मुद्धतिको ब्याज घटाएर बचतमा बढाउँदै बैंक, सिभिलले साधारण वचतमा ८.५ प्रतिशत दिने
काठमाडौं । बाणिज्य बैंकहरुले मुद्धति निक्षेपको घटाएर साधारण वचतको ब्याजदर बढाउन थालेका छन् । बजारमा लगानीयोग्य पुँजीको चरम अभाव भयो भन्दै बैंकले धमाधम मुद्दती निक्षेको ब्याजदर बढाएर १३ प्रतिशतसम्म पुृर्याएका थिए । बैंकबीच ब्याजदर नबढाउने आन्तरिक सहमति र नेपाल राष्ट्र बैंकले सिधै विकास ऋणपत्र खरिद योजना ल्याएर २५ अर्ब रुपैयाँ बजारमा पठाएपछि बैंक मुद्धतिको ब्याज दर घटाउन लागेका हुन् । केही साता अघि १२.२२ प्रतिशत ब्याजमा व्यक्तिगत मुद्धति निक्षेप उठाउदै आएको सिभिल बैंकले घटाएर ११ प्रतिशतमा झारेको छ । साधारण निक्षेपको ब्याजदर बढाएर साढे ८ प्रतिशत पुर्याएको छ । बैंकले नेपाली मुद्धति बचत खाता योजना ल्याएर साधारण वचतको ब्याजदर बढाएको हो । यसबाट साधारण वचतकर्तालाई फाइदा हुने देखिन्छ । अन्य बैंकको साधारण वचतमा ब्याजदर ६ प्रतिशत भन्दा कम छ । दुई साताअघि प्रभु बैंकले ६ प्रतिशत ब्याज दिने गरी वचत योजना ल्याएको थियो । अन्य बैंकको वचतमा व्याजदर ६ प्रतिशत भन्दा कम छ । यस्तै अधिकाँश बैंकले मुद्धतिको व्याजदर १० देखि ११ प्रतिशत तोकेका छन् । मुद्दतीमा मात्र ब्याज बढाएको तर साधारण बचतमा नबढाएको आरोप बैंकलाई लाग्दै आएको छ । यस्तै सिटिजन्स बैंकले पनि आइतबार न्युनतम १०.२५ देखि ११ प्रतिशत ब्याज दिने मुद्ती योजना ल्याएको छ । हाल बैंकिङ प्रणालीमा ४७ अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले धमाधम पैसा बजारमा पठाउन थालेपछि अधिक तरलता बढेको हो । केन्द्रीय बैंकले आइतबार १० अर्ब रुपैयाँ बजारमा पठाउदै छ । अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा तल छ । अहिलेसम्म त्यस्तो ब्याजदर ४.५ प्रतिशतकै आसपासमा अडिएको छ । अन्तर बैंक ब्याजदर नबढेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाउन रिपो निष्कासन गर्न पाएको छैन् ।
सिटिन्जस बैंकले १ अर्बको म्युचल फण्ड निष्कासन गर्दै, माघ २ देखि बिक्री खुला
काठमाडौं । सिटिजन्स बैंकले १ अर्ब रुपैयाँको सिटिजन्स म्युचल फण्ड १ निष्कासन गर्न लागेको छ । प्रति इकाई १० रुपैयाँ दरको १० करोड इकाई बराबरको फण्ड निष्कासन हुन लागेको हो । यसमध्ये १ करोड ५० लाख इकाई सिटिजन्स बैंकलाई सुरक्षति गरी साढे ८ करोड इकाई बिक्रीका लागि खुला हुने भएको हो । योजनाको अवधि ७ वर्ष रहेकोछ । फण्डको निष्कासन आउदो माघ २ गतेदेखि हुनेछ । फण्ड निष्कासन बन्द माघ १७ गते हुनेछ बैंकले जानकारी दिएको छ । न्युनतम १ सयदेखि अधिकतम २० लाख इकाईका लागि आवेदन दिन पाउने योजना व्यवस्थापक सीबीआईएल क्यापिटल लिमिटेडले जनाएको छ । अधिकतम साढे १२ करोड इकाईसम्म सकारिने सीबीआईएलले जनाएको छ । फण्डको नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार गर्न सकिने छ । इकाइ अंकित मूल्यका आधारमा लाभांश वितरण गर्ने र संचित नाफालाई पुनः लगानीका लागि उपयोग गरिने जानकारी दिइएको छ ।
कर्णाली डेभलपमेन्ट बैंकले ३३ करोड ९७ लाखको हकप्रद सेयर निष्कासन गर्दै, माघ ११ देखि बिक्री खुला
