विकासन्युज

नागरिक लगानी कोषले ४२५ मा नकिन्ने भनेपछि एनएमबी बैंकको एफपीओ रोकियो, अब के होला ?

काठमाडौं । सेयर निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले प्रतिकित्ता ४२५ रुपैयाँमा थप निष्कासन (एफपीओ) नकिन्ने भएको छ । लगानी कोषले नकिन्ने भनेपछि एनएमबीको एफपीओ अन्यौलमा परेको छ । बैंकको एफपीओ निष्कासनको जिम्मा कोषले पाएको छ । लगानी कोष सञ्चालक समितिले प्रतिकित्ता ४२५ रुपैयाँमा प्रत्याभूति (अण्डरराइटिङ) गर्ने प्रस्ताव अस्वीकृत गरेपछि एफपीओ निष्कासन अन्यौलमा परेको हो ।बिक्री प्रवन्धक लगानी कोषले प्रतिकित्ता ४२५ रुपैयाँमा लिने मौखिक सहमति जनाएपछि एनएमबीले सोही दर प्रस्ताव गरेको थियो । तर कोषको सञ्चालक समितिले बैंकको यथास्थिती भन्दा बढी भएको भन्दै अस्वीकृत गरेपछि एफपीओको प्रक्रिया रोकिएको कोष स्रोतले बतायो । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को एफपीओ बढी मूल्य निर्धारण भएर बिक्री नभएपछि प्रत्याभूतिकर्ता मर्चेन्ट बैंकरले सकार्नुपरेको देखेपछि कोष सञ्चालक समितिले सो दरमा प्रत्याभूति गर्न नसक्ने भनेको हो । बीपीसीको ५५ करोड रुपैयाँ बराबरको एफपीओ बिक्री नभएपछि ८ वटा अण्डरराइटरले सकारेका थिए । ४२५ रुपैयाँ दर सञ्चालक समितिले अस्वीकृत गरेपछि कति दरमा गर्ने भन्ने विषयमा अझै सहमति जुटन नसकेको कोषे स्रोतको भनाई छ । चुक्तापूँजी न्युनतम् ८ करोड रुपैयाँ पुर्याउन बैंकले गत वर्षको जेठ २२ गते प्रिमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको थियो । एफपीओका लागि बैंक बोर्डमा गएको १ वर्ष पुगेको छ । बैंकले वार्षिक १५ प्रतिशत लाभांश दिने र सो बराबर लाभांश दिने बैंकको सेयर मूल्य ३०० रुपैयाँमा पाइने भन्दै सञ्चालक समितिले अस्वीकार गरेको स्रोतको भनाई छ । आउदो असारसम्म बैंकले न्युतम चुक्तापुँजी पुर्याउनु पर्ने छ । न्युनतम चुक्तापुँजी नपुगे निक्षेप संकलन, कर्जा लगानी, लाभांश वितरणमा प्रतिवन्ध लगाउने निर्देशन केन्द्रीय बैंकले जारी गरिसकेको छ । ८ अर्ब रुपैयाँ पुँजी नपुर्याउन वाणिज्य बैंकलाई केन्द्रीय बैंकले निगरानीमा राखेको छ । विषयमा नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा गम्भिर बहस शुरु भएको छ । बैंक अफ काठमाडौं, सिभिल बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र एनएमबी बैंकको ८ अर्ब पुँजी पुगेको छैन । पुँजी नपुगेकै कारण उनीहरुलाई राष्ट्र बैंकले वार्षिक साधारणसभा गर्न अनुमति पनि दिएको छैन ।

