सडक विस्तारपछि सुन्तलाले बजार पायो, प्रतिकिलो ४२ रुपैयाँका दरले बिक्री
म्याग्दी । विगतका वर्षमा सस्तो मूल्यमै सुन्तला बिक्री गर्दै आएका यहाँका किसानले सडक विस्तारपछि उचित मूल्य पाउन थालेका छन् । धौलागिरि गाउँपालिका– ७ ताकमका भेषनाथ गौतमले मंसिर पहिलो हप्ता धादिङका व्यापारीलाई सुन्तला ठेक्कामा दिए । उनले प्रतिकिलो रु ४२ का दरले सुन्तला बिक्री गरेका हुन् । गौतमलाई जस्तै गाउँका अन्य किसानलाई यसपालि विगतको जस्तो सुन्तला बिक्रीका लागि माघसम्म डोके व्यापारी कुर्नुपर्ने चिन्ता छैन । “यसअघि सुन्तलाको बजार खोज्दै हिँड्नुपर्दथ्यो, यसपालि आँगनमै सडक आएपछि व्यापारी सुन्तला किन्न घरमै आए,” गौतमले भने । बेनी नगरपालिका– ४ बास्कुनाका कृषक तिलक गुरुङले १०० बोट सुन्तला नटिप्दै रु चार लाखमा बिक्री गर्नुभयो । सोही ठाउँका नरबहादुर हुमेन, दलबहादुर कार्की र दुर्गाबहादुर खत्रीले सुन्तला बेचेर रु एकएक लाख बुझिसकेका छन्। “घरमै आएर व्यापारीले बगैँचा नै ठेक्कामा लिएर सुन्तला खरिद गरेर लगेपछि कहाँ र कसरी बेच्ने भन्ने चिन्ता नै रहेन”– कृषक दलबहादुर कार्कीले भने । कृषकलाई सडक सुविधा विस्तार भएपछि सुन्तला, आलुलगायत कृषिउपज बजारीकरणमा सहयोग मिलेको छ । केही वर्ष पहिलेसम्म स्थानीय बजारमा सिमित म्याग्दीको सुन्तला अहिले पोखरा, काठमाडौँ, नारायणघाटदेखि जनकपुरसम्म पुग्न थालेको छ । बेनी नगरपालिको राखु, मरेक, बास्कुना, मंगला गाउँपालिकाको बरंजा, भोर्लेनी, अर्मन, कुहुँ, मालीकाको बिम, ओखरबोट, रुन्मा, धौलागिरिको ताकम क्षेत्रका कृषकका बगैँचामा लटरम्म फलेका सुन्तला बोटबाटै बिक्री हुन थालेपछि कृषक उत्साहित भएका छन् । रघुगंगा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, अन्नपूर्णको दोवा, हिस्तान, घार, भुरुङ तातोपानी, नारच्याङ र दानाका कृषकले भने बेँसीजनमा केही ढिला गरी सुन्तला बेच्ने गरेका छन् । सडक सुविधा नहुँदा म्याग्दीका कृषकले उत्पादन गरेको सुन्तला स्थानीय बजारमा सिमित थियो । कृषकले उचित मूल्य पाउन सकेका थिएनन् । सुन्तला बिक्रीबाट जिल्लामा वार्षिक रु तीन करोडदेखि रु चार करोडसम्म भित्रने गरेको छ । छ सय ८५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएको म्याग्दीमा गत वर्ष दुई हजार ४७३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत भोजबहादुर थापाले बजार र मूल्य पाउन थालेपछि कृषक सुन्तला खेतीप्रति आकर्षित भएको बताए । उनका अनुसार कृषकले धान, कोदो, मकै, गहुँलगायत अन्नबालीको विकल्पमा सुन्तलाखेती गर्नेक्रम बढेको छ । रासस
पाठेघर प्रत्यारोपण गरिएकी महिलाबाट बच्चा जन्मियो, अमेरिकी चिकित्सा विज्ञानमा ठूलो उपलब्धि
