एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा पुनःस्थापित गर्छौँ : उपाध्यक्ष थापा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले पार्टीलाई पुनः निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने बताएका छन् । थापाले यही लक्ष्यसहित पार्टी पुनर्निर्माण, राजनीतिक आन्दोलन र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्ने निर्णय गरेको बताएका छन् ।

राष्ट्रिय कार्यकर्तालाई सम्बोधन गर्दै थापाले हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीसामु देखिएका राजनीतिक तथा सङ्गठनात्मक चुनौतीको सामना गर्न पाँचवटा प्रमुख कार्यदिशा तय गरेको जानकारी दिए ।

एमालेले पार्टी पुनर्निर्माणमार्फत पार्टीलाई राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा पुनः स्थापित गर्ने निष्कर्ष निकालेको थापाले दाबी गरेका छन् । त्यसैगरी, राष्ट्रियता र लोकतन्त्रको स्थापनाका लागि राजनीतिक आन्दोलनको तयारी गर्नुपर्ने आवश्यकता रहेको पनि थापाले बताएका छन् ।

एमालेले आगामी निर्वाचनलाई पनि आफ्नो प्रमुख राजनीतिक कार्यभारका रूपमा अघि सारेको छ । लोकतन्त्रको विजयका लागि आगामी निर्वाचनको तयारीमा केन्द्रित हुने निर्णय गर्दै पार्टीले सङ्गठनात्मक गतिविधि र राजनीतिक अभियानलाई निर्वाचन लक्षित बनाउने सङ्केत गरेको थापाले बताए ।

Share News