काठमाडौं । काठमाडौं जिल्ला अदालतले २१ किलोभन्दा बढी सुन प्रकरणमा पक्राउ परेका ३ चिनियाँलाई पुर्पक्षमा पठाएको छ । कात्तिक १८ गते अदालतले उनीहरूलाई पुर्पक्षका लागि कारागारमा पठाउन आदेश दिएको थियो ।
एक महिनाअघि बुढानीलकण्ठबाट २७ वर्षीय हान फेई, ४७ वर्षीय झीयु लङक्वीन र ३७ वर्षीय वाङ जीयानझेन पक्राउ परेका हुन् । अदालतले भन्सार ऐनअन्तर्गत मुद्दामा उनीहरूलाई कारागारमा पठाएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले सुन प्रकरणमा पक्राउ परेका चिनियाँलाई अदालतले पुर्पक्षमा पठाएको जानकारी दिए ।
चिनियाँहरूमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्ने तयारी पनि भइरहेको प्रहरीका एक अधिकृतले बताए ।
चिनियाँहरूले बुढानीलकण्ठ नगरपालिका २ मा सुनको कारोबार गर्न घरधनीसँग तीन लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी चार महिनाका लागि १३ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानी गरेर लिएका थिए ।
चिनियाँ नागरिक सुक्यानले सन् २०२६ जुलाई २४ देखि घर भाडामा लिएका हुन् । घरको साँचो भने एक व्यक्तिबाट अर्को व्यक्तिमा हस्तान्तरण भएको देखिएको थियो ।
सु–क्यानले चीनमा रहेका झेन जियाले नामका व्यक्तिलाई साँचो दिएको र उनले हान फेईलाई साँचो पठाएका थिए ।
कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर घर भाडामा लिने व्यक्ति र घरभित्रको गतिविधिमा संलग्न व्यक्तिहरूबीचको सम्बन्धबारे अनुसन्धान भइरहेको कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए ।
‘घर भाडामा लिने व्यक्ति देशबाहिर छन् । तर, घरको प्रयोग निरन्तर छ । घरको साँचो चीनबाट नेपाल आउने व्यक्तिहरूलाई हस्तान्तरण गरिएको छ,’ उनले भनेका थिए ।
चीनमा बसेर निर्देशन, नेपालमा सुन प्रशोधन
झेन जियाले चीनको ग्वाङझाउमा बस्थे । हान फेईले आफूलाई उनको निर्देशनमा काम गर्ने व्यक्तिका खुलाएका छन् । नेपालमा के गर्ने, कहाँ पुर्याउने र कसलाई सुन बुझाउने भन्ने कुराहरू वीच्याटमार्पत हुने गरेको थियो ।
खड्काका अनुसार घरमा सुनको लेसिलो तथा अर्धप्रशोधित अवस्थाको धातुलाई प्रशोधन गर्थे । तयार पारेको सुनलाई स्थानमा पुर्याउने काम गर्थे ।
सुन कहाँबाट ल्याइन्थ्यो, कसले घरसम्म पुर्याउँथ्यो र तयार भएको सुन कसको जिम्मामा जान्थ्यो भन्ने विषयमा उनीहरूले स्पष्ट जानकारी नदिएको खड्का बताउँछन् ।
नेपालमा सुन प्रशोधन गर्ने मेसिनसहित पहिलो पटक मानिसहरू पक्राउ परेको खड्का दाबी गर्छन् ।
सुन बोक्न विद्युतीय गाडी, निगरानीमा प्रहरी हान फेईले नेपाल आएको भोलिपल्ट विमानस्थलबाटै विद्युतीय गाडी भाडामा लिएको अनुसन्धानबाट देखिएको छ ।
असोज ११ देखि २५ गतेसम्मका लागि भाडामा लिएको दैनिक ८ हजार भाडा तिर्ने गरेको अनुसन्धानबाट खुलेको छ । विद्युतीय कारमा जीपीएस जडान हुने भएकाले कहाँ–कहाँ गाडी पुगेको छ त्यसको अनुसन्धान गरेको खड्काले बताए ।
विशेष सूचनापछि प्रहरीले घरमा आउने–जाने व्यक्तिहरूमाथि निगरानी बढाएको थियो । स्थानीय छिमेकी तथा जनप्रतिनिधिबाटसहित घरमा छापा मारिएको थियो ।
पर्यटन भिसामा प्रवेश
चिनियाँ नागरिकहरू पर्यटन भिसामा नेपाल आएका थिए । हान फेईले यसअघि परिवारसहित नेपाल आएर सुनको बजार अवस्था र मूल्य बुझी चीन फर्किएका थिए । उनी पुनः नेपाल आएर घरभित्र हुने सुन कारोबारीमा संलग्न भए । उनीहरू हङकङ हुँदै नेपाल आएको खुलेको छ ।
खुलेन सुनको स्रोत र अन्तिम गन्तव्य
अहिलेसम्मको अनुसन्धानमा कुनै नेपाली नागरिकको संलग्नता नखुलेको खड्का बताउँछन् ।
नेपाली व्यक्ति वा समूहको संलग्नता देखिएको छैन,’ खड्का भन्छन्, ‘सुन कहाँबाट आयो, नेपालभित्र कसले उपलब्ध गरायो, कसका लागि प्रशोधन गरियो र कसलाई बुझाउने तयारी थियो भन्ने बारेमा चिनियाँहरूले स्पष्ट रूपमा खोलेनन् ।’
नेपालमा जोडिएका सम्बन्धहरूको खोजी भइरहेको उनले बताए । सुनको लिक्वीड बाइ प्लेन वा रोड कताबाट आउँथ्यो त्यस विषयमा अझैसम्म खुल्न नसकेको खड्का खुलाउँछन् ।
घरमा भेटिएका कागजात, उपकरण, गाडी र डिजिटल सम्पर्कका विवरणलाई आधार बनाएर अनुसन्धान गरिने उनले बताए ।
‘घरमा भेटघाट गर्न आउने व्यक्तिहरूको पहिचान र उनीहरूको सम्बन्ध पत्ता लगाउने काम पनि भइरहेको छ,’ उनले अगाडि थपे ।
चीनबाट रिमोट कन्ट्रोल, नेपालमा सुनको धन्दा