काठमाडौं । जर्मनीमा जेनजी पुस्ताको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । शनिबार राति र्फ्याङ्कफर्टलगायत विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुनुका साथै पसलहरूमा लुटपाटसमेत भएको छ ।
जर्मनीको वित्तीय राजधानी र्फ्याङ्कफर्टमा प्रदर्शनकारीले पसलहरूमा लुटपाट गरेका थिए । बर्लिन, कोलोन र ह्याम्बर्गमा पनि हिंसात्मक झडप भएका छन् ।
प्रहरीका अनुसार प्रदर्शनकारीलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरिएको थियो । प्रदर्शनकारीले पटाका, ढुंगा र बोतल प्रहार गरी आपत्कालीन सेवामा खटिएका कर्मचारीलाई समेत निशाना बनाएका थिए ।
यसअघि हजारौं मानिसले ‘जेनजी रेगेल्ट’ नामक अभियान समूहको नेतृत्वमा प्रदर्शन गरेका थिए । यसको अर्थ ‘अब जेनजी पुस्ताले जिम्मेवारी सम्हाल्नेछ’ भन्ने हुन्छ ।
प्रदर्शनकारीले विद्यालयमा पर्याप्त बजेट नदिइएको, दैनिक जीवनयापनको लागत बढेको, सरकारी खर्च कटौती गरिएको र अनिवार्य सैन्य सेवाको व्यवस्था गर्न लागिएको भन्दै विरोध गरेका थिए ।
यसअघि पनि उनीहरूले महँगीविरुद्ध प्रदर्शन गरेका थिए । तर, ती प्रदर्शन अधिकांश शान्तिपूर्ण थिए ।
जर्मनीमा भएका पछिल्ला प्रदर्शन फ्रान्समा युवाहरूको नेतृत्वमा भएका प्रदर्शनपछि भएका हुन् । फ्रान्समा पनि शनिबार तीन लाख २० हजारभन्दा बढी मानिसले प्रदर्शन गरेका थिए ।
समाचार संस्था एएफपीका अनुसार र्फ्याङ्कफर्टको मुख्य किनमेल सडकको ठूलो क्षेत्र प्रहरीले बन्द गरेको थियो । प्रहरीका एक प्रवक्ताले सहरमा धेरैलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
र्फ्याङ्कफर्ट, म्युनिख र बर्लिनका अधिकारीहरूका अनुसार प्रदर्शनमा करिब १८ हजार मानिस सहभागी भएका थिए । यो संख्या आयोजकले आफ्नो वेबसाइटमा उल्लेख गरेको अनुमानभन्दा झन्डै आधा हो ।
‘जेनजी रेगेल्ट’ की प्रवक्ता लीना फ्रेडरिकले प्रदर्शनको उद्देश्य युद्ध र जबर्जस्तीको सट्टा शान्ति र स्वतन्त्रताका लागि आवाज उठाउनु रहेको बताइन् ।
उनले स्वास्थ्य र शिक्षा प्रणालीलाई पर्याप्त सहयोग गर्नुपर्ने बताउँदै अनिवार्य सैन्य सेवाको विरोध गरिन् । साथै सैन्य सेवाको भार सबैमाथि न्यायोचित रूपमा बाँडिनुपर्ने उनको भनाइ थियो ।
दिनको समयमा भएका प्रदर्शन अधिकांश शान्तिपूर्ण रहे पनि रात परेपछि भने हिंसा भड्किएको थियो ।