सिन्धु विकास बैंकको ५ लाख ३५ हजार कित्ता संस्थापक हकप्रद लिलामीमा

काठमाडौं । सिन्धु विकास बैंकको संस्थापक हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकको ५ लाख ३५ हजार ३०१ कित्ता हकप्रद सेयर बिक्री नभएपपिछ लिलामी प्रक्रियाबाट बेच्न लागिएको हो । खरिदका लागि बोलपत्र पेश जेठ ११ देखि सुरु भई २७ गतेसम्म तोकिएको छ । बोलपत्रका लागि आवेदन एनआईबीएल एस क्यापिटल लिमिटेडको लाजिम्पाट र लालदरबार, लगनखेल, चिप्लेढुङा, बुटलबल, बीरगञ्ज, र विराटनगरबाट पाइने छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारयणगढ र धनगढी शाखाबाट पाइने एनआईबीएल एसले जनाएको छ । बैंकले चुक्तापूँजी बढाउन गत भदौ १८ देखि कात्तिक ५ गतेसम्म बिक्री खुला गरेकोमा आवेदन नपरेको संस्थापक हकप्रद सेयर लिलामी गर्न लागेको हो ।    

नविल ब्यालेन्स फण्ड १ खारेजीमा, बाँकी रहेका सेयर र ऋणपत्र स्वामित्व बोलकबोलबाट बिक्रीमा

काठमाडौं । नविल बैंकले नविल ब्यालेन्स फण्ड १ को स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएको छ ।  नविल कोष प्रवद्र्धक र नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको सामुहिक लगानी कोष (म्युचअल फण्ड) को गत चैत २९ गते परिपक्व भएकाले खारजीमा लैजान लागेको हो । परिपक्व भएको ३ महिनाभित्र इकाइ स्वामित्व खारेजीमा लैजानुअघि नगदमा प्ररिणत गरी सेयरधनीलाई फिर्ता दिने भएको छ । स्वामित्व बिक्रीका लागि आइतबारदेखि जेठ १३ गतेसम्म बोलपत्र पेश गर्न नविल इन्भेष्टमेन्टले भनेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भएका सबै इकाइ बिक्री भएको छ । यस्तै लगानीमा रहेका ऋणपत्र र डिबेञ्चरको समय अझै केही वर्ष बाँकी रहेकाले ब्यालेन्स फण्ड खारेजीमा जानुअघि बोलकबोलबाट बिक्री गर्न लागेको हो । सेयरको मूल्य प्रतिकित्ता १०० र ऋणपत्र न्युनतम १ हजार रुपैयाँ तोकिएको छ । हालै घोषित बोनस सेयर तथा सुचिकरण हुन बाँकी हकप्रद सेयर रहेको, केही सेयरहरुको बजारमा स्वच्छ र पर्याप्त माग नदेखिएको र केहीको मूल्य निर्धारण प्रक्रिया पुरा भइनसकेको र केहीको मर्जर प्रक्रियामा रहेर कारोबार रोक्का भएकाले यी सेयरलाई बोलकबोलबाट बिक्री गर्न लागेको नविल इन्भेष्टमेन्टले जनाएको छ । बोलकबोलबाट बिक्री गरेपछि सुचिकरण र कारोबार योग्य भएपछि खरिदकर्ताको नाम धितोपत्र नियमावलीअनुसार नामसारी गर्ने शर्तमा बिक्री गर्न लागेको नविलले जानकारी दिएको छ । नबिल ब्यालेन्स फण्ड आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, मेगा बैंक, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, टुरिजम डेभलपमेन्ट बैंक, उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था, सेञ्चुरी कमर्शियल बैंक, डिप्रोक्स डेभलपमेन्ट बैंक, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, हिमालयन बैंक र मितेरी डेभलपमेन्ट बैंकमा लगानी रहेको छ । यस्तै नेको इन्स्याुेरेन्स कम्पनी लिमिटेड,नेपाल सेवा लघुवित्त वित्तीय संस्था, नेरुड लघुवित्त वित्तीय संस्था, निर्धन उत्थान विकास बैंक, एनएलजी इन्स्योरेन्स कम्पनी, ओम डेभलपमेन्ट बैंक, आरएसडीसी लघुवित्त वित्तीय संस्था, समता माइक्रोफाइनान्स वित्तीय संस्था, सामुदायिक लघुवित्त, साना किसान विकास बैंक, साइन रेसुङा डेभलपमेन्ट बैंक, सिद्धार्थ बैंक र सुर्योदय लघुवित्त वित्तीय संस्थामा लगानी रहेको नविलले जनाएको छ । यस्तै ब्यालेन्स फण्ड ग्लोबल बैंक, लक्ष्मी बैंक, बीओके डिबेञ्चरमा पनि लगानी रहेको छ । एसबीएल ऋणपत्र, एभरेष्ट बैंक ऋणपत्र र सिटिजन्स बैंकको ऋणपत्रमा पनि लगानी रहेको छ । यी ऋणपत्रको परिपक्व हुन समय अझै लाग्ने भएपछि पछि हस्तान्तरण हुने गरे इकाई बोलकबोलबाट बिक्री गर्न लागेको हो ।  

