काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले छठ मनाउन घर फर्किंदै गरेका नागरिकले दुर्घटनामा ज्यान गुमाउनुपरेको घटनाले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताएका छन् ।
फेसबुकमा स्टाटस लेख्दै लामिछानेले एउटै बस्ती र टोलमा परेको यो अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न नसकिने उल्लेख गरेका छन् ।
उनले दुर्घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
लामिछानेले दुर्घटनामा घाइते भएकाहरूको सम्पूर्ण उपचार निःशुल्क गर्न तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।