१० अर्ब डलर क्षतिपूर्ति मागेको ट्रम्पको मुद्दा खारेज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । फाइल तस्बिर ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी पत्रिका ‘द वाल स्ट्रिट जर्नल’ विरुद्ध दायर गरेको १० अर्ब अमेरिकी डलर क्षतिपूर्ति मागसम्बन्धी मानहानि मुद्दा अदालतले खारेज गरेको छ ।

अमेरिकाको फ्लोरिडास्थित संघीय अदालतका न्यायाधीश ड्यारिन गेल्सले शनिबार ट्रम्पको मुद्दा खारेज गर्ने फैसला गरेका हुन् । 

अदालतले पत्रिकाले समाचार प्रकाशित गर्दा जानाजानी गलत सूचना दिएको वा सत्यताप्रति बेवास्ता गरेको प्रमाण ट्रम्पले पेस गर्न नसकेको ठहर गरेको छ।

यो मुद्दा जेफ्री एपस्टिनसँग जोडिएको समाचारलाई लिएर दायर गरिएको थियो । सन् २०२५ मा वाल स्ट्रिट जर्नलले एपस्टिनको ५०औं जन्मदिनका अवसरमा सन् २००३ मा तयार पारिएको एउटा एल्बममा ट्रम्पको नाम उल्लेख भएको पत्र र महिलाको नग्न चित्र समावेश रहेको समाचार प्रकाशित गरेको थियो ।

उक्त पत्रमा ट्रम्पको नाम रहेको र त्यसमा यौन संकेत झल्किने सन्देश लेखिएको पत्रिकाको दाबी थियो । तर, ट्रम्पले आफूले उक्त पत्र नलेखेको दाबी गर्दै समाचारलाई झुटो र मानहानिकारक बताएका थिए ।

त्यसपछि उनले पत्रिका, यसको प्रकाशक डाउ जोन्स, मिडिया व्यवसायी रूपर्ट मर्डोक र समाचार लेख्ने पत्रकारहरूविरुद्ध मुद्दा दायर गरेका थिए ।

ट्रम्पले सुरुमा दायर गरेको मुद्दा पनि गत अप्रिलमा अदालतले खारेज गरेको थियो । यद्यपि, संशोधित उजुरीसहित पुनः मुद्दा दायर गर्ने अवसर दिइएको थियो ।

यसपटक भने न्यायाधीश गेल्सले मुद्दा पुनः दायर गर्न नमिल्ने गरी खारेज गरेका हुन् । अदालतले पत्रिकाले समाचार प्रकाशन गर्नुअघि सम्बन्धित पक्षसँग प्रतिक्रिया मागेको र समाचारमा ट्रम्पको खण्डनसमेत समावेश गरेको विषयलाई पनि महत्त्व दिएको छ ।

यसैबीच ट्रम्पको कानुनी टोलीले फैसलाविरुद्ध पुनरावेदन गर्ने जनाएको छ ।

Share News