हाउसटन । अर्कै महिलाको पाठेघर (गर्भाशय) प्रत्यारोपण गरिएकी एक महिलाबाट संयुक्त राज्य अमेरिकामा बच्चा जन्मिएको समाचार छ । यस घटनालाई विश्वकै चिकित्सा विज्ञानमा ठूलो उपलब्धि भएको भनी चिकित्सा क्षेत्रका व्यक्तिहरुले प्रचारप्रसार गरेका प्राप्त समाचारमा जनाइएको छ । गर्भाशय प्रत्योपित महिलाबाट अमेरिकामा यो पहिलो पटक बच्चा जन्मिएको अमेरिकाको टेक्सासमा रहेको अस्पतालले पुष्टि पनि गरेको समाचारमा उल्लेख छ । अमेरिकी राज्य टेक्सासको डालासमा रहेको ‘द बेइलर स्कट एण्ड ह्वाइट मेडिकल सेन्टर’ नामक अस्पतालमा शुक्रबार ती अमेरिकी महिलाले बच्चा जन्माएकी हुन् । उक्त अस्पताल हाउसटनबाट करिब ४०० किलोमीटर उत्तरमा पर्दछ । उक्त अस्पतालले एक्काइसौँ शताब्दिमा प्राप्त चिकित्सा क्षेत्रका केही उपलब्धिमध्येको एक उपलब्धिका रुपमा महिलाको प्रत्यारोपण गरिएको गर्भाशयबाट बच्चा जन्मिएको भनी आफ्नो ट्वीटर अकाउन्टमार्फत सार्वजनिक गरेको छ । ती महिलाले बच्चालाई जन्म दिएको भिडियो नै सो ट्वीटर अकाउन्टमा राखिएको छ । र भनिएको छ- चिकित्सा क्षेत्रमा प्राप्त यो उपलब्धि धेरै ठूलो हो, जुन अमेरिकामा पहिलो पटक प्राप्त भएको छ । उक्त अस्पतालले सन् २०१६ को सेप्टेम्बर महिनामा चार जना महिलामा गर्भाशय प्रत्यारोपण गराएको थियो । यस क्रममा उनीहरुले स्वीडिस् मेडिकल समूहको सहयोग लिएको जनाएका थिए । ती मध्ये एकजना महिलाको मात्र प्रत्यारोपण सफल भएको थियो । तिनै महिलाले शुक्रबार बच्चा जन्माएकी हुन् । यसरी एक महिलाको गर्भाशय अर्कोमा प्रत्यारोपण गर्ने कामको सुरुवात स्वीडेनमा भएको हो । त्यहाँ यसअघि नै यसरी गर्भाशय प्रत्यारोपण गरिएका महिलाबाट पाँच जना शिशु जन्मिइसकेका छन् । सन् २०१४ को सेप्टेम्बर महिनामा पहिलो पटक स्वीडेनमा यसरी प्रत्यारोपण गरिएको गर्भाशयबाट बच्चा जन्मिएको थियो । रासस/सिन्ह्वा
नेसनल लाइफ इन्स्योरेन्सद्धारा ३८ लाख ५ हजारको मृत्यु दाबी भुक्तानी
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीका बिमितका परिवारलाई ३८ लाख पाँच हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले तुलसीपुर उपमहानगरपालिका–५, का रत्नबहादुर वलीकी धर्मपत्नी कौशिला वलीलाई मृत्यु दाबी बापत यही गत मंसिर १५ गते ३८ लाख ५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त चेक कम्पनीका सिइओ भरत बस्नेतले हस्तान्तरण गरेका थिए । आरके सप्लायर्सका प्रोप्राइटर तथा सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रत्नबहादुर वलीले यस नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा मिति २०७१ असार ३१ गते २५ लाख रुपैयाँको जीवन बिमा गरेका थिए । बिमितको निधन भएकाले कम्पनीले बिमा दाबी भुक्तानी गरेको हो । बिमित वलीको २०७४/०२/१६ गते निधन भएको थियो । शुक्रबार कम्पनीका नायब महाप्रबन्धक सुरेश प्रसाद खत्री सहितका उच्च अधिकारीहरु, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, लगायतको उपस्थितिमा एक कार्यक्रम गरी मृतककी धर्मपत्नी कौशिलालाई मृत्यु दाबी भुक्तानी बापत उक्त चेक हस्तान्तरण गरिएको हो । मृतक रत्नबहादुर जंगवीर वलीका छोरा हुन् ।
