काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण टोलीमा नेपालको पर्यटन क्षेत्रबाट तीन वटा संस्था सहभागी हुने भएको छ । आइतबार (६ गते) प्रधानमन्त्री शाहसँगै पर्यटन क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाट भरतजंग पाण्डे, नेपाल पर्यटन व्यवसायी संघ (हान) बाट विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) बाट सागर पाण्डे र भारत भ्रमणमा जान लागेका हुन् ।
भ्रमणका क्रममा उनीहरूले नेपालको पर्यटन क्षेत्रको प्रतिनिधित्व गर्नेछन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा पर्यटन क्षेत्रका प्रतिनिधिको सहभागितालाई नेपाल र भारतबीच पर्यटन प्रवद्र्धन तथा व्यावसायिक सहकार्य विस्तारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
त्यसैगरी शाहको भारत भ्रमणका क्रममा ५२ जना उद्योग व्यवसायीको ’बिजनेस डेलिगेसन’ नयाँ दिल्ली जाने छन् । ५२ जनाको सूचीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ, महासंघकै पूर्वअध्यक्ष भवानी राणा, महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्मा, महानिर्देशक डा. गोपालप्रसाद तिवारी, कार्यसमिति सदस्यहरू सुनिता नेमाफुकी, बटु लामिछाने, उज्जवल श्रेष्ठ, सागर ढकाल, निरज काफ्ले र शिवकुमार अग्रवाल दिल्ली जाने टोलीमा छन् ।
यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाणकुमार चौधरी र राजबहादुर शाह बिजनेस डेलिगेसन टोलीमा सामेल छन् । नेपाल चेम्बर अफ कमर्शबाट अध्यक्ष कमलेसकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा दिल्ली जानेको सूचीमा छन् ।
त्यसैगरी, नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिम नारायण पराजुली, नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की)का अध्यक्ष कुनाल कयाल, निवर्तमान अध्यक्ष सुनिल केसी र उपाध्यक्ष करण चौधरी डेलिगेसन टोलीमा छन् ।