विकास बजेट कटौती गरेर बाढी प्रभावित क्षेत्रमा ६ अर्ब खर्च गर्दै बागमती

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुन:निर्माण र नागरिकको पुनःस्थापनाका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटबाट ६ अर्ब रुपैयाँ छुट्याउने भएको छ । 

सरकारले दायित्व सिर्जना भइनसकेका विकास कार्यक्रमको बजेट कटौती गरी पुनःनिर्माण र पुनःस्थापनामा खर्च गर्ने तयारी गरेको हो ।

प्रदेश सरकारले भौतिक संरचनाको पुन:निर्माणमा मात्र नभई बाढी प्रभावित नागरिकको आवास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि तथा जीविकोपार्जनलाई सामान्य अवस्थामा फर्काउने लक्ष्यसहित बजेट पुनःप्राथमिकीकरण गर्न लागेको हो ।

ल्हेन्दे भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक ६ अर्ब रुपैयाँ जुटाउन गत सोमबार प्रदेश सुशासन केन्द्र, जावलाखेलमा बसेको समन्वय बैठकले बजेट व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय तथा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको बजेटमा २० प्रतिशत कटौती गर्ने तयारी छ । 

त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य ६ मन्त्रालयका कार्यक्रमबाट १५ प्रतिशत बजेट कटौती गरिनेछ ।

पुँजीगततर्फ अग्रिम दायित्व सिर्जना नभएका कार्यक्रमबाट मात्रै बजेट कटौती गरिनेछ । स्रोत सहमति भइसकेका आयोजना तथा चालु खर्च भने यथावत् राखिने मन्त्रालयले जनाएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता उपसचिव नुमानन्द अधिकारीका अनुसार कृषि र स्वास्थ्य मन्त्रालयबाहेक अन्य मन्त्रालयले बजेट कटौतीका लागि कार्यक्रम विवरण सिफारिस गरिसकेका छन् ।

वागमती सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको थियो । त्यसमध्ये चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार र पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

स्थानीय आवश्यकताका आधारमा आयोजना छनोट

प्रदेश सरकारले पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यक्रम स्थानीय आवश्यकताका आधारमा सञ्चालन गर्ने जनाएको छ । यसका लागि मंसिर १३ र १४ गते रसुवा, नुवाकोट, धादिङ र चितवन पुगेर प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग सुझाव लिने तयारी गरिएको छ ।

मुख्यमन्त्री किरण थापा मगरले स्थानीय तह र वडाको सिफारिस तथा सहभागितामा आयोजना छनोट गरिने बताए । पुनर्निर्माणका नाममा एउटै काममा दोहोरो बजेट खर्च हुन नदिन र उपलब्ध स्रोतको अधिकतम उपयोग गर्न सम्बन्धित निकायबीच समन्वय गरिने उनको भनाइ छ ।

तत्काल पुनर्निर्माण तथा पुनःस्थापना गर्नुपर्ने आयोजनाको माग संकलन गरी सूची तयार गर्ने काम प्रदेश नीति तथा योजना आयोगको समन्वयमा अघि बढाइने आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयकी प्रवक्ता उपसचिव अनिता तामाङले जानकारी दिइन् । छनोट भएका आयोजना सम्बन्धित मन्त्रालय तथा निकायमार्फत कार्यान्वयन गरिनेछ ।

दीर्घकालीन जोखिम न्यूनीकरणमा पनि जोड

प्रदेश सरकारले तत्कालीन पुनर्निर्माणसँगै भविष्यमा हुन सक्ने विपद्को जोखिम न्यूनीकरणलाई पनि योजनामा समेटेको छ । बाढी प्रभावित क्षेत्रमा जोखिमयुक्त बस्तीको पहिचान र स्थानान्तरण, जग्गा व्यवस्थापन, प्रभावित नागरिकको जीविकोपार्जन सुनिश्चितता तथा पूर्वाधार र सम्पदाको संरक्षणबारे सम्भाव्यता अध्ययन गरिने भएको छ ।

उक्त अध्ययनका आधारमा दीर्घकालीन पुनर्निर्माण तथा पुनःस्थापनाका लागि गुरुयोजना तयार गर्ने प्रदेश सरकारको निर्णय छ । बजेट कटौतीबाट जुटाइने ६ अर्ब रुपैयाँ कुन क्षेत्रमा कति खर्च गर्ने भन्ने विषय स्थानीय तहबाट प्राप्त हुने माग र सिफारिसका आधारमा तय गरिनेछ ।

Share News