काठमाडौं । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेर रद्द गरिएको विषयमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले आफ्नो निर्णयको बचाऊ गरेका छन् ।
उनले सार्वजनिक खरिद नियमावलीको संशोधित व्यवस्थाअनुसार प्रक्रिया अघि बढाउनुपर्ने भएकाले बोलपत्र रद्द गरिएको स्पष्टीकरण दिएका छन् ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा सोमबार जवाफ दिँदै रजौरियाले विभागीय प्रमुखका रूपमा प्रचलित कानुन र सार्वजनिक खरिदसम्बन्धी प्रावधान पालना गराउनु आफ्नो दायित्व भएको बताए ।
कानुनी व्यवस्थासँग मेल नखाने खरिद प्रक्रिया अघि बढाउनुभन्दा त्यसलाई रद्द गरेर कानुनअनुसार नयाँ प्रक्रिया अवलम्बन गर्नु उचित ठानेको उनको भनाइ छ ।
आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्काको प्राविधिक प्रक्रिया पूरा भइसकेको अवस्थामा विभागले बोलपत्र रद्द गरेको थियो ।
ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेपछि रद्द गर्नु अनुचित र त्रुटिपूर्ण रहेको दाबीसहित सार्वजनिक लेखा समितिमा उजुरी परेको छ । सोही उजुरीमाथि समितिमा छलफल भइरहेको छ ।
समितिमा रजौरियाले सार्वजनिक खरिद नियमावलीको १६औं संशोधनले एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतका जटिल प्रकृतिका संरचनाको खरिदमा ‘रेटेड प्वाइन्ट क्राइटेरिया’ लागू गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गरे ।
उनका अनुसार एभरेज प्राइसिङमा आधारित मूल्यांकन विधिभन्दा रेटेड प्वाइन्ट क्राइटेरियाले निर्माण व्यवसायीको प्राविधिक क्षमता, अनुभव, कार्यसम्पादन क्षमता र अन्य निर्धारित मापदण्डलाई समग्र रूपमा मूल्यांकन गर्न सहज हुन्छ ।
जटिल प्रकृतिका संरचना निर्माणमा मूल्यलाई मात्र आधार नबनाई निर्माण व्यवसायीको समग्र क्षमता परीक्षण गरेर उपयुक्त ठेकेदार छनोट गर्न नयाँ विधि प्रभावकारी हुने उनको तर्क छ ।
विभागले ठेक्का रद्द गर्ने निर्णयलाई कानुनी प्रावधान कार्यान्वयन र प्रतिस्पर्धात्मक खरिद प्रक्रिया सुनिश्चित गर्ने कदमका रूपमा व्याख्या गरेको छ ।
तर, बोलपत्रका प्रक्रिया अघि बढिसकेको अवस्थामा अन्तिम समयमा आएर ठेक्का रद्द गर्नुको औचित्य र त्यसको कानुनी आधारबारे भने समितिमा प्रश्न उठेको छ ।