विकासन्युज

आशा लघुवित्त संस्थाले ३ करोडको आईपीओ निष्कासन गर्ने, साधारणसभामा प्रस्ताव पेश हुदै

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कुल जारी पुँजीको ३० प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । संस्थाको जारी पुँजी १० करोड रुपैयाँ रहेको छ । संस्थापक ७० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । आगामी मंसिर २३ गते हुने प्रथम वार्षिक साधारणसभामा आईपीओ निष्कासनका लागि प्रस्ताव पेश हुने आशाले जनाएको छ । सभाले आईपीओ निष्कासनको अख्तियारी सञ्चालक समितिलाई दिएपछि प्रक्रिया अघि बढ्ने छ । सभाले संस्थापक समूहको ४ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । संस्थाको केन्द्रीय कार्यलय नुवाकोटको मदानपुरमा रहेको छ ।  

सिप्रदी ट्रेडिङ प्रालिलाई नेपाल विजनेस एक्सिलेन्स अवार्ड

काठमाडौं । नेपालमा टाटा गाडीको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले “नेपाल विजनेस एक्सिलेन्स अवार्ड” प्राप्त गरेको छ । नेपाल उद्योग परिसंघ र फ्रस्ट सुभिलियनको आयोजनामा पहिलो पटक अवार्ड वितरण गरिएको हो । सिप्रदीले सुपर प्लाटिनम अवार्ड प्राप्त गरेको हो । परिसंघ र सुभिलियनले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषदका पुर्वअध्यक्ष खिलराज रेग्मीले सिप्रदीलाई सो अवार्ड प्रदान गरेका हुन् । यस्तै नेपाल एसबीआई बैंकले पनि सुपर प्लाटिनियम अवार्ड पाएको छ । गोल्ड अवार्ड श्रेणीअन्र्तगत बिजय डिस्टिलरी र मेगा बैंकले पाएका छन् । सिल्भर अवार्डबाट सीजी ब्रअरी र घोराही सिमेन्ट सम्मानित भएका छन् । यस्तै अल्फाविटा इन्टिच्युट प्रालि, चन्द्रागिरी हिल्स लिमिटेड, एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड, एनएमबी बैंक र टेलिटक प्रालिले प्रसंशापत्र पाएका छन् । परिसंघले पहिलो पटक आयोजना गरेको अवार्डलाई आगामी वर्ष पनि निरन्तरता दिने अध्यक्ष हरिभक्त शर्माले बताए । नेपाली व्यवसायीले न्युन लागतमा गुणस्तरिय वस्तु उत्पादन, उपभोत्ताको सन्तुष्ठि, प्रतिस्पर्धात्मक क्षमतामा विस्तार र कारोबारका आधारमा उत्कृष्ठ ठहरिएका उद्योग प्रतिष्ठानलाई विजनेस एक्सिलेन्स अवार्डमा छनौट गरेको उनले जानकारी दिए । सो अवसरमा अर्थ मन्त्रालयका राजश्व सचिव शिशीरकुमार ढुङानाले नेपालमा व्यवसायीक वातावरण बन्दै गएको बताए । नेपालमा लगानी बढेको उनले जानकारी दिए ।

नर्भिक अस्पतालका हाकिमको बयान-‘१३ प्रतिशत सेवा शुल्क लिन पाउनुपर्छ’

