विकासन्युज

युनिग्लोब कलेजमा आजदेखि तीन दिने युनिग्लोब मोडेल युनाइटेड नेसन्स सुरुवात

काठमाडौं । युनिग्लोब कलेज, कमलादी काठमाडौंमा बिहीबारदेखि तीन दिने युनिग्लोब मोडेल युनाइटेड नेसन्स २०२५ को औपचारिक सुरुवात भएको छ  । यो सम्मेलन नोभेम्बर ८ सम्म सञ्चालन हुने कलेजले जानकारी दिएको छ । यस वर्षको सम्मेलनमा नेपालभरिबाट साथै भारत र म्यानमारबाट समेत कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको छ ।  सम्मेलनको उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा सशस्त्र प्रहरी बल, नेपालका पूर्व महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनाल उपस्थित भए। यस वर्षको सम्मेलनमा आणविक निशस्त्रीकरणदेखि लैङ्गिक समानता, जलवायु परिवर्तन र आर्थिक स्थिरतासम्मका विश्वव्यापी महत्त्वपूर्ण मुद्दाहरूमा केन्द्रित १२ विविध समितिहरू रहेका छन् । सम्मेलनका बाँकी दुई दिनमा थप गहन छलफल र समाधानमुखी प्रस्ताव आउने कलेजले अपेक्षा गरेको छ ।   यो सम्मेलनले युवापुस्तालाई विश्वव्यापी मुद्दाहरूबारे तर्कपूर्ण रुपमा सोच्न मद्दत गर्ने जनाइएको छ । 

मंसिर २४ गते एमालेले ‘घर फर्क अभियान’ सञ्चालन गर्ने

काठमाडौं । नेकपा एमालेले ‘घर फर्क अभियान सञ्चालन गर्ने भएको छ । विगत केही समयदेखि एमालेसँगको आवद्धतामा नरहेका पूर्वएमालेहरूलाई पार्टीमा फर्काउन अभियान सुरु गर्न थालिएको एमालेका नेताहरूले बताएका छन् । एमाले नेता महेश बस्नेतका अनुसार मंसिर २४ गते एक कार्यक्रमका बीच उक्त अभियान सुरु हुनेछ ।  एमालेबाट विभिन्न समयमा पार्टीबाट अलग्गिएका नेता कार्यकर्ताहरूलाई फेरि एमालेमै फर्काउन उक्त अभियान सुरु गर्न थालिएको बस्नेतले जानकारी दिए । पछिल्लो समय विघटित नेकपा एकीकृत समाजवादीका धेरै नेता तथा कार्यकर्ताहरूले एमालेमै फर्कने चाहना गरेकोले उक्त कार्यक्रम सन्चालन गर्न थालिएको हो ।  एमाले अध्यक्ष केपी ओली निकट नेताहरूका अनुसार १ सय ५० भन्दा धेरै विघटित नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरू एमालेमा प्रवेश गर्न इच्छुक रहेका छन् । आजमात्रै ५० जना नेताहरूले एमाले अध्यक्ष ओलीलाई भेटेको बस्नेतले जानकारी दिए ।  मंसिर २४ लाई एमालेबाट विभिन्न कालखण्डमा बाहिरिएकाहरूलाई घर फर्काउने महाउत्सवको रूपमा मनाइने बस्नेतको भनाइ छ ।  