आउँदो ३ वर्षमा बिजुली उत्पादन ३ हजार मेगावाट पुग्दै, यी हुन् आयोजना

काठमाडौं । आउँदो ३ वर्षमा ३ हजार मेगावाट बिजुली पुग्ने भएको छ । सार्वजनिक र निजी साझेदारबाट झण्डै दुई दर्जन आयोजना सम्पन्न भई विद्युत उत्पादन ३ हजार मेगावाट पुग्ने भएको हो । ३ वर्षमा २ हजार मेगावाट बिजुली थप गरी सरकारले यो लक्ष्य पुरा गर्ने लागेको हो । हाल जडित क्षमता १ हजार १०० मेगावाट पुगेको छ । सरकार, नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीहरु तथा निजी क्षेत्रबाट लक्ष्य पुरा हुनेछ । आउँदो ३ वर्षभित्र सम्पन्न हुन आयोजनामा राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना रहेको छ । सम्पन्न हुन लागेको यो सबैभन्दा ठुलो आयोजना हो । यो आयोजना आउँदो आर्थिक वर्ष २०७५÷७६ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ३ वर्षमा विद्युत प्राधिकरणको लगानीमा ६० मेगावाटमा माथिल्लो त्रिशुली ३ ए, १४ मेगावाटको कुलेखानी तेस्रो र २५ मेगावाटको सोलार समेत गरी ९९ मेगावाट बिजुली थप हुने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । विद्युत प्राधिकरणअन्तर्गतका यस्तै सहायक कम्पनीमार्फत १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसी र ३७ मेगावाटको त्रिशुली ३ बी आयोजना सम्पन्न हुनेछन् । यस्तै निजी क्षेत्रबाट २५ मेगावाटको कावेली बी, २० मेगावाटको मोदी, २१ मेगावाटको तल्लो हेवाखोला, २२ मेगावाटको अपर चाकु ए, ४० मेगावाटको खानीखोला, २७ मेगावाटको दोर्दीखोला, ४२ मेगावाटको मिस्त्री खोलालगायत साना र ठुला गरी डेढ दर्जन आयोजना सम्पन्न हुनेछन् । यी आयोजना सम्पन्न भएपछि भारतबाट बिजुलीको आयात बन्द हुने छ । लोडसेडिङ् हटाउन भारतबाट ५०० मेगावाटसम्म बिजुली आयात भइरहेको छ । विद्युत क्षेत्रको समग्र विकास गरी देशलाई विद्युतमा आत्मनिर्भर बनाउन, देशभित्र खपत हुने ऊर्जाका अन्य स्रोतहरुलाई विद्युतीय ऊर्जाले विस्थापित गरी व्यापार घाटा कम गर्न, उत्पादित विद्युत ऊर्जाको आन्तरिक तथा बाह्य बजार विस्तार गर्न तथा आम जनतामा विद्युत ऊर्जाको पहुँच बढाउने सरकारको योजना छ । चालु आर्थिक वर्षमा ढेढ दर्जन आयोजना सम्पन्न भई १९४ मेगावाट बिजुली थप हुदैछ । आगामी वर्ष पनि ७०० मेगावाट बिजुली थप हुने विद्युत प्राधिकरणको अनुमान छ ।      

