मौलाउँदै बैंक्यास्योरेन्स कल्चर र बैंकमाथि निर्भर निर्जीवन बीमा व्यवसाय
पछिल्लो समय बैंक र बीमा कम्पनीबीच बैंक्यास्योरेन्स गर्ने समझदारी भएको कर्पोरेट समाचारहरु धेरै प्रकाशित हुने गरेका छन् । बैंक्यास्योरेन्स भनेको बैंक बीमा कम्पनीको संस्थागत एजेन्ट बन्नु हो । बैंकमा आएका ग्राहकलाई बीमा सेवा पनि दिनु हो । बैंकले सम्झौता गरेर कुनै बीमा कम्पनीको पोलिसी बेच्ने काम नै बैंक्यास्योरेन्स हो । अहिले बैंकले गरिरहेको इन्स्योरेन्स एजेन्टको काम नयाँ भने हैन । आफ्ना ग्राहकलाई बीमा सेवा दिन नेपाल बैंकले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापना गरेको थियो । यो २००४ सालको कुरा हो । त्यतिबेला देखि नै नेपाल बैंकले इन्स्योरेन्सको तर्फबाट घरलगायत अन्य कर्जाको बीमा गर्दै आएको थियो । त्यसमा नेपाल बैंकले निश्चित कमिशन लिने गरेको थियो । बीचमा बैक्यास्योरेन्स सेवा बैंकले गर्न नपाउने व्यवस्था भयो । बैंक र बीमाले आफ्नै शैलीमा सेवा दिदै आए । फेरी बैंकले पनि इन्स्योेरेन्सको एजेन्ट भएर काम गर्न पाउने व्यवस्था भएको छ र अहिले धमाधम बैंकले बैंक्यास्योन्सको सेवा दिन थालेका छन् । बैंकले आफनो प्रोडक्ट जस्तै काउन्टरबाट बीमा सेवा पनि बेच्ने गरेको छ । बीमा कम्पनी नपुगेको ठाउँमा बैंक पुगेको छ, त्यसैले बीमा कम्पनीलाई पनि सहज भएको छ । बैंक्यास्योन्सले गर्दा एकै पटक बैंकहरुको २ हजारभन्दा बढी शाखाबाट बीमा सेवा शुरु भएको छ । गाडी किन्दा, घर बनाउन कर्जा लिदा पहिला पनि बीमा गर्नु पथ्र्यौ र अहिले पनि गर्नुपर्छ । जग्गाको बाहेक सबैको बीमा हुन्छ । कुनै बैंकले आफ्ना निक्षेपकर्ताको ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गर्ने भनेको हुन्छ । त्यस्तो बीमामा प्रिमियम धेरै महँगो हुँदैन । यस्तो बीमा गर्दा बैंकलाई बीमा कम्पनीबाट प्रत्यक्ष फाइदा हुँदैन तर निक्षेप बढाउन मद्दत मिल्छ । बैंक र बीमाबीचको अन्तर सम्बन्ध विकास बैंकले कोर बैकिङ बाहेक सेवाग्राहीलाई अन्य १० औं सेवा दिईरहेको हुन्छ । त्यसमध्ये बीमा पनि बैंकले दिने एक सेवा हो । पैसा साट्न र मुद्दति रसिद बनाउने र कर्जा लिन आउने ग्राहकलाई बैंकले बीमा सेवा पनि छ है भनेर जानकारी दिन्छ । ग्राहकले स्वेच्छाले आवश्यक सेवा लिन सक्छन् । गाडीको बीमा, घरको बीमा, ऋण लिने व्यवसायीको गोदामको बीमा, उद्योगको बीमा, ऋण लिएर किन्ने मोवाईल, टिभी, क्यामेराको बीमा पनि बैंकले गराईदिन सक्छ । यसले गर्दा ग्राहकलाई र बीमा कम्पनी दुबैलाई सहज हुने गरेको छ । बैंक बीमा कम्पनीको संस्थागत एजेन्ट भएकोले व्यक्ति जस्तो बीमा सेवा दिन कै लागि गाउँगाउँमा जानुपर्दैन, ग्राहकको घरघरमा सेवा बेच्न जानुपर्दैन । बैंक काउन्टरमा आउने ग्राहकलाई बीमा सेवा दिने गरिन्छ । बैंकले हरेक शाखाको काउन्टरमा एकजना कर्मचारी राखेर बीमाको सेवा दिईरहेको हुन्छ । बैंकका कर्मचारीलाई बीमा कम्पनीले बीमा सेवा सम्बन्धि तालिम दिएका हुन्छन् । बीमाका प्रडक्टहरु बीमा कम्पनीले नै बनाउँछन् । कहिलेकाही बैंकले पनि आइडिया दिने गर्दछ । समग्रमा बीमा