ललितपुर महानगर ‘संगीतको सिर्जनात्मक सहर’ घोषणा, चार वर्षे कार्ययोजना प्रस्तुत

काठमाडौं । राष्ट्रसंघीय शैक्षिक तथा सांस्कृतिक संगठन युनेस्कोले ललितपुर महानगरलाई सिर्जनात्मक संगीतको सहर घोषणा गरेको छ । बिहीबार महानगरले पत्रकार सम्मेलनको आयोजना गरी ‘संगीतको सिर्जनात्मक सहर’ घोषणा भएको जानकारी दिएको हो । महानगरका प्रमुख चिरीबाबु महर्जनका अनुसार अक्टोबर ३१ ‘विश्व सहर दिवस’ को अवसर पारेर ललितपुर महानगरलाई संगीतको सिर्जनात्मक सहर घोषणा गरिएको हो।  उनले संगीतको माध्यमबाट नगरबासीलाई रोजगारीको नयाँ अवसर सिर्जना गर्न सक्ने महसुस गरी परम्परागत संगीतको संरक्षण गर्दै समकालीन संगीतलाई समेत समेट्दै अगाडि बढाउन सकेमा आफ्नो छुट्टै पहिचानको स्थापना गर्न सक्ने बताए ।  ‘संगीतको माध्यमबाट अर्थतन्त्रमा समेत सहयोग पुर्‍याउन सकिने विश्वासका साथ संगीतसम्बन्धी कार्यक्रमहरू महानगरले सञ्चालन गर्दै आएको छ । यिनै गतिविधिलाई मध्यनजर गरेर संगीत विधामा दुई वर्ष अघिदेखि नै ‘यूनेस्को सिर्जनात्मक सहरहरुको सञ्जाल’ को सदस्यताको लागि पहल गरेको हो,’ उनले भने । प्रमुख महर्जनका अनुसार युनेस्कोबाट महानगरलाई संगीतको सहरको रूपमा घोषणा गरेसँगै  परम्परागत, समकालीन तथा आधुनिक संगीतको जगेर्ना गर्दै यस क्षेत्रमा विशेषगरी युवाहरुलाई प्राथमिकताका साथ सहभागी गराई संगीतलाई रोजगारी सिर्जनाको माध्यम बनाउन जिम्मेवारी र अवसर प्राप्त भएको छ ।  उनले संगीतको माध्यमबाट ललितपुर महानगरपालिकाको छवि र परिचयलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्‍याउन सम्पूर्ण नगरबासी र संगीत क्षेत्रमा लागेकाहरूलाई साथ, सहयोगको अपेक्षा राखेका छन् । महानगरले तयार पार्‍यो चार वर्षे कार्ययोजना  युनेस्कोबाट संगीत विधामा सदस्यता प्राप्त गरेसँगै ललितपुर महानगरले संगीतको क्षेत्रमा आफ्ना क्रियाकलापलाई अघि बढाउन आगामी चार वर्षका निमित्त कार्य योजना तयार पारेको छ ।  महानगरले अनुसन्धान तथा शैक्षिक कार्यक्रमअन्तर्गत पाँचवटा कार्यक्रम राखेका छ । जसअनुसार अनुसन्धानकर्ता र स्थानीय संगीतकर्मी बीच छलफल र सहकार्य गरी संगीतको माध्यमबाट आर्थिक उपार्जनको बाटो पहिल्याउने भनिएको छ ।   त्यस्तै, स्थानीय परम्परागत र परम्परागत संगीतका साथै र समकालीन संगीतको सीपलाई विद्यालय तहसम्म पु¥याउन विद्वत वर्ग र विद्यालयहरूसँग सहकार्य गर्ने कार्यक्रम राखेको छ । विद्यालयमा संगीत शिक्षकको व्यवस्था गर्ने, शिक्षकहरूलाई तालिम प्रदान गर्ने र विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने महानगरले शैक्षिक कार्यक्रमअन्तर्गत राखिएको छ ।  यस्तै, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगीतज्ञ तथा अनुसन्धानकर्ताहरूका निमित्त समेत उपयोगी हुने स्थानीय संगीत परम्परा तथा विभिन्न बाजागाजाहरू समेतलाई अभिलेखिकरण गरी स्रोत केन्द्र सञ्चालन गर्ने भनिएको छ । परम्परागत बाजाहरूको संरक्षण तथा सम्बद्र्धनका निमित्त परम्परागत बाजा बनाउने र बजाउन सीपको जगेर्ना गर्न आवश्यक तालिमको व्यवस्था गरी यसलाई पेशाको रुपमा स्थापित गर्दै मर्यादित बनाउने, परम्परागत वाद्यगुरुहरूलाई रोजगारीको अवसर सिर्जना गर्ने योजना रहेको छ । नीति निर्माण तथा पहलकदमी संगीतलाई