टेक्सास कलेजमा सातौं विज्ञान तथा आईटी प्रदर्शनी हुँदै

२० हजार बढी सहभागी हुने अपेक्षा

काठमाडौं । टेक्सास एजुकेसन नेटवर्कले आगामी मंसिर २३ देखि २५ गतेसम्म ‘सातौं टेक्सास विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी २०८३’ आयोजना गर्ने भएको छ । 

काठमाडौंको मित्रपार्कस्थित टेक्सास एजुकेसन नेटवर्कको परिसरमा आयोजना हुने प्रदर्शनीमा ७० भन्दा बढी विद्यार्थीले निर्माण गरेका नवीनतम परियोजना प्रदर्शन गरिनेछ ।

प्रदर्शनीमा रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई), स्मार्ट उपकरण, नवीकरणीय ऊर्जा, वातावरण संरक्षण, स्वास्थ्य तथा विज्ञानसँग सम्बन्धित नमुनाहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ । विद्यार्थीहरूले आफ्नै परियोजनाको प्रत्यक्ष प्रदर्शन तथा प्रस्तुति दिनेछन् ।

मंसिर २३, २४ र २५ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा १५० भन्दा बढी विद्यालय तथा कलेजका २० हजारभन्दा बढी सहभागी उपस्थित हुने आयोजकको अपेक्षा छ । गत वर्ष आयोजित छैटौं संस्करणमा १३० भन्दा बढी विद्यालय तथा कलेजबाट १८ हजार सहभागीले अवलोकन गरेका थिए । 

कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित प्रदर्शनीले पाठ्यपुस्तकमा अध्ययन गरेका विज्ञान तथा प्रविधिका सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक अभ्याससँग जोड्ने उद्देश्य राखेको छ । 

विद्यार्थीलाई आफ्नै परियोजना निर्माण, सञ्चालन र प्रस्तुति गर्ने अवसर दिँदा उनीहरूको सिर्जनशीलता, जिज्ञासा र आत्मविश्वास अभिवृद्धि हुने आयोजकको विश्वास छ ।

प्रदर्शनीमा स्मार्ट पार्किङ प्रणाली, बिरामीको स्वास्थ्य अनुगमन प्रणाली, विपद् पूर्वचेतावनी प्रणाली, बोलीबाट सङ्केत भाषा अनुवाद गर्ने उपकरण, रिभर्स भेन्डिङ मेसिन, स्वचालित कार, मानवाकार रोबोट, रोबोट कुकुर तथा माटोको तरलीकरणसम्बन्धी नमुना प्रदर्शन गरिनेछ ।

त्यस्तै, रोबोटिक्स र एआईका प्रत्यक्ष प्रदर्शनसँगै विज्ञान तथा सूचना प्रविधिसम्बन्धी अन्तरक्रियात्मक खेल र पुरस्कारको व्यवस्था पनि रहनेछ । प्रदर्शनीमा सहभागी विद्यार्थी तथा अन्य आगन्तुकलाई निःशुल्क प्रवेश र खाजाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

टेक्सास एजुकेसन नेटवर्कका अध्यक्ष भेषराज पोखरेलले विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित नराखी व्यावहारिक नवप्रवर्तन र अनुसन्धानतर्फ प्रेरित गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताए । 

१५० भन्दा बढी विद्यालय र २० हजार सहभागीको उपस्थितिले युवा पुस्तामा विज्ञान तथा प्रविधिप्रतिको जिज्ञासा बढाउने विश्वास उनले व्यक्त गरे ।

प्रदर्शनीका मूल आयोजक समिति संयोजक तथा नेटवर्कका प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखुले विद्यार्थीले महिनौंको मेहनतबाट तयार पारेका मौलिक परियोजनाको प्रत्यक्ष प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण हुने बताए ।

Share News