पोलिसी बनाउने बीमा कम्पनीले नै हो । जसरी आवास कर्जा र समृद्धि वचत योजना बैंकले बनाउछ, त्यसरी नै बीमा कम्पनीले बीमा पोलिस बनाउँछन् । बीमा प्रिमियमको मुख्य हिस्सा बीमा कम्पनीले लैजाने हो । बैंकले सामान्य कमिशन पाउने हो । तर धेरै ग्राहकले बीमा सेवा लिने भएकोले बैंकलाई पनि राम्रै आम्दानी हुन्छ । बीमा कम्पनीको पनि व्यवसाय बढिरहेको हुन्छ । निर्जीवन बीमाको निर्भरता बैंकमा धेरै हुन्छ । पहिला पनि त्यस्तै थियो । अहिले पनि छ । एउटा गाडी किन्दा बीमा गर्नुपर्छ । २ लाख रुपैयाँमा ठूलो टिभी किन्दा बीमा गर्ने सोचाइ हुदैन । तर त्यो टीभी किन्न बैंकले लगानी गरेको छ भने बीमा अनिवार्य गरिएको हुन्छ । बैंकबाट ऋण लिएर बनेका बाहेक अधिकाश घरको बीमा भएको देखिदैन । यसले के संकेत गर्छ भने निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय धेरै हदसम्म बैंकमा निर्भर हुने गरेको देखिन्छ । आयातमा एलसी खोल्दा आयातकर्ताको नामबाट सामान आयात भएको हुन्छ । एलसी खोल्दा जुन देशबाट सामान पठाउने हो त्यही नै बीमा गरिएको हुन्छ । गोदाममा आएपछि पनि बैंकको ऋण छ भने फेरी स्थानीय कम्पनीसंग बीमा गराउनुपर्छ । कर्जा लिने वित्तीक सबैको बीमा गरिएको हुन्छ । बैंकबाट कर्जा लिएको छैन भने मतलव हुदैन् । औद्योगिक गोदाम, जलविद्यतको सबै संरचनाको बीमा गरिएको हुन्छ । बैंकलाई नेपाल राष्ट्र बैंकले नियमन गरे जस्तै प्रिमियमको दर बीमा समितिले तोक्ने गर्छ । त्यसमा एजेन्सी कमिसन कति भनेर समेत तोकिएको हुन्छ । कमिशनमा मोलमोलाई हुँदैन । (सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत गौतमसँग गरिएको कुराकानीमा आधारित)
सिद्धार्थ बैंकको दुर्इ लाख कित्ता हकप्रद लिलामीमा, १० गतेसम्म बोलपत्र पेश गर्न पाइने
काठमाडौं । सिद्धार्थ बैंकले बिहीबारदेखि बिक्री नभएको हकप्रद सेयर पुनः लिलामी गर्ने भएको छ । बैंकको संस्थापक र सर्वसाधारण समूहको गरी २ लाख १४ हजार ३३६ कित्ता हकप्रद सेयर बिक्री खुला गरिएको छ । शिलवन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन जेठ १० गतेलाई तोकिएको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । संस्थापक समूहको ४० हजार २० र सर्वसाधारण समूहको १ लाख ७४ हजार ३१५ कित्ता हकप्रद सेयर रहेको छ । गत फागुन २ देखि बैंशाख ६ गतेसम्म निष्कासन गर्दा आवेदन नपरेपछि बिक्री प्रवन्धक सिद्धार्थले लिलामी गर्न लागेको हो । हकप्रदको न्युनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।
घर किन्न, बनाउन छिटो र सस्तो कर्जा चाहिए जानुस नविल बैंक
काठमाडौं । तपाई नयाँ घर बनाउन वा किन्ने तयारीमा हुनुहुन्छ ? सस्तो ब्याजदरको खोजिमा हुनुहुन्छ ? यस्तै छोटो तथा सरल प्रक्रियाबाट कर्जा लिन चाहानु भएको छ ? अब तपाईको सपना नविल बैंकले साकार पार्ने छ । बैंकले नविल फास्टट्रयाक घर कर्जा योजना ल्याएर छिटो, सरल प्रक्रिया र सस्तो ब्याजमा कर्जा दिने भएको हो । वार्षिक १०.