वाणिज्य बैंकले राष्ट्र बैंकबाट २ अर्ब ५० करोड उठाए
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकले बुधबार साढे २ अर्ब रुपैयाँ उठाएका छन् । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भई अन्तर बैंक ब्याज दर बढेपछि राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बजारमा पठाउन रिपो निष्कासन गरेको थियो । ४ वाणिज्य बैंकले साढे २ अर्ब रुपैयाँ लिएको केन्द्रीय बैंकले जनाएको छ । अन्तर बैंक ब्याज दर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले हस्तक्षेप गर्न मंगलबार र बुधबार गरी २० अर्ब रुपैयाँको रिपो निष्कासन गरेको हो । मंगलबार निष्कासन गरेको भन्दा बढी खरिद भएपछि बुधबार पनि केन्द्रीय बैंकले पुनः रिपो निष्कासन गरेको थियो । १० अर्ब रुपैयाँको रिपो निष्कासन गर्दा ९ वाणिज्य बैंकले ११ अर्ब रुपैया उठाएका हुन् । राष्ट्र बैंकले बजारमा साढे १२ अर्ब रुपैयाँ पठाएपछि बजारमा झण्डै २५ अर्ब रुपैयाँ हारहारीमा तरलता पुगेको छ । १० अर्ब मध्ये साढे २ अर्ब रुपैयाँ मात्र बैंकले उठाएपछि तरलता समस्याको समधान भएको छ । बैंकहरुले सरकारी ऋणपत्रमा लगानी गरेपछि तरलतामा कमी आई तत्काल समस्या समधान गर्न रिपोमार्फत पैसा बजारमा पठाएको हो । ब्याजदर करिडोर नीतिअन्र्तगत राष्ट्र बैंकले बजारमा तरलताको अभाव हुदा ५ प्रतिशत ब्याजदरमा पैसा बजारमा पठाउने र बैकिङ प्रणालीमा तरलता बढी हुदा ३ प्रतिशत ब्याजदरमा रिभर्स रिपोमार्फत बजारबाट पैसा उठाउने गरेको छ ।
बिहीबारदेखि ‘नेपाल चेम्बर एक्स्पो २०७४’ शुरु, नेपालसहित विभिन्न आठ देशको सहभागिता
काठमाडौं । बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०७४’ सुरु हुने भएको छ । उक्त एक्स्पोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र बंगलादेश गरी आठ वटा मुलुकहरुको सहभागिता रहने जनाइएको छ । नेपाल चेम्वर अफ कमर्सले बुधबार पत्रकार सम्मेलन गरी एक्स्पो हुने जनाएको हो । एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेकाे छ । कार्यक्रममा चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले तेश्रौ संस्करणको रुपमा मेला हुन लागेको जानकारी गराएका छन् । साथै, उक्त मेलामा दक्षिण कोरियाले पार्टनर मुललुकको हैसियतमा सहभागिता जनाउने र थाइल्याण्ड फोकस मुलकुको रुपमा सहभागी रहने उनले बताए । त्यस्तै, एक्स्पोमा कुल दुई सय २५ वटा स्टलहरु रहने जनाइएको छ । नेपाल चेम्बर एक्स्पो २०१७ का संयोजक राष्ट्र भूषण चाकुबजीले मेलामा कोरियाको २३ र थाइल्याण्डका १५ वटा स्टलहरु रहने जानकारी गराइएका छन् । पाँंच दिनसम्म चल्ने मेलामा करिब तीन लाख भन्दा बढी अवलोकनकर्ताले सहभागिता जनाउने अपेक्षा गरिएको छ । उक्त मेला मंसिर १८ गते सोमबारसम्म चल्ने चेम्बरले जनाएका छन् ।
महालक्ष्मी विकास बैंकको थप चार शाखा सञ्चालनमा, दार्चुलामा पनि खोल्ने तयारी
काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले आफ्नो थप नयाँ चार शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले एकैदिन बाजुराको मार्तडी, बझाङ्गको चैनपुर, बैतडीको पाटन र दाङ्गको घोराही गरी चार शाखाहरुबाट बैंकिङ्ग कारोबार सञ्चालन गरेको हाे । सुदुरपश्चिमको बाजुरा, बझाङ्ग र बैतडीमा शाखाहरु सञ्चालन गरेर यस विकास बैँक उक्त स्थानहरुमा शाखा खोल्ने प्रथम राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको छ । नयाँ शाखाहरुसहित यस बैंकको शाखा संख्या ७० पुगेको छ भने एटिएम संख्या ३५ रहेको छ । साथै, बैंकले छिटै दार्चुलाको गोकुलेश्वरमा पनि शाखा सञ्चालन गर्ने तयारी गरिरहेको छ । बैंकले गत कात्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सानिमा लाइफको औपचारिक कारोबार मंसिर २२ गतेदेखि