उद्योगको रूपमा स्थापित गर्न महानगरले पहल गर्ने भएको छ । साथै जेष्ठ पूर्णिमाको दिनलाई राष्ट्रिय संगीत दिवसको रूपमा घोषणाका लागि आवश्यक पहल गर्ने भएको छ । त्यस्तै, स्थानीय सार्वजनिक स्थलहरुलाई सवारीरहित बनाई खुल्ला सांगीतिक कार्यक्रमहरू आयोजना गर्नका लागि पूर्वाधार तयार पार्ने, परम्परागत वाद्यवादनमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू र नयाँ पुस्ताको उल्लेख्य सहभागिताको निमित्त नीति बनाई कार्य गर्ने योजना लिएको छ । स्रोत तथा साधनको विकास– ‘ललितपुर सिर्जनात्मक कला केन्द्र’ को स्थापना गर्ने महानगरले आगमी चार वर्षभित्र संगीतसम्बन्धी अनुसन्धान केन्द्र, अभिलेखालय, तालिमकेन्द्र तथा संगीतकर्मीहरुको सामुहिक जमघटको थलोको रूपमा ललितपुर सिर्जनात्मक कला केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ । महानगरपालिका भित्र संचालन हुने संगीत सम्बन्धी सबै क्रियाकलाप संयोजन, रेखदेखको कार्य यसै केन्द्रबाट हुने व्यवस्था मिलाउने महानगरले जनाएको छ । महानगरका अनुसार यस केन्द्रको सञ्चालनको लागि महानगरपालिकाका प्रमुखको अध्यक्षतामा महानगर भित्रका विभिन्न संगीत तथा अन्य सिर्जनात्मक विधासँग सम्बन्धित संघ संस्थाहरूको समेत प्रतिनिधित्व रहने गरी १५ सदस्यीय सञ्चालक समिति बनाउने भएको छ । यसबाहेक आगामी चार वर्षे कार्ययोजनामा महानगरले परम्परागत तथा समकालीन संगीतमा युवाहरुलाई संलग्न गराउन प्रत्येक वडामा युवा केन्द्रको स्थापना गर्ने, संगीतको अनुसन्धानका लागि विज्ञहरूको टोली गठन गर्ने, सामाजिक तथा वातावरणीय समस्याहरूको निराकरणका निमित्त छलफलको आयोजना गर्ने योजना अघि सारेको छ । संस्कृति तथा सिर्जजनशीलतालाई दिगो विकासको वाहकको रूपमा अंगीकार गरेका सहरहरूलाई एकै थलोमा ल्याई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्य प्राप्तिमा सहयोग पुर्‍याउने उद्देश्यसहित युनेस्कोले सन् २००४ देखि ‘युनेस्को सिर्जनात्मक सहरहरूको सञ्जाल’ को सुरुवात गरेको थियो ।  स्थानीयस्तरमा रहेका व्यक्तिहरुमा रहेको दक्षताको उचित मूल्याङ्कन गर्दै सिर्जनशील पेशाकर्मीहरूलाई आवश्यक सहयोग पुर्‍याउनु, स्थानीय बासिन्दाहरूलाई सक्दो संलग्न गराई रोजगारी सिर्जना गर्नुका साथै उनीहरूको आर्थिकस्तर उकास्नु र सामाजिक सद्भाव अभिवृद्धि गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।  यस सञ्जालको माध्यमबाट सञ्जालमा आवद्ध सहरहरूबीचको आपसी सहयोग र अनुभव आदान प्रदान गरेर सहरहरूको आर्थिक तथा सामाजिक वातावरणमा सकारात्मक परिवर्तन ल्याउन यो कार्यक्रमको महत्त्वपूर्ण योगदान र भूमिका रहेको छ ।  यस सञ्जालअन्तर्गत हस्तकला तथा लोक कला, फिल्म, खानपान, साहित्य, मिडिया कला, साहित्य, संगीत र वास्तुकला गरी ८ विधा रहेको छ । यीमध्ये जुनसुकै विधामा सञ्जालको सदस्यताको लागि कुनैपनि सहरले विधिवत रूपमा प्रस्ताव पेश गरेपछि विज्ञहरूको टोलीबाट सिफारिस गरेको आधारमा सञ्जालको सदस्यता दिइन्छ ।  यस सञ्जालको सदस्यस्ता प्राप्तिका लागि आवेदक सहरहरूले कम्तिमा ४ वर्षको कार्ययोजनासहित प्रतिबद्धता जनाउनुपर्छ । हालसम्म संसारका १०० भन्दा बढी मुलुकका ४०८ वटा सहरहरूले विभिन्न विधाहरूमा यस सञ्जालको सदस्यता प्राप्त गरिसकेका छन् ।