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने बैंकले जनाएको छ । यो योजना अन्र्तगत घरजग्ग खरिद वा घर निर्माण, निर्माण लागतको १०० प्रतिशत सम्म कर्जा दिने नविलले जानकारी दिएको छ । यस्तै बैंकले घरको मर्मत सम्भार तथा थप निर्माणमा समेत कर्जा दिने भएको छ । कर्जा अवधि १५ वर्षको हुने छ । यसैगरी रिफाइनान्स र कर्जा स्थानान्तरणको समेत सुविधा भएको बैंकले जनाएको छ । आधार ब्याजदरका आधारमा परिवर्तन हुने बैंकले जनाएको छ । यो योजनाका लागि बैंकले नजिकको शाखा वा ग्राहक सेवा केन्द्र पुल्चोकको फोन नम्बर ५५४२८९१ मा सम्पर्क गर्न भनेको छ ।
१००० प्रकार रोगको उपचार गर्न शिखर इन्स्योरेन्सले ल्यायो स्वास्थ्य बीमा, २० लाख रुपैयाँसम्मको उपचार खर्च व्योहर्ने
काठमाडौं । तपार्इले जटिल रोग लागेर महंगो भएर उपचार गराउन सक्नु भएको छैन ? तपाइसंग उपचार गर्न पैसा छैन ? अब चिन्ता नलिनुस शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १ हजार भन्दा बढी रोगको उपचार हुने गरी स्वास्थ्य बीमा योजना ल्याएको छ । यस योजनामा १ हजार भन्दा बढी रोगको उपचार खर्च समेटिएको छ । न्यूनतम २ लाखदेखि २० लाख रुपैयाँसम्मको आफनो तथा परिवारलाई समेट्ने गरी शिखरले वृहत स्वास्थ्य बीमा योजना सार्वजनिक गरेको हो । नगद रहित उपचार, विना झन्झट शतप्रतिशत भुत्तानी र सहजै दाबी गर्न सकिने शिखरले जानकारी दिएको छ । यो योजना अन्र्तगत नेपाल र भारतका गरी ६ हजार बढी अस्पतालमा नगद रहित उपचार हुने शिखरले जनाएको छ । हालसम्म ल्याइएको मध्ये यो सर्बाधिक ठूलो र धेरै रोगलाई समेटिएको बीमा योजना हो । यसका लागि हटलाइन १६६००१४४४४१ मा सम्पर्क गर्न शिखरले भनेको छ ।
यातायात व्यवसायीलाई सरकारले नछाड्ने, समितिको नाममा रहेको सम्पत्ति खोजी तिब्र
काठमाडौँ । सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, सेयर र सम्पत्ति खोजबिनलाई थप तीव्रता दिएको छ । गृहमन्त्रालयमा बसेको बैठकले यातायात सम्बद्ध संघसंस्थाहरुको चल, अचल सेयर, सम्पत्तिको विवरण १५ दिनभित्र विवरण तयार पारी गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा पठाउन देशभरका प्रमख जिल्ला अधिकारीलाई गृह मन्त्रालयले निर्देशन दिने निर्णय गरेको हो । बैठकमा गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिञ्जीवी नेपाललगायतको उपस्थिति रहेको थियो । यसअघि एकाधिकार हटाउने सरकारको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले गत वैशाख २१ गते सार्वजनिक यातायात नचलाएपछि सरकारले यातायात समितिहरुले बैंक खाता रोक्का गर्नाका साथै समितिका पदाधिकारीहरुलाई पक्राउ गरेको थियो । सो क्रममा गृह मन्त्रालयको निर्देशनअनुरुप देशभर २४५ वटा यातायात सम्बद्ध संस्थाहरुको बैंक खाता रोक्का गरिएको थियो । आजको बैठक बैंक खाता रोक्का गरिएका ती समितिबाहेक संस्था दर्ता ऐनअनुसार दर्ता भएका अन्य समिति तथा संस्थाहरुको समेत यातायात व्यवस्था विभागले विवरण संकलन गरी अर्थ मन्त्रालयमा पठाउने र अर्थ मन्त्रालयमार्फत बाँकी रहेको सम्पूर्ण यातायात समितिहरुको समेत खाता रोक्का गर्ने र उक्त समितिहरुमा के कति रकम रहेको छ सोको विवरण तयार पार्ने निर्णय गरेको छ । रासस
