काठमाडौं । ‘आफूले के खाइरहेका छौं’ भन्ने जान्ने अधिकार हामी सबैलाई छ । आजभोलि बजारमा पाइने प्याकेटका खानेकुरामा हाई प्रोटिन, सुगर फ्री, मुटुका लागि राम्रो, र भिटामिनयुक्त जस्ता आकर्षक शब्द लेखिएका हुन्छन् ।
यस्ता शब्द देख्दा ती खानेकुरा स्वास्थ्यका लागि लाभदायक छन् भन्ने लाग्न सक्छ । तर प्याकेटको अगाडि लेखिएका दाबी हेरेर मात्रै खानेकुरा स्वस्थकर छ भन्ने निष्कर्ष निकाल्नु हुँदैन ।
खानेकुरामा कति चिनी, नुन र बोसो छ भन्ने महत्त्वपूर्ण जानकारी प्याकेटको पछाडिपट्टि सानो अक्षरमा लेखिएको हुन सक्छ ।
त्यसैले बजारबाट खानेकुरा किन्दा प्याकेटको अगाडिभन्दा पछाडिको विवरण पढ्ने बानी बसाल्नुपर्छ ।
आफ्नो स्वास्थ्य जोगाउन आफूले खाने खानेकुराबारे सचेत हुनु आवश्यक छ। यसका लागि खानेकुरा किन्दा र खाँदा यी कुरामा ध्यान दिन सकिन्छ ।
खानेकुरा किन्दा ध्यान दिनुपर्ने ७ कुरा
१. प्याकेटको अगाडिको आकर्षक विज्ञापनमा मात्रै विश्वास नगर्नूहोस् ।
‘हाई प्रोटिन’, ‘सुगर फ्री’, ‘मल्टिग्रेन’ वा ‘भिटामिनयुक्त’ लेखिएको छ भन्दैमा त्यो खानेकुरा पूर्ण रूपमा स्वस्थकर हुन्छ भन्ने हुँदैन । वास्तविक पोषण विवरण पनि हेर्नूहोस् ।
२. चिनीको मात्रा जाँच गर्नूहोस्
खानेकुरामा कति चिनी छ भन्ने जानकारी हेर्नूहोस् । ग्लुकोज, फ्रुक्टोज, सिरपलगायतका नामबाट पनि चिनीजन्य पदार्थ राखिएको हुन सक्छ ।
३.नुनको मात्रा ख्याल गर्नूहोस् ।
प्याकेटका चाउचाउ, चिप्स, बिस्कुट र अन्य प्रशोधित खानेकुरामा नुनको मात्रा बढी हुन सक्छ । धेरै नुन सेवनले उच्च रक्तचापको जोखिम बढाउन सक्छ ।
४. बोसोको मात्रा र प्रकार हेर्नूहोस् ।
खानेकुरामा कति बोसो छ र कस्तो प्रकारको बोसो प्रयोग गरिएको छ भन्ने बुझ्नूहोस्। विशेषगरी अस्वस्थकर बोसो बढी भएका खानेकुराको सेवन कम गर्नूहोस् ।
५. सामग्रीको सूची पढ्ने बानी बसाल्नूहोस् ।
ग्लुकोज–फ्रुक्टोज सिरप, इमल्सिफायर, मोडिफाइड स्टार्च र प्रोटिन आइसोलेट्सजस्ता पदार्थ खानेकुरामा प्रयोग गरिएको हुन सक्छ । यस्ता सामग्री किन र कति मात्रामा प्रयोग भएका छन् भन्ने बुझ्ने प्रयास गर्नूहोस् ।
६.धेरै प्रशोधित खानेकुराको सेवन घटाउनूहोस् ।
स्वाद, रङ, बनावट र लामो समयसम्म नबिग्रियोस् भनेर विभिन्न पदार्थ मिसाइएका खानेकुरा नियमित रूपमा धेरै खानु राम्रो हुँदैन । सकेसम्म ताजा र घरमै तयार गरिएको खाना रोज्नूहोस् ।
७. घरको भान्सालाई प्राथमिकता दिनूहोस् ।
दाल, गेडागुडी, सागसब्जी, फलफूल, अन्न र घरमै तयार गरिएका परिकारलाई खानामा प्राथमिकता दिनदूहोस्। बजारका प्याकेट खानेकुरालाई दैनिक खानाको विकल्प नबनाउनूहोस् ।
हामीले आफ्नै भान्सामा खाना पकाउँदा ग्लुकोज–फ्रुक्टोज सिरप, इमल्सिफायर वा मोडिफाइड स्टार्च प्रयोग गर्दैनौँ भने बजारबाट किनेर खाने खानेकुरामा के–के मिसाइएको छ भनेर किन नहेर्ने ?
स्वाद र आकर्षक प्याकेटका पछि लागेर आफ्नो स्वास्थ्य र पैसा दुवै जोखिममा नपारौं । खानेकुरा किन्नुअघि त्यसमा के मिसाइएको छ भन्ने जानौं । किनकि स्वस्थ जीवनको सुरुवात स्वच्छ खानपानबाटै हुन्छ ।