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले १३ प्रतिशत सेवा शुल्क असुल्न पाउनुपर्ने बयान दिएका छन् । स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रमा पनि सेवा शुल्कका नाममा अतिरिक्त शुल्क उठाएको भन्दै विभागले छानविन थालेपछि उनले यस्तो बयान दिएका हुन् । विभागले छानविन अघि बढाएपछि विभागमै पुगेर सिंहले १३ प्रतिशत सेवा शुल्क लिन नपाउने व्यवस्था कहिँ उल्लेख नभएकाले आफूहरुले लिएको शुल्क जायज रहेको दावी गरेका थिए । आपूर्ति विभागले नर्भिक इन्टरनेशनल अस्पतालका सञ्चालकसँग बयान लिन थालेको छ । सेवा शुल्कका नाममा बिरामी ठगी गरेको आरोपमा छानबिनमा परेको नर्भिक अस्पतालका सञ्चालकसँग आइतबार आपूर्ति विभागले बयान लिएको हो । विभागका अधिकृत घिमिरेका अनुसार आवश्यकताअनुसार थप बयानका लागि विभागले कार्यकारी निर्देशक सिंहलाई शुक्रबार फेरि बोलाएको छ । बयानमा सिंहले अस्पतालले १३ प्रतिशत सेवा शुल्क लिएको र ३० वटा बेड सञ्चालन गरेको कुरा स्वीकारेको बताए । विभागलाई बयान दिनेक्रममा सिंहले सेवा शुल्क लिन नपाइनेबारे कुनै प्रावधानबारे जानकारी नभएको बताएका छन् । अधिकृत घिमिरेले सिंहको भनाइ उदृत गर्दै भने, ‘हामी वर्षैपिच्छे कम्पनी रजिष्टार कार्यालयलाई अडिट बुझाउँदा पनि १३ प्रतिशत सेवा शुल्क लिन नपाइने कुरा कहिले आएन ।’ विभागका महानिर्देशक कुमार दाहालका अनुसार कार्यकारी निर्देशक सिंहसँग बयान लिइसकेको छ । बयानपछि विभागले मुद्दा दायर गर्ने वा नगर्ने विषयमा सरकारी वकिलसँग राय/सुझाव माग गरेको छ । उनले भने, ‘विभागले अस्पतालको विषयमा प्रमाण बटुल्ने काम गरिरहेको छ । प्रमाण पुगेपछि कारबाहीको प्रक्रिया अगाडी बढाउँछौं ।’ त्यस्तै थप ३० वटा शैया स्वीकृती बिना सञ्चालनमा ल्याएको अस्पताल माथिआरोप छ । सिंहले पूर्वाधार निर्माणका लागि स्वास्थ्य सेवा विभागबाट प्राप्त स्वीकृति सहितका कागजात प्रस्तुत गरेका छन् । अस्पतालले १०० शैया थप गरी जम्मा २०० शैया क्षमताको अस्पताल सञ्चालनका लागि स्वीकृत माग गरेको थियो । स्वास्थ्य सेवा विभागले पूर्वाधार सहित २०० वटा शैया सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण थप्न निर्देशन दिएको थियो । उनले पूर्वाधारसँगै शैया पनि सञ्चालनमा ल्याएको बताउँदै विभागलाई स्पष्टिकरण बुझाएका छन् । पूर्वाधारका लागि प्राप्त स्वीकृतिका आधारमा थप शैया सञ्चालनमा ल्याएको बयान दिएको घिमिरेले जानकारी दिए ।

एनआईसी एशिया बैंकको नयाँ शाखा प्युठानको जुम्रीमा

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा प्युठानको जुम्रीमा सञ्चालन गरेको छ । बैंकले मंगलबार एक समारोहका बीच प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेबाट उद्घाटन गरेका हुन् । शाखा सञ्जाल, एटिएम संख्या, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

बकार्डीद्धारा बकार्डी हाउस पार्टी आयोजना हुँदै, संगीतप्रेमीका लागि लक्षित

काठमाडौं । बकार्डीले भिनी भिचीको सहकार्यमा मल्ल होटल, काठमाडौंमा बकार्डी हाउस पार्टी आयोजना गर्न लागेको छ । इलेक्ट्रोनिक्स गीत संगीत मनपराउनेहरुका लागि लक्षित गरिएको यस हाउस पार्टीमा लोकप्रिय बकार्डी ड्रिंक्स तथा ककटेलका साथमा झुम्न सक्नेछन् । भिनी भिची विगत एक दशक भन्दा बढि समयदेखि इलेक्ट्रोनिक्स संगीत उत्पादन गर्दै आएका चिरपरिचित अभिराम शहाराई र मतन कादोशको नयाँ प्रोजेक्ट हो । उक्त हाउस पार्टी ठिक ५ बजेदेखि शुरु हुनेछ । कलाकारहरु बिपीएम, बिकेनट, पुनित, पिप्स, फिन्जोक र र्याबिटले पार्टीमा विशेष संगीताका साथमा आफ्नो कलाकारिता प्रदर्शन गर्नेछन् । यो पार्टीको प्रि–सेल टिकट दुई हजारमा उपलब्ध थियो । यसको टिकट इभो स्टोर (शेर्पा मल),इभो स्टोर(लबिम मल), बेटा हाउस(ठमेल), मोनुमेन्टर पाराडाइज (झोँछे) मा उपलब्ध छ । साथै, अनलाइन www.tktmonkeys.com मार्फत पनि टिकट बुक गर्न सकिने कम्पनीले जनाएको छ । बकार्डी भारतमा यस्तो किसिमको कार्यक्रमहरु गर्नका लागि परिचित रहेको छ र अब यसले नेपालमा रमाईलो र क्रेजका साथमा यस्ता कार्यक्रमहरु आयोजना गदै जाने छ । बकार्डीले १७ फेब्रुअरीमा क्लब २५ आवर्समा जुलिया ब्लिसका साथमा बकार्डी हाउस पार्टी आयोजना गरेको थियो भने २४ अप्रिल २०१७ मा राजधानीमा क्लब ओएमजीमा बकार्डी हाउस पार्टी आयोजना गरेको थियो ।

