काठमाडौं । विदेशस्थित नेपाली नियोगको संगठन संरचना पुनर्संरचना गर्ने क्रममा तीन पद कटौती भएपछि तीन जना सहसचिव परराष्ट्र मन्त्रालयमा फिर्ता भएका छन् ।
मन्त्रालयको पछिल्लो संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) अनुसार भारत र चीनस्थित नेपाली राजदूतावासमा रहेका ‘मिनिस्टर (इकोनोमिक)’ का दुई पद तथा अमेरिकाको सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय भएपछि ती पदमा कार्यरत सहसचिवहरू मन्त्रालय फर्किएका हुन् ।
मन्त्रालयमा फिर्ता हुनेमा नेपाल प्रशासन सेवाका तारानाथ अधिकारी र पार्वती अर्याल तथा परराष्ट्र सेवाका लक्ष्मण खनाल छन् ।
अधिकारी भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा ‘मिनिस्टर (इकोनोमिक)’ का रूपमा कार्यरत थिए । त्यस्तै, अर्याल चीनको बेइजिङस्थित नेपाली राजदूतावासमा सोही जिम्मेवारीमा थिइन् । दुवै राजदूतावासमा आर्थिक मामिला हेर्ने सहसचिवस्तरका पद कटौती गर्ने निर्णय भएपछि उनीहरू मन्त्रालय फर्किएका हुन् ।
यसैगरी, अमेरिकाको सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णयसँगै त्यहाँ नियोग प्रमुखका रूपमा कार्यरत सहसचिव खनाल पनि परराष्ट्र मन्त्रालयमा फिर्ता भएका छन् । उनी परराष्ट्र सेवाका सहसचिव हुन् ।
परराष्ट्र मन्त्रालयको नयाँ ओएन्डएमअनुसार मन्त्रालय र मातहतका निकायको कुल दरबन्दी ५४९ बाट घटाएर ५३२ कायम गरिएको छ । यसअनुसार कुल १७ दरबन्दी खुद घटेका छन् । विदेशस्थित नेपाली नियोगको संख्या पनि ४५ बाट घटाएर ४१ कायम गरिएको छ ।
दरबन्दी पुनर्संरचनाका क्रममा सुरुमा प्रशासन सेवाका सात सहसचिवको दरबन्दी हटाउने प्रस्ताव गरिएको थियो । दिल्ली र बेइजिङका इकोनोमिक मिनिस्टरसहित हङकङ, ल्हासा, कोलकाता, छेङ्दु र ग्वान्जाओका महावाणिज्यदूतको पदसमेत कटौतीको प्रस्तावमा थिए । तर अन्तिम निर्णयमा पाँचवटै महावाणिज्यदूतको दरबन्दी कायम राखियो ।
अन्तिम संरचनामा दिल्ली र बेइजिङका दुई इकोनोमिक मिनिस्टर तथा सान फ्रान्सिस्कोस्थित महावाणिज्यदूतावासका प्रमुख गरी तीन पद कटौतीमा परेका हुन् । सोही निर्णयका कारण तीनै सहसचिव मन्त्रालयमा हाजिर हुन थालेका छन् ।