काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।
उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनी नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री शाहलाई मन्त्रीद्वय विराजभक्त श्रेष्ठ र सुदन गुरुङ र रास्वपाका प्रवक्ता जगदीश खरेलले विदाइ गरे ।
शाह नेपाल वायुसेवा निगमको एयरबस ए ३२० जहाजबाट दिल्ली प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह सहित ३५ जना सदस्य सहभागी रहेका छन् ।
उनी आज दिउँसो ३ बजेर १५ मिनेटमा नयाँ दिल्ली पुग्ने कार्यक्रम छ ।
दिल्ली पुगेपछि प्रधानमन्त्री शाहले आइतबार साँझ ६ बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्नेछन् । ताजमहल होटलमा हुने उक्त भेटवार्ताबाहेक आइतबारका लागि अन्य औपचारिक कार्यक्रम तय गरिएको छैन ।
भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे प्रधानमन्त्री शाहको राष्ट्रपति कार्यालयमा औपचारिक स्वागत हुनेछ । त्यसपछि उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन् ।
त्यसपछि प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । हैदरावाद हाउसमा हुने भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल हुनेछ ।
भारतीय विदेश मन्त्रालयका अनुसार सोमबार मध्याह्न १२ बजेर २५ मिनेटमा दुवै प्रधानमन्त्रीबीच सहमति तथा सम्झौतापत्र आदानप्रदान हुनेछ । त्यसलगत्तै संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।
सोमबार अपरान्ह ३ बजेर १५ मिनेटमा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरी सोमबार साँझ १८ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किनेछन् ।
नेपाल फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।



