नेपालीहरू भर्खर उद्योग व्यवसाय सिकिरहेका छन्, सरकारले धरपकड गर्नुहुँदैन

तीन पटक व्यक्तिगत रूपमा उच्च करदाताका रूपमा सम्मानित विजयबहादुर शाहको परिवार र उनले नेतृत्व गरेका कम्पनीहरू पनि वर्षौंदेखि सरकारका ठूला करदाताको सूचीमा पर्दै आएका छन् । छोरी, छोरा र आफूले नेतृत्व गरेका विभिन्न कम्पनीसमेत उच्च करदाताका रूपमा सम्मानित भएपछि शाहको परिवार उद्योग व्यवसायमार्फत राज्यलाई योगदान गर्ने उदाहरणका रूपमा देखिएको छ । अनुसन्धान, प्रविधि र उत्पादनमा आधारित उद्योगमार्फत आयात प्रतिस्थापन गर्ने लक्ष्यसहित अघि बढेको बताउने शाह नेपालमा लगानीको वातावरण, कर प्रणालीका जटिलता र पछिल्लो समय व्यवसायीमाथि भइरहेको धरपकडप्रति पनि उत्तिकै चासो राख्छन् । उनी कर प्रशासनलाई सरल, व्यवसायीलाई सम्मानित र लगानीको वातावरणलाई विश्वासिलो बनाउनुपर्ने बताउँछन् । उनै शाहसँग विकासन्युजका लागि सीआर भण्डारीले संक्षिप्त कुराकानी गरेका छन् । 

तपाईं र तपाईंको छोरासहित तपाईंले नेतृत्व गरेका कम्पनीहरू पनि बर्सेनि उच्च कर तिर्नेको सूचीमा छन्, यो कसरी सम्भव भयो ? 

देशले हाम्रो कामलाई पहिचान गरेको छ, तीन पटक उच्च करदाताका रूपमा सम्मानित भइसकेको छु । हाम्रो अनुसन्धानको उद्देश्य विदेशबाट हुने आयात घटाउनु र नयाँ पुस्तालाई यस क्षेत्रमा काम गर्न सहज बनाउनु हो । यस क्षेत्रमा धेरै युवा पुस्ता संलग्न छन् । मसँग काम गरेका व्यक्तिहरूले विदेशका ठूला कम्पनीमा दोस्रो र तेस्रो तहका उच्च पदमा रहेर काम गरिरहेका छन् । मलाई गर्व लाग्ने कुरा के हो भने विज्ञानमा आधारित कम्पनीलाई सरकारले पनि प्रोत्साहन गर्ने वातावरण बनेको छ ।

तपाईं र तपाईंको परिवारका सदस्य कति पटक सम्मानित हुनु भयो ? 

म आफै तीन पटक उच्च करदाताका रूपमा सम्मानित भइसकेको छु । यसअघि मेरी छोरी पनि महिला उच्च करदाताका रूपमा सम्मानित भएकी थिइन् । त्यसपछि मेरो छोरा राजबहादुर शाह सम्मानित भए । मेरो कम्पनी हिमालयन डिस्टिलरी पनि सम्मानित भएको छ । यसपटक मेरो फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर पनि सम्मानित भएको छ । 

तपाईं त उच्च करदाता, कर प्रणालीका जटिलताहरु पनि धेरै थाहा होलान् । सरकारले कर प्रणालीमा सुधार गर्नुपर्ने विषय के-के छन् ?

कर प्रणालीमा एउटा निर्णय एकै ठाउँबाट भएपछि त्यही अन्तिम हुनुपर्छ । करदाताले विभिन्न कार्यालय धाउनुपर्ने अवस्था हुनु हुँदैन । अहिले एउटा निकायबाट अर्को निकायमा पठाउने र फेरि अर्को निकायले पुनः मूल्याङ्कन गर्ने प्रवृत्ति छ । यसले करदातालाई धेरै कठिनाइ भइरहेको छ । सरकार र आम नागरिक दुवैलाई जिम्मेवार बनाउन एकै ठाउँबाट कर निर्धारण हुने व्यवस्था हुनुपर्छ । त्यही निर्णय अन्तिम हुनुपर्छ । कुनै गल्ती भएको रहेछ भने सम्बन्धित माथिल्लो निकायका प्रमुख र करदाताबीच के सम्बन्ध थियो भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ ।

null

पछिल्लो समय केही ठूला व्यवसायी देशका ठूला करदाताहरु पक्राउ पनि परे । त्यो विषयलाई कसरी लिनु भएको छ ? 

म यस्तो कार्यलाई कहिल्यै समर्थन गर्दिनँ । यसको परिणाम हेर्दा जो दोषी छ, उसमाथि पहिले नै अनुसन्धान हुनुपर्छ । अनुसन्धान सही छ भने पक्राउ गर्नुहोस् र दोषीलाई दण्डित गर्नुहोस् । तर, पक्राउ गरेर मिडिया ट्रायल गरेपछि त्यो उद्योगपति वा व्यापारीको प्रतिष्ठा समाप्त हुन्छ । वर्षौंको तपस्या र मिहिनेतले बनाएको प्रतिष्ठा एकैछिनमा समाप्त हुन सक्छ । कसैले चोरी गरेको छ वा गलत काम गरेको छ भने त्यसको प्रत्यक्ष प्रमाणका आधारमा कारबाही हुनुपर्छ । तर, मिडिया ट्रायल हुने पूर्वाग्रही प्रचार र सार्वजनिक सुनुवाइ हुनुहुँदैन । यस्तो प्रचारले नेपालीहरूको उत्साह समाप्त गर्छ र लगानी गर्ने मनोबल कमजोर बनाउँछ ।

नेपालमा लगानीकाे वातावरण कस्तो पाउनु भएकाे छ ? 

अहिले पनि डर अवस्था र विश्वासको कमी छ । नेपालीहरू भर्खर उद्योग व्यवसाय गर्न सिकिरहेका छौं । लामो समयसम्म उद्योग सञ्चालन गरेर अनुभव र मिहिनेतबाट अगाडि बढिरहेका उद्योगपति तथा व्यवसायीको मनोबल नै कमजोर हुने गरी व्यवहार गरियो भने त्यसले लगानीको वातावरणमा असर पार्छ । राष्ट्र सिक्दै र अघि बढ्दैछ । सरकार पनि क्रमशः सुधारको दिशामा अघि बढिरहेको छ । न्यायालय र सरकारबाट अन्तिममा न्याय पाइन्छ भन्ने विश्वास छ । जो दोषी छ, उसलाई दण्डित गर्नैपर्छ । तर, कानुनी दायरामा ल्याउने नाममा सबैलाई जबर्जस्ती एउटै घेरामा राख्ने काम हुनुहुँदैन ।

Share News