काठमाडौं । नेपाली सेनाले प्राड, प्राविधिक, हवाई तथा विविध सेवातर्फ उपसेनानी (अधिकृत) पदमा ५० जनाका लागि रोजगारी खुलाएको छ । सेनाले शुक्रबार (कात्तिक २७ गते) २० वटा विज्ञापन प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।
जङ्गी अड्डास्थित भर्ना छनोट निर्देशनालयले प्रकाशित गरेको सूचनाअनुसार स्वास्थ्य, इन्जिनियरिङ, लेखा, हवाई, कानुन तथा पुस्तकालय सेवातर्फ कर्मचारी माग गरिएको छ ।
कुल ५० सिटमध्ये खुलातर्फ २८, समावेशीतर्फ २० र कर्तव्य पालनाका क्रममा मृत्यु वा अशक्त भएका सैनिकका सन्ततिका लागि २ सिट छुट्याइएको छ ।
सेवाअनुसार प्राविधिकतर्फ स्वास्थ्य समूहमा १४ जना, इन्जिनियरिङ समूहमा १४ जना र लाइब्रेरियनमा २ जना माग गरिएको छ । त्यस्तै, विविध सेवातर्फ लेखा उपसेनानीमा १३ जना, हवाई सेवातर्फ ५ जना र प्राड सेवातर्फ कानुन उपसेनानीमा २ जना माग गरिएको छ ।
स्वास्थ्यतर्फ एमबीबीएस डाक्टरका लागि ९ सिट छुट्याइएको छ । यसबाहेक डेन्टिस्ट, अडियोलोजिस्ट, फिजियोथेरापिस्ट, पब्लिक हेल्थ तथा फुड एन्ड न्युट्रिसन टेक्निसियनका लागि एक–एक जना माग गरिएको छ ।
इन्जिनियरिङतर्फ सिभिल र कम्प्युटर इन्जिनियरमा ३/३ जना, मेकानिकल र आर्किटेक्चरमा २/२ जना तथा इलेक्ट्रिकल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, बायोमेडिकल र अटोमोबाइल इन्जिनियरमा एक–एक जना माग गरिएको छ ।
हवाई सेवातर्फ पाइलट उपसेनानीमा ३ जना, एभिएसन एन्ड कन्ट्रोल इन्जिनियरमा एक जना र एभिएसन बन्दोबस्ती तथा प्राप्तितर्फ एक जना माग गरिएको छ ।
स्वास्थ्य तथा इन्जिनियरिङतर्फका पदमा आवेदन दिन सम्बन्धित विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ । स्वास्थ्यतर्फका उम्मेदवार सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ ।
लेखा उपसेनानीका लागि वाणिज्यशास्त्रमा स्नातक उत्तीर्ण गरी कम्तीमा तीन महिनाको आधारभूत कम्प्युटर र दुई महिनाको कम्प्युटर एकाउन्टिङ तालिम लिएको हुनुपर्नेछ ।
पाइलट पदका लागि विज्ञान संकायअन्तर्गत भौतिकशास्त्र विषय लिएर कक्षा १२ उत्तीर्ण गरेको र कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) प्राप्त गरेको हुनुपर्नेछ । प्राड सेवाका लागि कानुनमा स्नातक गरी अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ । लाइब्रेरियन पदका लागि लाइब्रेरी साइन्समा स्नातक उत्तीर्ण गरी नेपाल लाइब्रेरी एसोसिएसनमा दर्ता भएको हुनुपर्नेछ ।
सेनाका अनुसार इच्छुक उम्मेदवारले कात्तिक २७ देखि मंसिर १७ गतेसम्म सामान्य दस्तुरमा आवेदन दिन सक्नेछन् । उक्त अवधिमा आवेदन दिन नसक्नेले मंसिर १८ देखि २४ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्नेछन् ।
प्रत्येक विज्ञापनका लागि एक हजार रुपैयाँ दरखास्त दस्तुर तोकिएको छ । एउटै विज्ञापनको थप समावेशी समूहमा आवेदन दिँदा प्रतिसमूह २० प्रतिशत थप दस्तुर लाग्नेछ ।
इच्छुक उम्मेदवारले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन फाराम भरेपछि त्यसको प्रिन्ट प्रति र भौचरसहित केन्द्रीय भर्ना छनोट केन्द्र, स्वयम्भूमा स्वयं उपस्थित भएर दरखास्त बुझाउनुपर्नेछ ।