सामाजिक सञ्जालमा पनि नबिल र ग्लोबल आइएमईबीच नै प्रतिस्पर्धा
काठमाडौं । बैंकहरूबीच निक्षेप संकलन, कर्जा प्रवाह र विभिन्न वित्तीय सेवा विस्तारमा मात्रै प्रतिस्पर्धा सीमित छैन । पछिल्लो समय ग्राहकको ध्यान आकर्षित गर्न र आफ्ना सेवा तथा गतिविधि धेरैभन्दा धेरै मानिससम्म पुर्याउन बैंकहरू सामाजिक सञ्जालमा समेत प्रतिस्पर्धा गरिरहेका छन् । फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक माध्यम बैंकहरूका लागि प्रचारप्रसार, ग्राहकसँगको अन्तरक्रिया र संस्थागत पहिचान निर्माण गर्ने महत्त्वपूर्ण माध्यम बन्दै गएका छन् । बैंकहरूले आफ्ना वित्तीय उत्पादन, नयाँ योजना, विभिन्न छुट तथा सुविधासँगै सामाजिक उत्तरदायित्वका गतिविधि पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका छन् । फलोअर्सको संख्या बढाउनु मात्र उनीहरूको उद्देश्य नभई डिजिटल माध्यमबाट ग्राहकसँग जोडिनु र संस्थाप्रतिको विश्वास अभिवृद्धि गर्नु पनि रहेको देखिन्छ । सामाजिक सञ्जालको बढ्दो प्रभावलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले समेत महत्त्व दिएको उदाहरण छ । राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीले पाँचवर्षे कार्यकाल पूरा गरेर बाहिरिँदै गर्दा आफ्नो कार्यकालका प्रमुख काम तथा उपलब्धिहरू समेटिएको विवरण सार्वजनिक गरेका थिए । त्यसमा राष्ट्र बैंकको सामाजिक सञ्जालमा बढेको पहुँचलाई समेत उपलब्धिका रूपमा उल्लेख गरिएको थियो । उनले आफ्नो कार्यकालमा फेसबुक तथा ट्विटरका फलोअर्स र युट्युबका सदस्य संख्या बढेको विषयलाई उपलब्धिमा समेटेका थिए । यद्यपि, सामाजिक सञ्जालमा फलोअर्स बढ्नु केन्द्रीय बैंकको मुख्य जिम्मेवारी होइन । तर, संस्थाका गतिविधि र सूचनालाई सर्वसाधारणसम्म पुर्याउन सामाजिक सञ्जालको भूमिका बढ्दै गएको यसले पनि देखाउँछ । सामाजिक सञ्जालमा फलोअर्स र सामग्री हेर्ने दर्शकको संख्या जति धेरै हुन्छ, सूचना तथा प्रचार सामग्री धेरै मानिससम्म पुग्ने सम्भावना पनि त्यति नै बढी हुन्छ । यही कारण बैंकहरूले पनि सामाजिक सञ्जालमा आफ्नो उपस्थिति बलियो बनाउने प्रयास गरिरहेका छन् । फेसबुकमा नबिल बैंकको अग्रता वाणिज्य बैंकहरूको फेसबुक उपस्थितिलाई हेर्दा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ । उपलब्ध विवरणअनुसार नबिल बैंकका फेसबुकमा १२ लाखभन्दा बढी फलोअर्स छन् । दोस्रो स्थानमा रहेको एनआईसी एसिया बैंकका ११ लाख फलोअर्स छन् । त्यसपछि सिद्धार्थ बैंक ५ लाख २८ हजार फलोअर्ससहित तेस्रो स्थानमा छ । नेपाल बैंकका ४ लाख ७९ हजार, ग्लोबल आइएमई बैंकका ४ लाख ५८ हजार र स्ट्यान्डर्ड चार्टर्ड बैंकका ४ लाख २७ हजार फलोअर्स छन् । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ३ लाख ८० हजार, एनएमबी बैंकका २ लाख ९३ हजार, एभरेस्ट बैंकका २ लाख ९० हजार र सिटिजन्स बैंकका २ लाख ६ हजार फलोअर्स छन् । त्यस्तै, प्रभु बैंकका १ लाख ९५ हजार, सानिमा बैंकका १ लाख ९० हजार, माछापुच्छ्रे बैंकका १ लाख ७४ हजार र राष्ट्रिय वाणिज्य बैंकका १ लाख ६४ हजार फलोअर्स छन् । लक्ष्मी सनराइज बैंक र कुमारी बैंकका समान १ लाख ४३ हजार फलोअर्स छन् । हिमालयन बैंकका ६० हजार, नेपाल एसबीआई बैंकका ४४ हजार, प्राइम कमर्सियल बैंकका ३५ हजार र कृषि विकास बैंकका ३२ हजार फलोअर्स छन् । इन्स्टाग्राममा ग्लोबल आइएमई पहिलो फेसबुकमा नबिल बैंक अगाडि रहे पनि इन्स्टाग्राममा भने ग्लोबल आइएमई बैंकले अग्रता लिएको छ । उपलब्ध विवरणअनुसार ग्लोबल आइएमई बैंकका ३१ हजार ६ सय फलोअर्स छन् । एनआईसी एसिया बैंक ३० हजार ४ सय फलोअर्ससहित दोस्रो र नबिल बैंक २८ हजार २ सय फलोअर्ससहित तेस्रो स्थानमा छन् । सिद्धार्थ बैंकका १९ हजार ७ सय, राष्ट्रिय वाणिज्य बैंकका ११ हजार ७ सय र कृषि विकास बैंकका १० हजार ५ सय फलोअर्स छन् । त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ९ हजार ९ सय ७०, लक्ष्मी सनराइज बैंकका ९ हजार ९ सय ७, माछापुच्छ्रे बैंकका ८ हजार ८ सय ६२ र प्रभु बैंकका ८ हजार ५ सय ४२ फलोअर्स छन् । कुमारी बैंकका ८ हजार २ सय ७५, एभरेस्ट बैंकका ८ हजार २ सय ६५, नेपाल बैंकका ८ हजार १ सय ५९, सानिमा बैंकका ६ हजार ४ सय ७३, एनएमबी बैंकका ४ हजार ९ सय ६ र सिटिजन्स बैंकका ४ हजार २ सय ५ फलोअर्स छन् । इन्स्टाग्राममा केही बैंकको उपस्थिति भने तुलनात्मक रूपमा कमजोर देखिन्छ । हिमालयन बैंकका १ हजार २७, नेपाल एसबीआई बैंकका ६ सय ३७ र प्राइम कमर्सियल बैंकका ९४ फलोअर्स मात्रै छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल भने इन्स्टाग्राममा सक्रिय देखिएको छैन । टिकटकमा पनि ग्लोबल आइएमई नै अगाडि युवा पुस्तामाझ लोकप्रिय सामाजिक सञ्जाल टिकटकमा पनि ग्लोबल आइएमई बैंकले आफ्नो बलियो उपस्थिति बनाएको छ । उपलब्ध विवरणअनुसार बैंकका ६१ हजार ९ सय फलोअर्स छन् । राष्ट्रिय वाणिज्य बैंक ४१ हजार ९ सय फलोअर्ससहित दोस्रो र एनआईसी एसिया बैंक ३२ हजार ६ सय फलोअर्ससहित तेस्रो स्थानमा छन् । नेपाल बैंकका १९ हजार ९ सय र नबिल बैंकका १४ हजार ५ सय फलोअर्स छन् । त्यस्तै, सिटिजन्स बैंकका ४ हजार ५ सय ९१, कुमारी बैंकका ४ हजार ७०, सिद्धार्थ बैंकका ३ हजार ७ सय ५४, लक्ष्मी सनराइज बैंकका ३ हजार १ सय ७० र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ३ हजार १ सय ५० फलोअर्स छन् । माछापुच्छ्रे बैंकका २ हजार १, एनएमबी बैंकका २ हजार ४ सय ३७, कृषि विकास बैंकका २ हजार ३ सय ९९, प्रभु बैंकका २ हजार १४, एभरेस्ट बैंकका १ हजार ८ सय ४९ र हिमालयन बैंकका ४ सय १६ फलोअर्स छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, सानिमा बैंक, नेपाल एसबीआई बैंक र प्राइम कमर्सियल बैंक भने टिकटकमा सक्रिय छैनन् ।