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले आउदो माघ ११ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । चुक्तापुँजी बढाउन बैंकले १ बराबर २.२५ अनुपातमा ३३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ९७ हजार ५ सय कित्ता हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद सेयर निष्कासन माघ ११ देखि सुरु भई फागुन १६ गते बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । हाल बैंकको चुक्तापुँजी १५ करोड १० लाख रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँडपछि बैंकको चुक्तापुँजी बढेर ४९ करोड ७ लाख ५० हजार रुपैयाँ पुग्ने छ ।
अब ल्याण्डलाइन फोन पनि प्रिपेड सिस्टममा, पैसा सुरुमै नतिरे लाइन काटिने
काठमाडौं । नेपाल टेलिकमको ल्याण्डलाइन फोन पनि अब प्रीपेड मोबाइल कै सिस्टममा सञ्चालन हुने भएको छ । टेलिकमले ल्याण्डलाइन फोनलाई रियलटाइम विलिङ सिस्टममा रुपान्तरण गरेर प्रीपेड मोबाइल जस्तै बनाउन लागेको हो । ‘अब सुरुमै पैसा तिर्नु पर्छ र जति पैसा तिरिएको हो त्यति बराबर कल गरिसकेपछि फोन आफैं काटिन्छ’, टेलिकमका चिफ कर्पाेरेट अफिसर प्रदिप उपाध्यायले भने । उनका अनुसार अब ग्राहकहरुले आफ्ना टेलिफोनको बक्यौता रकम तिरेर थप रकम जम्मा गर्नुपर्नेछ । ग्राहकले आफुले जम्मा गरेको रकम बराबर फोन गर्न पाउँनेछन र रकम सकिएपछि सेवा स्वतः अवरुद्ध हुनेछ । ल्याण्डलाइन फोनको प्रभावकारीता र राजश्व संकलनलाई नयाँ ढंगले अघि बढाउन रियल टाइम विलिङ सिस्टम अघि सारिएको हो । पुसको अन्तिम साताबाट टेलिकमले ल्याण्डलाइन फोनलाई नयाँ बिलिङ प्रणालीबाट सञ्चालन गर्न लागेको छ । अब फोन गर्ने वित्तिकै कति रुपैंयाँ बिल उठ्यो भन्ने समेत जानकारी पाइनेछ । हाल देशभर टेलिकमका ६ लाख ल्याण्डलाइन फोनका ग्राहक रहेका छन् । टेलिकमले ल्याण्डलाइन सेवालाई लागत बढि भएको तर आय न्युन भएको सेवाका रुपमा लिँदै आएको छ । टेलिकममो अत्याधिक श्रोत र साधन यहि सेवामा खर्च भैरहेको छ तर आय भने अत्यन्तै न्युन रहेको छ ।
रसुवागढी, सान्जेन र मध्यभोटेकोसीको आईपीओमा लगानी गर्न लक्ष्मी र एनएमबी क्यापिटलले डीम्याट खोल्न बोलाए
काठमाडौं । एनएमबी क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले ३ जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) मा लगानी गर्न हितग्राही खाता (डीम्याट ) खोल्न बोलाएका छन् । रसुवागढी हाइड्रोपावर लिमिटेड, मध्यभोटेकोसी हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडको अर्बै रुपैयाँको आईपीओ निष्कासन हुन लागेको भन्दै एनएमबी र लक्ष्मीले डीम्याट खाता खोल्न अनुरोध भनेको हो । रसुवागढी, सान्जेनले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका छन् । यस्तै मध्यभोटेकोसीले आईपीओका लागि आवेदन दिदैछ । लक्ष्मीले कर्मचारी संचय कोषका संचयकर्ता, निजामति कर्मचारी र सर्वसाधारणलाई डीम्याट खाता खोल्न जानकारी दिएको हो । लक्ष्मीले संचय कोषको ठमेलस्थित सपिङ कम्प्लेक्स भवनमा छुट्टै काउन्टर राखेर खाता खोल्ने व्यवस्था मिलाएको जानकारी दिएको छ । डीम्याट खाता खोल्न लक्ष्मीले सक्कल नागरिकता, संचय कोषका सञ्चयकर्ता र निजामती कर्मचारीको परिचयपत्र, पासपाृेर्ट साइजको फोटो र बैकको खाता नम्बर चाहिने लक्ष्मीले जानकारी दिए ।
सिन्धु विकास बैंकको संस्थापक हकप्रद लिलामी हुदै, माघ १० गते अन्तिम दिन
