'सुशासनमा रास्वपाले सम्झौता गर्दैन, दोषी जो भए पनि उन्मुक्ति पाउँदैन'

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले सुशासनका विषयमा पार्टीले कुनै पनि सम्झौता नगर्ने बताएका छन् ।

सार्वजनिक भएका विभिन्न विवादित घटनामा निष्पक्ष छानबिन हुनुपर्ने र दोषी जोसुकै भए पनि कारबाहीको दायरामा आउनुपर्ने उनको भनाइ छ ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले रास्वपाको उदय नै सुशासनलाई पार्टीको आधारभूत मूल्यका रूपमा स्थापित गरेर भएको बताए । उनले पार्टीभित्र वा पार्टीबाहिर जुनसुकै क्षेत्रमा सुशासनसँग सम्बन्धित प्रश्न उठे पनि रास्वपाले त्यसमा सम्झौता नगर्ने स्पष्ट पारे ।

आचार्यले राज्यका संस्थागत संरचना व्यक्तिभन्दा सधैँ माथि रहने मान्यतामा पार्टीले विश्वास गर्ने पनि बताए । कुनै पनि व्यक्ति वा पदभन्दा राज्यका संस्थाहरू महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले सार्वजनिक भएका घटनामा कसैको दोष देखिए त्यसको निष्पक्ष निरूपण हुनुपर्ने धारणा राखे ।

उनले त्यस्ता विषयको निष्पक्ष छानबिन गर्न प्रधानमन्त्री र सरकार सक्षम रहेको उल्लेख गर्दै आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सरकारलाई पार्टीको समर्थन रहने बताए ।

पछिल्लो समय सार्वजनिक भएका विवादित विषयमा पार्टीले तत्कालै आधिकारिक धारणा सार्वजनिक नगर्नुको कारणबारे स्पष्ट पार्दै आचार्यले सञ्चारमाध्यममा समाचार आएकै आधारमा पार्टीले आवेगमा निर्णय गर्न नमिल्ने बताए । उनका अनुसार हरेक विषयको आफ्नै प्रक्रिया हुने भएकाले आवश्यक प्रक्रिया पूरा नभएसम्म पार्टीले हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन । त्यसो गर्दा व्यक्ति र संस्थाबीचको भिन्नतासमेत धुमिल हुन सक्ने उनको भनाइ छ ।

आचार्यले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको उदय नै सुशासनलाई आधारभूत मूल्यका रूपमा आत्मसात् गरेर भएको हो । पार्टीभित्र होस् वा पार्टीभन्दा बाहिर, सुशासनका सवालमा हामी कुनै पनि सम्झौता गर्दैनौँ । हामी राज्यका संस्थाहरू व्यक्तिभन्दा माथि हुनुपर्छ भन्ने मान्यता राख्छौँ । सार्वजनिक सञ्चारमाध्यममा आएका विषयहरूको निष्पक्ष छानबिन गरी दोषी देखिने जोकोहीलाई कानुनी दायरामा ल्याउने जिम्मेवारी सरकारको हो । यसका लागि प्रधानमन्त्रीज्यू र सरकार सक्षम हुनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ । पार्टीले सञ्चारमाध्यममा आएका समाचारकै आधारमा हतारमा धारणा बनाउने वा निर्णय गर्ने होइन । हरेक विषयको आफ्नै प्रक्रिया हुन्छ र त्यो प्रक्रिया पूरा हुनुपर्छ । दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्छ । हिजो पनि दोषीलाई उन्मुक्ति दिइएको थिएन, आज पनि दिइँदैन र भोलि पनि दिइने छैन । यस प्रक्रियामा सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको पूर्ण समर्थन रहनेछ ।’

आचार्यले निष्पक्ष छानबिनबाट दोषी ठहरिने व्यक्ति जोसुकै भए पनि कारबाहीबाट उन्मुक्ति नपाउने दाबी गरे । 

Share News