पश्चिम नेपालमा वर्षा, भोलीदेखि मौसममा सुधार हुने

काठमाडौं । हाल पश्चिमी न्युनचापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

स्याटेलाइट तस्विरमा देखिएको मौसमी प्रणालीअनुसार गण्डकी प्रदेशसम्मका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको जलवायु तथा मौसम विज्ञ प्राध्यापक विनोद पोखरेलले जानकारी दिए । 

उनका अनुसार वर्षाको प्रभाव बागमती, कोशी तथा लुम्बिनी प्रदेशका केही स्थानमा समेत देखिन सक्छ । विशेषगरी पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने तथा कतिपय स्थानमा असिना पर्ने सम्भावना रहेको छ । पोखरेलका अनुसार आज पश्चिम नेपालका विभिन्न क्षेत्रमा चिसो बढ्ने देखिएको छ । वर्षा र मौसमी प्रणालीको प्रभावले तापक्रममा समेत गिरावट आउन सक्नेछ ।

यद्यपि, यो मौसमी प्रणालीको प्रभाव लामो समय नरहने उनको आकलन छ । भोलिदेखि भने मौसममा क्रमिक सुधार हुँदै देशभरको मौसम सामान्यतया सफा हुने संकेत देखिएको विभागले जनाएको छ । 

Share News