दुबईमा कमलाको उद्यमशील उडान

पाँच वर्षको छोरा छाडेर श्रमका लागि दुबई उडेकी कमला अहिले दुबईमै स्थापित उद्यमी बनेकी छन् ।

काठमाडौं । सन् २००९ मा पाँच वर्षको छोरा नेपालमै छाडेर कमला भण्डारी दुबई उडिन् । उनको गन्तव्य थियो रोजगारी र उद्देश्य थियो परिवारको भविष्य सुरक्षित गर्नु । घरेलु कामदारका रूपमा मासिक १२०० दिराम कमाउने अपेक्षासहित परदेशिएकी कमलाले त्यतिबेला सायदै कल्पना गरेकी थिइन्, कुनै दिन यही सहरमा आफ्नै व्यवसाय सञ्चालन गर्नेछु र अरूलाई रोजगारी दिने अवस्थामा पुग्नेछु भनेर ।

तर, समयसँगै उनको परिचय फेरिएको छ । रोजगारी खोज्दै दुबई पुगेकी कमला अहिले त्यहीँकी उद्यमी बनेकी छन् । बरदुबईमा उनले श्रीलक्ष्मी ज्वेलर्स र टु सिस्टर्स गार्मेन्ट्स सञ्चालन गरिरहेकी छन् । उनका यी दुई व्यवसायमा २० जनाभन्दा बढीले रोजगारी पाएका छन् ।

कमलाको यो यात्राको सुरुवात सहज थिएन । गुल्मीको धुर्कोटमा जन्मिएकी उनले परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सानो छोरा छाडेर विदेशिने निर्णय गरेकी थिइन् । उनी भन्छिन्, ‘छोराकै भविष्यका लागि दूध चुस्दै गरेको बच्चालाई छाडेर परदेशिएकी हुँ ।’

पाँच वर्षको छोरा नेपालमै थियो । तर, आमाको मनमा छोराको भविष्य र परिवारको जिम्मेवारी थियो । त्यही जिम्मेवारीले उनलाई सात समुद्रपारिको अपरिचित सहरसम्म पु¥यायो ।

‘म रोजगारी खोज्दै दुबई पुगेकी थिएँ । घरेलु कामदारका रूपमा काम गर्ने र मासिक १२०० दिराम तलब पाउने अपेक्षा थियो,’ उनले आफ्नो सुरुवाती दिन सम्झिइन् ।

दुबई उनका लागि नयाँ परिवेश थियो । कामको प्रकृति फरक थियो, जीवनशैली अपरिचित थियो र नेपालमा छाडिएको सन्तानको सम्झना उत्तिकै गहिरो । तर, परिवारका लागि केही गर्ने अठोटले उनले आफ्नो कामलाई निरन्तरता दिइरहिन् ।

त्यतिबेला उनको लक्ष्य विदेशमा काम गरेर पैसा कमाउनु र परिवारको आर्थिक अवस्था सुधार्नु मात्रै थियो । तर, दुबईमा बित्दै गएका वर्षले उनको सोच र सम्भावनाको दायरा विस्तार गर्दै लग्यो । रोजगारीका लागि पुगेको सहरलाई उनले विस्तारै व्यवसाय र उद्यमको अवसरका रूपमा हेर्न थालिन् ।

कामदारबाट व्यवसायी बन्ने मोड

वैदेशिक रोजगारीमा जाने अधिकांश नेपालीको योजना केही वर्ष काम गर्ने, ऋण तिर्ने, घर बनाउने र छोराछोरीको भविष्य सुरक्षित गर्ने हुन्छ । तर, विदेशमा लामो समय बिताउँदा कतिपयले त्यहीँ नयाँ सम्भावना पनि देख्छन् । कमलाको यात्रा पनि यस्तै सम्भावनाको खोजीसँग जोडिएको छ ।

दुबईमा उनीसँगै काम गरेकी मिना न्यौपानेका अनुसार कमलाले त्यहाँ बिताएका वर्षमा श्रम गरेर आम्दानी गर्ने मात्रै होइन, आफ्नै व्यवसाय सञ्चालन गरेर पनि जीवन बदल्न सकिन्छ भन्ने आत्मविश्वास विकास गरिन् ।

‘काम गरेर मात्रै होइन, व्यवसाय सञ्चालन गरेर पनि आफ्नो जीवनको दिशा बदल्न सकिन्छ भन्ने सोच उनमा विकास हुँदै गयो । त्यही आत्मविश्वासले आफ्नै व्यावसायिक पहिचान बनाउने बाटो रोजिन्,’ न्यौपानेले भनिन् ।

कमलाका लागि यो निर्णय सहज थिएन । रोजगारीबाट उद्यमशीलतातर्फ अघि बढ्न लगानी, बजारको ज्ञान, ग्राहकको विश्वास र निरन्तर मिहिनेत आवश्यक थियो । तर, उनले जोखिम लिएर नयाँ यात्रा सुरु गर्ने निर्णय गरिन् ।

कमलाले सन् २०२४ मा बरदुबईमा श्रीलक्ष्मी ज्वेलर्स सञ्चालनमा ल्याइन् । रोजगारीका लागि विदेश पुगेकी महिलाले आफ्नै व्यवसाय सुरु गर्नु उनको जीवनको महत्वपूर्ण मोड थियो । गहना व्यवसायमा पाइला राखेपछि उनले आफ्नो व्यावसायिक यात्रालाई त्यहीँ सीमित राखिनन् ।

