काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ । पार्टीका महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली आगामी कात्तिक २९ गते चीन प्रस्थान गर्ने भएको हो ।
रास्वपाका प्रवक्ता जगदीश खरेलले जारी गरेको जानकारीअनुसार भ्रमणका क्रममा दुई पार्टीबीच राजनीतिक तथा विकासका विभिन्न विषयमा अनुभव आदानप्रदान हुनेछ ।
भ्रमणमा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्व विकासलगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।
रास्वपा र चिनियाँ कम्युनिस्ट पार्टीले यस भ्रमणलाई नेपाल–चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्यलाई थप सुदृढ र विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन् ।
महामन्त्री आचार्य नेतृत्वको प्रतिनिधिमण्डलमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेश कुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनम कुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहेका छन् ।
प्रवक्ता खरेलका अनुसार भ्रमणले दुवै पार्टीबीचको सम्बन्ध र राजनीतिक संवादलाई थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।