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर २२ गते देखि औपचारिक रुपमा कारोबार आरम्भ गर्ने भएको छ । कम्पनीले तिहार अगावैदेखि सेवा भने सञ्चालन गर्दै आएको थियो । मंसिर २२ गतेका दिन देखि कम्पनीले कार्यालय उद्घाटन गर्दै औपचारिक रुपमा सेवा आरम्भ गर्न लागेको हो । सनिमा बैंकमा एनआरएनहरुको लगानी रहेको छ । यसका लगानी कर्ताहरुमा बद्रि प्रसाद ओझा, अरुण कुमार ओझा, डा. गोपाल प्रसाद श्रेष्ठ, जीवनाथ लामिछाने, घनश्याम थापा र डा. बिरेन्द्र प्रसाद महतो लगायतको लगानी रहेको छ । कम्पनीको अध्यक्षमा अरुण कुमार ओझा रहेका छन भने प्रमुख कार्यकारी अधिकृतका रुपमा केशब राज जोशीले काम गरिरहेका छन् ।
बजारमा एक अर्ब बढीको सेयर कारोबार, सबैभन्दा बढी बुटवल पावरको
काठमाडौं । लामो समयपछि सेयर बजारमा एक अर्ब माथिको सेयर कारोबार भएको छ । बुधबारको बजारमा १६३ कम्पनीको एक अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल २० लाख ४५ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी बुटवल पावर कम्पनीको सबैभन्दा बढीको सेयर कारोबार भएको छ । यस कम्पनीको एकैदिन ६ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७१८ रुपैयाँ रहेको छ । बढी कारोबार हुने १० कम्पनी त्यस्तै, बजारमा अन्य दुई कम्पनीको पनि ६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन नेपाल दुरसञ्चार कम्पनीको ६ करोड ५० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । त्यसैगरी, सानिमा माई हाइड्रोको ६ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले ८.८८ प्रतिशत कमाएका छन् । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८४५ रुपैयाँ रहेको छ । त्यस्तै, रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ८.८४ प्रतिशतले वृद्धि भएको छ । समग्रमा नेप्से परिसूचक १२.२६ अंकले बढेर १५३६ अंकमा पुगेको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक उकालो लागेको छ । यस समूहको परिसूचक १०० अंकले उकालो लागेको हो । सो दिन उत्पादनमूलक समूह बाहेक अन्य बाँकी समूहको परिसूचक हरिया भएका छन् । उत्पादनमूलक समूहको परिसूचक ३२ अंकले ओरालो लागेको छ । दोहोरो अंकले बढेको बजारमा हिमालय डिस्टिलरी लिमिटेडको सेयर मूल्यमा गिरावट आएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य ९.९५ प्रतिशतले घटेको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२४९ रुपैयाँ रहेको छ ।
गुडविल फाइनान्सको मंसिर २५ गतेदेखि बुक क्लोज
काठमाडौं । गुडविल फाइनान्सको आगामी मंसिर २५ गतेदेखि पुस ९ गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि उक्त १२ दिन संस्थाको बुक क्लोज गर्न लागेको हो । यस कम्पनी आगामी पुस ७ गते वार्षिक साधारणसभामा जाँदै छ । सभामा फाइनान्सले १०.७२९ प्रतिशत लाभांश दिने कम्पनीको प्रस्तावलाई पारित गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १०.१९२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३७ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव राखेको थियो ।
गुरु न्यौपानेले त्रिशुली-गल्छी जलविद्युतको क्षमता घटाएपछि अपी पावरको हकप्रद के हुन्छ ?