बीमा कभरेज २५ प्रतिशत पुर्याउन अर्थमन्त्रीको निर्देशन, समितिका अध्यक्ष भन्छन् :१८ प्रतिशत बढी हुदैन
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आउदो ४ वर्षभित्र बीमा कभरेज २५ प्रतिशत पुर्याउन बीमा समितिलाई निर्देशन दिएका छन् । हाल १० प्रतिशत रहेको बीमाको पंहुँचलाई बढाएर २५ प्रतिशत पुर्याउन निर्देशन दिएका हुन् । यसमध्ये १० प्रतिशत लघु तथा कृषि बीमा हुनुपर्ने उनको भनाई छ । यता समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले १८ प्रतिशत भन्दा बढी कभरेज हुन नसक्ने बताएका छन् । विकास न्युजसंग कुरा गर्दै अध्यक्ष चापागाईले आउदो ४ वर्षमा बीमा कभरेज ८ प्रतिशत बढ्ने प्रक्षेपण गरेका हुन् । यद्यपी उनले बढी भन्दा बढी कभरेज बढाउन प्रयास गरिने जानकारी दिए । अर्थमन्त्री खतिवडाले सरकारले दिदै आएको कृषि तथा लघु बीमा अनुदानको दुरुपयोग भएको आशंका गर्दै कानूनको हात धेरै लामो हुने भएकाले तान्न सक्ने भन्दै सचेत समेत गराएका छन् । नेपाल र भारत सीमानामा भारतीय कम्पनीले बीमा गरिरहेको जानकारी गराउदै यो कानून विपरित भएको यसको अन्त्य गर्न सुझाएका छन् । नेपालबाट पुर्नबीमाको नाममा ठुलो रकम विदेशिने गरेको भन्दै यसलाई रोक्न स्वदेशी पुर्नबीमा कम्पनी सक्षम हुनुपर्नेमा अर्थमन्त्री खतिवडाले जोड दिए । बीमाको आयात बढी रहेको भन्दै निर्यात पनि गर्न उनले सुझाएका थिए । वस्तुका अतिरित्त सेवा व्यापारमा पनि नेपाल घाटामा रहेको जानकारी गराउदै बीमा सेवा निकासी गरेर घाटा कम गर्न सकिने उनको भनाई थियो । यस्तै समितिको स्वर्णमहोत्सवका अवसरमा मंगलबार साँझ राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्रीले प्रस्तावित बीमा ऐन संघीय संसदको चालु अधिवेशनबाट पारित गराउने अर्थमन्त्रीले प्रतिवद्धता जनाएका छन् । ऐनको मस्र्यौदा अहिले कानून मन्त्रालयमा पुगेको छ ।
कमोडिटि फ्यूचर्स एक्सचेन्जमा ठुला घरानाको लगानी, चुक्ता पूँजी ६० करोड
काठमाडौं । कमोडिटि फ्यूचर्स एक्सचेन्ज लिमिटेड (सिएफएक्स) ले ६० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याइ बजार सञ्चालन गर्ने तयारी गरेको छ । वस्तु विनिमय बजार सम्बन्धी ऐन तथा नियमावली, २०७४ मा तोकिएको न्यूनतम चुक्ता पूँजी ५० करोड हुनुपर्ने व्यवस्था गरेसँगै उक्त कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ पुर्याउने तयारी गरेको हो । उक्त एक्सचेन्ज लिमिटेडमा नेपालमा रहेका विभिन्न व्यवसायिक क्षेत्रमा कार्य गर्दै आएका व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुहरुले लगानी गर्ने भएका छन् । वर्ल्ड लिंकको प्रबद्र्धक दिलिप अग्रवालदेखि गोयल ग्रुपका चिराग गोयलसम्मका लगानी कम्पनीमा लगानी गर्नेहरुमा वर्ल्ड लिंकको प्रबद्र्धकहरु दिलिप तथा मनोज अग्रवाल, कृषि क्षेत्रमा कार्य गर्दै आएको निम्बस ग्रुप अन्तरर्गतको कम्पनी नेपाल वेयरहाउजिंग तथा त्यसका प्रवद्र्धक आनन्द बगारिया रहेका छन् । त्यस्तै पूर्व गभर्नर डा. तिलक रावल, इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाई, विद्युत