तिलगंगा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस मनाउँदै

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले अन्तर्राष्ट्रिय रुपमा मनाइने विश्व मधुमेह दिवस (नोभेम्बर १४) र समय अघिनै जन्मिएका नवजात शिशु दिवस (नोभेम्बर १७) को अवसरमा यस वर्ष सप्ताहव्यापी विशेष कार्यक्रम आयोजना गर्दैछ । प्रतिष्ठानले मधुमेह र समयपूर्व जन्मिएका शिशुमा समयमै पहिचान, सचेतना र सहकार्यपूर्ण उपचारको आवश्यकता औँल्याउँदै आँखा स्वास्थ्य प्रवद्र्धन र अन्धोपन रोकथाममा जनचेतना फैलाउने लक्ष्य राखेको छ । नोभेम्बर १४ मा मनाइने विश्व मधुमेह दिवसले मधुमेह र त्यसका जटिलताप्रति ध्यानाकर्षण गराउँछ । अन्तर्राष्ट्रिय डायबेटिज संघका अनुसार हरेक ९ जनामध्ये १ जनामा मधुमेह देखिन्छ, जसका कारण आँखाको पर्दामा समस्या (डायबेटिक रेटिनोप्याथी) हुने जोखिम बढ्छ । उपचार समयमा नभए अन्धोपन निम्त्याउन सक्छ । प्रतिष्ठानले मधुमेह भएका सबैलाई नियमित आँखा परीक्षण गर्न आग्रह गरेको छ । नोभेम्बर ८–१६ सम्मको सप्ताहव्यापी अभियान अन्तर्गत सचेतनात्मक अडियो–भिडियो सामग्री निर्माण, संचारमा सहभागिता, शनिबार कात्तिक २२ गते सचेतना र्याली, लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एलसिके भिजन सर्कल र अन्य लायन्स सदस्यहरूको सहभागिता, निःशुल्क आँखा परीक्षण, शैक्षिक कार्यक्रम, बिरामी–परिवार–चिकित्सक अन्तरक्रिया, र कात्तिक २९ गते योग तथा जुम्बा जस्ता कार्यक्रम समावेश छन् । मुख्य सन्देशहरूमा डायबेटिक रेटिनोप्याथी समयमै पत्ता लगाउन सकिने, नियमित आँखा परीक्षण आवश्यक, र सन्तुलित आहार तथा स्वस्थ जीवनशैलीले मधुमेह नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख छ । नोभेम्बर १७ मा मनाइने दिवसले समयपूर्व जन्मिएका शिशु र परिवारले सामना गर्ने चुनौतीबारे जनचेतना बढाउने लक्ष्य राखेको छ । समयपूर्व जन्मिएका शिशुमा रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी  जस्ता गम्भीर आँखा रोगको जोखिम उच्च हुन्छ । यदि समयमै उपचार नपाए दृष्टिविहिन हुने सम्भावना बढ्छ । प्रतिष्ठानले यस दिवसको अवसरमा सचेतनात्मक अडियो–भिडियो सामग्री निर्माण, देशभरका नवजात शिशु उपचार केन्द्र र बाल चिकित्सकहरूसँग सहकार्य गर्दै २८ दिनभित्र शिशुहरूको आँखा परीक्षण गर्न विशेष पहल गर्दै आएको छ । प्रारम्भिक स्क्रिनिङ र उपचारमार्फत अन्धोपनको जोखिम घटाउने लक्ष्य राखिएको छ । समय अघिनै जन्मिएका शिशु दिवसका मुख्य सन्देशहरूमा २८ दिनभित्र परीक्षण अनिवार्य, समयमै उपचारले जीवनभरको दृष्टि हानि रोक्ने, र परिवार तथा हेरचाह गर्ने व्यक्तिहरूको समर्थनले शिशुको स्वास्थ्य र विकासमा महत्वपूर्ण भूमिका खेल्ने कुरा समावेश छन् । प्रतिष्ठानले स्वास्थ्यकर्मी, स्वयंसेवक र सम्बन्धित संस्थाहरूलाई रोकथाम गर्न सकिने अन्धोपन विरुद्धको अभियानमा सहभागी भएर सबैका लागि स्वस्थ दृष्टि अधिकार सुनिश्चित गर्न आह्वान गरेको छ । उपचार पहुँच नभएका र आर्थिक रूपमा कमजोर बिरामीका लागि सहुलियत सेवा समेत प्रदान गर्दै आएको छ ।

स्थानीयले बन्द गरे मेलम्ची खानेपानीको पानी पथान्तरण

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले पूर्णरुपमा बन्द गरेका छन् । विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समिति, राजनीतिक दल र बाढी प्रभावित स्थानीयले पानी पथान्तरण बन्द गरेका हुन् ।  आफूहरुको माग पूरा नभएसम्मका लागि पानी पथान्तरण पूर्णरुपमा बन्द गरेको स्थानीयले बताएका छन् । मेलम्ची नदी हेलम्बुबाट पानी पथान्तरण पछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणको आधारमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिक्रि गरेवापतको मूल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयको माग रहेको छ । स्थानीहरुले बाढी प्रभावितलाई आवश्यक राहत वितरण गरर्नुपर्ने र आयोजनाका बोर्ड सदस्यहरुको सम्पती विवरण सार्वजनिक गर्न समेत माग राखेका छन् । 

राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब बराबरको डिबेञ्चर जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ को निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले एक हजारका दरले ३० लाख कित्ता बरारबर हुन आउने रकम ३ अर्ब बराबरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा कुमारी क्यापिटललाई दिएको हो । बिहीबार (आज) बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा उक्त सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनाल र कुमारी क्यापिटलका सीईओ पुष्प शर्माले हस्ताक्षर गरे । जारी गर्न लागिएको ऋणपत्रमध्ये ६० प्रतिशत (१८ लाख कित्ता) अर्थात् १ अर्ब ८० करोड बराबरको भाग संस्थागत तथा व्यक्तिगत तवरबाट निष्काशन गरिनेछ भने बाँकी ४० प्रतिशत (१२ लाख कित्ता) अर्थात् १ अर्ब २० करोड बराबरको भाग सर्वसाधारणका लागि खुला हुनेछ । उक्त ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ को वार्षिक ब्याजदर ६ प्रतिशत रहनेछ र यसको अवधि सात वर्ष तोकिएको छ । राष्ट्रिय वाणिज्य बैंकले ३१० शाखा कार्यालयमार्फत देशभर आधुनिक बैंकिङ तथा वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ ।

दाबी बढी परे पनि ओरिएन्टल इन्स्योरेन्स भुक्तानी गर्न सक्षम, एडभान्स भुक्तानी सुरु

