काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कार्यक्रम, विषय, सेक्सन तथा कोटा थप गर्न चाहने सम्बन्धनप्राप्त क्याम्पस तथा कलेजलाई आधिकारिक स्वघोषणापत्र पेस गर्न निर्देशन दिएको छ ।
त्रिवि योजना निर्देशनालयले न्यूनतम मापदण्ड पूरा गरी सूचीकृत भएका क्याम्पस तथा कलेजलाई यस्तो निर्देशन दिएको हो । त्रिवि कार्यकारी परिषद्को गत कात्तिक २१ गतेको निर्णयअनुसार कलेजहरूले आफ्नो व्यवस्थापनअन्तर्गत एउटै परिसरमा त्रिभुवन विश्वविद्यालयबाहेक अन्य कुनै स्वदेशी वा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन नगरेको स्वघोषणा गर्नुपर्नेछ ।
स्वघोषणापत्रमा उल्लेख गरिएका विवरण सत्य र यथार्थ रहेको प्रतिबद्धता जनाउनुपर्नेछ । झुटो वा गलत विवरण पेस गरेको अथवा त्रिविको प्रचलित नियमविपरीत शैक्षिक कार्यक्रम सञ्चालन गरेको प्रमाणित भएमा नियमअनुसार कारबाही भोग्न मञ्जुर रहेको व्यहोरासमेत उल्लेख गर्नुपर्नेछ ।
त्रिविका अनुसार स्वघोषणापत्र सम्बन्धित क्याम्पस वा कलेजको आधिकारिक लेटरहेडमा तयार गर्नुपर्नेछ । त्यसमा क्याम्पस प्रमुखको हस्ताक्षर र संस्थाको छाप लगाएर प्रमाणित गर्नुपर्नेछ । प्रमाणित स्वघोषणापत्रको स्क्यान गरिएको प्रति मङ्सिर १५ गतेभित्र अनिवार्य रूपमा पठाउन त्रिविले आग्रह गरेको छ ।
त्रिविले सम्बन्धनसम्बन्धी विनियम, २०७३ (संशोधनसहित) को परिच्छेद १३ मा भएको व्यवस्थासमेत स्मरण गराएको छ । उक्त व्यवस्थाअनुसार त्रिभुवन विश्वविद्यालयबाहेक अन्य कुनै विश्वविद्यालय, परीक्षा बोर्ड वा परिषद्बाट सम्बन्धन प्राप्त गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाइँदैन ।