ई-जीपी प्रणाली ह्याक गरी ठेक्काका आर्थिक प्रस्ताव हेरफेर गर्ने तीन जना पक्राउ

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली (ई-जीपी) मा अनधिकृत पहुँच पुर्याएर ठेक्काका आर्थिक प्रस्तावका कागजात हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले प्राविधिक अनुसन्धान तथा विश्लेषणका क्रममा संलग्नता खुलेका तीन जनालाई पक्राउ गरेको हो ।

ब्युरोका अनुसार उनीहरूले ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै त्यससँग सम्बन्धित कागजात परिवर्तन गरेको पाइएको हो । 

सार्वजनिक खरिद अनुगमन कार्यालयले सञ्चालन गर्दै आएको ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याएर विभिन्न ठेक्काका विवरण हेरफेर गरिएको सम्बन्धमा ब्युरोमा उजुरी परेको थियो ।

उक्त उजुरीमाथि अनुसन्धान गर्दा तीन जनाको संलग्नता खुलेपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो । 

ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । 

ब्युरोका अनुसार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।

Share News