उपचारमा मात्र होइन, रोग लाग्नै नदिने वातावरण बनाउनुपर्छ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको महत्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएकी छन् ।

प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन, २०२६ लाई सम्बोधन गर्दै मन्त्री मेहताले स्वास्थ्यलाई अस्पताल, उपचार र औषधिमा मात्र सीमित राख्न नहुने बताइन् । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने स्वस्थ र अनुकूल वातावरण निर्माण गर्नु प्रभावकारी तथा दिगो हुने उनको भनाइ छ ।

मानिसको स्वास्थ्य सामाजिक, आर्थिक तथा वातावरणीय अवस्थासँग समेत जोडिने भएकाले यी पक्षलाई सम्बोधन गर्नु स्वास्थ्य प्रवर्द्धनको मुख्य उद्देश्य हुनुपर्ने उनले बताइन् ।

मन्त्री मेहताले उच्च रक्तचाप, मधुमेह, मुटु तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग, मानसिक स्वास्थ्य समस्या, सडक दुर्घटना, वायु प्रदूषण र जलवायु परिवर्तनबाट सिर्जित स्वास्थ्य जोखिम न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रको एकल प्रयास पर्याप्त नहुने उल्लेख गरिन् ।

यसका लागि शिक्षा, कृषि, खानेपानी, सहरी विकास, स्थानीय सरकार, सञ्चारमाध्यम र निजी क्षेत्रबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उनको भनाइ छ । उनले ‘सबै नीतिमा स्वास्थ्य’को अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्दै स्वास्थ्यलाई सबै क्षेत्रका नीति, योजना तथा कार्यक्रमको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिइन् ।

संघीय संरचनामा स्वास्थ्य प्रवर्द्धनको जिम्मेवारी तीनै तहका सरकारमा रहेको उल्लेख गर्दै मन्त्री मेहताले स्थानीय आवश्यकता, भाषा, संस्कृति र परिवेशअनुसार कार्यक्रम सञ्चालन गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताइन् । यसका लागि तीनै तहका सरकारबीच समन्वय, स्रोतसाधनको सुनिश्चितता तथा संस्थागत र प्राविधिक क्षमता विकास गर्नुपर्ने उनले बताइन् ।

स्वास्थ्य प्रवर्द्धनलाई स्थापित पेसागत तथा शैक्षिक विधाका रूपमा विकास गर्न दक्ष जनशक्ति उत्पादन, अनुसन्धान विस्तार र प्रमाणमा आधारित अभ्यासलाई प्रोत्साहन गर्नुपर्नेमा पनि उनले जोड दिइन् ।

सम्मेलनमा सन् २०३० सम्मका लागि नेपालको स्वास्थ्य प्रवर्द्धनका प्राथमिकता निर्धारण, स्वास्थ्य प्रवर्द्धन प्रणालीको सुदृढीकरण, दिगो लगानी, स्वास्थ्य सेवामा समान पहुँच र जवाफदेहितालगायत विषयमा छलफल भएको छ ।  

Share News