एनएमबि बैंक ‘बैंक अफ दि ईयर २०१७’ द्धारा सम्मानित
काठमाडौं । एनएमबि बैंक ‘बैंक अफ दि ईयर २०१७’ द्धारा सम्मानित भएको छ । बैंकलाई लण्डन स्थित फाइनान्सियल टाइम्सद्धारा सन् २०१७ को गौरवपूर्ण उक्त सम्मान प्रदान गरिएको छ । उक्त अवार्ड नेपालका वाणिज्य बैंकहरुमध्येको एक उत्कृष्ट बैंक भएको प्रमाणका साथै बैंकले विगतका केही वर्षहरुमा गरेको उल्लेखनीय प्रगतिको समेत साक्षी हो । एफएमओ, नेदरल्याण्ड्ससँग विदेशी साझेदारका रुपमा सहर्काय गर्दै र ग्लोबल एलायन्स फर बैंकिङ्ग अन् भ्यालुज् (जिएबिभि) को सदस्य रहेकाले बैंकको गरिमा अझ उच्च हुन पुगेकाले समेत अवार्डबाट सम्मानित हुन पुगेको बैंकले जनाएको छ । हालै लण्डनमा आयोजित अवार्ड वितरण समारोहमा एनएमबि बैंकका अध्यक्ष पवनकुमार गोल्याण र प्रमुख कार्यकारी अधिकृत सुनील केसीले संयुक्त रुपमा उक्त सम्मान ग्रहण गरेका छन् । बैंक अफ दि ईयर अवार्ड विश्वव्यापी रुपमा बैंकिङ्गका लागि तोकिएको मापदण्ड अनुसार उत्कृष्ट ठहर भएका बैंकलाई दिइने प्रतिष्ठित सम्मान हो । बैंकले आफ्ना शेयरहोल्डरहरुलाई प्रदान गरेको लाभ, बैंकको वित्तीय कार्यक्षमताको प्रदर्शनी, शेयरहोल्डरहरुको मुल्य मान्यता, सेवाग्राहीहरुको सक्रियता लगायत अन्य माणकहरुका आधारमा विजेताको छनोट गर्ने गरिन्छ ।
स्वावलम्बन लघुवित्तको ३१.५७ प्रतिशत लाभांश पारित
काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकको प्रस्तावित ३१.५७ प्रतिशत लाभांश पारित भएको छ । काठमाडौंमा सम्पन्न कम्पनीकाे १६ औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको २० प्रतिशत बोनस र ११.५७ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले आ.व. २०७३/७४ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ मा २६ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । चालु आ.व.को कात्तिक मसान्तसम्म बैंकको कर्जा रकम ८ अर्व २५ करोड रुपैयाँ पुगेको छ । बैंकको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा ४ अर्व ७० करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । हाल बैंकको अधिकृत पूँजी १ अर्ब रुपैयाँ छ । साथै, यसै साधारण सभाले जारी तथा चुक्ता पूँजी ५० करोड ३१ लाख रुपैयाँ कायम गर्ने निर्णय समेत गरेको छ ।
नेपाली बजारमा प्याजको भाउ २० प्रतिशतले घट्यो, निर्यातमा भारतको अंकुश कायमै
काठमाडौं । चार दिनमा प्याजको भाउ २० प्रतिशतले घटेको छ । भारतमा प्याजको मूल्य सस्तिदा नेपाली बजारमा त्यसको प्रभाव परेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत विहिबार थोक मूल्य अनुसार १ सय १६ रुपैयाँ प्रति किलोमा कारोबार भइरहेको प्याजको भाउ चार दिनमा २३ रुपैयाँले घटेको छ । अहिले थोक बजारमा प्याजको मूल्य ९३ रुपैयाँ प्रति किलो पुगेको छ । कालिमाटी तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडाका अनुसार भारत मै प्याजको भाउ घटेकाले नेपाली पनि त्यसको प्रभाव देखिएको हो । उनले भने, ‘भारतमा ८५ भारु प्रति किलोमा पाने प्याजको मूल्य घटेर ५६ रुपैयाँ पुगेको छ ।’ नेपाली बजारमा ९९ प्रतिशत प्याज भारतबाट आयात हुने गरेको छ । गत विहिबार एशियाकै ठुलो बजार भारतको महाराष्ट्रस्थित लसल गाँउमा प्याजको भाउमा २५ प्रतिशतले गिरावट आएको थियो । प्याजको आपूर्ति सहज बन्दै जाँदा त्यहाँको प्याजको मूल्य पनि घट्दै गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । लसल गाँउको कृषि उत्पादन बजार समितिका अनुसार, ‘पछिल्लो दुई सातामा प्याजको आपूर्ति दोब्बरले बढेको छ । दुई सातामा प्याजको आपूर्ति १० हजार क्विन्टलबाट बढेर २० हजार क्विन्टल पुगेको छ ।’ टाइम्स अफ इण्डियाका अनुसार गत मंगलबार २७ सय भारु प्रति क्विन्टल पुगेको प्याजको भाउ घटेर विहिबार २५ सय भारु प्रति क्विन्टल पुगेको थियो । आगामी डिसेम्बरसम्म भारतीय बजारमा प्याजको भाउ २ हजार भारु प्रति क्विन्टलसम्म घट्ने अनुमान गरिएको छ । भारतको अंकुश कायमै भारतमा प्याजको आपूर्ति सहज बन्दै गएपनि त्यहाँको सरकारले न्युनतम निर्यात दर हटाएको छैन । जसको कारण डिसेम्बरको अन्तिमसम्ममा नेपाली बजारमा प्याजको भाउ घट्दै जानेमा संशय कायमै छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका वरिष्ठ बजार व्यवसथापक मनोज धितालले डिसेम्बरको अन्तिम दिनसम्म प्याजको भाउ यकिन गर्न सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘प्याज र सुनको भाउको ट्रेण्ड उस्तै भइसक्यो । डिसेम्बर सम्म भारत सरकारले न्युनतम निर्यात मूल्य नहटाएसम्म प्याजको भाउमा खासै प्रभाव देखिने अवस्था छैन ।’ घरेलू बाजारमा ५ महिनामा प्याजको भाउ सात गुणाले बढेपछि भारतले गत मंसिर ७ गते यसको निर्यातको न्यूनतम मुल्य ८५० अमेरिकी डलर प्रति टन कायम गरेको थियो । अन्तर्राष्ट्रीय बाजारमा प्याज औषतमा ७ सय डलरसम्म पाइन्छ भइरहेको छ । त्यसैले बिक्रेताहरु यो भन्दा बढी मूल्य तिर्न तयार छैनन् । जुलाईमा भारतमा औषत १८६ डलर प्रति टनको मूल्यमा निर्यात भएको थियो । एशियाभरी प्याजको तनाव भारत विश्वकै सबैभन्दा धेरै प्याज निर्यात गर्ने मुलुक हो । भारतले प्याजको निर्यातमा कडाई गरेपछि नेपालसँगै बंगलादेश, मलेशिया लगायतका अन्य एशियाली मुलुकहरुमा प्याजको महंगिको मार खेपिरहेका छन् । गत वर्ष अत्याधिक आपूर्तिका कारण प्याजको भाउ निकै सस्तिएको थियो । यसपाली भारत र पाकिस्तानका किसानले गर्मीयाममा यसको उत्पादन कम गरेका थिए । भारतले प्याजको भाउ बढाएपछि सबै एशियाली मुलुकहरुले चीनमा विकल्प खोजिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । यद्यपी चीनसँग पर्याप्त उत्पादन छैन ।
डलर अपचलन गर्दै विवेकशिल साझा पार्टी, फेसबुकलाई ३ हजार डलर तिर्ने अनुमति कसले दियो ?