उत्पादन गर्ने कम्पनी सुपर आँखुखोलाका प्रबन्ध सञ्चालक विश्वनाथ कँडेल, गोयल ग्रुपकातर्फबाट चिराग तथा अनुराग गोयल, प्रभु क्यापिटलका सञ्चालक सुवास अमात्य, चाँदीको आयतको क्षेत्रमा काम गर्दै आएको कम्पनी नवदुर्गा ट्रेडिङ कन्सर्न र लगानी व्यवस्थापन कम्पनी नेशनल मर्चेन्ट बैंकसहित ४२ जनाको लागानी रहने भएको छ । केही महिना अघि मात्रै धितोपत्र बोर्डले वस्तु विनिमय बजार सम्बन्धी ऐन २०७४ अन्तर्गत रहेर वस्तु विनिमय बजार सञ्चालनका लागि आवेदन दिन सूचना जारी गरेको थियो । सोही अनुसार सिएफएक्सले वस्तु विनिमय बजार सञ्चानलका लागि आवश्यक सबै प्रक्रियाहहरु सम्पन्न गरी पूर्वस्वीकृतिका लागि धितोपत्र बोर्ड समक्ष आवेदन दिइसकेको जनाएको छ । सिएफएक्सले २०६८ सालदेखि कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई २०६८ फागुनदेखि वस्तु विनिमय बजार सञ्चालन गर्दै आइरहेको छ । कृषि उपजलाई डिजिटलमा परिवर्तन गर्नेसम्मको योजना कम्पनीले कृषि उपजहरुको बजारीकरण तथा मुल्य शृंखलालाई नविकरण गर्दै अगाडी बढाउने योजना अघि सारेको छ । अलैँजी, अदुवा, कफी लगायतको कारोबार अनुमति पाए महिना दिन भित्र हाल रहेको जनशक्ति तथा पूर्वाधार परिस्कृत गर्दै अध्ययन गर्ने र केही कारोबार शुरु तयारी गरेको छ । साथै संस्थागत सुशासनका अन्तर्राष्ट्रिय मान्यताहरुलाई लागू गरी अन्तर्राष्ट्रिय स्तरको संस्थाको रुपमा बजारको विकास गर्ने योजना समेत रहेको जानकारी गराएको छ । त्यस्तै नेपाली कृषि उत्पदानको बजारीकरण तथा मुल्य शृंखलालाई नविकरण गर्ने व्यवस्था मिलाई कृषि उपजलाई वस्तु बजारको संयन्त्रभित्र ल्याई कारोबार गर्न योग्य बनाउन अध्ययन कार्यदल बनाइने, गोदाम घर रशिद (वेयर हाउस रिसिप्ट)लाई वित्तीय उपकरण बनाई बैंक ऋण तथा कारोबारका लागि व्यवस्था मिलाउन नियामक निकायसँग समन्वय गर्ने । सँगै कानूनी तथा भौतिक पूर्वाधारको किवासको कार्य अघि बढाउने बताएको छ । कृषि उत्पादनको कारोबार प्रणालीलाई सहजीकरण गर्न तथा गोदाम घरमा जम्मा भएको कृषि उपजलाई डिजिटलमा परिवर्तन गर्ने व्यवस्था मिलाउन डिम्याट तथा रिम्याट प्रणाली सहितको ग्रेन बैंक सोलुसन अर्थात कमोडिटि डिपोजिटरी सेवा सञ्चालनमा ल्याउने लगायतका कम्पनीले भावि योजना अघि सारेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने तयारी पुरा, जेठ ७ देखि कार्यान्वयनमा ल्याइने
काठमाडौँ । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार लागिपरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो चापलाई न्यूनीकरण गरी सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही जेठ ७ देखि विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागेको हो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको हवाई ट्राफिक चाप नियन्त्रण गर्ने उद्देश्यले २१ घण्टा विमानस्थल सञ्चालन गर्न निर्देशन दिएका थिए । मन्त्री अधिकारीको १०० दिने कार्ययोजनाको उच्च प्राथमिकता परेको यो कार्यलाई सफल तुल्याउन सरोकार भएका निकाय तथा विज्ञहरुसँग मन्त्री