सगरमाथा इन्स्योरेन्सले दुई वर्षको नाफाबाट एकै पटक बोनस सेयर दिने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को नाफा एकै पटक वितरण गर्ने भएको छ । बीमा समितिको निर्देशन अनुसार तोकिएको समयमा चुक्ता पुँजी १ अर्ब रुपैयाँ बनाउने र सकेसम्म धेरै बोनस सेयर वितरण गर्ने योजना रहेको कम्पनीले जनाएको छ । ‘कम्पनीले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ नाफाबाट करिब ३७ करोड बोनस सेयर वितरण गर्ने र करिब १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने गरी पुँजी वृद्धि योजना बीमा समितिलाई बुझाएको छ’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले भने–‘सकेसम्म हकप्रद सेयर निष्काशन गर्न नपारोस्, बोनस सेयर वितरण गरेर नै १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन सकियोस् भन्ने कम्पनीको चाहाना हो ।’ आर्थिक वर्ष २०७३/७४मा कम्पनीको खुद नाफा २७ करोड ६२ लाख रुपैयाँ भएको उनले जानकारी दिए । त्यसबाट नियमअनुसार ११ करोड ९ लाख रुपैयाँ बीमा कोष, महाविपत्ति कोषमा राखेको भने वितरणयोग्य नाफा १६ करोड ५३ लाख रुपैयाँ जगेडा कोषमा राखेको छ । चुक्ता पुँजी ५३ करोड ८२ लाख रुपैयाँ रहेको यस कम्पनीको बीमा कोष पनि ५३ अर्ब ८२ करोड भएको छ । बीमा समितिको नियम अनुसार चुक्ता पुँजी सरह बीमा कोष रकम नपुगेसम्म खुद नाफाको ५० प्रतिशत रकम बीमा कोषमा जम्मा गर्नुपर्ने हुन्छ । आगामी वर्षको खुद नाफाबाट १० प्रतिशत महाविपत्ति कोषमा राखी बाँकी रकम बोनस सेयरको रुपमा लगानीकर्तालाई वितरण गर्ने कम्पनीको योजना रहेको पाइएको छ । गत वर्षको नाफा यस वर्ष सेयरधनीलाई वितरण नगर्ने निणर्य सञ्चालक समितिले गरेको छ । ‘कम्पनी नाफामा छ । लाभांश वितरण गर्ने अवस्थामा छ’ उनले भने ‘लाभांश वितरण शैली कम्पनी अनुसार फरक हुन सक्छ ।’ सगरमाथा इन्स्योरेन्स कम्पनीले तीन वर्षअघि एक पटक लाभांश स्थगित गरेको थियो । त्यसपछिको वर्ष १२९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

दृष्टिविहीनलाई निर्वाचन आयुक्तले भने, ‘भोटिङ मेसिन छैन, सहीरुपमा मतदान गर्नुस्’

