मुस्ताङको होटलबाट जेनजी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका दोषी ४८ वर्षीय नारायण घिमिरे १५ महिनापछि मुस्ताङबाट पक्राउ परेका छन् ।

लमजुङको मर्स्याङ्दीमा होटल सञ्चालन गर्दा आफ्नै होटलमा कार्यरत १६ वर्षीया नाबालिकामाथि बलात्कार गरेको अभियोगमा लमजुङ जिल्ला अदालतले उनलाई ११ वर्ष ८ महिना १ दिन कैद सजाय सुनाएको थियो ।

२०८२ साउनमा वर्षाका कारण लमजुङ कारागार भत्किएपछि उनलाई कास्की स्थानान्तरण गरिएको थियो । तर, भदौ २४ गतेको आन्दोलनका क्रममा कारागारमा अशान्त स्थिति सिर्जना भएपछि उनी फरार भएका थिए ।

भदौ २५ गते बेलहिया नाका हुँदै भारत पुगेका घिमिरेले मुम्बई र दिल्लीका होटलमा परिचय बदलेर काम गरेका थिए । दिल्लीमा भेटिएका साथीको सल्लाहमा उनी पुस महिनामा नेपाल फर्केर उपल्लो मुस्ताङ पुगेका थिए ।

वारागुङ मुक्तिक्षेत्र–२, चैलेस्थित ‘प्रमिसा होटल’ मा नौ महिना र पछि ‘लिवन रेस्टुरेन्ट’ मा पहिचान लुकाएर काम गरिरहेका थिए ।

नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका एसएसपी श्यामकृष्ण अधिकारीको निर्देशनमा खटिएको विशेष टोलीले कात्तिक १३ गते उनलाई लिवन रेस्टुरेन्टबाट नियन्त्रणमा लिई कात्तिक १४ गते पुनः कास्की कारागार बुझाएको छ ।

कास्कीबाट भागेका ७५३ कैदीमध्ये ११ विदेशीसहित ११० जना अझै फरार रहेकाले प्रहरीले विशेष खोजी अभियान जारी राखेको छ । 

Share News