काठमाडौं । सिन्धु विकास बैंकले बिक्री नभएका संस्थापक समूहको हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकले ५ लाख ३८ हजार ३०२ कित्ता संस्थापक सेयर बोलकबोलबाट बिक्री गर्न लागेको हो । बैंकले चुक्तपुँजी बढाउन भदौ १८ देखि कात्तिक ५ गतेसम्म हकप्रद बिक्री खुला गर्दा आवेदन नपरेका बाँकी सेयर लिलामी गर्न लागेको हो । खरिदकर्ताले बोलपत्र पेश गर्ने सुरुको मिति माघ २ गते र अन्तिम मिति माघ १० गतेलाई तोकिएको छ । बोलपत्र बुझाउने ठाउँ एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडको लाजिम्पाट, लगनखेल र पोखराको चिप्लेढुङमा रहेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको बिराटनगर्, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, बुटबल, नारायणगढ र धनगढीबाट भर्न सकिने बिक्री प्रवन्धक एनआईबीएलले जनाएको छ ।
लुम्बिनी विकास बैकले २० करोडको हकप्रद सेयर माघ १० गतेदेखि निष्कासन गर्ने
काठमाडौं । लुम्बिनी विकास बैैंकले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन १० बराबर १ अनुपातमा २० करोड ८ लाख रुपैयाँ बराबरको २० लाख ८ हजार कित्ता हकप्रद निष्कासन गर्ने लागेको हो । हकप्रद सेयर बिक्री खुला माघ १० गतेदेखि हुने छ । फागुन १६ गते हकप्रद सेयर निष्कासन बन्द हुने छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर २ अर्ब २० करोड ९७ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्तापुँजी २ अर्ब रुपैयाँ छ । राष्ट्रिय स्तरको विकास बैंक हुन साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनु पर्ने छ ।
यो वर्ष बिजुली उत्पादनः लक्ष्य २५० मेगावाट, उत्पादन १३८ मात्रै हुने
काठमाडौं । चालु आर्थिक वर्षमा सार्वजनिक र निजी क्षेत्रबाट गरी १३८ मेगावाट मात्र बिजुली थप हुने भएको छ । नेपाल विद्युत प्राधिरकरण र निजी क्षेत्रको लगानीमा १७ आयोजना सम्पन्न भइ यो परिमाणमा बिजुली थप हुने भएको हो । यो वर्षदेखि नेपालको जडित क्षमता बढेर १ हजार १ सय मेगावाट नाघने भएको छ । विद्युत प्राधिकरणले यो वर्ष सार्वजनिक र निजी क्षेत्रबाट गरी साढे २ सय मेगावाट बिजुली थप हुने अनुमान गरेको थियो । बिजुली उत्पादन लक्ष्य भन्दा ११२ मेगावाट कम हुने भएको छ । चालु आवमा निजी क्षेत्रबाट २०५ र विद्युत प्राधिकरणबाट ४५ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । प्राधिकरणले प्रगतिका आधारमा यो वर्ष आउने संभावना भएको आयोजनाको संशोधित अनुमान सुची तयार पारेको छ । सो सुचिअनुसार लक्ष्य भन्दा कम बिजुली थप हुने देखिएको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । निर्माणधिन आयोजनाको प्रगतिका आधारमा संशोधित विवरण तयार गरेको उनले बताए । “सुरुमा धेरै आयोजना सकिने देखिएको थियो” उनले भने “प्रगतिका आधारमा कम देखियो, यसमा पनि केही आयोजनाको तलमाथि हुन सक्नेछ ।” उनका अनुसार यो वर्ष विद्युत प्राधिकरणबाट ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो गरी ४४ मेगावाट बिजुली थप हुने अनुमान गरिएको थियो । यो वर्ष चमेलिया मात्र सम्पन्न भएको छ । चमेलियाबाट परीक्षणको रुपमा बिजुली उत्पादन भइरहेको छ । औपचारिक रुपमा बिजुली उत्पादन माघदेखि हुने प्राधिकरणले जनाएको छ । कुलेखानी तेस्रो आयोजना अझै अनिश्चित बनेको छ । आयोजनाको ठेक्का तोडिने अवस्थामा पुगेको छ । हालसम्म निजी क्षेत्रका ९ आयोजना सम्पन्न भई प्रणालीमा ४२ मेगावाट थप भइसकको छ । हालसम्म सम्पन्न हुने आयोजनामा द्रोणाञ्चल हाइड्रोपावर कम्पनीको ६ सय किलोवाटको ढुङेजिरी, गज्र्याङ उपत्यका हाइड्रोपावरको २.