काठमाडौं । विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई सङ्गठित गर्दै आएको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन आज बुधबार काठमाडौंमा सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे उद्घाटन हुने अधिवेशनले मञ्चको नयाँ अन्तर्राष्ट्रिय नेतृत्व चयन गर्नुका साथै आगामी कार्यकालको सङ्गठनात्मक दिशा र प्राथमिकता तय गर्ने जनाइएको छ ।
नेकपा एमालेसम्बद्ध मञ्चको अधिवेशनमा विश्वका ३८ देशबाट ३५० जना प्रतिनिधि काठमाडौंमा भेला हुने एमालेले जनाएको छ । विदेशमा रहेका नेपालीको सङ्गठन विस्तार, प्रवासी नेपालीका साझा सरोकार, उनीहरूको हकहित र नेपालको समृद्धिमा प्रवासी समुदायको भूमिकालगायत विषय अधिवेशनका प्रमुख एजेन्डा बन्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
अधिवेशनको उद्घाटन नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख आचार्यले बताए । उनका अनुसार एमालेनिकट प्रवासी नेपालीको अन्तर्राष्ट्रिय सङ्गठनका रूपमा रहेको मञ्चले दोस्रो अधिवेशनमार्फत आफ्नो सङ्गठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने र अन्तर्राष्ट्रिय सञ्जाललाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।
तीन सय ५० प्रतिनिधिको सहभागितामा हुने अधिवेशनलाई मञ्चको भावी नेतृत्व र सङ्गठनात्मक प्रभाव विस्तारका दृष्टिले समेत महत्त्वपूर्ण रूपमा हेरिएको प्रवासी नेताहरूले बताएका छन् ।
अधिवेशनको समापन समारोहलाई नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको आचार्यले जनाए । उनका अनुसार उद्घाटनमा पूर्वराष्ट्रपति भण्डारी र समापनमा एमाले अध्यक्ष ओलीको सहभागिताले अधिवेशनलाई एमालेको प्रवासी सङ्गठनसँग जोडिएको महत्त्वपूर्ण राजनीतिक जमघटका रूपमा समेत स्थापित गरेको छ ।