काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ ।
ऐन लागु भएको पहिलो दिन आज करिब २० हजार कुखुरा, ७ वटा राँगा र २ वटा खसीको मासुको परीक्षण गरी छाप लगाउने कार्य प्रारम्भ गरिएको विभागले जानकारी दिएको छ ।
उपत्यकाका विभिन्न वधशालाहरू जस्तै काठमाडौंको बालाजुस्थित भ्याली कोल्डस्टोर, टोखाको सिन्धु चिकेन र थ्रिस्टार फुड प्रालि, मध्यपुर ठिमीको न्यु पञ्चकन्या सप्लायर्स तथा टेकुको राँगाको मासु पसलमा पशु चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा पशु तथा मासुको ‘एन्टी–मार्टम’ वध पूर्व र वध पछि जाँच गरी छाप लगाउने कार्य थालिएको छ ।
स्वच्छ तथा स्वस्थ मासु मात्र उपभोक्तामाझ पुर्याउने उद्देश्यले सुरु गरिएको यस अभियानमा विभागले विभिन्न स्थानमा मासु निरीक्षक समेत खटाएको छ ।
विभागका अनुसार बालाजुमा डा. कमलेश्वर भाट, टोखामा डा.गौरीमान श्रेष्ठ र डा. जस्मिन अधिकारी, भक्तपुरमा डा.पुजन सिंह कुँवर र टेकुमा डा.उदयलाल खत्रीले मासु निरीक्षकको जिम्मेवारी सम्हालेका छन् ।
जाँचका क्रममा मरेका पन्छी तथा अस्वस्थ मासुलाई तत्कालै हटाएर स्वस्थ मासुमा मात्र छाप लगाउने गरिएको छ ।
साथै, मासुमा छाप लगाउन प्रयोग गरिने मसी पूर्ण रूपमा ‘फुड ग्रेड’ (खान योग्य) भएकाले यसबाट मानव स्वास्थ्यमा कुनै पनि किसिमको नकारात्मक असर नपर्ने पशु सेवा विभागले स्पष्ट पारेको छ ।