नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि रावलले भने– अब पार्टीलाई बलियो बनाउँछौं
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा पुनः समाहित भएका पूर्वएमाले नेता भीम रावलले पार्टी एकताको महत्त्वमा जोड दिँदै संगठनलाई बलियो बनाउने प्रतिबद्धता जनाएका छन् । पार्टीमा समाहित हुन हस्ताक्षर कार्यक्रमपछि बोल्दै उनले विगतमा भएको विभाजनको प्रसङ्ग सम्झिए र त्यसले पार्टीभित्र गहिरो घाउ पु¥याएको उल्लेख गरे । उनले भने, ‘जुन बेला नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि विभाजन गरेर गह्रौं मन लिएर यही ठाउँबाट छुट्टिएर गएका थियौं, आज फर्किएर नेपाली कम्युनिष्ट पार्टीभित्र फर्किएका छौं । त्यो बिछोडको आलो घाउमा अहिले मलहम लागेको महसुस भइरहेको छ ।’ रावलले अब पार्टी भित्रको एकतालाई सुदृढ गर्दै जनताको पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार विगतका कमजोरीलाई आत्मसात गर्दै नयाँ उत्साहका साथ संगठनलाई बलियो बनाउने प्रयास अघि बढाइनेछ ।
लेमन ट्री प्रिमियरको अध्यक्षमा अम्बिका पौडेल, हकप्रद र आईपीओ ल्याउने तयारी
काठमाडौं । बुढानिलकण्ठ हेरिटेजबाट प्रवर्द्धित होटल लेमन ट्री प्रिमियरको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले अम्बिका पौडेललाई सञ्चालक समितिको अध्यक्षमा चयन गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी दिएको छ । यस्तै सभाले शिवनाथ पाण्डे, नवराज बुर्लाकोटी, बाबुकाजी कार्की र सिर्जना केसीलाई अन्य सञ्चालक पदमा निर्वाचित गरिएको छ । नयाँ नेतृत्वले होटलको व्यवस्थापनमा नयाँ दृष्टिकोण र उत्साह भर्ने अपेक्षा गरिएको छ । सभाले कम्पनीका सेयरधनीहरूलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने र सर्वसाधारणका लागि २० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । बुढानिलकण्ठ क्षेत्रको बढ्दो पर्यटकीय सम्भावना ध्यानमा राख्दै, होटलले सेवा स्तर र व्यवस्थापनमा सुधार ल्याउने योजना अघि सारेको जनाएको छ । सभामा सहभागी सेयरधनीहरूले नयाँ नेतृत्व र पूँजी योजनाप्रति विश्वास व्यक्त गर्दै दीर्घकालीन प्रगतिको आशा प्रकट गरेका छन् ।
प्रसाईं नेतृत्वको महाअभियानका प्रतिनिधिहरूले २६ बुँदे मागसहित गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाए
काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सञ्चालित राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको प्रतिनिधिमण्डलले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् । सिंहदरबारस्थित गृहमन्त्रालयमा बुधवार पुगेका अभियानका प्रतिनिधिहरूले मुलुकको राजनीतिक, सामाजिक र सांस्कृतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सुधारका लागि २६ बुँदे मागपत्र हस्तान्तरण गरेका हुन् । प्रसाईंका तर्फबाट पठाइएका ६ जना प्रतिनिधिहरूले गृहमन्त्री अर्यालसँग भेट गरी मुलुकमा राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिको संरक्षण अत्यावश्यक भएको धारणा राखेका थिए । उनीहरूले सरकारले जनताको सुरक्षासँग सम्बन्धित विषयमा तत्काल प्रभावकारी कदम चाल्नुपर्ने, राष्ट्रिय स्वाधीनता र पहिचान जोगाउन ठोस नीति बनाउनुपर्ने माग पनि राखेका छन् । गृहमन्त्री अर्यालले प्रतिनिधिहरूको मागपत्र ग्रहण गर्दै सरकार जनताका सुझाव र मागप्रति संवेदनशील रहेको बताएका छन् ।
विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण खोज्दै मन्त्रालय
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालय र सिकाइ केन्द्रका नाममा भएका जग्गा र भोगचलनको अवस्थाबारे विवरण मागेको छ । मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत सामुदायिक विद्यालय र सिकाइ केन्द्रका नाममा भएका जग्गा विवरण, तिनको भोगचलनको अवस्था र जग्गासम्बन्धी के कस्ता समस्या छन् भनेर देशैभरिबाट त्यसको विवरण उपलब्ध गराउन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय र सिकाइ केन्द्रका जग्गा हिनामिना भएको भनी जिल्लाहरूबाट जानकारी आएको अवस्थामा विवरण जुटाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आफूले निर्देशन दिएको बताए । हाल मुलुकभर ३५ हजार चार सय ४७ कूल विद्यालय रहेकामा ७३ प्रतिशत सामुदायिक विद्यालय रहेका छन् ।
सरकारको नीतिगत अवरोधका कारण जलविद्युत आयोजना निर्माणमा समस्या
