।