काठमाडौं । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टरहरू अध्ययन तथा काममा फर्किन सहमत भएका छन् ।
शिक्षा तथा खेलकुद मन्त्रालयको समन्वयमा मंगलबार सिंहदरबारमा कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिबीच भएको छलफलपछि उनीहरू अध्ययनलाई निरन्तरता दिन सहमत भएका हुन् ।
छलफलमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा, मन्त्रालयका उच्च अधिकारी, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का डीन, कलेज सञ्चालक तथा विद्यार्थी प्रतिनिधिहरू सहभागी थिए ।
छलफलमा कलेज व्यवस्थापनले विद्यार्थीका माग सम्बोधन गर्दै शैक्षिक वातावरण सुधार गर्ने प्रतिबद्धता जनाएको छ ।
सहमतिअनुसार अध्ययनलाई निरन्तरता दिन चाहने विद्यार्थीका लागि आवश्यक शैक्षिक वातावरण सुनिश्चित गरिनेछ भने अन्यत्र जान चाहने विद्यार्थीलाई नियमअनुसार रेजिडेन्टबापतको रकम फिर्ता गरिनेछ ।
कलेज व्यवस्थापनले विद्यार्थीको चाहनाअनुसार शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएपछि विद्यार्थीहरू पनि अध्ययनमा फर्किन सहमत भएका हुन् । आवश्यकताअनुसार हाल भएको समझदारीलाई पछि लिखित सम्झौतामार्फत औपचारिकता दिने सहमति समेत भएको छ ।
पहिलो वर्षमा अध्ययनरत रेजिडेन्ट डाक्टरहरूले कलेज व्यवस्थापनबाट अनावश्यक मानसिक दबाब तथा दुव्र्यवहार भएको र अध्ययनका लागि आवश्यक वातावरण नरहेको आरोप लगाउँदै आन्दोलन गर्दै आएका थिए ।
उनीहरूले कलेजमा अध्ययन तथा काम गर्ने क्रममा भोग्नुपरेका समस्या मन्त्रालयका अधिकारीसमक्ष राख्दै शान्तिपूर्ण र मर्यादित शैक्षिक वातावरण निर्माणको माग गरेका थिए ।
छलफलपछि रेजिडेन्ट डाक्टरहरूले आफूहरू आशावादी रहेको जनाउँदै अध्ययन तथा काममा फर्किने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले रेजिडेन्ट डाक्टरहरूको समस्यालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको बताउँदै सरोकारवालासँगको छलफलबाट समाधानको बाटो पहिचान भएको बताए ।
उनले विगतका कमीकमजोरीलाई सुधार्दै शैक्षिक वातावरण निर्माण गर्न कलेज व्यवस्थापन र विद्यार्थी दुवै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्रीले छलफलबाट दुवै पक्षबीच समझदारी विकास भएको उल्लेख गर्दै विद्यार्थीलाई अध्ययनमा फर्किन र कलेज व्यवस्थापनलाई शैक्षिक वातावरण सुनिश्चित गर्न आग्रह गरे ।
त्यस्तै, आईओएमका डीन प्रा.डा. मोहनराज शर्माले कलेजले शैक्षिक वातावरण निर्माण गर्ने र विद्यार्थीले अध्ययनलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।
उनले भएको समझदारी कार्यान्वयन भए/नभएको विषयमा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र आईओएमले चरणबद्ध अनुगमन गर्ने बताए ।
कलेजका अध्यक्ष प्रा.डा. जैनउद्दीन अन्सारीले विद्यार्थीको चाहना र मागअनुसार कलेजको शैक्षिक वातावरण सुधार गर्न व्यवस्थापन तयार रहेको प्रतिबद्धता जनाए ।