किस्ट शिक्षण अस्पतालद्धारा लुभुको प्राथमिक स्वास्थ केन्द्रमा दन्त परीक्षण शुरु

ललितपुर । किस्ट शिक्षण अस्पतालले ललितपुरको महालक्ष्मी नगरपालिकासँग समन्वय गरी लुभुको प्राथमिक स्वास्थ केन्द्रमा बिहीबार(आज)बाट दन्त परीक्षण तथा उपचार सेवा शुरु गरेको छ । किस्ट शिक्षण अस्पतालका अध्यक्ष आशिष थापा तथा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले संयुक्त रूपमा स्वास्थ केन्द्रमा रिबन काटी सेवा शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा मेयर श्रेष्ठले यो नगरपालिकामा हालदन्त सेवा सुचारू गरी सहज सेवा पुर्याउने लक्ष्य लिएको किस्ट अस्पताललाई धन्यवाद व्यक्त गरेका छन् । किस्ट अस्पतालले निकट भविष्यमा नै महिला-स्वास्थ्य, बालबालिका, हाडजोर्नी, औषधोपचार लगायत विभिन्न स्वास्थ शिविरहरू सुरुवात गर्ने नीति लिएको अध्यक्ष थापाले जानकारी दिएका छन् ।

नयाँ विकास युगको शुरु भयो: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ विकास युगको शुरु भएको बताएका छन् । पार्टी एकताको औपचारिक घोषणामा बोल्दै दाहालले देश समृद्धिको बाटोमा अघि बढ्ने बतएका हुन् । नेपाल कम्युनिष्ट पार्टीले जनतालाई सुख र शान्ती दिन नसके पार्टी सफल हुन नसक्ने बताए । उनले भने-आजको दिन ऐतिहासिक छलाङ हो, सबै नेपालीलाई बधाई, यो दिन १०० वर्षसम्म सम्झिरहनेछ ।

सामसङ मोबाइलको नयाँ सर्भिस् सेन्टर मकवानपुरको हेटौंडामा

काठमाडौं । सामसङ नेपालले हालै मकवानपुरको हेटौंडामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर शुभारम्भ गरेको छ । नारायणी मलको तेस्रो तल्लामा अवस्थित नयाँ सर्भिस् सेन्टरको शुभारम्भ सामसङ ईण्डियाका उपाध्यक्ष वाई विवनलले गरेका हुन् । बिक्री पछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्य सहित कम्पनीले आफ्नो १३औं आधिकारिक सर्भिस् सेन्टर हेटौंडामा खोलेको छ । यस अघि कम्पनीले काठमाडौं (सुन्धारा, पाको, कमलादी) जावलाखेल, पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर, बुटबल तथा विर्तामोडमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु खोलिसकेको छ । हेटौंडामा सामसङको यो पहिलो सर्भिस सेन्टर हो । यस सेन्टरबाट मकवानपुर जिल्ला तथा आसपास क्षेत्रका ग्राहकहरुले लाभलिन सक्ने कम्पनीको विश्वास छ ।

प्रभु लाइफ इन्स्योरेन्स अब लेखनाथमा पनि

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहिवारदेखि आफ्नो शाखा कार्यालय पोखराको लेखनाथमा विस्तार गरी कारोबार शुरु गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीको संस्थागत शेयरधनी सांग्रिला बिकास बैंकका अध्यक्ष डा. रबिन्द्र श्रेष्ठले गरेका हुन् । कार्यक्रममा श्रेष्ठले प्रभु लाइफ इन्स्योरेन्सले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरेका छन् । दुई अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् ।