८ अर्ब २० करोड लागतको आयोजना निर्माण तीव्र, करिब ७०० जनाले रोजगारी पाउँदै

काठमाडौं । संखुवासभा र भोजपुरमा निर्माणाधीन ४७.१ मेगावाट क्षमताको गुराँस हाइड्रो लिमिटेड आयोजनाको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । 

सङ्खुवा खोलाको पानी उपयोग गरी निर्माण भइरहेको यस आयोजनाले पूर्वी नेपालमा ऊर्जा उत्पादनसँगै स्थानीय विकास र रोजगारीमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

आयोजनाको प्रस्तावित लागत ८ अर्ब २० करोड रुपैयाँ रहेको छ। आयोजनाको हेडवक्र्स संखुवासभाको साल्पासिलिचोङ गाउँपालिका वडा नं. १, २ र ३ अन्तर्गत बुधबारे क्षेत्रमा निर्माण भइरहेको छ । 

सङ्खुवा खोला र सिसुवा खोलाको संगमस्थलमा बाँध निर्माण गरी करिब ६ हजार ४०० मिटर लामो सुरुङमार्फत पानी विद्युत् गृहमा पुर्याइने आयोजना संरचना रहेको छ ।

विद्युत् गृह भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका वडा नं. १ र २ अन्तर्गत बेखुवा क्षेत्रमा निर्माण भइरहेको छ । उत्पादित विद्युत् अरुण नदीमा छोड्ने गरी आयोजना संरचना तयार पारिएको छ ।

आयोजनाबाट प्रभावित क्षेत्रका ४२२ परिवारलाई न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको संस्थापक सेयर प्रदान गरिएको छ । 

गुराँस हाइड्रो लिमिटेडका कार्यकारी अध्यक्ष शिवप्रसाद घिमिरेले आज आयोजित एक समारोहबीच प्रभावित परिवारलाई सेयरसम्बन्धी प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । 

Share News