काठमाडौं । बलिउड अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की आएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार बाबा सिद्दिकी हत्या प्रकरणका फरार अभियुक्त जिसान अख्तरको नामबाट उनलाई धम्की दिइएको हो ।
पछिल्ला केही सातायता बलिउड कलाकारहरूलाई धम्की दिइएका घटनामध्ये यो पछिल्लो घटना हो । यसअघि अमिताभ बच्चन, आयुष्मान खुराना र तुषार कपुरलाई पनि धम्की आइसकेको छ ।
यस घटनाबारे मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ । एक प्रहरी अधिकारीले बिहीबार धम्कीको सत्यताबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार अभिनेता सैफ अली खानको फोनमा जिसान अख्तरको नामबाट भ्वाइस म्यासेज आएको थियो । त्यसमा बाबा सिद्दिकीको जस्तै हालत उनको पनि हुने चेतावनी दिइएको थियो ।
धम्की वास्तवमै जिसान अख्तरले दिएको हो वा अन्य कसैले उनको पहिचान प्रयोग गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी अधिकारीले जानकारी दिए ।
प्रहरीले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरी जिसानको आवाज नक्कल गरेर बलिउड कलाकारहरूलाई दुःख दिने काम भएको हो कि भन्ने कोणबाट पनि अनुसन्धान गरिरहेको छ ।