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले बीमितको दाबी रकम भुक्तानी गर्न सक्षम रहेको बताएको छ । कम्पनीले जेनजी आन्दोलनबाट अन्य कम्पनीको तुलनामा बढी प्रभावमा परेको ओरिएन्टल इन्स्योरेन्सले बीमितको दाबी भुक्तानी दिन सक्षम रहेको बताएको हाे ।  कम्पनी अनुसार जेनजी आन्दोलनबाट क्षति व्यहोरेका बीमितलाई एडभान्ससहित दाबी भुक्तानी सुरु गरिसकेको छ । कम्पनीका सूचना अधिकारी एवं सिनियर विभागीय प्रबन्धक मान बहादुर ढकालका अनुसार कम्पनीमा हालसम्म  ५ अर्ब ४३ करोड रुपैयाँको एक सय वटा दाबी परेको छ । तीमध्ये ३ करोड ४३ लाख भुक्तानी भइसकेको छ । गत भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनमा देशभरका विभिन्न सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुग्दा बीमा कम्पनीहरूमा २३ अर्बभन्दा बढीको दाबी परेको छ । सबैभन्दा धेरै दाबी पर्ने कम्पनीमा ओरिएन्टल दोस्रो नम्बरमा रहेको छ ।  ढकालले कम्पनीको नेटवर्थ ठूलो नभए पनि रिटेन्सन पावर बढी हुनुका साथै भारतीय बीमा कम्पनीको ब्राञ्च भएकाले कम्पनीमा ठूलो दाबी परेपनि भुक्तानी गर्न सक्षम रहेको जानकारी दिए । उनका अनुसार सबैभन्दा ठूलो दाबी नक्सालमा अवस्थित हिल्टनको ४ अर्ब रुपैयाँ र युनाइटेड डिस्ट्युब्युसनको एक अर्ब रुपैयाँको रहेको छ । बाँकी साना दाबी रहेको उनले बताए । कम्पनीमा परेको सबै दाबी भुक्तानी गर्ने दायित्व कम्पनीको मात्रै नभएको र तिर्नुपर्ने दायित्व बाँडफाँट भएको हुँदा कम्पनीलाई दबाव नपर्नेसमेत उनले प्रष्ट पारे । हिल्टन र युनाइटेडलाई छोडेर बाँकी दाबी तिर्न कम्पनीले सुरु गरिसकेको उल्लेख गर्दैै ढकालले बीमितलाई नआत्तिन र ढुक्क हुन आग्रह गरे ।   उनले भने, ‘ज–जसले दाबी गर्नुभएको छ, उहाँहरूसँग क्लेम डिपार्टमेन्टले फलोअप गरिरहेको छ, उहाँहरूबाट न्यूनतम कागजपत्र आउनेवित्तिकै मूल्यांकन गरेर भुक्तानी गरिहाल्छौं, सबै बीमितले भुक्तानी पाउनेछन्, त्यसमा ढुृक्क हुनुस् ।’ कम्पनीमा ठूलो दाबी परेको हुँदा कम्पनीको ब्यालेन्स सिटमा केही प्रभाव पर्ने देखिन्छ । सूचना अधिकारी ढकालले यो वर्ष ठूलो रकम बाहिर जाने हुँदा कम्पनीको कम्पनीको नाफामा असर पर्नुका साथै ब्यालेन्ससिट केही खुम्चिन सक्ने बताए ।  यद्यपि यसअघि पनि ठूला दाबी कम्पनीले भुक्तानी गरेको हुँदा यो वर्ष तिर्नै नसक्ने अवस्था भने नहुने उनको भनाइ छ । उनले यो घटनालाई अवसरको रूपमा समेत लिएको सुनाए । नगद प्रवाहमा छैन समस्या जेनजी आन्दोलनपछि बीमा कम्पनीहरूमा एकै पटक ठूलो दाबी परेको हुँदा नगद प्रवाहको समस्या हुन सक्ने शंका/उपशंका बजारमा छ । तर ओरिएन्टल इन्स्योरेन्समा त्यस्तो कुनै समस्या नभएको सूचना अधिकारी ढकालले बताए ।  ‘बीमा कम्पनीले योभन्दा अघि पनि ५०/६० करोड रुपैयाँसम्मको भुक्तानी आफै नै व्यवस्थापन गरेको उदाहरण छ,’ उनले भने, ‘ठूलो दाबीको लागि नेपाल पुनर्बीमा कम्पनीले दिएपछि मात्रै भुक्तानी प्रक्रिया अघि बढ्छ, बाँकी दाबी तिर्नको लागि नेपाल रिसँग भर पर्नु पर्दैन । हामीसँग भुक्तानीको लागि पुग्दो रकम छ ।’ उनका अनुसार ठूलो दाबीको हकमा ओरिएन्टलले नेपाल रिसँग निरन्तर छलफल गरिरहेको छ । ‘हामीले पुनर्बीमा कम्पनीसँग समन्वय गरिरहेका छौं, उहाँहरूले पनि राम्रो रेस्पोन्स गरिरहनुभएको छ, भुक्तानी दिन्छौं भनिरहनुभएको छ,’ उनले भने । ढकालका अनुसार हिल्टनमा अहिले कम्पनीले नेपाली र भारतीय गरेर जोइन्ट सर्भेयर खटाएको छ । साथै हिल्टनले पनि आफ्ना विशेषज्ञ खटाएर अध्ययन गरिरहेको छ । सर्भेयरहरबाट अहिले अध्ययन भइरहेको र सर्भेको रिर्पोट आएपनि भुक्तानी प्रक्रिया अघि बढ्ने उनले बताए ।  युनाइटेडको हकमा पनि कम्पनीले प्रतिवेदन बुझाएपछि भुक्तानीको प्रक्रिया जाने उनले जानकारी दिए । कस्तो छ कम्पनीको वित्तीय अवस्था ? ओरिएन्टल इन्स्योरेन्स चुक्ता पुँजीबिना नै सञ्चालित कम्पनी हो । कम्पनीको गत आर्थिक वर्ष २०८१÷८२ को असार मसान्तसम्मको रिपोर्टअनुसार कम्पनीको स्पेशल रिजर्भ फण्डमा एक अर्ब ६९ करोड मात्रै सञ्चित रहेको छ । कम्पनीको महाविपत्ति कोषमा ६ करोड ६८ लाख, रिर्टन्ड अर्निङ ७ करोड २५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, गत वर्ष कम्पनीले ८ करोड २९ लाख २३ हजार रुपयाँ खुद नाफा कमाएको थियो । कम्पनीको कुल सम्पत्ति ६ अर्ब २९ करोड ३२ लाख रुपैयाँ रहेको छ । कुल इक्विटी २ अर्ब ६४ करोड ३९ लाख रुपैयाँ र कुल दायित्व ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।  बीमा प्राधिकरणले भर्खरै सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीले असोज मसान्तसम्ममा ११ हजार ७७२ पोलिसी जारी गरेर ७८ करोड ८५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकाे छ ।