८ मेगावाटको छ्याकेखोला, दिब्यश्वरी हाइड्रोपावर लिमिटेडको ४ मेगावाटको सभाखोला, पुवाखोला १ हाइड्रोपावरको ४ मेगावाटको पुवाखोला १ आयोजना रहेका छन् । सम्पन्न भएका अन्य आयोजनामा मन्दाकिनी हाइड्रोपावरको ४ मेगावाटको सार्दिखोला, सिवानी हाइड्रोपावर कम्पनीकोे ४ मेगावाटको फावाखोला, माइभ्याली हाइड्रोपावरले ५ मेगावाटको माइ सी आयोजना, माउन्ट कैलाश इनर्जीको १३.६ मेगावाटको थापाखोला र युनियन हाइड्रोपावरले ३ मेगावाटको मिदिम करापु आयोजना हुन् । यस्तै यो वर्षभित्र ७ वटा जलविद्युत आयोजना सम्पन्न हुने भएका छन् । यो वर्षभित्र सम्पन्न हुने अवस्थामा रहेका आयोजनामा बराही हाइड्रोपावरले १.५ मेगावाटको थेउलेखोला, मोलुङ हाइड्रोपावरले ७ मेगावाटको मोलुङखोला, हिमाल दोलखा हाइड्रोपावरले ८ मेगावाटको माई साना क्यासकेड, अपि पावर कम्पनीले ८ मेगावाटको माथिल्लो नौगाड छन् । यस्तै विन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ८.८ मेगावाटको रुदीखोला ए, सिकलेस हाइड्रोपावरले १३ मेगावाटको मद्क्युखोला र मनाङ ट्रेडलिंकले २० मेगावाटको तल्लोमोदी सम्पन्न हुने चरणमा रहेका छन् । सोलारको पीपीए गर्न द्धिविधा :कार्यकारी निर्देशक घिसिङ विद्युत प्राधिकरणले ६१ मेगावाट क्षमताका २१ सोलार आयोजनासंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) नगर्ने संकेत गरेको छ । अन्तराष्ट्रिय बजारमा सोलारको बिजुलीको मूल्य घट्दै गएको र ऊर्जा मन्त्रालयले कार्यविधिले यसअघि तय गरिएको भन्दा कम पीपीए दर निर्धारण गरेपछि प्राधिकरणलाई सोलार आयोजनाको पीपीए गर्न द्धिविधा भएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यसअघि ऊर्जा संकट समधान गर्न सरकारले सोलार प्रविधिबाट उत्पादन हुने बिजुली खरिद गर्ने भनेपछि २१ कम्पनीले ६१ मेगावाट बिजुली उत्पादन योजनासहित प्राधिकरणमा पीपीएका लागि निवेदन दिएका थिए । त्यसबेला प्राधिकरणले प्रतियुनिट ९ रुपैयाँ ६१ पैसा आधारदर तयार गरेको थियो । कम्पनीहरुले प्रतियुनिट ९ रुपैयाँ ४५ पैसा र ८ रुपैयाँ ३५ पैसामा बिजुली बेच्ने प्रस्ताव गरेका थिए । ऊर्जा मन्त्रालयले हालसालै तयार पारेको सोलारबाट बिजुली उत्पादन गर्ने निर्देशिकामा प्रतियुनिट ७ रुपैयाँ ३० पैसा पीपीए दर कायम गरेपछि यसलाई अघि बढाउन कानूनी समस्या भएको हो । निर्देशिकाले पीपीए गर्न प्राधिकरणलाई समस्या परेको छ । प्राधिकरण सञ्चालक समितिले कार्यविधिलाई पारित गरेको छैन् । भारतबाट ४६२ मेगावाट बिजुली आयात लोडसेडिङ अन्त्य गर्न विद्युत प्राधिकरणले भारतबाट ४६२ मेगावटसम्म बिजुली आयात गरेको छ । चालु आवमा प्राधिकरणले भारतबाट ४७० मेगावाटसम्म बिजुली आयात गर्ने लक्ष्य लिएको छ । प्रसारणलाइन पुर्वाधारको विकास गरेर भारतबाट यो परिमाण बिजुली आयात गर्न लागेको हो । प्राधिकरणका आयोजनाबाट (कुलेखानी बाहेक) ३४१, निजी क्षेत्रबाट १९७ मेगावाट बिजुली उत्पादन भइरहेको छ । नदीमा जलस्तर घट्दै गएपछि बिजुली उत्पादन पनि क्रमश घट्दै गएको छ । हाल बिजुलीको माग पिक आवरमा १ हजार ३११ मेगावाट छ । भारतबाट आयात र आन्तरिक उत्पादनबाट १ हजार मेगावाट आपूर्ति भएको छ । ३११ मेगावाट बराबर उद्योग क्षेत्रमा लोडसेडिङ गरिएको छ । साँझ ३ घण्टा उद्योगमा बिजुली आपूर्ति बन्द हुने गरेको छ । कुलेखानी जलासयमा पानीको सतह यो वर्ष गत वर्षको भन्दा झण्डै १ मिटर बढी रहेको छ । हाल कुलेखानी जलासयमा पानीको सतह १ हजार ५२५ मिटर छ । गत वर्ष १ हजार ५२३ मिटर थियो ।