व्यवसाय विस्तार गर्ने योजनासहित उनले ब्रान्डेड कपडाको व्यापारमा पनि हात हालिन् । केही दिनअघि मात्रै बरदुबईमा टु सिस्टर्स नामबाट नयाँ पसल सञ्चालनमा ल्याएकी छन् ।

कमलाका लागि यी दुई पसल व्यापार गर्ने माध्यम मात्रै होइनन्, १७ वर्षअघि बोकेर आएको सपनाले आकार लिँदै गएको प्रमाण पनि हुन् ।

उनको यात्रामा सबैभन्दा उल्लेखनीय परिवर्तन रोजगारी खोज्ने अवस्थाबाट अरूलाई रोजगारी दिने अवस्थामा पुग्नु हो । सन् २००९ मा मासिक १२०० दिराम तलब पाउने अपेक्षासहित दुबई पुगेकी कमला अहिले आफ्ना दुई व्यवसायमार्फत २० जनाभन्दा बढीलाई रोजगारी दिइरहेकी छन् ।

‘कुनै समय आफैं रोजगारी खोजेर दुबई पुगेकी कमला अहिले अरूलाई काम दिने अवस्थामा पुगेकी छन् । यो उनको व्यक्तिगत उपलब्धि मात्रै होइन, उनीसँग जोडिएका धेरै परिवारको आम्दानीको आधार पनि हो,’ न्यौपानेले भनिन् ।

विदेशमा व्यवसाय सञ्चालन गर्नु पसल खोल्नु मात्रै होइन । त्यहाँको बजार बुझ्नुपर्छ, ग्राहकको विश्वास जित्नुपर्छ, लगानी व्यवस्थापन गर्नुपर्छ र प्रतिस्पर्धाबीच व्यवसायलाई निरन्तरता दिनुपर्छ । कमलाले यही चुनौतीबीच आफ्ना व्यवसाय अघि बढाइरहेकी छन् ।

उनको योजना अहिले सञ्चालनमा रहेका व्यवसायलाई थप व्यवस्थित बनाउने, कर्मचारीको संख्या बढाउने र नयाँ आउटलेट विस्तार गर्ने छ ।

केही समयअघि बेलायत पुगेर त्यहाँको व्यावसायिक अभ्यास र बजारसमेत बुझेपछि दुबई फर्किएकी कमला आफ्नो व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने सोचमा छिन् । विशेषगरी नेपाली गहनालाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने उनको चाहना छ ।

‘मेरो उद्देश्य नेपाली गहनालाई अन्तर्राष्ट्रियकरण गर्नु हो,’ उनी भन्छिन् ।

परदेशमै बनेको आफ्नै पहिचान

कमलाको कथा विदेशमा श्रम गरेर पैसा कमाउने र स्वदेश फर्किने परम्परागत वैदेशिक रोजगारीको कथाभन्दा केही फरक छ । उनी रोजगारीका लागि पुगेको देशमै उद्यमीका रूपमा आफ्नो पहिचान निर्माण गरिरहेकी छन् ।

वैदेशिक रोजगारीमा जाने नेपाली महिलाका कथामा प्रायः परिवारबाट टाढिनुपरेको पीडा, कठिन श्रम र आर्थिक जिम्मेवारीका प्रसङ्ग जोडिन्छन् । उनीहरूको श्रमले परिवारको जीवनस्तर सुधार्न खेलेको भूमिकाको चर्चा पनि हुन्छ । तर, विदेशमै व्यवसाय स्थापना गरेर अरूलाई रोजगारी दिने अवस्थामा पुगेका महिलाका कथा पनि उत्तिकै महत्वपूर्ण छन् ।

लामो समय दुबईमा काम गरेर अहिले झापामा व्यवसाय सञ्चालन गरिरहेका विरु दर्नालका अनुसार कमलाको सुरुवाती अवस्थालाई सम्झिँदा अहिलेको उपलब्धि अझ अर्थपूर्ण देखिन्छ ।

पाँच वर्षको छोरा नेपालमा छाडेर अनिश्चित भविष्यतर्फ उडेकी कमलासँग त्यतिबेला व्यवसायी बन्ने कुनै निश्चित योजना थिएन । उनीसँग थियो त परिवारका लागि केही गर्ने जिम्मेवारी र आफ्नो आर्थिक अवस्था बदल्ने दृढ इच्छा ।

त्यही इच्छाशक्तिले उनलाई १७ वर्षसम्मको यात्रामा अघि बढायो । आज दुबई उनका लागि केवल रोजगारी गर्ने गन्तव्य रहेन । यही सहरमा उनले आफ्नै व्यवसाय स्थापना गरेकी छन्, व्यावसायिक पहिचान बनाएकी छन् र २० जनाभन्दा बढीलाई रोजगारीसँग जोडेकी छन् ।

कुनै समय १२०० दिराम तलबको अपेक्षासहित काम खोज्दै पुगेको सहरमा आज उनी लाखौँ दिरामको लगानीमा व्यवसाय सञ्चालन गरिरहेकी छन् । उनको भूमिका फेरिएको छ । हिजो उनी आफ्नो श्रमको मूल्य खोज्दै थिइन्, आज उनको व्यवसायसँग जोडिएका अरू मानिस आफ्नो श्रमबाट आम्दानी गरिरहेका छन् ।

कमलाको यात्रा यहीँ रोकिएको छैन । श्रीलक्ष्मी ज्वेलर्स र टु सिस्टर्सको विस्तारसँगै उनको व्यावसायिक योजना पनि फराकिलो हुँदै गएको छ । कर्मचारी थप्ने, नयाँ आउटलेट सञ्चालन गर्ने र नेपाली गहनालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उनको लक्ष्य छ ।

Share News