बीमालाई सामाजिक अभियानका रूपमा अगाडि बढाउँदै सानिमा रिलायन्सका म्यानेजर रिजाल

काठमाडौं। नेपालजस्तो विकासशील मुलुकका लागि बीमा गरिबी घटाउने सबैभन्दा प्रभावकारी माध्यम हो । यसले आकस्मिक जोखिमको समयमा आर्थिक सहारा प्रदान गर्दै गरिबी न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्छ।  यही चेतनालाई आत्मसात गर्दै बुटवलका सुवास रिजालले बीमालाई महाअभियानका रूपमा अगाडि बढाइरहेका छन् । बुटवलबाट जीवन बीमा व्यवसाय गरिरहेका सुवास रिजाल विगत ७ वर्षदेखि कार्यरत छन् । कपिलबस्तुमा १० सन्तानमध्ये नवौँ सन्तानका रूपमा जन्मिएका रिजालले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका हुन् । कपिलबस्तुबाट माध्यमिक, प्लस टु पोखरा, स्नातक पोखरा, र त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका हुन् । अध्ययनपछि कोरियामा ५ वर्ष काम गरेर फर्किएका उनले बीमा अभिकर्ताको पेशालाई व्यवसायिक रूपमा अगाडि बढाइरहेका छन् । उनको बीमामा लाग्नुको पृष्ठभूमि भने मार्मिक छ । आज भन्दा ७ वर्षअघिको कुरा हो, पाल्पाको सिद्धबाबा नजिकै ठुलो पहिरो गएको दिन उनी पनि यात्रामा थिए । यस क्रममा एक जना डाक्टर र उनकी श्रीमती घटनास्थलमै मृत्यु भए । यस घटनाले उनलाई रातभर निद्रा लाग्न दिएन । जीवन अनिश्चित रहेको अनुभूति भएपछि उनले निर्णय गरे, अनिश्चिततालाई रोक्न सकिँदैन, तर त्यसबाट हुने जोखिम न्यून गर्न सकिन्छ । उनी सानिमा रिलायन्सको बुटवल शाखामा गएर आफ्ना एक वर्षीय बच्चा, श्रीमती, र आफ्नै बीमा गरी यस पेशामा प्रवेश गरे । यस क्रममा कम्पनीका क्षेत्रीय कार्यालयका प्रवन्धक जयदेव गौतम र शाखा प्रमुख प्रकाश गौतमसँग बीमाबारे धेरै सिक्ने मौका पाए । कोभिड–१९ अघि करिब एक महिनाको आएजाने क्रममा उनले आफ्नो बीमा मात्र गरेनन्, अभिकर्ता बनेर व्यवसायिक रूपमा अगाडि बढ्न पनि प्रेरणा पाए । यसपछि उनी बीमा अभिकर्ता पेशालाई सामाजिक कामको रूपमा अंगालेर अगाडि बढ्ने दृढताका साथ लागे। २०–२५ दिनको उक्त बसाइले उनलाई पेशामा लाग्ने हौसला दिएको थियो । रिजाललाई अभिकर्ता पेशा अन्य व्यवसाय जस्तै महत्वपूर्ण लाग्छ । कसैले सामान ६ सयमा खरिद गरी १ हजारमा बेचेको नाफा कसैले टिप्पणी गर्दैन, तर बीमा व्यवसायमा नियम अनुसारको कमिशनमाथि आलोचना हुँदा उनलाई दुख लाग्छ । सुरुवाती चरणमा उनले बुटवलका ठूला व्यक्तिको ठूला बीमा गराए । तर क्षेत्रीय र शाखा प्रमुखले भने, 'यदि समाजमा चिनिन चाहनुहुन्छ र साच्चिकै समाजसेवा गर्नु छ भने ग्रामीण बस्तीका व्यक्तिलाई बीमा गराउनुहोस् । यसले पुण्यको काम हुन्छ ।' यसपछि उनी आफ्नै जन्मस्थल कपिलबस्तुको ग्रामीण बस्तीमा पुगे । ठूला व्यक्तिबाट बीमा गराउँदै आएका रिजाल गरिब व्यक्तिका छोराछोरीको बीमा गर्न पुगे । तत्कालिन अवस्थामा उनी सानिमा लाइफको सबैभन्दा धेरै पोलिसी जारी गर्ने अभिकर्ता बने। यसरी उनले बीमालाई अभियानको रूपमा अगाडि बढाए । यस क्रममा उनलाई तीतो–मिठा अनुभव पनि भए । कोभिड–१९ अघि एउटा आफन्तलाई बीमाको प्रस्ताव राख्दा