सरकारलाई देखेर सबै थुरथुर छन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको कार्यशैलीका कारण व्यवसायीदेखि राज्यका विभिन्न निकायसम्म त्रासको वातावरण सिर्जना भएको बताएका छन् ।

आइतबार सम्बोधन गर्दै थापाले सरकारका नीति तथा निर्णय अनुमानयोग्य नहुँदा निजी क्षेत्र, प्रहरी, निजामती कर्मचारी, अदालत र संवैधानिक आयोगहरू त्रसित रहेको टिप्पणी गरे ।

‘सरकारको नीति अनुमानयोग्य छैन । सबै थुरथुर छन् । व्यवसायी, प्रहरी, निजामती कर्मचारी, अदालत र संवैधानिक आयोगहरू सबै थुरथुर छन्,’ उनले भने ।

उनले अहिले मुलुकको सबैभन्दा ठूलो चुनौती अर्थतन्त्र रहेको बताए । कर्जा तथा लगानी विस्तार हुन नसकेको, बाह्य लगानी भित्रिन नसकेको र विकास खर्च कमजोर रहेको उनको भनाइ छ ।

प्राकृतिक विपत्तिका कारण राष्ट्रिय ढुकुटीमाथि समेत दबाब परेको उल्लेख गर्दै थापाले अर्थतन्त्रको शिथिलता हटाउन सरकारले विश्वासको वातावरण बनाउनुपर्ने बताए ।

‘शिथिल भएको अर्थतन्त्र सुधार गर्न त्रर्साएर होइन, विश्वास दिनुहोस्,’ उनले भने ।

Share News