काठमाडौं । विकास र सुशासनको नारा बाढिरहेको विवेकशिल साझा पार्टी डलर अपचलनको काण्डमा फसेको छ । विवेकशिल साझा पार्टीले अमेरिकी डलर तिरेर आफ्ना उम्मेदवारहरुको प्रचार प्रसार फेसबुक लगायतका सामाजिक सञ्जालहरु मार्फत गरिरहेको छ । जबकी नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई नेपालमा डलरको कारोबार तथा खरिद बिक्रि गर्न पाइँदैन् । राष्ट्र बैंकको स्वीकृत विना डलर तिरेर विज्ञापन गर्न पाइँदैन र त्यस्ता काम गर्नेलाई राष्ट्र बैंकले विदेशी मुद्रा अपचलनको कारवाही गर्न प्रहरी समक्ष सिफारिस गर्न सक्छ । विवेकसिल साझा पाटीका संयोजक उज्वल थापाले नेपाली रुपैयाँ खर्च गरेर नेपाली आमसञ्चार माध्यममा गरिने प्रचार प्रसार कम प्रभावकारी भएको तर डलर भुक्तानी गरेर फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जालमा गरिएको विज्ञापन प्रभावकारी भएको बताएका छन् । सामाजिक सञ्जालमा आक्रामक र खर्चिलो प्रचार गरिरहनुभएको देखिन्छ । त्यसका लागि कति बजेट छुट्याउनुभएको छ ? भन्ने प्रश्नको जवाफमा विवेकशिल साझा पार्टीका संयोजक थापाले भनेका छन–‘हेर्दा मात्रै खर्चिलो हो । फेसबुकमा १ डलर खर्च गर्दा पनि न्यूजपेपरलाई विज्ञापन दिएको भन्दा बढी प्रभाव पर्छ । अहिले ‘वर्क हार्ड’ भन्दा पनि ‘वर्क स्मार्ट’को समय हो । रञ्जु दर्शना चुनाव लडेका बेला हामीले १ लाख डलर फेसबुकमा खर्चियौं भनेर हल्ला चलाइयो । तर, हाम्रो वास्तविक खर्च करिब ३ हजार डलर मात्रै थियो । यसपालि पनि त्यही हाराहारीमा खर्च होला ।’ डलर तिरेर स्पोन्सर गरिएको डा. सुर्यराज आचार्यको फेसबुक । एता, नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख रमेशकुमार पोखरेलले भने कुनै पनि दल र उम्मेदवारहरुले सामाजिक सञ्जालबाट चुनावी प्रचार प्रसार गर्न डलर सटहीका लागि आफुहरुसँग अनुमति नलिएको स्पष्ट पारे । ‘सामाजिक सञ्जालहरुको स्पोन्सरका लागि सटही सुबिधा लिन कोहि आएका छैनन् । हामीले तोकेको सेवा सुबिधा बाहेकका भुक्तानी गैर कानुनी हुन’, प्रमुख पोखरेलले भने । नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले समाजिक सञ्जालहरुको स्पोन्सरका लागि हुने भुक्तानी कानुन विपरिद भएको तर त्यो नेपाल राष्ट्र बैंकको कार्यक्षेत्रमा पर्ने बताए । ‘फेसबुकहरुको स्पोन्सरका नाममा करोडौं रकम विदेशिएको छ, यो गैर कानुनी काम हो, तर विदेशी मुद्राको कारोबार र नियमन गर्ने नेपाल राष्ट्र बैंकले हो, प्राधिकरणले केहि भन्न मिल्दैन’, खनालले भने । यो पनि पढ्नुहोस् । मार्क जुकरवर्गलाई धनी बनाइदिँदै नेपाली नेता, समृद्धिको सपना बाढेर करोडौं रुपैयाँ विदेश पठाइँदै
रक्सीमाथि प्रतिबन्ध, किनबेच गर्नेलाई कडा कारबाही
पर्सा । स्थानीय प्रशासनले पर्सा जिल्लामा मदिरामा प्रतिबन्ध लगाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनमा शान्तिपूर्ण बनाउन मदिरामा प्रतिबन्ध लगाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा दत्त पौडेलका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले चुनावसम्म जिल्लामा रक्सीको उत्पादन, ढुवानी, तथा उपभोगमाथी रोक लगाएको छ । मदिरा सेवनबाट चुनावमा पर्नसक्ने प्रभाव र रक्सीको आधारमा हुने मत किनबेचलाई रोक्न यस्तो नर्णय गरेको उनले जानकारी दिए । नियम विपरित जाने जोकोहीविरुद्ध कडा कारबाही गर्ने सहायक सीडिओ पौडेलले बताए । रासस