आजदेखि सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने

काठमाडौं । आज (कात्तिक १६ गते) देखि देशभरका सरकारी कार्यालयमा हिउँदे समय तालिका लागू भएको छ । नयाँ समय तालिकाअनुसार अब सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन् ।

सरकारको निर्णयअनुसार आगामी माघ १५ गतेसम्म सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ४ बजेसम्म कायम गरिएको हो । यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए ।

जाडोयाममा दिन छोटो हुने भएकाले सेवाग्राही र कर्मचारीको सहजतालाई ध्यानमा राखेर कार्यालय समय एक घण्टा घटाइएको हो ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म साताको पाँच दिन सरकारी कार्यालय सञ्चालन हुनेछन् ।

यसअघि पेट्रोलियम पदार्थको आपूर्ति असहजता र इन्धन खपत घटाउने उद्देश्यले सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही व्यवस्थाअनुसार सरकारी कार्यालय सातामा पाँच दिन सञ्चालन हुँदै आएका छन् ।

नयाँ समय तालिका लागू भएसँगै सेवाग्राहीले अपराह्न ४ बजेभित्रै सरकारी कार्यालय पुगेर सेवा लिनुपर्नेछ । माघ १६ गतेदेखि भने सरकारी कार्यालय पुनः नियमित समय तालिकाअनुसार सञ्चालन हुनेछन् । 

Share News