स्वीकार भएन। पछि उक्त व्यक्ति कोभिड–१९ मा संक्रमित भए र उपचारमा २०–३० लाख खर्च भए पनि ज्यान गयो। यसले उनलाई बीमामा लाग्ने प्रेरणा दियो । रिजाल बुटवलको स्वागतम बचत तथा ऋण सहकारी संस्थामा कोषाध्यक्ष पनि थिए । त्यहाँ ऋण समितिका सदस्यको काकीलाई बीमाको प्रस्ताव राख्दा केही दिन पर्खन अनुरोध भयो । दुर्भाग्यवश, उनी बुटवल–भैरहवा जाँदै गर्दा दुर्घटनामा मृत्यु भए । रिजाल भन्छन्, 'किड्नी फेल भएर बाटा–बाटामा हिँडिरहेको देख्दा मलाई लाग्छ, यदि ति व्यक्तिलाई समयमा बीमा गराउन सकिएको भए यस्तो दिन भोग्नुपर्दैनथ्यो ।' तराइका ग्रामीण क्षेत्रमा मानिसहरू दैनिक पान, चुरोट, रक्सी सेवन गर्छन् । यदि तिनीहरूले केवल भोला खान रोक्न सक्थे भने ५ लाखको बीमा गर्न सक्थे। उनी गाउँ–गाउँ गएर यस चेतना फैलाइरहेका छन् । अर्घाखाचीका पहाडी क्षेत्रका गाई–बाख्रा पालन गर्ने कृषकलाई बाख्राको मूल्य बराबरको बीमा गराउन सुझाउँछन्, जसले बालबालिकाको उच्च शिक्षा सहज बनाउँछ । अभियानका क्रममा उनले गाउँ–गाउँमा मात्रै काम गरेका छैनन्, त्यहाँका नयाँ अभिकर्ता बनाएर ठूला टिम पनि निर्माण गरेका छन् । हजारौंलाई बीमा गराइसकेका, सयौं अभिकर्ता तयार पारेका रिजाल २०२२ मा एमडिआरटी क्वालिफाइ भएको र २०२३ मा उनकी श्रीमती राधिका पोखरेल पनि क्वालिफाइ भएकी छन् । बीमाबाट अहिलेसम्म एउटा पनि दाबी परेको छैन । यसले उनलाई एजेन्सी म्यानेजर बनाउने प्रोत्साहन दिएको छ। उनी मासिक ४–५ लाख आम्दानी गर्दै आफ्नै टिम निर्माणमा लागेका छन् । कोरियामा ५ वर्ष काम गरेर फर्किए पनि नेपालमा राम्रो आम्दानी गर्न सक्नुले उनलाई थप हौसला दिएको छ । बीमाको महत्व रिजालले सहरीदेखि ग्रामीण क्षेत्रसम्म एजेन्सी निर्माण गरिसकेका छन् । लक्ष्य नेपालभर एजेन्सी फैलाउनु हो । मानिसहरूले अनावश्यक खर्च बढी गर्ने तर बीमा गर्न पैसा नभएको प्रवृत्ति देखिएको छ । बीमामा प्रारम्भमा धेरै नकारात्मकता थियो, अभिकर्ताले शुल्क बुझाए पनि कम्पनीमा नगएको घटना सुन्न पाइन्थ्यो । यसले मानिसलाई बीमाप्रति नकारात्मक बनाएको थियो । गाउँ–गाउँमा जाँदा केही बीमितले विरोध पनि गरे । उनी भन्छन्, 'कतिपय गल्ती अरूले गरे पनि मैले जवाफ दिनुपर्छ । गल्ती स्वीकार गरेर बाँकी कुरा बुझाउनुपर्छ ।' बीमाले गाउँ–गाउँमा रुपान्तरण ल्याउने एकमात्र विकल्प हो । कतिपय परिवारमा ५ कक्षा भन्दा माथि पढेका छैनन् । अभिकर्ता बनाउने योग्यता नभए पनि उनी बीमाको अभियान मार्फत सबैलाई बीमाको दायरामा ल्याएर आर्थिक र सामाजिक अवस्था सुधार्ने प्रण गरेका छन् । उनले विद्यालय र क्लबसम्म पुगेर बीमाबारे जागरूकता फैलाइरहेका छन्।  परिवारमा सदस्य विरामी हुँदा चन्दा उठाउनुपर्ने अवस्था छ भने बीमा गरे जोखिम न्यून गर्न सकिन्छ । रिजाल भन्छन्, 'यदि सबैलाई बीमा गर्ने हो भने समाजमा क्रान्ति आउँछ । समयमा बीमा गर्दा बचत क्षमता बढ्छ । कमाएको निश्चित रकम बीमा मार्फत बचत गर्दा गरिबी दर घट्छ । त्यसैले हामी गरिब बस्तीमा पुगेर यो महाअभियान अगाडि बढाइरहेका छौं ।'