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दृष्टिविहीन नागरिकलाई सही ढंगले मतदान गर्न आग्रह गरेका छन् ।  स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनका लागि आयोगको सन्देशबाहक दूतको रुपमा काम गर्न दृष्टिविहीन नागरिकलाई आग्रह गरेका हुन् । निर्वाचन आयोगले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘दृष्टिविहीन नागरिकका लागि मतदाता शिक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले राष्ट्रिय निर्वाचनका रूपमा हुन गइरहेको आगामी निर्वाचनलाई स्वच्छ र स्वतन्त्ररूपमा ऐतिहासिक तुल्याउन दृष्टिविहीन नागरिकबाट निर्वाचन आचारसंहिताको पालनाका लागि जिल्लामा अभियान चलाउन अनुरोध गरेका छन् । प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने, ‘‘मतदान गोप्य हुनुपर्दछ भन्ने विश्वव्यापी मान्यता हो, प्रविधिमा अहिले हामी पछि छौँ, यसको प्रयोग गर्दै जाने छौँ, तपाईहरुको माग पूरा गर्न भोटिङ मेसिनको प्रयोग गर्नेभन्दा अर्काे विकल्प छैन, यस वर्ष नै मतदानमा प्रविधिको प्रयोग गर्ने भनेकोमा समयको चापका करण दृष्टिविहीन नागरिकको मागअनुसारको प्रविधिको प्रयोगतर्फ फड्को मार्न सकेनौं, यद्यपि विशेष नागरिकले विशेष सुविधा पाउनुपर्छ भन्नेमा दृढ छौं ।’’ उनले शिक्षकको भूमिकामा रहनुभएका तपाईहरूले दल विशेष र उम्मेदवारको पक्षमा नलागी स्वतन्त्ररुपमा मतसंकेत गर्न सिकाउन सुझाव दिए।  प्रमुख आयुक्त यादवले भने, ‘‘तपाईहरुबाट आयोग ठूलो भूमिकाको अपेक्षा गरेको छ, मत सहीरूपमा संकेत गर्ने सन्देश घर परिवार र समाजमा पुर्‍याउनु होला, एकाघरको विश्वास गरेको सहयोगी लिएर आफूले मन पराएको उम्मेदवारलाई मतदान गर्नु होला ।’’ कार्यक्रममा निर्वाचन आयोगका सहसचिव दीपक सुवेदीले सहीरूपमा मत सङ्केत गरी बदर मत प्रतिशत घटाउने उद्देश्यले सञ्चालन गरिएको प्रशिक्षणमा सिकेको ज्ञान अरूलाई प्रवाह गरी बढीभन्दा बढी मतदातालाई मतदानमा सहभागी गराउन प्रेरित गर्न सुझाव समेत दिएका छन् । काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले आगामी निर्वाचनमा फरक फरक खाले मतपत्र भएकाले मतदाताबाट सहीरूपमा मत संकेत होस्, बदर मतप्रतिशत घटाउन योगदान दिन सकियोस् भन्ने उद्देश्यका साथ काम गर्न आवश्यक रहेको बताए । युएनडीपी इएपी परियोजनाका उपनिर्देशक कुन्दनदास श्रेष्ठले विश्वासनीय, समावेशी र सर्वस्वीकार्य निर्वाचनका लागि आफ्नो संस्थाले निर्वाचन आयोगलाई सहयोग पुर्‍याउँदै आएको बताए । नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेलले मतदानमा दृष्टिविहीनताको गोपनीयताको अधिकार सुनिश्चित गर्न माग गर्नुभयो । उनले भने, ‘दृष्टिविहीनको मतदान गोप्य हुनुपर्छ भन्ने लामो समयदेखिको माग पूरा हुन सकेको छैन, खोइ त हाम्रो गोपनीयताको अधिकार, हामी कहाँ गएर कराउने, निर्वाचनका सन्दर्भमा हामीले सिकेको ज्ञान छरछिमेकीलाई पनि सिकाउने छौं ।’ कार्यक्रममा नेत्रहीन संघको ४७ जिल्लामा संस्था रहेको तथा प्रशिक्षणमा आउने अधिकांश दृष्टिविहीनहरू शिक्षकको भूमिकामा रहेको जानकारी दिएका छन् । प्रशिक्षणमा ६९ जिल्लाका ८० जनाको सहभागिता रहेको छ र उहाँहरुलाई मतदान, मतदानको अधिकार, मतदानको प्रक्रिया र सहीरूपमा मतदान गर्ने तरिकाबारे प्रशिक्षण दिइएको छ ।

सिजी मोबाइलको नयाँ मोडल ‘एस्ट्रो टी१८’ नेपाली बजारमा

काठमाडौं । सिजी मोबाइलस् कम्पनीले आफ्नो नयाँ मोडल एस्ट्रो टी१८ नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले हालै भित्र्याएको उक्त मोबाइल धेरै फिचरका साथै सस्तो मूल्यमा पाइने छ । ग्राहकको चाहना अनुसार बजारमा ल्याइएको उक्त मोबाइलमा १.८ स्क्रिन, डिजिटल क्यामेरा, एमएम, टर्च लाइट, जीपीआरएस, एमपीथ्री/एमपीफोर, १००० एमएयच ब्याट्री रहेको छ । यसमा ८ जीबी मेमाेरी थप्न सकिने कम्पनीले जनाएको छ । यो मोबाइलको थप विशेषता भनेको यसको छेउबाट नै टर्च बाल्न र निभाउनको लागि एउटा छुट्टै बटन रहेको कम्पनीले बताएको छ । यस मोडल नेपाली बजारमा १ हजार ९९ रुपैयाँमा पाइने छ । यो मोबाइल तीन आकर्षक रङ (कालो र निलो, कालो र सुन्तला, कालो र रातो) मा उपलब्ध छन् । सिजी मोबाइलस्काे सर्भिस सेन्टरहरु नेपालभर रहेको छ ।