अधिकारीले पटक–पटक छलफल गरिसकेका छन् । विमानस्थल २१ घण्टा सञ्चालनको आवश्यक तयारीबारे नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उच्च पदाधिकारी, विमानस्थल व्यवस्थापन तथा प्राविधिक लगायत क्षेत्रमा काम गर्ने सबै निकायका कर्मचारीसँग आज अन्तरक्रिया गरी मन्त्री अधिकारीले विमानस्थललाई चुस्त, दुरुस्त बनाउन आग्रह गरे। “विमानस्थलको एयर ट्राफिक जाम व्यवस्थापनकै कमजोरीले भएको हो । एयर रुट वैज्ञानिक बनाइनुपर्छ, आवश्यकताभन्दा बढी रुट कसैलाई दिनु हँुदैन यही व्यवस्थापनका लागि नै २१ घण्टा विमानस्थल चलाउने भनेको हो यसका लागि कर्मचारीमा कुशल व्यवस्थापन र इच्छा शक्ति दृढ चाहिन्छ,” उनले भने । विमानस्थलको पूर्वाधार तथा जनशक्ति व्यवस्थापनका लागि सबै किसिमको तयारी भएको उल्लेख गर्दै मन्त्री अधिकारीले सेवालाई प्रभावकारी बनाउन थप जनशक्ति व्यवस्थापन तथा सेवा सुविधामा कुनै कमी हुन नदिन क्यानको ध्यानाकर्षण गराए । मन्त्री अधिकारीले विमानस्थलको चाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोकको कुनै एक स्थानमा विमानस्थल जसरी पनि बनाएर छाड्ने उद्घोष गरेका छन् क्यानका महानिर्देशक सञ्जीव गौतमले जेठ ७ गतेदेखि विमानस्थललाई २१ घण्टा सञ्चालन गर्नका लागि आवश्यक जनशक्ति व्यवस्थापन लगायतका सबै तयारी भएको जानकारी दिए । सुरक्षा निकायलगायत विमानस्थलका साझेदार सबै निकायसँग समन्वय गरी सेवालाई चुस्त र प्रभावकारी बनाउने तथा भविष्यमा आवश्यक पर्ने जनशक्तिको समेत व्यवस्थापनका लागि आवश्यक प्रक्रिया शुरु गरिएको उनले जानकारी दिए । विमानस्थल सञ्चालन २१ घण्टा पु¥याउँदा ८५ देखि ९० एटिसी आवश्यक पर्ने जनाइएको छ । क्यानसँग देशभरि गरी करीब २५० एटिसी रहेका छन् । विमानस्थलमा कहिलेकाहीँ अपर्भmट विद्युत् आपूर्ति बन्द हुँदा जेनेरेटर सञ्चालन गर्न कम्तीमा पनि १० सेकेण्ड समय लाग्ने हुँदा उक्त अवधिमा हवाई दुर्घटना हुन सक्ने खतरा औँल्याउँदै कर्मचारीले त्यो खतराबाट बच्न अनलाइन युपिएस जडान गरिनुपर्ने सुझाव छ । विमानस्थलबाट अहिले आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक करीब ४०० उडान अवतरण हुने गरेको छ । जसमा आन्तरिकतर्फ हेलिकोप्टरसहित करीब ३५० र अन्तर्राष्ट्रियतर्फ दुई नेपालीसहित ३० वटा वायु सेवा प्रदायकले दैनिक १०० भन्दा बढी उडान भर्दै आएका छन् । उडान चापले एयर ट्राफिकका कारण झण्डै एक घण्टा आकाशमा घुम्नुपर्ने (होल्ड) अवस्था रहेको छ । दैनिक १ हजार ३०० यात्रु व्यवस्थापनको क्षमता भएको अन्तर्राष्ट्रिय विमानस्थलमा हाल बढी व्यस्त समयमा २ हजार ५०० भन्दा बढी यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । विमानस्थलमा सरकारी निकाय एवम् निजी कम्पनीसहित करीब ८० निकाय सक्रिय छन् । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म जम्मा १८ घण्टा सञ्चालन भइरहेको छ । सञ्चालन अवधि २१ घण्टा पु¥याउँदा त्यो समय बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्म हुनेछ । अहिले दुई सिफ्टमा कर्मचारीहरुले काम गर्दै आएका छन् । रासस