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बनाएको नीतिगत अवरोधका कारण जलविद्युत आयोजनाहरू निर्माणमा समस्या भएको बताएका छन् । बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले १० महिनादखि रुख काट्नको लागि वनमा छिर्न नपाइएको गुनासो गरे । २०७७ सालमै आयोजना सम्बन्धी वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्पन्न भएपनि अहिलेसम्म रुख काट्न र आयोजना क्षेत्रमा प्रवेश गर्न नपाइएको उनको भनाइ छ । कार्कीका अनुसार सरकारले उत्पादकहरूसँग निर्धारित समयभित्र बिजुली उत्पादन नगरे सम्झौता रद्द गर्नेगरी सम्झौता गरेको छ । सरकारले तोकिएको समयमा उत्पादन नभए किन्दिनँ भन्ने गरेको भन्दै योजनाअनुसार आफूहरू अघि बढ्न नपाएको उनले बताए । अध्यक्ष कार्कीले ऊर्जामन्त्री तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसँग पनि समस्या समाधानका लागि पटक–पटक छलफल भए पनि निष्कर्षमा पुग्न नसकेको बताए । उनले आरसीयुडीका मुद्दाहरूमा दुई वर्षको समय थप गर्न अनुरोध गरेको पनि तीन वर्षभन्दा बढी भइसकेको बताए । सरकार परिवर्तन भइरहँदा नीतिमा पनि अस्थिरता भएकोले लगानीकर्ता अन्योलमा परेको उनको भनाइ छ । उनले सरकार परिवर्तन भएपनि नीति परिवर्तन नहुनेगरी स्थायित्व खोज्नुपर्नेमा जोड दिए । अध्यक्ष कार्कीले जलविद्युत आयोजनाका लगानीकर्ताले ३०–३५ वर्षको लगानीमा स्थायित्व चाहने उल्लेख गरे । हाल नेपाली लगानीकर्ता नै अन्योलमा हुँदा विदेशी लगानीकर्ताले नेपालमा लगानी उनको भनाइ छ ।
पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ र बौद्धनाथ चैत्य जोड्ने गौरीघाट–कुमारीगाल–बौद्ध सडकको कालोपत्र उप्काएर ‘आस्फाल्ड प्रविधि’ को कालोपत्र गर्न लागिएको छ । कालोपत्र भइरहेको सडक उप्काउन थालेपछि दुई विश्व सम्पदा जोड्ने मार्गमा धुलो उड्न थालेको स्थाीनयवासीको गुनासो छ । आयोजनाले सूचना पाटीसमेत नराखी कालोपत्र उप्काएर के गर्न खोजेको हो भन्ने थाहा नभएको स्थानीयवासी मङ्गलबहादुर तामाङले गुनासो गरे । कालोपत्र भइरहेको र त्यति धेरै नबिग्रिएको सडक भत्काएर स्रोतको दुरुपयोग भइरहेको उनको भनाइ छ । अपारदर्शी रूपमा हुने यस्ता काम रोकिनुपर्ने स्थानीयवासीको भनाइ छ । काठमाडौं महानगरपालिका–६ का अध्यक्ष भुवन लामा भने आस्फाल्ड प्रविधि प्रयोग गरेर कालोपत्र राम्रो हुने भएकाले दुई विश्व सम्पदा क्षेत्रलाई राम्रो सडक बनाउने उद्देश्यले यस्तो कालोपत्र गर्न लागिएको बताउँछन् । महानगरपालिका सार्वजनिक निर्माण विभागले छिटो गरी यो सडक निर्माण सक्ने जनाएको छ । विभागका तर्फबाट साइट इञ्चार्जका रूपमा खटिएका इञ्जिनीयर प्रफुल्ल गर्तौला मङ्सिरसम्ममा करिब चार किलोमिटर लामो सडक कालोपत्र सकिने बताउँछन् । दुई करोड रुपैयाँ लागतमा सडक कालोपत्र भइरहेको उनले सुनाए ।
मेलम्ची खानेपानीको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न टेण्डर आह्वान
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवर्क्स) जाने सडक स्तरोन्नति गर्न बुधबार टेण्डर आह्वान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिहरूबीच भएको समझदारी कार्यान्वयनका क्रममा सडक डिभिजन कार्यालय, चरिकोटले उक्त टेण्डर आह्वान गरेको हो । मेलम्ची–अम्बाथान–मेलम्चीघ्याङ सडक खण्डको करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न तीनवटा प्याकेजमा विभाजन गरी टेण्डर गरिएको छ । सडक निर्माण तथा स्तरोन्नति सम्बन्धी समझदारी भएपछि गत कात्तिक २० गतेदेखि मेलम्ची खोलाको पानी सुरुङमार्फत काठमाडौं उपत्यकामा ल्याउने विषयमा स्थानीय पक्ष सहमत भएका थिए ।
लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन
लुम्बिनी । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोड खर्चेर १२८ स्लाइसको एमआरआई मेसिन ल्याइएको छ । मेसिन आपूर्तिकर्ता कम्पनीले अस्पतालमा मेसिन जडान पनि थालेको छ । आगामी दुई महिनाभित्रमा सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारको लगानीमा जडान जारी रहेको एमआरआई मेसिन सञ्चालनपछि चर्को शुल्क तिरेर निजी अस्पतालमा एमआरआई गराउनुपर्ने बाध्यताबाट सेवाग्राही मुक्त हुने उनले बताए । लुम्बिनी प्रदेशको सुविधासम्पन्न यो अस्पतालमा थप उपकरण जडान तथा सेवा विस्तारमा अस्पताल विकास समितिले प्रयास गरिरहेको समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए । सिटीस्क्यान मेसिन खरिदको पनि प्रारम्भ गरिएको छ । हाल अस्पतालमा सात वर्ष पुरानो १६ स्लाइसको मेसिनबाट सेवा प्रवाह भइरहेको छ ।