काठमाडौं । ७५ मेगावाट क्षमताको त्रिशुली–गल्छी जलविद्युत आयोजनाको क्षमता घटेपछि मुल प्रवद्र्धक अपि पावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासन हुन्छ वा हुदैन अन्यौलता देखिएको छ । प्रवद्र्धक सिद्धकाली पावर लिमिटेडले आयोजनाका लागि श्रोत जुटाउन कठिन भएपछि ५० मेगावाट क्षमता घटाएर २६ मेगावाट कायम गराउन लागेको छ । त्यसका लागि कम्पनीले विद्युत विकास विभागमा निवेदन दिईसकेको छ । सिद्धकालीले ८ किलोमिटर लामो र ८.१ मिटर गोलाईको सुरुङ हुदा जोखिम बढेको र ठुलो लगानी आवश्यक भएको भन्दै क्षमता घटाएर २६ मेगावाट बनाउन लागेको जानकारी दिएको छ । सिद्धकालीका अध्यक्ष रहेका गुरुप्रसाद न्यौपानेले ७५ मेगावाट आयोजना बनाउन भन्दै सर्वसाधारणबाट करोडौ रुपैयाँ उठाएका छन् । सिद्धकालीले सुरुङ विनै आयोजना निर्माणको प्रस्ताव गरेको छ । आयोजनाको ८० प्रतिशत स्वामित्व अपि पावरको छ । अपिले सुदुरपश्चिममा साढे ८ मेगावाटको नौगाड जलविद्युत आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । अपीले यही आयोजना बनाउ हकप्रद सेयर निष्कासनको तयारी थालेको थियो । अपीले गत असार ३० गते त्रिशुली–गल्छीका लागि भनेर १ बराबर २ अनुपातमा २ अर्ब १० करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा कम्पनीले निवेदन दिएको छ । बोर्डले अपीलाई अनुमति दिएको छैन् । भारतको डिजाइन ग्रुप कन्सल्टेन्ट कम्पनीले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ले आयोजना आर्थिक रुपमा आकर्षक देखाएको छ । आयोजनाबाट बैंक तथा वित्तीय संस्था पछि हटेपछि आयोजनाको क्षमता घटाइएको तर्क सिद्धकालीको छ । यसअघि लक्ष्मी बैंकको अगुवाइमा आयोजनामा लगानी गर्ने सहमति भएको थियो । यसअघि डलर अर्बपति विनोदकुमार चौधरीले आयोजनामा लगानी गर्ने भनेकोमा उनी पछि हटेपछि आयोजना अन्यौलमा परेको छ । कम्पनीका अध्यक्ष न्यौपाने अहिले लगानीकर्ता खोज्दै हिडेका छन् । पीपीए भइसकेको र सरकारले विद्युत उत्पादन लाइसेन्स दिइसकेको अवस्थामा कम्पनीले आयोजना बनाउनलाई लगानी जुटाउन सकेको छैन् । सिद्धकालीको सञ्चालकमा बुहारी पुजा दाहाल र छोरा सतिश न्यौपाने छन् । सरकारले सिद्धकालीलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको छ । नेपाल विद्युत प्राधिकरण र सिद्धकालीबीच आयोजनाबाट उत्पादन हुने बिजुली खरिदविक्रि सम्झौता (पीपीए) भइसकेको छ । जसअनुसार हिउँदको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षादको ८ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा पीपीए भएको छ । आयोजनाको बाँध नुवाकोटको साबिकको रातमाटे गाबिस र विद्युतगृह धादिङको कल्लेरी गाविस स्थित हाँडीखोलाटारमा हुने छ ।
नागबेली लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता २६१३ रुपैयाँ
काठमाडौं । नागबेली लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको ४५.६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६१३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २४४३ रुपैयाँ रहेको थियो ।